नेपाली जेलमा कैद चर्चित अपराधीको चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा

केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन्।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन्।शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतवार दुई बेलायती पत्रिकामा छापिएको थियो।

नेपाल प्रहरीबाट सेवानिवृत्त भएका एक वरिष्ठ अधिकारीले कारागारमा ठूलो सुरक्षा कमजोरी देखिएको भन्दै त्यस्ता कमजोरी तत्काल समाधान नगरिए भविष्यमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन्।

बिनाअनुमति कसरी लिइयो अन्तर्वार्ता ?

गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “गृह मातहतका कुनै पनि निकायले चार्ल्स शोभराजको अन्तर्वार्ता लिन कुनैपनि मिडियालाई अनुमति दिएको छैन।”

कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको जनाएको छ। अन्तर्वार्ता छापिएपछि विभागले केन्द्रीय कारागारलाई “तीव्र छानबिन” का लागि निर्देशन दिएको जनाएको छ।

शोभराजले कोसँग कुरा गरेका थिए ?

केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, “जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गर्न आइतवार नै सुरु हुने गरी १० दिनको समय पाएका छौँ र यस अवधिमा सत्यतथ्य पत्ता लाग्नेमा हामी विश्वस्त छौँ।”

प्रारम्भिक अनुसन्धानले शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने बताइएको छ।

जेलर बाँस्कोटाले भने, “शोभराजले परिवार, आफन्त वा साथीलाई फोन गरेर आफ्ना कुराहरू रेकर्ड गराएर मिडियासम्म पुर्‍याएको हुन सक्छन् र तर यसबारे यकिन भइसकेको छैन।” त्यसका अतिरिक्त कारागारमा फ्रान्सेली भाषा अनुवादक नहुनुले पनि यस्तो समस्या निम्त्याएको उनको दाबी छ।

जेल प्रशासनका अनुसार कैदीबन्दीको भेटघाटको सीसीटीभी फुटेज अध्ययन तथा शोभराजलाई राखिएको गोलघरको निरीक्षण पनि गरिएको छ। शोभराजलाई पछिल्लो समय आफ्ना वकिलबाहेक कसैले पनि कारागारमा नभेटेको कारागार प्रशासनको दाबी छ।

कमजोरी कसको ?

शोभराजले फ्रान्सेली भाषा र केही अङ्ग्रेजी मिसाएर कुरा गर्ने गरेको तथा भाषा अनुवादक नभएकोले यस्तो कमजोरीको फाइदा उठाएको हुनसक्ने बाँस्कोटाको दाबी छ।

नियमानुसार कैदीहरूले प्रत्येक हप्ता दुई पटकसम्म आफन्त र परिवारसँग टेलिफोनमा कुराकानी गर्न पाउँछन्। त्यसरी टेलिफोनमा कुराकानी गर्दा विदेशीको हकमा अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको बताइन्छ।

टेलिफोन कुराकानी गर्नुअघि कैदीहरूले कम्तीमा तीनवटा नम्बर उपलब्ध गराउनुपर्ने र तीमध्ये बढीमा दुई वटामा मात्र कुराकानी गर्न पाइने व्यवस्था रहेको कारागार प्रशासनले जनाएको छ।

जेलर बाँस्कोटाले भने, “सोही व्यवस्थाअनुसार शोभराजले प्रत्येक हप्ता अधिकांश समय फ्रान्स, अमेरिका र बेलायतमा रहेको भनिएका आफन्तजन तथा परिवार र साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने गरेको पाइएको छ।”

केन्द्रीय कारागारका अनुसार शोभराजको कल डिटेलको सम्पूर्ण विवरण विभागमा बुझाइसकिएको छ र त्यसबारे प्राविधिक अनुसन्धानकर्ताले सोधखोज जारी राखेको बताइन्छ।

शोभराजको आचरण कस्तो छ ?

कैद अवधि छोटिँदै गर्दा शोभराजले जेल प्रशासनलाई अप्ठेरोमा पार्ने, अन्य कैदीलाई नचाहिँदो काम गर्न उक्साउने, जेलभित्रको अनुशासन भङ्ग गर्ने वा अस्वाभाविक माग राख्ने जस्ता कार्य नगरेको जेल प्रशासनले बताउँदै आएको थियो।

केही वर्ष अघिसम्म शोभराजले जेल प्रशासन वा जेलभित्रको अनुशासनलाई नै चुनौती दिने र अन्य कैदीलाई गैरकानुनी काम गर्न उक्साउने कार्यमा समेत संलग्न हुने गरेको कारागारको अनुभव छ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ।

नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।

‘बिकिनी किलर’ र ‘सिरीअल किलर’ जस्ता उपनामले पनि चिनिएका शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ।

सुरक्षा कमजोरी कसरी सुधार्न सकिन्छ ?

नेपाल प्रहरीका भूतपूर्व नायब महानिरीक्षक हेमन्त मल्लले कारागार प्रशासनले शोभराजले सञ्चारमाध्यमसँग सम्पर्क राखिरहेको कुरा थाहा नहुनु दुःखद भएको बताए। यो घटनाले कारागार सुरक्षाको कमजोरीलाई पुनः उजागर गरेको उनको धारणा छ।

मल्लले कारागार प्रशासन र सुरक्षाकर्मीबीच सहकार्य हुन नसकेको एवं कैदीको फोन प्रयोग लगायतका कुराहरूको निगरानी गर्न सक्ने जानकार सुरक्षाकर्मी हुने नगरेको बताएका छन्।

मल्लका अनुसार यस्ता घटना भविष्यमा दोहोरिन नदिन कारागार प्रशासन र सुरक्षाकर्मीबीच सहकार्य सुदृढ बनाउनुपर्ने, कारागारभित्र निगरानी प्रविधि प्रयोग गर्नुपर्ने र कानुनमा व्यवस्था भएका दोभासेजस्ता पदहरू खाली राख्न नहुने बताए। (बीबीसी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार