नेपाली नागरिकको बारेमा कसले सोँच्ने ?

218 जनाले पढ्नु भयो ।

  • सुरेशकुमार पाण्डे

अहिलेसम्म संसार भरिका करिब १५ देशहरुलाई छाडेर बाँकि सबै जसो कोरोना भाईरस (कोविड १९) को चपेटमा परिसकेका छन् । चीन, फ्रान्स, ईटली, अमेरीका लगायतका कैयौं देशहरुमा लाखौँ संक्रमितहरु भेटिएका छन् । हालसम्म करिब १ लाख १५ हजार भन्दा बढिले ज्यान गुमाई सकेका छन् । यो कोरोना संक्रमणलाई रोक्ने उदेश्यले भारत–नेपाल लगायतका कैयौँ देशहरुमा लकडाउन गरिएको छ । समग्रमा भन्नु पर्दा यो भयावह परिस्थितिबाट हामी नेपालीहरु मात्रै होइन दुनियाँ दर्दनाक अबस्थाबाट गुज्रिरहेको छ । यद्यपि अरु मुलुको तुलनामा नेपालमा संक्रमितहरु नगन्य बराबर नै छन्, तर छिमेकिको जनसंख्याको हिसाबले तुलना गर्ने हो भने १२ जना पनि कम होइन ।

तर हाम्रो अरु देशको भन्दा पनि जटिल समस्याहरु छन् । ति समस्याहरु मध्य एक हो नेपाली श्रमिकहरु भारत लगायत विश्वका कैयौँ देशहरुमा कार्यारत हुनु । उनीहरुलाई सरकारले बाहिर मुलुकमा जान राहदानी दिएपछि आफ्नो दायित्व पुरा भएको संझिनाले नै नेपालीहरुको दर्दनाक अबस्था भएको सहजै अनुमान गर्न सकिन्छ । यहाँसम्म की नेपाल–भारत बीच सम्पन्न शान्ति तथा मैत्री सन्धिका तहत रोजगारीको सिलसिलामा भारत आउँने आफ्ना नागरिकहरुको अबस्थाको बारेमा समेत नेपाल सरकारले कतै सरोकार राखेको देखिंदैन । नेपाल र भारत दुबै सरकारहरुले नेपाली श्रमिकहरुको सवालमा कुनै सरोकार राखेको जस्तो लाग्दैन । सन १९७९ देखि सामाजिक संगठनको हैसियतले भारत भरिभरी छरिएर बसेका नेपालीहरुको हकहितका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लगातार आवाज उठाउँदै आएको छ । संगठनले स्थापना कालदेखि एकप्रकारले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ । त्यस कारणले हालसम्म नेपालीहरुले भारतमा धेरैथोरै भए पनि शुरक्षाको प्रत्याभूतिको महशुस गरेका छन् । यहाँका गुण्डाहरुमा थोरै भए पनि डर त्रास छ । साँचै भन्ने हो भने भारतस्थित नेपालीहरुको बिचमा एकता समाज नभएको भए यहाँ अकाल मै ज्यान गुमाउने नेपालीहरुको शव लावारिस हुने थिए होलान् ।

नेपाल सरकारले दूतावास राखेको त छ, तर आम नेपालीहरुले बुझ्न सकेका छैनन् । दूतावासको भूमिका कस्तो हुनुपर्छ ? के यो औपचारिकता मात्र पुरा गर्न राखिएको हो वा उनको कुनै जिम्मेवारी पनि छ ? अहिले भरखरै लकडाउनको अबस्थामा नेपालीहरु भारतको दिल्लीबाट हिंड्दै सुनौली पुगे । उनीहरु बालबच्चा त्यो पनि एक दुई महिनाका सुत्केरीहरु आफ्ना बच्चा बोकेर पनि ७÷८ सय कि.मि. पैदल यात्रा गरेर नेपाल बोर्डरसम्म पुगे । करिब दुई सय जति नागरिकहरु सुनौली सीमानामा हप्तौँ बसेका खबरहरु बारम्बार आए, तर पनि सरकारको त्यस तर्फ ध्यान दिएन वा उसले देख्दै देखेन । यो कस्तो बिड्म्बना हो ? हिंड्दै गएका आफ्ना नागरिकलाई कम्तिमा देश भित्राएर वा भारत सरकारसँग कुटनैतिक पहल गरेर उनीहरुको ब्यबस्थापन गर्नू पर्ने थियो तर त्यसो हुन सकेन यो नै हामी भारतस्थित नेपालीहरुको दुःखको विषय हो । कैयौँ दिन पैदल हिंडेर बोर्डरसम्म आफ्ना नागरिकहरु आईपुग्दा पनि उनीहरुलाई व्यवस्थापन गर्न नसकि बिचिल्लिमा पर्दासम्म पनि ध्यान नदिने सरकारलाई कसले साबाश देला ?

प्रथम तः सरकारले आफ्ना नागरिकहरुलाई बोर्डर बन्द गर्न भन्दा कम्तिमा एक हप्ता पहिलेदेखि सुचना प्रवाह गर्नु पर्ने, किन कि भारतमा बसेका नागरिकहरुलाई पनि कुना–कुनाबाट बोर्डरसम्म पुग्न दुईदेखि पाँच दिनसम्म लाग्छ । यात आफ्ना नागरिकहरुलाई ब्यबस्थापन मिलाएर कुनै शुरक्षित स्थानमा राख्नु पर्ने, त्यसो त सरकारले गर्न सकेन । के सरकारले छिमेकि देशमा रोजगारका लागि गएका आफ्ना नागरिकहरुको अवस्था र जीवन यापन बारे जान्ने चासो नै नराखेको कै होत ?

बिदेशस्थित नेपालीहरुले आफ्नो देशको मायाँलाई मुटुभित्र साँचेर राखेका हुन्छन् । अर्काको देशमा काम गरे पनि कम्तिमा मर्ने बेला त आफ्नै देशमा मरौँ भन्ने प्रत्येक प्रवासीको मन मष्तिकमा छ । तर सरकारले सधैभरि हेलचक्राई गरिरहेको छ । भारतमा लकडाउनको अबस्थामा दैनिक मजदुरी गरेर खानेहरुको अबस्था कस्तो होला ? त्यस्ता मजदुरहरुप्रति सरकारको कुनै साहनुभुति भएको जस्तो लाग्दैन । यसरी हेर्दा आफुलाई कम्युनिष्ट भनेर नथाक्ने यो सरकारले पनि विगतका सरकारहरुले जसरी नै बिदेशस्थित नेपालीहरुका लागि कुनै रेखदेख गरेको देखिंदैन, “जुन जोगि आएपनि कानै चिरेको” भन्ने उखानलाई पुष्टि गरेको छ ।

यो कोरोना संक्रमणबाट विश्वका विभिन्न देशहरुमा आफ्ना मानिसहरु मरिरहेका छन् तर सम्बन्धित देशहरु आफ्ना नागरिकहरुको सवालमा सम्बेदनशिल छन् र जसको प्रत्याभुति दुनियाँले गरेको छ । तर नेपाल सरकार, नेपालमा कोरोना आएको छ्रैन भनेर मख्ख परेको छ । सरकारले भारतमाबाट फर्किएर सुनौली नाकामा आफ्ना नागरिकहरु पुगेका छन्, अहिलेसम्म पनि उनीहरुलाई स्वास्थ्य परिक्षण गराई स्वदेश भित्राउने र व्यवस्थापन मिलाउनेसम्म पनि जिम्मेवारीसम्म ठान्दैन ।

अहिले कोरोनाको कहरले संसार अक्रान्त ठुला–ठुला देशहरुले पनि आफ्नो अर्थ ब्यबस्थाको चिन्ता नगरेर लकडाउन गरेका छन् । हामीलाई यो पनि थाहा छ, हाम्रो यो सानो देश, करिब तीन करोड जनसंख्या रहेको देश कतै थोरै मात्रै चुक्यौँ भने पनि देशले कुनै कालखण्डमा नभोग्नु परेको संकट आइलाग्ने छ । त्यसैले गर्दा आफ्ना नागरिकहरुलाई यति बेला कुनै न कुनै ब्यबस्था गरेर आउँने सम्भाबित खतराबाट देशलाई जोगाउँने कर्तब्य सरकारको हुन जान्छ ।

छिमेकी देश भारतामा पनि अहिले प्रत्येक राज्यहरुले आफ्ना नागरिकहरुलाई उनीहरुको समस्यालाई निबारण गर्न प्रयत्नशिल छन् । प्रशासनलाई जनतासँग बिन्रमपूर्वक प्रस्तुत हुन निर्देशन दिएका छन् । हाम्रो देशमा पुलिस प्रशासनले आफ्नो सकेसम्म लाठो भाँचेका छन् । कमसिकम छिमेकीले गरेका राम्रा कामहरुको सिको भए पनि त सिक ।

भारतमा बसेका प्रवासी नेपालीहरुले आफ्नो रक्षा गर्न संगठन बनाएर यहाँको प्रशासन, सरकार, मालिक, कम्पनिहरुले गरेका अन्याय अत्याचारको बिरोध गरेर लगभग आधा शताब्दी बिताए तर सरकारले कुनै भुमिका ननिभाई भारतस्थित नेपालीहरुबाट आर्थिक फाइद लिइरहेको छ । समय छँदै सरकार अब त केही शरम मान, आफ्ना नागरिकहरुको बारेमा सोँच । अन्यथा नागरिकहरुले तिम्रो बारेमा सोंच्न बाध्य हुनेछन् ।
१ अप्रेल २०२०,

Leave a Reply

Your email address will not be published. Required fields are marked *