नौमतिबाजा र जापानको नौमतिबाजा समूह

103 जनाले पढ्नु भयो ।

तेजेन्द्र क्षेत्री

नेपाली परम्परागत संस्कृतिमा कुनै ठुलो कार्य गर्दा साइतको महत्त्व हुन्छ । त्यस्ता साइतहरूमा मङ्गलधुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मङ्गलधुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

यो बाजा नेपालको पहाडी भेकदेखि भारतको सिक्किम तथा दार्जिलिङसम्म बजाइने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् ।

पञ्चेबाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ; जस्तै– विवाह, ब्रतवन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा आदिमा ।

नौमतिबाजा

नौमतिबाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठुलो रूप हो; जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन्; जसमा सहनाई र दमाहा दुईदुई वटा हुन्छन् । सहनाई र नरसिङ्गा फुकेर, ठुलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ । नौ जना बाद्यवादक लोक–कलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमतिबाजा भनिएको हो ।

सहनाइ

सहनाई अर्थात् सनई नौमतिबाजाको प्रमुख आकर्षण हो । जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै, पौन फेर्दै यसमा मुरलीमा झैँ हरेकका आठ वटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोक–कलाकारले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सुर मात्र दिइरहन्छ । त्यसैले सुर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी सिल्भर र पित्तलबाट निर्मित सनईले आठ वटा प्वालको भाका निर्माणबाट छत्तिस रागरागिनीयुक्त धुनहरू प्रष्फुटन गर्दछ ।

ढोलक

मादलजस्तो, तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कातिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक, जो झण्डै डेढ फिट लामो काठ र छालाले बनेको हुन्छ ।

दमाहा

यसैगरी नौमतिबाजामध्ये ठुलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।

सानो दमाह वा बाउँताल

दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठुलो दमाहाको जस्तो मोटो हुँदैन, ठुलो दमाहाको तुलनामा यसको घन्काइ पनि कम हुन्छ । त्यसैले यसलाई दमाहाको सहयोगी घनबाजाको रूपमा लिइन्छ ।

ट्याम्को

नौमतिअन्तर्गतको ताल दिने अर्काे बाजा हो, ट्याम्को; जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठको साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सुर पैदा भएपछि ट्याम्कोले भाका टिप्दै ताल दिन्छ र अरू बाजा बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एकर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँ बाजा र बाद्यवादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ ।

झ्याम्टा/झ्याली

बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँसका दुई थालहरूजस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एकापसमा जुधाएर काँसेरन्को निकालिन्छ । सनईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् । त्यसरी बिट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याइँझ्याइँ गर्दै झ्याम्टा बजाइन्छ ।

नरसिङ्गा

संस्कृत शब्द नरशृङ्गको अपभ्रंस भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुन सक्छ । फुक्ने ठाउँ सानो, तर क्रमशः ठुलो ठुलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठुलो हुन्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठुलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहेबटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।

कर्नाल

बजाउन सबैभन्दा कठिन बाजाको रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठुलो नरसिङ्गा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ । तामाले बनेको कनोल बाजा लामाले प्रयोग गर्ने लामाजस्तै हुन्छ; तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।

जापान नेपाली एकता समाजको नौमतिबाजा समूह

वास्तवमा नेपालमा पनि स्थानअनुसार नौमतिबाजाको स्वरूप फरक छन् । स्थान र व्यावहारिक प्रकारले जेजति सकिन्छ, जापानमा नेपालीपनको झल्को पञ्चेबाजामार्फत दिन सकिन्छ भन्ने विश्वासका साथ यो समूह कृयाशील छ ।

जापानमा नेपालीहरूको सङ्ख्या बढेसँगै नेपाली संस्कृतिका विभिन्न अवसर; जस्तै– जन्म, मृत्यु, अन्य कर्मकाण्ड आदिमा पनि धार्मिक, सामाजिक र सांस्कृतिक चलनसँगै नौमतिबाजाको स्मरण गरिएको पाइन्छ । त्यो पक्षको एउटा पाटो हाम्रो आफ्नै क्षमताले कला र मिहिनेतले पूरा गर्न सकिन्छ भन्ने हो । त्यो भावनाका साथ एकता समाजको माध्यमबाट रक्तिम सांस्कृतिक अभियान त्यहाँ क्रियाशील छ । त्यसको मातहतमा नेपाली सामाजिक–सांस्कृतिक पक्षको एउटा अङ्गको रूपमा एकता समाज नौमतिबाजा समूह कृयाशील छ ।

विदेशमा रहँदा आफ्नो मातृभूमि र यहाँका गीतसङ्गीतको बढी महत्त्व हृदयङ्गम हुने हुनाले नौमतिबाजाप्रति जापानका नेपालीमा पनि प्रशस्त अनुराग पाउन सकिन्छ । यस आधारमा सम्पूर्ण जापानवासी नेपालीको अनुकूलतामा यसलाई कृयाशील बनाउने विषयमा यो बाजा समूह प्रयत्नशील रहने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *