परचक्रिबादीहरुको भण्डाफोर गरौ !

स्टालिन भन्नु हुन्छ : “नेता आउने जाने गरिरहन्छन् तर जनता जहिले पनि रहिरहन्छन् । त्यसैले जनता नै अमर हुन्छन् ।”

यतिवेला नेकपा (मसाल) बाट निश्कासित केही अराजक तत्वहरुले गरिरहेको भ्रमपूर्ण गतिविधिबाट भ्रमित हुनु इमान्दार कार्यकर्ता र जनताको सवालमा स्वभाविक नै हो । त्यही भ्रमको जगमा टेकेर उनीहरुले (अराजकहरुले) आफ्नो महत्वाकांक्षा पुरा गर्ने कोशिस गरिरहेका छन् । ‘पानी धमिल्याएर माछा मार्ने’ भन्ने उखान पुरानै हो । तर हामी सबैले जान्नु पर्ने के हो भने– ‘भ्रम सधैं भ्रम’ रहँदैन । भ्रम त्यतिवेलासम्म सत्य हुन्छ जतिवेलासम्म वास्तविकता खुल्दैन । भ्रमले एक्कैछिन मात्रै मानिसहरुलाई रनभुल्ल पार्न सक्छ, तर जब वास्तविकता खुल्दछ, त्यस पछि भ्रमित व्यक्तिको नजरमा उ सधैंभरिको झुटो र फरेवी ठहरिन्छ । तर कैयौं यस्ता पनि हुन्छन् एकपटक विराएको बाटोबाट फर्किन चाहँदैनन् । सहि बाटोमा आउन लाज तथा आफ्नो प्रतिष्ठाको सवाल मान्दछन् र त्यही गलत बाटोको अनुशरण गर्दै आफूले विगतमा गरेको आफ्नो योगदानको तिलाञ्जली दिन पुग्दछन् । यस्तै व्यक्तिहरुको बुई चढेर गरिने र आफ्नोलाई सत्तोश्राप लगाउँदै अर्काको पार्टी तथा संस्थालाई पुराउने सेवा वा गतिविधिलाई नै परचक्रिवाद भनिन्छ ।

नेपालको वामपन्थी र प्रगतिशिल आन्दोलनमा परचक्रिवादीहरुले विभिन्न समयमा गम्भीर समस्याहरु श्रृजना गर्दै आइरहेका छन् । त्यो परचक्रि संस्कृति कहिले राजा परस्त, कहिले काँग्रेस परस्त, कहिले साम्रज्यवाद परस्त त कहिले प्रतिगामी शक्तिहरुको सेवाको राजनीतिका रुपमा देखापर्ने गरेको इतिहास हाम्रा अगाडि स्पष्टै छ । नयाँ जोगिले खरानी धेरै घस्छ भने झैं त्यस प्रकारका व्यक्तिहरुले आफूलाई खाटी क्रान्तिकारी भएको बताउन पनि बेर लाउँदैनन् । जसले संगठनको नीति, विधि र विधान अनुसारको कार्यक्रममा सहभागि हुन्छ त्यस्ता व्यक्तिहरुलाई उनीहरु हनुमानको उपमान दिन्छन् ।

अहिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा त्यस प्रकारको परचक्रिवादी संस्कारको नयाँ रुप देखापरेको छ । संगठनबाट निश्कासित केही अराजक व्यक्तिहरुले आफ्नो संगठनको विरुद्ध मोर्चा बनाउने कोशिस गरेका छन् भने विरोधी संगठनहरुको समर्थन गर्दै हिंडेका छन् । ने.क.पा. (मसाल)को आठौं महाधिवेशनले अस्वीकार गरिदिएको उनीहरुको त्यो बदनाम प्रस्तावलाई सार्वजनिक गरेर पार्टीमा भिन्नमतलाई चलखेल गर्न नदिएको भन्ने भद्दा र कपोकल्पित कुरा गर्दै पराजयको रिस सडकमा पोख्दै हिंडिरहेका छन् । तर यो कुनै नयाँ र आश्चर्यको कुरा होइन । विगतमा संगठन विरोधी व्यक्तिहरुले गरेका गतिविधिको अनुशरण हो । विगतका व्यक्तिहरुको हविगति अहिले छर्लङ्ग भइसकेको छ, त्यस तर्फ धेरै चर्चा गर्नुपर्ने आवश्यकता छ जस्तो लाग्दैन ।

रामायणमा एउटा पात्र छ विभिषण, उसले स्वयं लंकाको अन्नपानी खाएर लंकाको विरुद्ध सुराकी गर्दथ्यो र अयोध्याको जीतको कामना गर्दथ्यो । रामायणको त्यो विभिषण प्रवृत्ती नेपालका धेरै वामपन्थी घटकहरुमा विभिन्न रुपमा देख्न सकिन्छ । यतिवेला पनि केही अराजक र परचक्रिवादीहरुले मूल प्रवाहको नाम लिने र मूल प्रवाह कै संगठन निर्माण गर्ने र सर्वसाधारणलाई भ्रमित बनाएर मूल प्रवाहलाई नै कमजोर बनाएर अरु कसैको सेवामा तल्लिन भएका केही घटनाहरु देखिएका छन् । कतिपयले भन्ने गर्दछन् – “…..ले मूल प्रवाहले गर्ने काम गर्दै आइरहेको छ, उसलाई किन कारवाही गरियो ?” त्यो भनिरहँदा वहाँहरुलाई यो हेक्का भएन कि, कुनै पनि संघ संस्थाका वा पार्टीको आ–आफ्नै विधान, नीति, नियम, अनुशासन हुन्छ । जबसम्म त्यो संस्थाको नाममा गतिविधि गरिन्छ, त्यतिवेलासम्म त्यसको विधानले निश्चित गरेको अनुशासनमा बस्नुपर्ने हुन्छ । जब कुनै पनि नेता कार्यकर्ता संस्थाको निश्चित नीति र सिद्धान्तबाट विचलित हुन्छ, उसलाई संस्थामा राखिरहन सकिन्न । ‘राम नाम जपना, पराय नाम अपना’ गर्नेहरुलाई भरोसा कसरी गर्न सकिन्छ र ?

एकता समाजको इतिहासमा विजय शर्मा, बाबुराम भट्टराई, गिरीधारीलाल न्यौंपाने त्यही परचक्रि संस्कृतिका परिचित पात्रहरुका रुपमा चिनिन्छन् । अहिले ‘विरोधी पार्टी जिन्दावाद ¤’ को नारा घन्काउनेहरु पनि उनै पुरानै पात्रहरुको नयाँ कडि बन्दैछन् भन्ने कुरा उनीहरुले बाहिर गर्दै आएको गतिविधि र व्यवहारले संकेत गर्दछ । समग्रमा भन्न पर्दा उनीहरु प्रतिशोधको भावनामा ग्रसित छन् । आफूले गरेको कम्जोरीलाई आत्मालोचना गरेर अगाडि अगाडि बढ्नु नै वामपन्थी राजनीतिको महत्वपूर्ण पक्ष मानिन्छ । आफूले गरेको कम्जोरीलाई पनि स्वीकार नगर्ने, प्रतिशोधको भावमा या भनौं वदलाभावमा आएर देखाई दिन्छु भन्दै हिंडने क्रियाकलापलाई कम्युनिष्ट सदस्य भन्न सकिंदैन ।

केशरजंग रायमाझीको राजा परस्त लाइन, पुष्पलालको काँग्रेस परस्त लाइन, दिननाथ, प्रकाश र डिलारामको माओवादी परस्त लाइनमा उभिनका लागि न्वारानदेखिको बल लगाईरहे तर उनीहरुले ककिल्यै आफूहरुले कम्जोरी भएको स्वीकार गरेनन् । यि नयाँ पात्रहरुले गर्दै आएको गतिविधिलाई हेर्दा आफ्नो कम्जोरी स्वीकार गर्लान् भन्ने लाग्दैन । तर उनीहरुले राजनीतिक रुपमा कुन वर्गको सेवा गर्नेछन् ? प्रतिक्रियावादी वर्गको वा श्रमजिवी वर्गको ? त्यो कुरा आउने दिनहरुलमा छिट्टै प्रष्ट हुनेछ ।

संगठनभित्र देखापरेका मतभेदहरुलाई मैत्रिपूर्ण र दुईलाइनको संघर्षद्वारा समाधान गर्ने लेनिनवादी संगठनात्मक पद्धतीका विपरित सार्वजनिक रुपमा वान्ता गर्दै हिंड्नेहरुलाई इमान्दार र प्रतिवद्ध सदस्यहरु तथा समर्थक, शुभचिन्तकहरुले खुलेआम अस्विकार गर्नु पर्दछ र मात्रै संगठनात्मक अनुशासन कायम गर्न सकिन्छ । संगठनको दायराभन्दा बाहिर गएर हल्ला गर्ने परचक्रिवादीहरुलाई पराजित गरेर नै हामीले संगठनको एकतालाई बलियो र आकारलाई फराकिलो एवं अनुशासित र मिलिटेण्ट बनाउन सक्नेछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार