पशुपतिनाथको पुजा हरिद्वारमा विस्फोट भयो : सिंह

67 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशमा पुनः राजतन्त्र फर्काउन ठूलो षडयन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार युगदर्शनले आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा महामन्त्री सिंहले हिन्दु राज्य स्थापना गर्ने र त्यसैको आधारमा राजतन्त्र फर्काउने प्रयास भइरहेको बताउनुभयो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा गरेको पुजा तथा सुनको जलहरी लगाउन आदेश दिएको स्मरण गर्दै महामन्त्री सिंहले पूर्वराजा ज्ञानेन्द्रको धार्मिक भ्रमण र ओलीको पशुपति पुजाबीच सम्बन्ध रहेको जिकिर गर्नुभयो ।

‘कसैले मन्दिरमा गएर गर्ने पुजाआजालाई हामी खासै महत्व दिन्नौँ । मन्दिर जाने, पुजा गर्ने व्यक्तिको व्यक्तिगत कुरा हुन्’ सिंहले भन्नुभयो, ‘तर, पशुपतिको पुजा र हरिद्वारको पुजामा सम्बन्ध छ । हरिद्वारको कुम्भमेलामा ज्ञानेन्द्रलाई नेपालको नरेशकै रुपमा सम्मान गरियो । पशुपतिको पुजा हरिद्वारमा गएर विस्फोट भएको हो ।’

देशलाई पुनः प्रतिगमनतिर फर्काउने पुरा प्रयत्न भइरहेको दाबी गर्दै महामन्त्री सिंहले नेपाल पत्रकार महासंघले ती षडयन्त्रलाई चिर्नुपर्ने बताउनुभयो । उहाँले महासंघको निर्वाचन परिणाम प्रतिगमनको पहिलो हार भएको पनि बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि महासंघले जहिल्यै पनि खबरदारी गर्ने बताउनुभयो । श्रमजिवी पत्रकारका हक अधिकार रक्षाका लागि महासंघ निरन्तर लागिपर्ने पनि उहाँको भनाई थियो ।

पत्रकार महासंघ एउटा आन्दोलन भएकोले त्यहाँ सबै विचार, भूगोल र क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने महासंघको मान्यता रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनमा पराजित भएका उम्मेदवारहरुको विचारलाई पनि आफूले ग्रहण गर्ने र सबैलाई मिलाएर लैजाने बताउनुभयो ।

कार्यक्रममा महामन्त्री सिंहले महासंघका अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष उदय जिएम र केन्द्रीय सदस्य माधव पौडेलललाई खादा तथा अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, पूर्वसचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगर, युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीको आतिथ्यता रहेको थियो ।

युगदर्शनका अध्यक्ष आनन्द शर्माको अध्यक्षता, व्यवस्थापक हरिकान्त शर्माको सञ्चालन र गोविन्द शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *