पार्टीको विवाद प्रक्रियाबाट हल गर्नुको सट्टा संसदमाथि प्रहार गरियो : आलम

भैरहवा । राष्ट्रिय जनमोर्चाले आकष्मिक रुपमा गरिएको संसद विघटनको विरोधमा भैरहवामा विरोध सभा गरेको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीको आयोजनामा सोमबार बुद्ध चोक भैरहवामा भएको विरोध सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रीक र अधिनायकवादी भएको बताउनुभयो । उहाँले नेकपा भित्रको अन्तरकलह र गुटबाट प्रभावित भएर राष्ट्रपति जस्तो गरिमामय संस्था पनि अधिनायकवादी कार्यमा सम्मिलित भएको भन्दै खेद प्रकट गर्नुभयो ।

नेता आलमले नेकपा भित्रको समस्या बिधि प्रक्रिया अनुसार हल गर्नुको सट्टा देश र गणतन्त्र समेत धरापमा पर्ने गरी अधिनायकवादको अभ्यास गरिनु गलत रहेको बताउनु भयो ।

संघीयताको वर्तमान स्वरुप आवश्यक नभएको भन्दै यसको खारेजी र वर्तमान सरकारको माथिदेखि तलसम्म मौलाएको भ्रष्टाचारले नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरु समेत समाप्त हुने खतरा भएको अबस्थामा अहिले कदमले गणतन्त्रमाथि थप खतरा बढेको बताउनुभयो ।

त्यस्तै, नेकपा(मसाल)का जिल्ला प्रवक्ता नारायण जिसीले प्रम ओलीले संविधान मै ब्यवस्था नभएको अधिकारबाट संसद विघटन गरिनु स्वच्छचारी गलत कदम भएको आरोप लगाउनु भयो । उहाँले बारम्बार यस्तो हुने गरेकै कारण स्थिरताको लागी विगतमा भएको यो ब्यवस्था वर्तमान संविधानले हटाएको बताउनुभयो ।

जनमतबाट बहुमत प्राप्त पार्टीको प्रम, कसैको पनि बहुमत नआएको अबस्थामा दुई वा दुईभन्दा बढी पार्टी मिलेर बन्ने सरकार प्रमुख समेतलाई संविधानले यो अधिकार नदिएको बताउँदै तेस्रो अबस्थामा कसैलाई पनि बहुमत प्राप्त नभएको अबस्थामा सबै भन्दा ठूलो दललाई सरकार बनाएपछि ३० दिन भित्र बहुमत प्राप्त गर्न नसके मात्र संसद विघटन गरी पुनः निर्वाचनमा जान सिफारिस गर्न सकिने ब्यवस्था भएको बताउदै ओलीको यो कदम संविधान विपरित समेत भएको औँल्याउनुभयो ।

जिल्ला सदस्य नेत्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई हिरालाल धामीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार