पार्टीभित्रको झगडा मिलाउन नकेपछि संसद विघटन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने र त्यो पारित हुने अवस्था देखेपछि संसद विघटनको प्रस्ताव गरेको बताउनुभएको छ । नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न नसकेपछि ओलीले संसद विघटनको बाटो समातेको केसीले बताउनुभयो ।

‘पार्टी भित्रको झगडाका कारण संसद विघटन गर्नु असंवैधानिक कदम हो । सरकारको यो कदमले गणतन्त्रलाई खतरामा पारेको छ । प्रतिगमनलाई फाइदा पुर्याउने अवस्था आएको छ’ केसीले भन्नुभयो, ‘ओलीको यो कदम विरुद्ध राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिन्छ ।’

अध्यक्ष केसीले संसद विघटन गरेपनि उनको नेतृत्वमा चुनाव हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । ओलीको यो असंवैधानिक कदमलाई राष्ट्रपतिले रोक्ने अपेक्षा गरेको केसीले बताउनुभयो ।

‘तर राष्ट्रपतिको अहिलेसम्मको भूमिका हेर्दा त्यस्तो अवस्था देखिँदैन । प्रधानमन्त्रीले जे जस्तो सिफारिस गरेपनि राष्ट्रपतिले सरसल्लाह नगरीकनै सदर गरिदिने प्रवृतिका कारण यो सिफारिस पनि सदर हुनसक्ने केसीले बताउनुभयो ।

यसैबीच राष्ट्रिय जनमोर्चाले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको कदमको भ्रर्त्सना गरिएको छ । अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसको लागि राष्ट्रपतिलाई सिफारीस गर्ने कार्यलाई राष्ट्रिय जनमोर्चाले अप्रजातान्त्रिक कदम एवं गम्भीर गल्ती मान्दछ । यसको हामीले तीव्र विरोध र भ्रर्त्सना गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार