पार्टीमा यसअघि कहिल्यै नदेखिएको ध्वंसात्मक प्रवृति देखा परेको छः महामन्त्री सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो राजनीतिक जीवनमा यसअघि कहिल्यै नदेखेको ध्वंसात्मक प्रवृति अहिले पार्टीमा देखापरेको बताउनु भएको छ ।

पार्टीमा विभिन्न विषयमा मतभेद हुने र फुटको अवस्था बारम्बार आउने गरे पनि पार्टीलाई नै ध्वस्त पार्ने खालको प्रवृति आठौं महाधिवेशनको केही समय अघिदेखि देखापरेको सिंहले बताउनु भयो ।

युगदर्शनलाई दिनुभएको एक अन्तर्वार्तामा महामन्त्री सिंहले भन्नुभएको छ, ‘पार्टीमा बेला-बेलामा मतभेदहरु देखापर्ने, अन्तरसंघर्ष हुने वा फुटको अवस्था पैदा हुने गरेका छन् । तर, हाम्रो पार्टीको आठौं महाधिवेशनको केही समय अघिदेखि पार्टीमा यसअघि कहिल्यै देखानपरेको ध्वंसात्मक प्रवृति देखापरेको छ ।’

सिंहले पार्टीमा देखापरेको त्यसखाले ध्वंसात्मक तत्व कम्युनिष्ट हुनै नसक्ने बरु दुस्मनका एजेन्ट वा सीआईडी हुनसक्ने आशंका गर्नुभएको छ।

‘उनीहरु पार्टीले दक्षिणपन्थी बाटो अपनाएको दाबी गर्छन्, आफूलाई क्रान्तिकारी भन्छन् । तर उनीहरु कम्युनिष्ट हुनै सक्दैनन् । बरु दुस्मनका एजेन्ट वा घुपैठिया हुन् । उनीहरुले हाम्रो पार्टी भित्र पनि आफ्ना एजेन्टहरु राखेको देखिन्छ’ सिंहले प्रश्न गर्नुभयो, ‘होइन भने पार्टीका गोप्य कुराहरु कसरी सार्वजनिक हुन्छन् ?’

सिंहले अगाडि भन्नुभयो, ‘हाम्रो पार्टीमा विगतमा लामाजी (निर्मल लामा) सँग मतभेद भयो, उहाँ बाहिरिनुभयो, वैद्यजी, प्रचण्डजीहरु दिनानाथजी वा पछिल्लो समयमा डिलाराम, गिरिधारी जीहरुसँग मतभेद भयो, उहाँहरु पनि जानुभयो । आ–आफ्नो तरिकाले संगठन बनाउनुभयो र संघर्ष गर्नुभयो । कसैले पनि पार्टीको आन्तरिक कुरालाई छताछुल्ल पारेनन्, तर अहिले पार्टीको आन्तरिक सांगठनिक अवस्था, को कहाँ छ भन्ने सबै गोप्य कुरा, पार्टीका सर्कुलरहरु बाहिर लग्ने गरिएको छ । यहाँसम्म की पार्टी नेताहरुविरुद्ध छद्म नामबाट एक पछि अर्को गर्दै चरित्रहत्याको सृंखला चलाइरहेका छन् ।’

सिंहले पार्टीको सामान्य क, ख, ग, जान्ने वा पार्टीबाट अनिश्चित कालका लागि निष्कासनमा परेका व्यक्तिहरुले समेत त्यसो गर्न नसक्ने बताउनुभएको छ ।

‘अन्य बुर्जुवा पार्टीमा समेत यस्तो अवस्था हुँदैन । तर, हामीकहाँ ति छद्म नामधारीहरुले ध्वंसात्मक प्रवृति मच्चाइरहेका छन् । यद्यपी त्यो अस्थायी हो । उनीहरु सफल हुन सक्दैनन्’ सिंहले भन्नुभयो ।

महामन्त्री सिंहले आठौं महाधिवेशनका निर्णयहरुलाई अस्वीकार गर्ने र पार्टीको अनुशासनमा बस्न नसक्ने कतिपय व्यक्तिहरुललाई कारबाही गरिएको स्पष्ट पार्नुभयो । तर, फरक मत राखेको आधारमा पार्टीले कसैलाई पनि कारबाही नगर्ने उहाँले बताउनु भयो ।

महामन्त्री सिंहले भन्नुभयो, ‘बाहिर प्रचार के छ भने कतिपयले हामीले फरक मत राखेका कारण साथीहरुलाई कारबाही गर्र्यौं भन्ने छ । तर, फरक मत राखेका आधारमा कसैलाई पनि पार्टीले कारबाही गर्दैन । अहिले पनि फरक मत राख्ने कैयौं साथीहरु विभिन्न तहमा बसेर काम गरिरहनु भएको छ । अनुशासन मानेर काम गर्नेहरुप्रति हामीले कहिल्यै पनि कारबाही गर्ने गरेका छैनौं । तर, जसले पार्टीको अनुशासन उल्लंघन गर्छ, वा पार्टी नीति विपरित काम गर्ने, गुटबन्दी गर्ने गर्छ उसलाई हामीले कारबाही गर्ने गरेका हौं ।’

(पार्टीमा किन बारम्बार फुट हुने गर्छ ? प्रतिक्षा गर्नुहोस्, महामन्त्री सिंहसँगको विस्तृत अन्तर्वार्ता)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार