पार्टी र क्रान्तिको अरु लामो समय सेवा गर्नेछु : सिंह

  •   
  •  
  •  
  •  
  •  
  •  

453 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्स लगायत सबै सहयोगीहरूप्रति आभार प्रकट गर्नुभएको छ ।

कोरोना संक्रमणका कारण अस्वस्थ भएर ११ दिन अघि ह्याम्स अस्पताल भर्ना भएका सिंह आज (बिहीबार) डिस्चार्ज हुनुभएको हो । डिस्चार्ज भएलगत्तै सिंहले एक विज्ञप्ति प्रकाशित गरी सबैप्रति धन्यवाद दिनुभएको छ ।

विज्ञप्तिमा उहाँले देश र जनता तथा पार्टी र क्रान्तिको अरु लामो समयसम्म सेवा गर्ने मौका पाउने आशा गरेको व्यक्त गर्नुभएको छ ।

यस्तो छ विज्ञप्ति
‘आज म ह्याम्स अस्पतालबाट डिस्चार्ज भएर कोठामा आएँ । मेरो कोरोना अझै पोजेटिभ नै देखिएको छ । त्यो नेगेटिभ आउन र सन्चो हुन अझै ३ हप्ता जति लाग्छ भन्ने चिकित्सकको भनाई छ । त्यसको लागि अझै उपचार गर्नुपर्ने छ । तर अक्सिजन ज्वरो र प्रेसर सामान्य भएको छ । पहिले निमोनिया देखिएको थियो र त्यो पनि सन्चो भएको छ ।

मेरो उपचारमा सहयोग गर्ने ह्याम्स अस्पतालका सबै चिकित्सक, नर्स लगायत सबै सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। मेरो स्वास्थ्यलाभको शुभकामना दिनुहुने सबै राजनीतिक नेता, शुभचिन्तक, साथीभाइ इस्टमित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो उपचारलाई विभिन्न प्रकारले सहयोग जुटाइ मद्दत गर्ने पार्टीका सबै साथीहरूप्रति समेतलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो उपचार र सेवामा पूरै संलग्न परिवारका सबै सदस्यहरूलाई पनि मैले स्नेहपुर्वक धन्यवाद दिन चाहन्छु।

अहिले म ८७ वर्षमा लागेको छु, करिव २५ वर्षदेखि म मधुमेहको दीर्घ रोगी छु । त्यो अवस्थामा समेत विश्वव्यापी कोभिड–१९ को महामारीमा बिरामी भएर पनि म सन्चो भएर आएको छु भनी प्रसन्नता बाँड्न पाउनु तपाईंहरु सबैको शुभकामना, सहयोग र प्रेमका कारणले नै सम्भव भएको हो ।

त्यसबाट मलाई देश र जनता तथा पार्टी र क्रान्तिको अरु लामो समयसम्म सेवा गर्ने मौका पाउने छु भन्ने आशा गरेको छु । त्यसका लागि मैले सकेसम्म योगदान दिने प्रयत्न गरेको छु।’
२०७८ जेष्ठ ०६ गते ।
मोहन विक्रम सिंह
महामन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *