पार्टी विरोधीहरु प्यारा, अनुशासित कार्यकर्ता ‘एसम्यान’ र गोठाला ?

  •   
  •  
  •  
  •  
  •  
  •  

168 जनाले पढ्नु भयो ।

जनकराज पौडेल

नेपाल कम्युनिष्ट पार्टी (मसाल) सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । कुनै पनि देशमा सच्चा कम्युनिष्ट पार्टी वा मार्क्सवाद लेनिनवाद र माओ विचारधारालाई पथपर्दशक मान्ने र त्यसका आधारभुत मुल्यमान्यता मान्ने कम्यूनिष्ट पार्टी एउटै हुन्छ । त्यो नेपालको सन्दर्भमा नेकपा (मसाल) हो। सच्चा कम्युनिष्ट पार्टीले लेनिनवादी संगठानात्मक सिद्धान्तलाई शिरोधार्य गर्दै अगाडि वढ्छ, वढ्नु पर्दछ। लेनिनवादी संगठानात्मक पद्धती आत्मसाथ गर्ने कम्युनिष्ट पार्टी नै मिलिटेण्ड र अनुशासित हुन्छ। त्यसले मात्र जनवादी क्रान्ति गर्दै समाजवाद र साम्यवादमा पुग्न सम्भव हुन्छ।

काल मार्क्स र एङ्गेसले विश्व सर्वहारा वर्गको मुक्तिको दर्शन प्रतिपादन गरे। त्यो परिस्थितिमा भौतिक आधारले ठुलो सहयोग गर्यो । यद्यपी विश्व सर्वहारा वर्गको मुक्तिको लागी उनीहरु प्रेरणाको स्रोत बने, कालमार्क्स र एङ्गेसका पालामा संगठनात्मक प्रणाली स्थापित थिएन । फलतः गुट उपगुट र स्वछाचारिता थियो । पहिलो ईन्टरनेशनल वा दोस्रो ईन्टरनेशल विघटन हुनुले तयो तथ्य पुष्टि गर्दछ।

लेनिनले जुन संगठानात्मक प्रणालीको विकास गरे त्यसलाई हामी लेनिनवादी संगठानात्मक प्रणाली भन्दछौ । लेनिनको संगठनात्मक प्रणालीले रसियामा समाजबादी क्रान्ती सफल हुन सम्भव भयो । त्यसो त लेनिनले संगठानात्मक सिद्धान्त प्रतिपादन गर्दा समकालिन नेताहरुसँग ठुलो संघर्ष गर्नु परेको थियो । त्यो संघर्ष सच्चा क्रान्तिकारी र दक्षिणन्थी तत्वहरुसँग पेचिलो बनेको थियो । त्यो सबै सामाना गर्दै अन्ततः सन् १९१७ मा रसियामा समाजवादी क्रान्ती सम्पन्न भयो । त्यो सिमित रसियाको लागि सफल क्रान्ती थिएन, विश्व सर्वहारा वर्गको आशाको केन्द्र थियो । मार्क्सवादका आधारभूत मूल्य मान्यताको जगमा मार्क्सवादको परिष्कृत गर्दै बस्तुस्थितिको ठोस विश्लेषणमा समाजबादी क्रान्ती सम्पन्न भयो । त्यो क्रान्तीको तार विश्वभरी नै फैलियो । सर्वहारा वर्ग उत्साहित हुँदै आफ्नो युग निकट भविष्यमा देख्दै विश्वस्त हुँदै गए । आफ्नो भविश्य प्रति नयाँ सपना देख्न थाले । छिमेकी चीनमा कम्यूनिष्ट पार्टीले माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ती सम्पन्न भयो । चीन कृषि प्रधान देश भएको र औधोगिक क्षेत्रमा विकास नभई सकेको कारण त्यहाँको बस्तुगत परिस्थिति अनुसार नयाँ जनवादी क्रान्ती वा कम्यूनिष्ट पार्टीको नेतृत्वमा पुँजीबादी क्रान्ती सम्पन्न भयो ।

विश्वभरी नै सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीहरु यी दुई देशका क्रान्तीबाट प्रभावित भए र सक्रिय हुन थाले। उत्साहित भए । कतिपय देशमा बस्तुस्थिति र आत्मगतस्थिति विश्लेषण नगरी वा सहि तरिकाले वर्ग विश्लेषणको अभावमा कम्यूनिष्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादमा पतन भई सकेका छन् । त्यसको ताजा उदाहरण नेपालको सन्दर्भमा तत्कालिन झापाली गुट माले र पछिल्लो समयको तत्कालिन माआवादी हुन् । बस्तुस्थितिको मूल्यांकनमा अपरिपक्कता र सहि वर्ग विश्लेषणको अभावमा गरिएका आतंककारी गतिविधि थिए । त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षति पुग्यो । त्यस प्रकारका अन्धाअनुकरणको परिणाम र मार्क्सवाद लेनिनवादका आधारभुत मूल्य मान्यता र वैचारिक विचलनले दक्षिणपन्थि अवसरवादमा पतन भएका छन् ।

रुसमा लेनिनको मृत्यु पश्चायत कम्युनिष्ट नेतृत्व वा सत्ता जोसेफ स्टालिनको हातमा गयो । स्टालिनको मृत्यु पछि पार्टी भित्रैका दक्षिणपन्थि अवसरवादी खुश्चेव हरुले समाजबादको अत्य गर्दै पूम्जीवाद स्थापना गरे रसोभियत संघ विघटन भयो । चिनियाँ कम्यूनिष्ट पार्टी र सत्तामा दक्षिणपन्थी अवसरवादीहरुको वर्चश्व भयो । अन्ततः माओले महान सर्वहारा सांस्कृतिक आन्दोलनको उदघोष गर्नुपर्यो । माओको मृत्युपछि पूजीवाद हुँदै साम्राज्यवादमा पतन भयो । अहिले विश्व कम्यूनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा छ र साम्राज्यवाद वा पूजीवाद बाह्य रुपमा शक्तिशाली देखिन्छ । तर त्यो सत्य होइन । वास्तवमा साम्राज्यवादी शक्तिहरु आन्तरिक कलह र आर्थिक चपेटाबाट गम्भीर प्रकारले घायल भएका छन् । त्यहि जगबाट समाजवादी ब्यबस्थाको उदय हुनेछ । सर्वहारा वर्गको जित शुनिश्चित छ ।

नेकपा (मसाल) ले विगतदेखि राष्ट्रिय, अन्तर्राष्टिय र पार्टीको संगठानात्मक संरचनालाई सहि विश्लेषण गर्दै आफ्नो नीति र कार्यदिशा तय गर्ने गरेको छ । त्यो तत्कालिन नीति तय गर्ने सन्दर्भमा आफ्नो रणनीतिक उदेश्यलाई टेवा पुराउने खाले नै देखिन्छ । यसको मतलव जनबादी क्रान्तीको लागी सशत्र संघर्ष आवश्यक भन्ने नै हो । र त्यसको आधार तयार पार्ने भन्ने बुझ्नु पर्दछ । संसदमा भाग लिने सन्दर्भमा होस् वा सरकारलाई समर्थन गर्ने परिस्थितिमा होस् । मसालको नीति देशको अबस्था र अन्तर्राट्रिय परिस्थिति वा आफ्नो पार्टीको आन्तारिक संरचना सम्पूर्ण विश्लेषण गर्दै सडक संघर्षलाई प्रधान मान्दै आएको छ । त्यसको अर्थ संसद वा सरकार समर्थन अत्यन्तै गौण पक्ष हुन् । यदि संसद र सरकार प्रमूख मान्दथ्यो त उक्त पार्टीबाट सरकारमा गएका प्रतिनिधिले सरकारका सम्पुर्ण नीति र कार्यक्रम हुवहु स्वीकार गरेको हुनु पर्दथ्यो । तर सरकारमा रहेर पनि सरकारका गलत नीति र निर्णय प्रति कडा विरोध गरेको सबैमा जगजाहेर छ ।

अर्को पक्ष सरकारलाई समर्थन मात्र गरेको अबस्थामा पनि सरकारका गलत नीति र निर्णयविरुद्ध सबभन्दा पहिला नेकपा (मसाल) र त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले नै विरोध र भण्डाफोर गर्ने गरेको छ । यसबाट स्पष्ट हुन्छ की नेकपा (मसाल) विरोधको लागि विरोध र अन्धाधुन्दा समर्थन गर्ने गरेको छैन । राष्ट्रिय ईस्यू र तत्कालिन देशको परिस्थिति अनुरुप नै आफ्ना नीतिहरु तय गर्ने गर्दछ । सरकारबाट हुने सहि निर्णयको समर्थन र गलत पक्षको भन्डाफोर गर्दै आएको छ । त्यो नै द्वन्द्वात्मक दृष्टिकोण हो । विगतदेखि बर्तमानसम्म मसालको दृष्टिकोण दूरदर्शी र सहि सावित हुँदै आएको छ ।

कम्यूनिष्ट पार्टी, लेनिनवादी संगठानात्मक सिद्धान्त स्वीकार्य गर्ने पार्टीमा सामूहिक निर्णय ब्यक्तिगत जिम्मेवारी, जनवाद र केन्द्रियता मूल आत्मा हो ।छलफलमा स्वतन्त्रता र कार्यमा एकरुपता मुख्य पक्ष मान्ने गरिन्छ।  तलबाट जनबाद र माथिबाट केन्द्रियता, ब्यक्ति पार्टीको अधिनस्त र तल्लो कमिटी उपल्लो कमिटीको अधिनस्त सबै केन्द्रीय समितिको अधिनस्त अन्ततः सबै महाधिवेशनको अधिनस्त । यो विधि नै लेनिनवादी संगठनात्मक प्रणाली हो । नेकपा (मसाल) ले पार्टी जीवनमा यो अभ्यास गर्दै आएको पनि छ ।

नेकपा (मसाल) ले गत जेठमा आफ्नो आठौं महाधिवेशन सम्पन्न गरिसकेको छ । आफ्नो रणनीति र कार्यनीति बारे स्पष्ट राष्ट्रिय अन्तराष्ट्रिय र आफ्नो सांगठनिक संरचना सहितको सहि विश्लेषण गर्दै कार्यनीति पनि तय गरेको छ । त्यो कार्यनीतिमा जनसंघर्षलाई प्रमूख मानिएको छ । त्यसको उदेश्य रणनीतिक रुपमा जस्तै दिर्घकालिन जनयुद्ध वा संशत्र संघर्षबाट नयाँ जनवादी क्रान्ती हुँदै समाजवाद र साम्यबादमा पुग्नु हो । सिद्धान्ततः नेकपा (मसाल) सच्चा क्रान्तिकारी मार्क्सबावाद लेनिनवाद र माओ विचार धारा मान्ने पार्टी हो । तर अर्कोतर्फ त्यसको संगठानात्मक संरचना निम्न पुँजीबादी प्रकृतिको छ । त्यसलाई सर्वहाराकरणको आवाश्यकतामा जोड दिइएको छ ।

नेपालको संविधानमा समाजबाद उन्मूख राज्य भने पनि जनवादी क्रान्तीपछि स्थापना हुने समाजवादले नै देश समृद्ध हुने स्पष्ट पार्दै आएको छ । तुलनात्मक रुपमा अहिलेको संविधानमा उल्लेख समाजबाद उन्मुख राज्य वा अर्थ ब्यबस्था सकारात्मक भए पनि बर्तमान सरकारबाट त्यो अनुरुप नीति कार्यक्रम आउन सकेको छैन । त्यसबारे दवाव दिँदै पनि आएको छ ।

यहाँ स्पष्ट हुनु पर्ने के छ भने वास्तविकरुपमा जनवादी क्रान्तीपछि हुने समाजवादी क्रान्ती र त्यो अबस्थामा मात्र देश समृद्धि हुने र जनताहरुका समस्या समाधान हुँदै जाने स्पष्ट नीति नेकपा (मसाल)को छ । अर्को पक्ष पनि यहाँ बुझ्नु पर्ने हुन्छ कि अहिले स्थापित भएको गणतन्त्र पूँजीवादी गणतन्त्रले जनताका समस्या पूर्णरुपमा समाधान हुन सक्दैनन् । तथापी लामो समयको जनताको बलिदान र संघर्षपछि प्राप्त उपलब्धी गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु र प्रतिगामी शक्तिहरुको विरुद्ध जनताको चेतना उठाउँदै क्रान्तीको आधार तयार गर्दै जानु बस्तुस्थितीसंगत परिपक्क राजनीतिक दृष्टिकोण नै हो ।

संसदीय चुनावको उपयोग वा बहिष्कार नीति लेनिनवादी दृष्टिकोण अन्तर्गत नै देशको बस्तुगत स्थितिको ठोस विश्लेषण गर्दै वहिष्कार र उपयोग गर्दै आएको छ। क्रान्तीका आधारभुत वर्ग र वा ग्रामिण वर्ग संघर्ष किसान मजदुर र अन्य उत्पिडित वर्गहरुको समस्या समाधान गर्ने र संघर्षमा संगठित गर्ने विषयलाई जोड दिएको पाईन्छ । नेकपा (मसाल) ले समयसापेक्षता अनुसार नीति निर्धारण गरिरहेको छ भन्ने बुझ्न गाह्रो पर्दैन ।

पार्टी भित्र संगठनात्मक पद्धति अन्तर्गत रहेर आफ्ना विचारहरु राख्न कसैलाई बन्देज गरेको छैन । विभिन्न विचारहरुको संगम नै पार्टी हो । हाम्रो समाजको संरचना सामन्ती र त्यहि समाजबाट आएका सदस्यहरु नै पार्टी हो । तर पार्टी विधि र विचारको संयोजन हुने हुँदा विधिरहीत पार्टीले विचार महान भए पनि सर्वहारा वर्गको पक्षमा काम गर्न असम्भव हुन्छ । त्यहाँ अराजकता पैदा हुन्छ । अन्ततः पार्टी नै विघटन हुने सम्भावना रहन्छ । विधि र विचारलाई सन्तुलित राख्न सके मात्र कम्यूनिष्ट पार्टीले लक्ष्य हासिल गर्न सक्दछन् । त्यसैले कम्यूनिष्ट पार्टीमा फलामे अनुसाशन हुन्छ भन्ने गरिन्छ ।

पार्टीमा आफ्ना विचारहरु राख्न छुट हुन्छ । तर कहिले काँही आफ्ना विचारका विरुद्धका निर्णयहरु कार्यान्यवन गर्नु पर्दा अप्ठारो महसुस हुन्छ । अन्य ठाउँमा त्यो स्वभाविक माने पनि कम्यूनिष्ट पार्टीको हकमा बहुमत वा संस्थागत निर्णयलाई मान्नु पर्ने हुन्छ । र कार्यमा एकरुपता दिनु पर्ने हुन्छ । आफ्ना मतभेदहरु प्रणाली अन्तर्गत रहेर माथिसम्म उठाउन विधानले छुट सुनिश्चित गरिदिएको छ । तर संस्थागत निर्णयको कार्यमा एकरुपता अनिवार्य छ । त्यस्तै आफू भन्दा उपल्ला कमिटीहरुले गरेका निर्णय हरु आफूले तल्ला कमिटीमा मन नपरे पनि लागू गराउनु पर्दछ । त्यसको अर्थ हुन्छ ब्यक्ति संगठनको अधिनस्त हो र आफ्ना मतभेद आफू भन्दा तल्ला कमिटीमा राख्न मिल्दैन । अर्को तर्फ तल्ला कमिटिहरु उपल्ला कमिटीका अधिनस्त हुन्छन् । तलबाट छलफल गर्दै निर्वाचित हुँदै वा प्रतिनिधित्व गर्दै माथि पुग्ने र महाधिवेशनमा ब्यापक छलफल पश्चायत निर्णय गरिएका विधि र दिशा निर्देशलाई तलसम्म लागू गर्ने । यसरी नै कम्यूनिष्ट पार्टीले जनवाद र केन्द्रियता बारे अभ्यास गर्दै आएको छ । जनबाद मात्र छुट दिँदा अराजकता हुने र केन्द्रियता मात्र लागु गर्दा निंरकूश हुने हुँदा यि दुवैलाई सन्तुलित रुपमा प्रयोग गर्दै आएको छ।

खास परिस्थितिमा वा महाधिवेशनको सम्दर्भमा प्रत्येक पार्टी सदस्यहरुलाई तल्ला समितिसम्म वा सार्वजनिक रुपमा आफ्ना धारणा प्रकट गर्न सबै पार्टी कमिटीलाई छुट दिने गरेको छ । त्यो प्रकृया निश्चित अवधिसम्म हुन्छ । त्यसलाई टुङ्गाउने महाधिवेशनले हो । महाधिवेशको निर्णय नै अर्को महाधिवेशनसम्मको लागि म्यान्डेट हो । महाधिवेशनका मूलभूत विषय वा विधान र मुख्य नीति बाहेक अन्य पक्षमा परिस्थिति अनुसार परिवर्तन गर्न सकिन्छ । त्यो पनि केन्द्रीय समिती, राष्ट्रिय भेला वा सम्मेलनले मात्र । यसरी हर्दा पनि के स्पष्ट हुन्छ भने सामूहिक निर्णय अनुसार नै नेकपा (मसाल) ले आफ्नो दिशा निर्देश गर्ने गरेको छ । यहाँ कुनै अमुक ब्यक्तिको चाहनाले कुनै निर्णय हुने गरेको छैन ।

तर कतिपय पार्टीबाट निष्कासित ब्यक्तिहरु वा अन्य संस्थामा सम्मिलितहरुले ब्यक्ति केन्द्रित गाली गलौज र आक्षेपहरु लगाउने गरेका छन् । विषेश गरि मसाल का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीमाथि नै उनीहरुको प्रहार र आरोप छन् । उनीहरु यो बुझ्दैनन कि पार्टी सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको पद्धतीबाट चलेको छ। अर्को कुरा आरोप लगाउने तत्वहरुले नेकपा (मसाल) वा महामन्त्रीकै लेखको वैशाखी टेकेर नै आरोप लगाउने गरेका छन् । नेकपा (मसाल) वा विषेश गरी नेकपा मसालको आठौं महाधिवेशनले दक्षिणपन्थी लाइन अपनाएको आरोप लाग्ने गरेका छन् । तर त्यस्तो आरोप लगाउनेहरुले क्रान्तिकारी लाइन के हो ? त्यो उल्लेख गरेका छैनन् । नत क्रान्तिकारी पार्टी निर्माण गर्न तर्फ लागेको देखिन्छ । नत स्वस्थ वैचारिक वा सैद्धान्तिक तर्क । मात्र ब्यक्ति केन्द्रित आक्षेप, र आठौं महाधिवेशनको निर्णय मान्ने र पार्टी प्रति इमान्दार र अनुशासित सदस्य हरुले पार्टीको नीति निर्णय र अनुशासन मान्दै गर्दा ‘एसम्यान’ को उपमा भिराई दिएका छन् ।

यो कस्तो क्रान्तिकारिता हो ? बुझिसक्नु छैन । मसाल र त्यसको नेतृत्व प्रति वा ब्यक्ति केन्द्रित गाली गलौज गर्ने र त्यसलाई प्रशय दिनेलाई क्रान्तिकारी देख्ने गरेका छन् । मोहनविक्रम सिंह र चित्रबहादुरको विरुद्ध खडा हुने नै उनीहरुका महान क्रान्तिकारी हुन् । नेकपा (मसाल) र आठौं महाधिवेशनको लाइन मान्ने सबै दक्षिणपन्थी, यो नै उनीहरुको मनोदशा छ । पार्टीको महाधिवेशनले निर्देश गरेको नीतिलाई मान्दै अगाडि बढ्नेहरुलाई उनीहरुको नजरमा र चिन्तनमा ‘एसम्यान’ वा गोठालो, हलि र चम्चा देख्दछन् । यो उनीहरुको दरिद्र निम्न चिन्तनको पराकाष्ठा हो । तर यस्तो आरोप लगाउनेहरु मसालको भन्दा अग्रगमन र क्रान्तिकारी पार्टी निर्माण गर्न तयार छन त ? त्यो देखिँदैन । बरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जस्तै आफ्ना कुरा जहाँ पनि राख्न पाउनु पर्ने पार्टीको विधि पद्धती अनुसार चल्न नपर्ने भन्ने विचार प्रकट गर्दै आएका छन् । त्यसो गरे क्रान्तिकारी भइने ठानिरहेका छन् ।

क्रान्ती नहुनु वा तयार गर्न नसक्नुको दोष महामन्त्री मोहनविक्रम सिंहको ठान्दछन् । त्यसो भन्दै गर्दा उनीहरु राष्ट्रिय, अन्तर्राष्टिय परिस्थिति, संगठनको आत्मगत परिस्थिति प्रति नजर अन्दाज गर्दछन् वा मसालको नेतृत्वको ईर्ष्या डाह र कुण्ठाले त्यो सोच्न भ्याउँदैनन् । त्यो प्रतिशोधको भावनाले यो बुझ्न भ्याउँदैनन् कि कुनै एक ब्यक्ति मात्र क्रान्तीको न अबरोध हो न त निर्णायक । यसलाई वालहठ भनिन्छ । उनीहरु क्रान्तीको भविष्यदाता एक ब्यक्ति मात्र देख्ने गरेका छन् । आफ्नो कर्तब्य प्रति पुरै गैरजिम्मेवार छन् वा बोध गर्नै चाहन्नन् ।

पार्टीको लाइन र विधिलाई नस्वीकार्नेहरु विरोधको लागि विरोध गर्दछन् । उनीहरु नै कसैका ‘एसम्यान त होइनन् ? जसले नेकपा (मसाल) को क्रान्तिकारी पृष्ठभूमि सिध्याउने अभियानमा छन् र त्यो नै मुख्य उदेश्य राखेका छन् । उनीहरुका अवाञ्छनीय गतिविधिले शंका उत्पन्न भएको छ ।