पूर्वीय दर्शनमा भौतिकवादको उदय

  •   
  •  
  •  
  •  
  •  
  •  

852 जनाले पढ्नु भयो ।

–विमल पोखरेल

मानव मस्तिष्कको विकसित स्वरुपबाट दर्शनको उत्पत्ति भयो । दर्शनको उत्पत्ति कहिले भयो भन्न कठिन छ । तैपनि मानव जातिमा भएको ऐतिहासिक भौतिक विकासबाट हामीले धेरै कुरा जान्न सक्छौं । पूर्वीय होस् वा पश्चिमी दर्शन दुवै दर्शनको उत्पत्तिको समय झण्डै समान प्रकारको छ । इशापूर्व दशौं शताब्दीमा युरोपमा दर्शनको प्रारम्भ भएको थियो भने एसियामा पनि त्यति नै समय दर्शनको आविस्कार भएको थियो भनेर राहुल सांकृत्यायनले उल्लेख गरेका छन् । इशापूर्व दशौं शताब्दी सिंगो मानव इतिहासको तुलना गर्दा छोटो अवधि हो । त्यसभन्दा पहिले मानव समाजले लाखौं वर्ष गुजारेको छ । मानव समाजको विकसित पछिल्लो कालखण्डको उच्चस्तरीय उत्पादन दर्शन हो । अध्यात्मवाद र भौतिकवादले समाजमा बेग्लाबेग्लै स्थान बनाएका छन् । पूर्वीय दर्शनको क्षेत्रमा पनि यी दुवै दर्शनले विकास गरेका छन् । तर अध्यात्मवाद र भौतिकवाद दुई परस्पर विरोधी दर्शन हुन् । ती दुवै दर्शनले बेग्लाबेग्लै ढंगले ब्रह्माण्ड, प्रकृति र मानव समाजको व्याख्यामा आफ्नो सम्पूर्ण शक्ति खर्च गरेका छन् । यस आलेखमा पूर्वीय दर्शनमा भौतिकवादको कसरी उदय भयो भन्ने बारेमा छलफल गर्न खोजिएको छ ।

पूर्वी दर्शन अध्यात्मवादको लागि प्रख्यात छ । भगवान, ईश्वर, धर्म, देवीदेवता जस्ता विश्वासका कारण अध्यात्मवादी दर्शनले फैलावट हुने मौका पायो । पुस्तौंपुस्तासम्मका सयौं ऋषिमुनिहरुले आफ्नो जीवन अध्यात्मवादी दर्शनको लागि अर्पण गरेका छन् । समयक्रममा अध्यात्मवाद मात्रै रहन सकेन । त्यसको विपरीत धार पनि प्रकट रुपमा देखाप¥यो र त्यो भौतिकवाद थियो । ‘प्राकृतिक मानिसले आफ्नो अज्ञान र भयको कारण र सहारा खोज्न थालेपछि ऊ देवताहरु र धर्मसम्म पुग्यो । जब सोझा सीधा धर्म देवतासम्बन्धी विश्वासले उसको बुद्धिलाई सन्तुष्ट पार्न सक्न छाडे, अनि उसका दार्शनिक पखेटा उम्रिए । प्राकृतिक मानवलाई यात्राको प्रारम्भदेखि लिएर धर्मसम्म पुग्न पनि लाखौं वर्ष लागेको थियो ।’ (सांकृत्यायन, २७५ : २०७३) । यहाँ सांकृत्यानले भन्न खोजेका दार्शनिक पखेटा धेरै हदसम्म भौतिकवाद हुन् । उनले अध्यात्मवाद र दर्शनको बीचमा गज्जबको अन्तरसम्बन्ध देखाउन खोजेका छन् । अध्यात्मवादले भगवान, ईश्वर, देवीदेवता जस्ता कुराहरुमा पूर्ण विश्वास गर्छ । तर उनले ती कुराहरुले मान्छेको बुद्धिलाई सन्तुष्ट पार्न छोडेपछि दर्शनको उत्पत्ति भयो भनेका छन् । मान्छेको दिमागको उपजको रुपमा आविष्कार भएको दर्शनको इतिहासको कोणबाट हेर्ने हो भने भौतिकवादी दर्शन अध्यात्मवाद भन्दा कान्छो उत्पादन हो भन्न सकिन्छ । तर दर्शनको उत्पत्ति भन्दा पहिले मान्छेले जसरी लाखौं वर्षसम्म प्रकृतिसंग आफ्नो व्यवहार प्रकट गर्दथ्यो, त्यो प्राकृतिक थियो र भौतिकवादी प्रकारको थियो । त्यतिबेला अध्यात्मवादको जन्म भएकै थिएन ।

यद्यपि आजको दर्शनधारा प्राचीन दर्शनधाराकै विकसित रुप हो । जीवनपद्धति, उत्पादन र उत्पादन सम्बन्ध, सामाजिक, सांस्कृतिक, आर्थिक आदि धेरै कारणले दर्शनलाई प्रभावित गर्दछन् । तिनीहरुको कारण दर्शनले विकसित हुने मौका पाउँछ । मानव मस्तिष्क जति विकसित हुँदै जान्छ, नयाँ नयाँ खोजमा दर्शनले पनि विकसित हुने मौका पाउँछ । जुन इतिहासको लामो कालखण्डदेखि हुँदै आएको छ । भौतिकवादी दर्शनको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ ।

अध्यात्मवादी वा भौतिकवादी दर्शनका कार्यक्षेत्रहरु एउटै हुन् । ब्रह्माण्ड, पृथ्वी, जीवजन्तु, वनस्पति, मानव समाज आदि धेरै कुराहरुको व्याख्या यी दुवै दर्शनले आ–आफ्नो ढंगले गरेका छन् । तिनीहरुको व्याख्या गर्ने तरिका भने ठीक उल्टो छ । अध्यात्मवादी दर्शनले ईश्वरको सहारा लिन्छ भने भौतिकवादी दर्शनले जुन चिजको व्याख्या विश्लेषण गर्ने हो, त्यही चिजको सहारा लिन्छ । यसरी अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन ठीक उल्टोतिर फर्किएका छन् ।

अध्यात्मवादी दर्शनको केन्द्रीय तत्व ईश्वर हो भने भौतिकवादी दर्शनमा ईश्वरलाई अश्वीकार गरिएको छ । भौतिकवादी दर्शनको उत्पत्तिको छलफल गर्नुभन्दा पहिले हामी मान्छेको सुरुको व्यवहारतिर जानुपर्दछ । किनभने दर्शन त धेरै पछिको उत्पादन हो भनेर भनिसकिएको छ । दर्शनको उत्पत्ति हुनुभन्दा पहिले मान्छेको प्रकृतिसंगै व्यवहार थियो । जसरी अहिले प्रकृतिमा भएका धेरै जीवजन्तु, जनावरहरुले प्रकृतिमा व्यवहार गर्दछन्, एक ठाउँबाट अर्काे ठाउँमा जान्छन्, मान्छे पनि त्यसरी नै प्रकृतिमा व्यवहार गर्दथ्यो । ‘जब मानिसको सामाजिक जीवन निर्माण भयो, त्यसले नै उत्पादनका प्रविधिहरुको विकास, समुदायका बीचको परस्पर सम्बन्ध, आमोदप्रमोदका साधनहरु, परिवेशी जीवन र जगतलाई अथ्र्याउन सक्ने तर्कबुद्धि आदिको विकास भयो । यसै तर्कबुद्धिको परिणाम नै आदिकालीन समाजको दार्शनिक चेतना प्राकृतिक भौतिकवादी भयो । यो अवस्थाको चिन्तन एवं सामाजिक चेननालाई देवीप्रसाद चट्टोपाध्यायले आदिकालीन भौतिकवाद भन्नुभएको छ भने राहुल सांकृत्यायनले प्राचीन भौतिकवाद भन्नुभएको छ ।’ उपाध्याय, ६३, ६४ : २०७०) । प्राकृतिक भौतिकवादी चेतना मान्छेको भौतिक संसारसंगको संसर्गमा आधारित छ । मानव समाजको विभिन्न कालखण्डलाई एंगेल्सले व्याख्या गरेको आधारमा भन्ने हो भने त्यो अवस्थाको चेतना भनेको मान्छेको आदिम साम्यवादी युगको चेतना थियो ।

‘प्राकृतिक भौतिकवाद पूर्वी गोलार्धमा भारत, नेपाल चीन आदि मुलुकमा भौतिकवादी विचारधाराले प्राचीन समयदेखि नै मानव समाजलाई पथप्रदर्शन गर्ने प्रयत्न गरेको पाइन्छ । भारतमा वैदिकधाराभित्र अव्यवस्थित रुपमा जैमिनी, कणादजस्ता व्यक्तिहरुले भौतिकवादी विचार व्यक्त गरेका छन् । नेपालमा कपिल, गौतमबुद्ध र चीनमा लाओत्सेका विचारहरु पनि यस्तै भौतिकवादी खालका छन् । (प्रभात, ४२, ४३ : २०४७)

त्यो अवस्थामा मानव समाजले धेरै विकसित रुप धारण गरिसकेको थियो । मान्छे कृषि तथा पशुपालनको युगमा आइसकेको थियो । निजी सम्पत्तिको उत्पत्ति भइसकेको थियो । ऋषिमुनिहरुले ठूलठूला यज्ञहरुको आयोजना गर्ने गर्दथे । उनीहरुको मुख्य जीविकोपार्जन यज्ञहरुको आयोजनाबाट हुन्थ्यो । उनीहरु यसैको माध्यमबाट ज्ञानको प्रचार गर्दथे भने आफ्नो जीविकोपार्जन पनि संगै गर्दथे । त्यतिबेला अध्यात्मवादले समाजमा आफ्नो पकड जमाइसकेको थियो ।

‘वैदिक साहित्यको ठूलो भाग प्रकृतिको उपासना र प्राकृतिक वस्तुहरुको स्तुतिगानमा आधारित छ । प्राकृतिक वस्तुहरुको शक्तिभन्दा मानिसको शक्ति कम भएको हुनाले वर्षा, बादल, विजुली, हावा, पानी, सूर्य, चन्द्रमा र पृथ्वीको उपासनामा आधारित स्तुतिगान, यज्ञ, कर्मकाण्ड आदिको मात्र वर्णन भएका प्रशस्त उदाहरणहरु छन् ।’ (उपाध्याय, ६४ ः २०७०) । वैदिक साहित्यमा उल्लेख गरिसकेपछिको अवस्थामा जेजति पूजाआजाहरु गरिन्थ्यो, ती मान्छेमा प्रशस्त दार्शनिक चेतना भइसकेपछिको कुरा थियो । तर मानव समाज त्यसभन्दा अगाडि पनि थियो र त्यसका व्यवहारहरु फरक थिए । चेतना विकासक्रममा मान्छेलाई जब ईश्वर, ब्रम्हा, परमात्माजस्ता कुराहरुको उत्पत्ति भएकै थिएन, त्यो अवस्था भौतिकवादी अवस्था थियो । जसलाई भौतिकवादीहरुले प्राकृतिक भौतिकवाद भन्ने गर्दछन् । ‘समग्रतामा भन्नुपर्दा प्राकृतिक भौतिकवाद आदिम साम्यवादी युगको दार्शनिक चेतना थियो र त्यो प्राकृतिक वस्तुहरुलाई नै प्रधान ठान्ने विचारप्रणालीमा आधारित थियो । यस कालावधिसम्म संसारलाई सृष्टि गर्ने ईश्वर, ब्रम्हा या अन्य सृष्टिकर्ता परमात्मा पुरुषको जन्म भएकै थिएन ।’ (उपाध्याय, ६५ : २०७०) । त्यस कालखण्डमा मान्छेको सम्पूर्ण व्यवहार भौतिकवादी थियो ।

वर्तमान समाजमा भौतिकवाद भनेको ईश्वर नमान्ने, जेजति भौतिक विकास भएको छ, त्यसबाट आफूले चाहेजति सुखसुविधा लिने, समाजको पनि वास्ता नगर्ने, एकपटक प्राप्त भएको जीवनमा मोजमस्ती गर्ने, प्रकृति र मानव इतिहासको अध्ययन नगर्ने तथा समाजप्रतिको दायित्वको मतलब नगर्ने जस्तो बुझ्ने गरिएको छ । तर यो बुझाई मानव इतिहास र ज्ञानप्रतिको भद्दा मजाक हो । भौतिकवादी दर्शनले संसारको भौतिक विकास र मानव समाजको विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

जब अध्यात्मवादले मान्छेको चित्त बुझाउन छोड्यो, त्यसपछि भौतिकवादको खोजी हुन थाल्यो । दार्शनिकहरु भौतिकवाद खोज्नको लागि अन्त कतै गएका होइनन् । यही पृथ्वी र समाजमै उनीहरुले भौतिकवादको खोजी गरेका हुन्, जहाँ मान्छेहरुलाई दुःख कष्ट हुन थाल्यो । उनीहरुका समस्याहरुले जटिल रुप लिंदै गयो । समाजलाई अध्यात्मवादी दर्शनले कब्जा जमाएको बेला भौतिकवादको उदय हुनु र त्यसले समाजमा विकसित हुनु धेरै कठिन कुरा थियो । बगिरहेको नदीको धारालाई थुन्नु वा नदीसंगै नबगेर त्यसलाई पार गरेर पनि जान सकिन्छ भन्ने धारणाको विकास थियो । अध्यात्मवाद नदीको प्रवाहसंगै बगिरहेको थियो । तर भौतिकवादले नदीको त्यो प्रवाहसंग बगेर जान चाहेन बरु त्यसबाट पार गर्न प्रयत्न ग¥यो । ‘यो एउटा विचित्र खालको संयोगको कुरा भन्नुपर्छ, संसारका अनेकौं देशहरुको दार्शनिक चिन्तनको इतिहासमा इशापूर्व छैटौं शताब्दी एउटा नयाँखालको पृष्ठभूमि लिएर उपस्थित भयो । यस शताब्दीमा भारतमा अध्यात्मिक असन्तोषका रुपमा जैन र बौद्ध दर्शनले एउटा बौद्धिक क्रान्ति नै सिर्जना ग¥यो । र, त्यसै रुपमा विख्यात भयो । चीनमा लाओत्से र कन्फ्युसियसले त्यस्तै प्रकारको वैचारिक उथलपुथल सिर्जना गरे । युनानमा थेलिज, परमेनाइडिस, इरानमा जरथु्रुस र भारतवर्षमा महावीर बर्धमान र गौतम बुद्धले यसप्रकारको धर्म दर्शनको ठूलो परिवर्तनको सूत्रपात गरे ।’ (उपाध्याय, २०७३ ः ७२) ।

इशापूर्व छैटौं शताब्दी भौतिकवादी दर्शनको उर्बरकालको रुपमा अगाडि आयो । जैन दर्शन त्यही समयको शक्तिशाली भौतिकवादी दर्शन थियो । वेद, उपनिषद, स्मृति र पुराणहरुमा वैदिक धर्मदर्शन सम्बन्धी जेजति विषयवस्तुहरु उल्लेख गरिएका वा व्याख्या गरिएका थिए जैन दर्शनले त्यसको विकल्पको रुपमा आफूलाई अगाडि सार्न खोजेको थियो । जैन दर्शनले कुनै पनि कुरालाई कट्टर रुपमा बुझ्नु हुँदैन । हरेक वस्तुका अनेकौं रुपहरु च पक्षहरु हुन्छन् भन्ने अवधारणा अगाडि सारेको थियो । इशापूर्व आठौंदेखि छैठौं शताब्दीतिर लोकायत दर्शनको आविष्कार भयो । ‘लोकायत मतले पृथ्वी, जल, तेज, वायुजस्ता भौतिक पदार्थलाई प्राथमिक स्थानमा राख्दथ्यो र तिनी भौतिक पदार्थबाट चेतनाको उत्पत्ति हुने कुरा मान्दथ्यो । यो ईश्वर, वेद, ब्राह्मण, धर्म सबैको विरोधी थियो ।’ (सांकृत्यायन, २०७३ : २७८) । लोकायत दर्शन पनि अध्यात्मवादी दर्शनको विपरीत धारमा उभियो ।

गौतम बुद्ध (इ.पू. ५६३–४८३)ले भौतिकवादी अवधारणा अगाडि सार्दै ईश्वरवादको विरोध गरे । धर्मको नामबाट चलेका शोषणको मुक्तिको लागि गौतम बुद्धले नास्तिकतावादको प्रचार गरे । बुद्ध दर्शनले सिंगो जगत, मानव समाज, मानिस आदि सबैलाई परिवर्तनशील हुन्छ भनिदियो । गौतम बुद्ध वेद, वर्णाश्रम व्यवस्था, ईश्वर आदिको विरोधमा उभिए । गौतम बुद्ध मान्छेको दुःखको कारण र त्यसको समाधान खोज्नमै तल्लीन रहे । यो समाजमा दुःख छ, दुःखका कारणहरु छन्, दुःखलाई हटाउन सकिन्छ र दुःख हटाउने उपायहरु छन् भनेर उनले मान्छेको दुःखलाई केन्द्रीय विषयवस्तु बनाए । ‘गौतम बुद्ध १. इश्वरमा विश्वास राख्दैन थिए, २. आत्मलाई नित्य मान्दैन थिए, ३. कुनै ग्रन्थलाई स्वतः प्रमाण मान्दैन थिए, ४. जीवन प्रवाहलाई यही शरीर मात्रमा सीमित मान्दैन थिए । यसै मान्यतको आधारमा बौद्ध सिद्धान्त रहेको देखा पर्छ ।’ (शिवाकोटी, २०६१ : ५७) ।

ईशापूर्व चौथो या तेस्रो शताब्दीमा आविष्कार भएको सांख्य दर्शन पनि भौतिकवादी दर्शन हो । कपिल ऋषिले सांख्य दर्शनको आविष्कार गरेका थिए । कपिल ऋषिको बारेमा भागवत गीतामा पनि व्याख्या गरिएको पाइन्छ । अध्यात्मवादले भौतिकवाद छ भन्ने कुरालाई पनि स्वीकारेको थियो भन्ने अर्थमा पनि यसलाई लिन सकिन्छ । कपिल ऋषिले जीवन र जगतलाई धेरै फराकिलो ढंगले व्याख्या गरेका छन् । उनले २५ तत्वलाई आफ्नो चिन्तनप्रणालीको केन्द्रविन्दु बनाएका छन् । पृथ्वी, जल, वायु, तेज, आकाश, गन्ध, रस, स्पर्श, इन्द्रीयहरुलाई उनले संयोजन गरेका छन् । कपिल ऋषिले जतिबेला भौतिकवादी धारणाहरु अगाडि सारेका थिए, त्यो अध्यात्मवादको उर्बर समय थियो । ‘सांख्य दर्शनमा द्वन्द्ववादका विशेषता पाइन्छन् । यसले प्रकृतिलाई सत्व, रज र तमजस्ता परस्पर विरोधी गुणहरुको साम्यवस्थाको रुपमा लिन्छ । यो सत्कार्यवादको पक्षमा छ र यसप्रकारको सत्कार्यवाद परिणामवादमा आधारित रहेको छ । यो परिवर्तनवादी रहेको छ ।’ (वैद्य, २०७४ : ५४) । सांख्य दर्शनले भौतिक प्रमाणमाथि विश्वास गर्दछ । सांख्य दर्शन बौद्ध दर्शन भन्दा कान्छो दर्शन हो र यसले मान्छेको दुःखको विषयमा नै आफ्नो विषयलाई केन्द्रित गरेको छ ।

‘पूर्वीय दर्शनमा वेदले ठूलो सत्ता जमाएको छ । हालसम्म पनि सारा पूर्वीय दर्शनहरु वेदको वरिपरि घुमेका छन् वा वेदको आलोचना गर्नमै केन्द्रित छन् । सांख्य, न्याय, वैशेषिक, मिमांसा, योग, वेदान्त, जैन, बौद्ध, लोकायत आदि दर्शन इशापूर्व ७००–२०० को बीचमा आविष्कार भएका थिए । ती दर्शनहरुले आफ्ना फरक मौलिकता अगाडि सारे । ती दर्शनहरु जनताका बीचमा स्थापित हुनको लागि कैयौं संघर्षहरु गरेका छन् । यसरी दुवैथरी दर्शनको बीचमा निरन्तर संघर्ष चलिरहेको छ ।’ (पोखरेल, २०७६ : ४७) । दुई विपरीत दिशामा उभिएका अध्यात्मवाद र भौतिकवादका बीचको संघर्षले करिब तीन हजार वर्ष गुजारिसकेको छ । यो एउटा लामो कालखण्ड हो । यो संघर्षले मानव जीवनमा कैयौं खोज र अनुसन्धानहरुलाई योगदान पुगेको छ ।

पूर्वीय दर्शनमा अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनले आ–आफ्नो स्थान बनाएका छन् । यिनीहरुको बीचमा निरन्तर संघर्ष जारी छ । जैन, बौद्ध, सांख्यले भौतिकवादी दर्शनलाई उचाइमा लगेका छन । कणाद ऋषिले आविष्कार गरेको वैशेषिक दर्शन, गौतम अक्षपादले आविष्कार गरेको न्याय दर्शन, चार्बाकको लोकायत दर्शन पनि प्रमुख पूर्वीय भौतिकवादी दर्शनहरु हुन् । जसले भौतिक पदार्थलाई केन्द्रविन्दूमा राखेर दर्शनको खोजी र विकास गरे । पूर्वीय भौतिकवादी दर्शनलाई उन्नत र विकसित तुल्याउनको लागि ती दर्शनका अध्याता, अनुसन्धाताहरुको पनि ठूलो योगदान रहेको छ । ती दर्शनहरुले मानव समाजको विकास, चिन्तनप्रणाली, जीवनपद्धति, शिक्षा आदिको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
सन्दर्भ सामग्री :
–उपाध्याय, गोपीरमण (२०७०) प्राकृतिक भौतिकवाद : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं ।
–उपाध्याय, गोपीरमण (२०७३) पूर्वीय भौतिकवाद : माइलस्टोन प्रकाशन तथा प्रशारण प्रा.लि., काठमाडौं ।
–प्रभात, विष्णु (२०७०) माक्र्सवाद र यसको विकास प्रक्रिया : पैरवी प्रकाशन, काठमाडौं
–पोखरेल, विमल (२०७६) नेपालमा पूर्वीय दर्शनको शासन : परिवेश प्रकाशन, काठमाडौं
–वैद्य, मोहन (२०७४), हिमाली दर्शन, साझा प्रकाशन, ललितपुर
–शिवाकोटी, गोपाल (२०६१) विश्वका प्रमुख राजनीतिक विचारधारा, पैरवी प्रकाशन, काठमाडौं
–सांकृत्यायन, राहुल (२०७३) दर्शनदिग्दर्शन : दीननाथ घिमिरे, अक्षरदीप प्रकाशन, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *