प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ ।

शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई रोक्न लोकतन्त्रका पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

आफ्नै पार्टीको झगडा मिलाउन नसकेका केपी ओलीले संसद्मा अविश्वासको प्रस्तावबाट आफू हट्ने देखेर संसद विघटन गरेको बताउँदै अध्यक्ष केसीले यो कदमले असंवैधानिक र प्रजातन्त्र नै धरापमा पर्ने खतरा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालिन राजनैतिक निकास भएको बताउनुभयो ।

अर्का नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान राजनैतिक निकास प्रतिनिधि सभा पुनर्स्थापना भएपनि यो व्यवस्थाबाट नेपाली जनताको गास, वास, स्वास्थ, रोजगारीको समस्या समाधान नहुने बताउँदै, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले संघीयताले गर्दा आम्दानी भन्दा खर्च बढी भएकोले देश विदेशीको ऋणको चपेटामा पर्दै गएको बताउनुभयो । संघीयता लागू गर्ने दलहरुलाई अहिले संघीयता निल्नु न उकेल्नु भएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले पनि सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल महिला संघकी सल्लाहकार चन्द्र बदन श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ति मगर, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक शशी सापकोटा, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्री, अखिल (छैठौं) का जिल्ला अध्यक्ष रेसव आचार्यको आतिथ्यता रहेको थियो ।

कार्यक्रम सुरु हुनुअघि गोरुसिंगे पेट्रोलपम्पदेखि गगनभेदी नाराजुलुस सहित थारु कल्याणकारी सभाहलको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो ।

राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र स्वागत मुक्तिराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार