प्रत्येक वर्ष ९० करोड टनभन्दा धेरै खाद्यपदार्थ भान्साबाट खेर जान्छ

33 जनाले पढ्नु भयो ।

  • भिक्टोरिया गिल
  • विज्ञान संवाददाता, बीबीसी न्यूज

विश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सीधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको छ।

त्यसको करिब ६० प्रतिशत घरबाट निस्किन्छ।

लकडाउनमा भने कम्तीमा यूकेमा खेर जाने घरेलु खानेकुरा आश्चर्यजनक रूपमा निकै कम भएको देखिएको छ।

नादिया हुसैन
तस्बिरको क्याप्शन, टीभी कुक तथा खानेकुराबारेकी लेखिका नादिया हुसैन भान्साबाट निस्किने फोहरविरुद्धको अभियानमा सहभागी भएकी छन्

राष्ट्रसङ्घको साझेदार सङ्गठन वेस्ट एन्ड रिसोर्सेस एक्शन प्रोग्र्याम (डब्ल्यूआरएपी) ले आफ्नो प्रतिवेदनमा मानिसहरूले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ।

अनि त्यो प्रयासको निम्ति भान्साबाट निस्किने फोहर घटाउने बानीको विकासलाई अभिप्रेरित गरिएको छ।

भान्साबाट दुई करोड ३० लाख ट्रकमा फोहर

डब्ल्यूआरएपीका रिचर्ड स्वानेलका अनुसार प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन पहिले अनुमान गरेभन्दा धेरै ठूलो छ।

उनले बीबीसी न्यूजसँग भने, “प्रत्येक वर्ष ९२ करोड ३० लाख टन खाद्य पदार्थ खेर जान्छ। त्यो ४० टन क्षमताको ट्रकमा दुई करोड ३० लाख खेप हुन्छ। बम्परदेखि बम्परसम्म जोड्दा त्यो पृथ्वीलाई सातवटा घेरा हाल्न पर्याप्त हुन्छ।”

ल्याण्डफिल

पहिले यो मुद्दालाई विशेषगरी धनी देशको समस्याको रूपमा लिइन्थ्यो। जहाँ उपभोक्ताहरूले आफूले खानेभन्दा धेरै किन्छन्। तर यो अनुसन्धानले ‘जताततै पर्याप्त खानेकुरा खेर जाने गरेको’ देखाएको छ।

न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा समस्या फरक छ भन्ने कुरा खुट्याउन नसकिने अवस्था भएको निष्कर्ष उक्त प्रतिवेदनको छ।

यूएनईपीकी मार्टिना ओट्टो भन्छिन्, “हामीले त्यसमा गहिरो गरेर हेरेका छैनौँ।”

कसरी जोगाउने खानेकुरा?

उनको भनाइमा खाद्य र अखाद्य पदार्थ छुट्ट्याउने तथ्याङ्क उच्च आय भएका देशहरूमा मात्र थियो र कम आय भएका देशहरूमा खान उपयुक्त पदार्थ निकै कम खेर फालिने सम्भावना छ।

खेतमा किसान

“तर अन्तिम निष्कर्षण के हो भने विश्वले खानेकुरा बनाउन प्रयोग हुने सबै खाले पदार्थ खेर फ्याँकिरहेको छ,” उनले भनिन्।

खेर जाने खाद्यपदार्थ कम गर्न विज्ञहरूले ठिक मात्रामा किन्ने योजना बनाउने, खाना पकाउने बेला आवश्यक मात्रा नाप्ने, फ्रिजको चिसोपना बढाउने लगायतका सुझाव दिएका छन्।

डब्ल्यूआरएपीको अनुसन्धानले आफूले खाने जतिमात्रै किन्ने हो भने यूकेमा औसत रूपमा रहेक घरले प्रत्येक वर्ष ७०० पाउन्ड जोगाउन सक्ने देखाएको छ।

जैविक विविधता र जलवायु परिवर्तनबारे यस वर्ष हुने एउटा प्रमुख सम्मेलनअघि यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले सन् २०३० सम्ममा खेर फालिने खाद्यपदार्थ आधामा झार्न देशहरूलाई दबाव दिँदै छिन्।

उनी भन्छिन्, “यदि हामी जलवायु परिवर्तन, प्रकृति र जैविक विविधतामा क्षति अनि प्रदूषण र खेर फालिने पदार्थबारे गम्भीर हुने हो भने विश्वभरिका सरकार, व्यापारी र नागरिकले खाद्य फोहर कम गर्न आआफ्नो भागको काम गर्नुपर्छ।”

लकडाउनको प्रभाव र सम्भावना

डब्ल्यूआरएपीका रिचर्ड स्वानेलका भनाइमा खेर फालिने खाद्यपदार्थ ८-१० प्रतिशत हरितगृह ग्यास उत्सर्जनको निम्ति जिम्मेवार छ।

उनी भन्छन्, “यदि खेर जाने खाद्यपदार्थ एउटा देश हुन्थ्यो भने त्यो यो पृथ्वीमा हरितगृह ग्यासको तेस्रो ठूलो स्रोत हुन्थ्यो।”

Pea shoots

डब्ल्यूआरएपीको अनुसन्धानका अनुसार लकडाउनका बेला पकाउँदा, योजना बनाउँदा अनि भण्डारण गर्दा अपनाइएको सावधानीले सन् २०१९ को तुलनामा मानिसहरूले फ्याँक्ने खाद्य पदार्थको मात्रा २२ प्रतिशतले कम भएको छ।

उक्त संस्थाले भनेको छ, “तर पछिल्लो विवरणअनुसार लकडाउनबाट हामी फेरि निस्किएकाले खेर फाल्ने क्रम फेरि बढ्ने देखाएको छ।”

त्यसविरुद्ध चर्चित कुक र शेफहरूले आफूलाई अघि सारेका छन्।

ब्रिटिश टीभी कुक नादिया हुसैनले डब्ल्यूआरएपीसँग मिलेर काम गरिरहेकी छन्। उनले त्यसका उपायहरू इन्स्टाग्राममार्फत् सुझाउने गरेकी छन्।

इटालियन रेस्टुराँ व्यवस्थापक तथा शेफ मासिमो बोटुरा फ्याँकिने खाद्यपदार्थ विरुद्ध र त्यो कम गर्ने अभियानको निम्ति यूएनईपीको सद्भावना दूत नियुक्त भएका छन्।

इटलीमा लकडाउनभरि उनको परिवारले किचेन क्वारन्टीन नाम दिएर अनलाइनबाट भान्सा चलाएका थिए। त्यसो उद्देश्य हरेक खाद्य सामानमा अदृष्य सम्भावना रहेको कुरा हेर्न मानिसहरूलाई प्रेरित गर्नु थियो।

दशौँ लाख टन खाद्यान्न फ्याँकिदै गर्दा सन् २०१९ मा अनुमानित ६९ करोड मानिस भोकमरीबाट प्रभावित भएका थिए। महामारीका कारण उक्त सङ्ख्या निकै बढ्ने ठानिएको छ।

यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले खाद्यपदार्थ खेर जाने क्रममा गरिने नियन्त्रणबाट हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न, भूमि संरक्षण भएर प्राकृतिक विपद् र प्रदूषण सुस्त गर्न, भोकमरी कम गर्न र विश्वव्यापी मन्दीका बेला पैसा जोगाउन सकिने औँल्याएकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *