प्रदेश सरकारलाई भुरेटाकुरे राज्य नबन्न प्रधानमन्त्रीको चेतावनी

  •   
  •  
  •  
  •  
  •  
  •  

31 जनाले पढ्नु भयो ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सरकारहरू भुरेटाकुरे राज्य बन्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।

शनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा भएको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि एकजुट हुनुपर्नेमा कतिपयले राजनीति गर्ने काम गरेको दाबी गर्नुभयो ।

उहाँले महामारीमा के कस्ता समस्या देखिएका छन्, कसरी समाधान गर्न सकिन्छ भनेर सङ्घ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राजारजौटाजसरी चलाउन खोजेको टिप्पणी गर्नुभयो । उहाँले सुदूर पश्चिम प्रदेश सरकारले सङ्घको सहयोग नलिएकोप्रति असन्तुष्ट हुँदै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो– ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस् । प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिँदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ । जाऊँ हाम्लाई चाहिँदैन केही पनि । यो भन्दा के हुन्छ ? प्रदेशका नाममा, केका नाममा राज्यरजौटा भएर चलाउने प्रवृत्तिहरू । मानवीय सङ्कटका बेला रजौटे प्रवृत्ति उचित हुन सक्छ र ?’

प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्यप्रणाली नै कोल्याप्स भयो भनिएकोमा पनि आपत्ति जनाउनुभयो । उहाँले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्यप्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

यही वैशाख २८ गते एक कार्यक्रममा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्यनीति परिर्वतन गर्न सुझाव दिनुभएको थियो । चिकित्सकको सो भनाइमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउनभएको हो ।

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उनले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठुलो उपलब्धि भएको बताउनुभयो । महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उहाँले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो ।

उहाँले अक्सिजनको आपूर्ति सहज र पर्याप्त बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई निर्देशन पनि दिनुभयो । स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लान्ट स्थापना लगायतको काम गर्न निर्देशन दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *