प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानी ‘दाङको देउखुरी’ दुईतिहाइले पारित

बुटवल । प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ भने प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र कायम भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानमा नाम र स्थायी राजधानीसम्बन्धी निर्णय दुईतिहाई बहुमतका साथ पास भएको हो ।

दाङको राप्ती गाउँपालिकाको भालुबाङ, दाङकै गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको केही क्षेत्र गरी देउखुरी उपत्यका क्षेत्रलाई राजधानी तोकिएको हो ।

प्रदेश सरकारले मंगलबार बसेको बैठकमा राजधानी देउखुरी क्षेत्रमा राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो । छलफलपछि भएको मतदानमा दुईतिहाइ बहुमत सांसदले देउखुरी क्षेत्रलाई राजधानी बनाउन मतदान गरेका छन् ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम दुईतिहाइ बहुमत पुगेकाले राजधानी देउखुरी क्षेत्रलाई कायम गरिएको सभामुख पूर्णबहादुर घर्तीले सभासमक्ष जानकारी दिनुभयो ।

देउखुरी राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका छन् भने त्यसको विपक्षमा १३ जना सांसदले मतदान गरेका छन् । प्रदेश सभामा ८७ जना सांसद भए पनि मतदानमा ८२ जना मात्रै सहभागी भए ।

यस्तै, मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ । प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए । लुम्बिनी नाम राख्ने पक्षमा तुईतिहाई बहुमत पुगेपछि नेपालको संविधानको धारा २९५ को उपधार २ बमोजिम प्रदेशको नाम लुम्बिनी रहेको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

यसअघि सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

प्रदेश सभामा नेकपामा ६१, काँग्रेसका १९, जनता समाजवादीका ६ र जनमोर्चाका १ जना सांसद छन् । राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले लुम्बिनीका पक्षमा मतदान गरेपनि राजधानीको प्रस्तावमा तटस्थ बस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार