प्रधानमन्त्रीका सल्लाहकार अझै पनि महतोको समर्थनमा

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले चौतर्फी आलोचना भएपछि आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता रहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको दावी गरेका छन् ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।

उनले पदभार ग्रहणका क्रममा ‘अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने’ बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भइरहेको छ ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् ।

यो पनि : उपप्रधानमन्त्री महतोको बहुल राष्ट्रिय राज्यसम्बन्धी अभिव्यक्ति विखण्डनकारी : मसाल

महतोको त्यो अभिव्यक्ति संविधानविपरीत देश विखण्डनकारी भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यस क्रममा एमालेकै माधव नेपाल समूह तथा विपक्षी दलहरूले विज्ञिप्ति नै जारी गरी घोर भर्त्सना गरेका थिए।

यस्तो छ महतोको विज्ञप्ति

महतोको अभिव्यक्ति स्वाभाविक : सूर्य थापा
यता, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति स्वाभाविक भएको दाबी गरेका छन् । उनले महतोको समर्थन नपाउनेहरूले उनको विवादास्पद अभिव्यक्तिको विरोध गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रायः गठबन्धनका सरकारका मन्त्रीको अभिव्यक्ति विवादास्पद नै हुने गरेको दाबी गर्दै अहिले ओली सरकारका मन्त्री महतोले पनि त्यस्तो अभिव्यक्ति दिनु कुनै अनौठो नभएको टिप्पणी गरेका हुन् । साथै उनले महतोको अभिव्यक्तिविरुद्ध विज्ञप्ति निकाल्नेहरूलाई ‘बुमेराङ’को संज्ञा दिएका छन् ।

‘प्रायः नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुनेगरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,तर दुई दिनमै गल्ती सच्याए,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान सामाजिक सजालमार्फत भनेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यबाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्न लायक छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार