प्रवासी नेपालीहरु बारे सरकार उदाशिन छ

  •   
  •  
  •  
  •  
  •  
  •  

1161 जनाले पढ्नु भयो ।

लालचन्द पन्थ, अध्यक्ष, पश्चिमोत्तर क्षेत्रीय समिति

विस २०१६ जेठ २० गते बाबा हरिहर पन्थ र आमा धनिश्वरा पन्थको तेश्रो सन्तानको रुपमा गुल्मीको तात्कालिन हर्दिनेटा गाउँपञ्चायत ५ धरमपानी छाप तथा हालको छत्रकोट गाउँपालीका 3 पर्ने सामान्य परिवारमा जन्मनु भएको थियो लालचन्द पन्थ । वहाँका अनुसार सानै उमेरदेखि घरको कामको साथसाथै दिउँसोको समयमा स्कूल जाने र रातीको समयमा कर्मकाण्ड वेद–चण्डी पढ्ने गरेको संझनु हुन्छ । आफ्नो पिता जीले आफूलाई कर्मकाण्ड तिर बढि जोड दिने गर्नुभएको थियो । तर उच्च शिक्षा हाँसिल गर्नका लागि घरको आर्थिक अवस्था कम्जोर भएकाले १८ वर्षको कलिलो उमेर मै भारत पस्न आफु वाध्य भएको नमिठो यथार्थ बताउनु हुन्छ लालचन्द पन्थ । वहाँले भारतमा हरियाणाको हिसारबाट आफ्नो प्रवासी जीवनको शुरुवात गर्दै होटेल, कोठीमा जागिर गर्नु भयो । वहाँ हरियाणाको जिन्द नरवानाबाट सन १९८३ देखि एकता समाजमा प्रवेश गर्नुभएको बताउनु हुन्छ । त्यतिवेला संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका दयाराम न्यौंपानेबाट एकता समाजको सदस्यता पाउनु भएको थियो पन्थले । दयारामले संगठनको बाटो छाडेर अन्यत्रै गए पनि लालचन्द पन्थ भने अविचलित रुपमा एकता समाजको काम र तव्र्यमा लगातार अगाढि बढिरहनु भयो । संगठनले दिएका जिम्मेवारीहरु आफ्नो क्षमताले भ्याएसम्म निरन्तरतापूर्व निर्वाह गर्दै आउनुभएका पन्थ हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्षमा रहि संगठनको कार्यमा सक्रिय हुनुहुन्छ । प्रस्तुत छ वहाँसँग भएका भलाकुसारी :

देशको तात्कालिक राजनीतिक अवस्थालाई कसरी हेर्नु हुन्छ ?

देश अहिले गम्भिर अवस्थाबाट गुज्रिरहेको छ । ठूला पार्टीहरुका कारण देश संघीयतामा गएको छ, राजनैतिक पार्टीहरुले देशको भन्दा आफ्नो भलो कसरी हुन्छ भन्नेमा उदेश्यले नै काम गरेका छन् । देशका सिमाहरुमा छिमेकि देशले कब्जा गर्दैछ, जनता सड्कमा छन्, सरकार मौनछ । देशमा महंगी, भ्रष्टाचारी, हत्या, हिंसा, वलात्कारका काण्डहरु निरन्तर रुपमा बढिरहेका छन् । यही अवस्था रह्यो भने देश सिक्किम बन्ने खतरामा छ, त्यस्ता कार्यहरुको हाम्रो संगठनले घोर भ्रत्सना र नेपालको सरकारलाई खबरदारी गर्दै आएको छ ।

तपाईको त्यस क्षेत्रमा श्रमजिवी नेपालीहरुको स्थिति कस्तो प्रकारको छ ?

हाम्रो क्षेत्र भारतको राजधानी क्षेत्रमा पर्ने भएको कारण नेपालीहरुको आवत जावत पनि धेरै नै छ । श्रमजिवीहरुको अवस्था दिनप्रति दिन नाजुक छ । हाम्रो संगठन भन्दा बाहिर छरिएर रहेका नेपाली श्रमजिवीहरुको संख्या अत्याधिक छ । त्यस्ता श्रमजिवीहरुलाई मूल प्रवाहको संगठनमा आवद्ध गर्ने प्रयासमा निरन्तरता दिएका छौं । जनताका समस्याहरुको माझमा छौं । यसै कारण हाम्रो संगठन जनताका लागि साझा घर भएको छ ।

त्यस क्षेत्रमा नेपाली मजदुरहरु माथिको भेदभाव के कत्तिको छ ?

यस क्षेत्रमा नेपालीहरुमाथि भेदभाव बढेर गएको छ । नेपालीहरु जन्मजात चौकिदार र होटल, कोठीमा काम गर्ने हुन् भन्ने यहाँका मान्छेहरुको धारणाछ । यसैमा पनि कैयौं कमीकमजोरी हामी नेपालीहरुबाट पनि भएका छन् । कैयौं सरकारी जागिरमा लागेका नेपालीहरुलाई हाकिमहरुको कोठीमा काम गर्न वाध्य पारिएका घटनाहरु पनि हामीलाई प्राप्त हुने गरेका छन् । कोठीबाट विद्रोह गरेर फिल्डमा आउन पनि नसक्ने र यदि त्यसो गरियो भने पनि हाकिमहरुबाट दवाब सिर्जना हुने भएका कारणहरु पनि उनीहरु संगठनबाट टाढा छन् । स्वयं आफै पनि संगठनमा रुची नदेखाउने कमायो खायोको अवस्था र जब आफूमाथि संकट पर्ने गर्दछन् तब मात्र संगठनको खोजि गर्नेहरुको पनि कमि छैन । जबसम्म हामी आफ्नो हक अधिकारलाई बुझेर अगाडि आउँदैनौं, तबसम्म हामी अवहेलित नै रहन्छौं । यसकारण भारत प्रवासमा रहनुहुने सम्पूर्ण श्रमजिवी नेपालीहरुलाई संगठनमा आवद्ध हुन आग्रह गर्दै आएका छौं ।

दक्षिण तिरबाट यात्राका दौरानमा नेपालीहरु बढि मात्रामा लुटिने कुटिने घटनाहरु सुन्नमा आउँछन्, त्यता कस्तो छ ?

भारतमा यात्राका दौरानमा तमाम नेपाली मजदुरहरु लुटिने, कुटिने गरेका घटनाहरु भइरहेका छन् । यसमा केही त हाम्रो चेतनाको कमिका कारण पनि यस्ता घटनाहरु घट्ने गरेका छन् । मुख्य गरेर हाम्रो देशको राज्य व्यवस्था र शासकहरु कमजोर भएको कारण पनि सीमानामा लुटिने, कुटिनुका साथै अमानवीय व्यवहारको सामना गर्नु पर्ने भएको छ । यसप्रकारका गतिविधिहरुका विरुद्ध हाम्रो संगठनको केन्द्रीय समितिको योजना अनुसार वेला बखतमा सिमानमा जुलुस प्रदर्शन गर्ने, विभिन्न राज्यहरुका मुख्यमन्त्री तथा भारतका गृह मन्त्रीलाई समेत भेटेर नेपाली श्रमजिवीहरुले भोग्नु परेका समस्याहरु बारे ध्यानाकर्षण गराउँदै आएका छौं । त्यस्तै नेपाल सरकारलाई हामीले प्रवासी नेपालीहरुले भोग्नु परेका तमाम प्रकारका समस्याहरुलाई लिएर ज्ञापन पत्रहरु दिनुका साथसाथै पत्रकार सम्मेलन गर्ने, विभिन्न जिल्ला अधिकारीहरुलाई सीमानामा हुने लुटपाटका विरुद्ध ध्यानाकर्षण गराउने लगायतका कार्यहरु गर्दै आएका छौं । समाजमा भएका यस प्रकारका गलत क्रियाकलापका विरुद्ध र प्रशासनको आडमा असमाजिक तत्वहरुबाट नेपाली श्रमिकहरुमाथि हुने गरेका गलत गतिविधिहरुका विरुद्ध अनवरत रुपमा संघर्ष गर्नु पर्ने आवश्यकता कायम छ ।

अब चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चितताको कत्तिको संभावना देख्नु हुन्छ ?

अब आउने निर्वाचनमा प्रवासी नेपालीहरुलाई आफ्नो मताधिकार मिल्छ भन्ने मलाई लाग्दैन भन्नदा पनि हुन्छ । किन कि हाम्रो सरकार प्रवासी नेपालीहरुको बारेमा उदाशिन छ । प्रवासी नेपालीहरुका लागि चिन्तित नै छैन । हाम्रो संगठनले लामो समयदेखि प्रवासी नेपालीहरुको मताधिकारको माग गर्दै आएको छ । हाम्रो आवाज नेपालमा केवल राष्ट्रिय जनमोर्चाले मात्र सुन्ने र संसदमा समेत पु¥याउने गरेको छ । त्यसैले नेपालको सर्वोच्च अदालतले २०७४ चैत्र ७ गते प्रवासी नेपालीलाई आफ्नो स्थानबाट नै मत दिन पाउने कानुनी प्रवाधान मिलाउन नेपाल सरकारलाई प्रमादेश गरेको छ । तर नत सरकारले त्यस बारे चासो देखाएको छ, नत नेपालका ठूला राजनीतिक पार्टीहरुले । उनीहरुले हाम्रा समस्यालाई गम्भिरतापूर्वक लिएका छैनन् ।

नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४० औं वर्ष पार गरिसकेको छ । यो अवसरमा यस क्षेत्रमा खेलकुद, हाजिरी जवाफ प्रतियोगिता, सभा, सम्मेलन, प्रशिक्षण, प्रकाशन वितरण, सदस्यता अभियान साथै राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्दै अगाडि बढिरहेका छौं ।

नयाँ परिस्थितिमा संगठनलाई अझै सुदृढ बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ । पत्रपत्रिका, कला साँस्कृति, सदस्यता अभियानको साथै विविध कार्यक्रमका साथ अगाडि बढ्ने प्रयासमा छौं । केही समस्या पनि छन् । लामो समयबाट संगठनमा काम गर्दै आउनु भएका धेरै साथीहरु जागिरबाट विदा भई स्वदेश तिर लागिसक्नु भएको छ र यो क्रम जारि छ । यसकारण नयाँ पिढीलाई नेतृत्वमा ल्याउने प्रयासमा छौं ।

अन्त्यमा केही छुट्यो कि ?

अन्त्यमा हालै भारत सरकारले ल्याएको (एनआरसी) राष्ट्रिय नागरिकता संशोधन विधेयकले नेपालीहरुलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पार्ने भएको छ । त्यस बारे हामीले भारत प्रवासमा रहने नेपालीहरुलाई १९५० को सुगौली संधिद्वारा प्रदत्त अधिकार बारे प्रशिक्षित गर्नु पर्ने आवश्यक छ ।

मेरो विचारलाई सम्प्रेसित गर्नु भएकोमा तपाई र तपाईको पत्रिकालाई धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *