प्राकृतिक खानालाई अत्यधिक जोड दिऊँ : डा. हरिप्रसाद पोख्रेल

काठमाडौँ । डा. हरिप्रसाद पोख्रेलले प्राकृतिक खानामा अत्यधिक जोड दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

अखिल नेपाल कानुन व्यवासायी सङ्घ (अन्ला) द्वारा आयोजित “कोरोना रोकथाम र स्वस्थकर जीवनशैली” विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा डा. पोख्रेलले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. पोख्रेलले संसारका सबैभन्दा बढी विकसित पाँच देश नै कोरोना सङ्क्रमणको चपेटामा परेकाले हामी गम्भीर हुनपर्ने बताउनुभयो ।

‘संसारका सबैभन्दा विकसित पाँच देश, जहाँ एलोप्याथिक उपचार प्रविधि उच्च विकसित चरणमा छ, त्यहाँ नै कोरोनाको सङ्क्रमण उच्च छ’ उहाँले भन्नुभयो– ‘यसबाट थाहा हुन्छ, मानव समुदायको स्वास्थ्य समस्या हाम्रो जीवन पद्धतिमा छ, जीवनशैलीमा छ ।’

उहाँले भान्सामा प्राकृतिक पदार्थको अत्यधिक उपयोगलाई बढाउनुपर्ने बताउनुभयो ।

‘हामी नेपालीको भान्सामा पहिले पहिले सयभन्दा बढी औषधीय जडीबुटी प्रयोग हुन्थे, त्यो अहिले तीव्र गतिमा घट्दै गइरहेको छ’ डा. पोख्रेलले भन्नुभयो– ‘अब त हामी कस्तो स्थितिमा आयौँ भने दुध बेचेर कोक–पेप्सी खान थाल्यौँ ।’

उहाँले भान्सामा अत्यधिक नुन, चिनी र मैदाजस्ता वस्तुको प्रयोगले हाम्रो प्राकृतिक खाद्य सन्तुलन बिग्रदै गइरहेको बताउनुभयो ।

स्वस्थ रहनका लागि खानाका साथै शारीरिक व्यायाम र तनाव व्यवस्थापन महŒवपूर्ण भएको बताउँदै उहाँले त्यसपछि मात्र हाम्रो जीवनपद्धति वा जीवनशैली प्राकृतिक प्रकारको हुने बताउनुभयो ।

‘संसारका ८० प्रतिशत रोगहरू असन्तुलित जीवनशैलीका कारणले उत्पन्न हुन्छन्’ उहाँले उपाय प्रस्तुत गर्नुभयो– ‘सन्तुलित र स्वस्थ जीवनशैली कायम राख्ने हो भने धेरै हदसम्म रोगबाट बच्न सकिन्छ ।’

मन्तव्यको क्रममा उहाँले नेपालमा स्वास्थ्य मन्त्रालय नै नभएको तर्क गर्नुभयो ।

‘नेपालमा स्वास्थ्य मन्त्रालय नै छैन, छ त खाली एलोप्याथी मन्त्रालय छ’ उहाँले नेपालको स्वास्थ्य मन्त्रालयले सबै चिकित्साविधिप्रति अनुपातिक ढङ्गले ध्यान दिन नसकेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सुरक्षाका उपाय भने सबैले अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘कतिपय प्राकृतिक चिकित्सक र योगशिक्षकले अहिले माक्स लगाउनुपर्दैन, कोरोनाको खोप लगाउनुपर्दैन भनिरहेको सुनिन्छ’ उहाँले भन्नुभयो– ‘त्यस्तो होइन, मास्क, स्यानिटाइजर, खोप, अस्पताल त सबैलाई चाहिन्छ । यसलाई कसैले पनि नजरअन्दाजन गर्न सक्दैन ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अन्लाका अध्यक्ष पदम रोकाले गर्नुभएको थियो भने सञ्चालन महासचिव लक्ष्मणदेव पाण्डेले ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ताहरू एकराज भण्डारी, रुद्र नेपाल, योगेन्द्रबहादुर शाहीसहित विश्वभरिबाट विभिन्न राजनीतिक तथा पेसागत सङ्घ–सङ्गठनका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

पदम रोकाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा साहित्यकार रामदेव पाण्डेले डा. हरिप्रसाद पोख्रेलको परिचय गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार