फिनल्यान्डमा १६ वर्षे किशोरीलाई प्रधानमन्त्री !

काठमाडौं । फिनल्याण्डमा एक किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइएको छ । १६ वर्षीया एभा मुर्तोलाई बुधबार प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गरिएको हो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय युवती दिवसभन्दा अघि किशोरीलाई उक्त जिम्मेवारी दिइएको बीबीसीले जनाएको छ, जुन विश्वव्यापी एउटा अभियानको भाग थियो ।

लैंगिक समानताको सूचीमा फिनल्यान्ड प्रायः माथि पर्छ । तर प्रधानमन्त्री सन्ना मरिनले लैंगिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै ती किशोरीलाई आफ्नो कुर्सी एक दिनको निम्ति हस्तान्तरण गरिन् ।

फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको ‘गर्ल्स टेकओभर’ अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो । यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ । यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ ।

बुधवार गरेको सम्बोधनमा सुश्री मुर्तोले भनिन्, ‘तपाईँहरूको अगाडि आज बोल्ने अवसर पाउनु मेरो निम्ति खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरो चाहना छ । गर्ल्स टेकओभर जस्ता अभियानहरूको खाँचो पर्नु हुँदैन ।’

कार्यक्रमभन्दा अघि बोल्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनले प्रविधि सबैको पहुँचको निम्ति बनाइएको कुरा सुनिश्चित गरिनुपर्ने महत्त्वमाथि जोड दिइन् । उनले भनिन्, ‘त्यसले समाजभित्र र देशहरूबीच डिजिटल विभेद गहिरो बनाउनु हुँदैन ।’

गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्यान्ड तेस्रो भएको थियो । तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन् ।

गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गरेकी मरिया विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । उनी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन् । उनले नेतृत्व गरेको मध्य(वामपन्थी गठबन्धनमा चारवटा दल छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् र तीमध्ये तीन जना ३५ वर्षभन्दा कम उमेरका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार