फेरि पनि जनवादी केन्द्रीयताको बहस

भैरवराज रेग्मी

१. सर्वहारा वर्गको वर्गीय दुश्मन पुँजीवादले लगातार सर्वहारा वर्गमाथि आक्रमण गरिरहन्छ । उसले सबैभन्दा बढी आक्रमण सैद्धान्तिक रूपमा नै गर्दछ । यस प्रकारका सैद्धान्तिक आक्रमणका लागि अनुसन्धान वा अनुदानका नाममा ठुलो धनराशी लगानी गर्दछ । अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) र गरिब, दीनदुखीको नाममा अनुदान (च्यारिटी) जस्ता संस्थाहरू खडा गरेर सर्वहारा वर्गको राजनीतिलाई समाप्त पार्ने कोशिस गर्दछ । सर्वहारा वर्गको सङ्गठित शक्तिको विकास र सङ्घर्षलाई दबाउन अर्को संस्था, गुप्तचर संस्था (सिआइडी ब्युरो) मा पनि ठुलो धनराशी लगानी गर्दछ । यी सबै धनराशी मजदुरबाट नै असुल्छ, मजदुरलाई न्यून ज्यालामा काम लगाएर ठुलो मुनाफा असुल गर्दछ । त्यही मुनाफाको अंशबाट मजदुर वर्गमाथि दमन गर्दछ । पुँजीवादलाई टिकाउने उसका यी हतियारहरू वर्गलाई राज्ययन्त्रमाथि कब्जा गरेर सफलतापूर्वक लागु गरिरहेको छ । माथिका सबै हत्कण्डामध्ये पुँजीपतिहरूले सैद्धान्तिक अनुसन्धानमा बढी केन्द्रित हुने गर्दछ । त्यसका लागि उसले बुद्धिजीवीहरूलाई किन्छ र उनीहरू मार्फत् सर्वहारा वर्गमाथि निरन्तर शासन गरिरहन्छ ।

२. सर्वहारा वर्गको शक्ति भनेको जनवादी केन्द्रीयता हो । जनवादी केन्द्रीयताको आधारमा नै सर्वहारा वर्गको वास्तविक शक्ति केन्द्रित हुन्छ र उनले पुँजीवादमाथि विजय प्राप्त गर्न सक्दछ । पुँजीवादले सर्वहारा वर्गको यो शक्तिलाई बुझेर नै लगातार त्यसमाथि हमला गरिरहेको हुन्छ । उसले एउटा कोणबाट मात्र हमला गर्दैन, सर्वहारा वर्गको सङ्गठित शक्ति र चेतना विकासका आधारमा नयाँ नयाँ सिद्धान्तहरू प्रतिपादन गर्दछ र सर्वहारा वर्गभित्र भ्रम छर्दै त्यसलाई पुँजीवादको अनुकूल बनाउन कोशिस गरिरहन्छ । यो पुँजीवादको ठुलो र प्राथमिक कार्य हुँदै आएको छ ।

३. जनवादी केन्द्रीयतामाथि प्रत्यक्ष हमला गर्ने उसको केन्द्रविन्दु भनेको ‘प्रजातन्त्र’ (डेमोक्रेसी) हो । सर्वहारा वर्गको सङ्गठन कम्युनिस्ट पार्टी यसमा नेतृत्व गर्ने नेताहरूलाई सदैव ‘तानाशाह’ भनेर हमला गरिरहन्छ । यस प्रकारको हमलामा सर्वहारा वर्गले प्रत्यक्ष र खुल्ला प्रकारको हुन्छ । यसबाट सतर्क रहनका लागि सर्वहारा वर्गलाई कुनै ठुलो प्रयत्न गर्नु पर्दैन । पुँजीवादको अर्को हमला भनेको कम्युनिस्ट पार्टीभित्र प्रजातन्त्र हुँदैन भन्ने हो । कम्युनिस्ट पार्टीभित्र डेमोक्रेसी छैन भनेर कम्युनिस्ट पार्टीभित्रैबाट नेताहरूलाई किनेर पार्टीभित्र संशोधनवादी धार पैदा गर्दछ । कम्युनिस्ट पार्टीका नाममा पुँजीवादलाई अनुकूल हुने गरेर कम्युनिस्ट पार्टीकै नामबाट फुटाउने र नयाँ पार्टी खोल्न अनुकूल परिस्थिति पैदा गर्दछ । रुसको क्रान्तिपछि विश्वका एक–तिहाइ भूभागमा समाजवादी व्यवस्था कायम भयो । विश्वका दुई–तिहाइ भूभागमा मजदुर सर्वहारा वर्ग र मिहिनेतकश जनताको पुँजीवाद विरुद्ध क्रान्तिकारी आन्दोलनको आँधीबेहरी चल्यो । विश्वव्यापी रूपमा यसरी अगाडि बढिरहेको सर्वहारा वर्गको आन्दोलनलाई निस्तेज गर्न कम्युनिस्ट पार्टीभित्रैबाट संशोधनवाद पैदा गरायो । कम्युनिस्ट पार्टीभित्र प्रजातन्त्र स्थापित गर्ने सिद्धान्त प्रतिपादित गर्‍यो । यो सर्वहारा वर्गमाथि पुँजीपतिहरूको सैद्धान्तिक हमला थियो । यसले सबैभन्दा ठुलो असर युरोपका समाजवादी देशमा पर्‍यो । ती समाजवादी देशमा ‘युरो कम्युनिज्म’ को नाममा कम्युनिस्ट पार्टीभित्र प्रजातन्त्रको अभ्यास र पुँजीवादसँग सहकार्य गर्ने संशोधनवादी सिद्धान्त प्रतिपादित भएर सारा युरोपमा समाजवादी देशहरू पुाजीवादमा पतन भए । त्यसपछि यो रोग रुसमा सर्‍यो, रुसबाट चीनमा सर्‍यो । हिजो समाजवाद स्थापना गर्नमा लागेका नेतृत्वहरू नै (खु्रस्चेव, ब्रेजनेभ, लिउसाओची, तेङसियाओ पिङ) पुँजीवादको स्थापना गराउन पुगे । यो त समाजवाद स्थापना भएका देशहरूको उदाहरण हो । यो यतिमा मात्र सीमित भएन, विश्वभरि क्रान्तिकारी आन्दोलनमा लागेका पार्टीभित्र जनवादी केन्द्रीयतामाथि ठुलो हमला गरियो । त्यसलाई तोडमोड गर्ने, संशोधन गर्ने, पुँजीवादसँग सहकार्य गर्ने र पार्टीलाई दक्षिणपन्थी संशोधनवादतिर धकेल्ने । विश्वका क्रान्तिकारी पार्टीभित्र यसले ठुलो विभाजन ल्याउन पुग्यो र सर्वहारा, मजदुर र मिहिनेतकश जनताको आन्दोलन विभाजित हुन पुग्यो । त्यसले मजदुर आन्दोलन कमजोर बनाउन पुग्यो । त्यो प्रक्रिया अहिले पनि लगातार चालु रहेको छ । कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा नै प्रति र क्रान्तिकारी आन्दोलन चलाउनु पर्दछ र पुँजीवादका जनवादी केन्द्रीयतामाथिको हमलालाई निस्तेज पार्नु पर्दछ । जनवादी केन्द्रीयताको सिद्धान्तलाई संशोधन वा फेरबदल गर्नाले पुँजीवादलाई मद्दत पुग्दछ र क्रान्तिकारी आन्दोलन समाप्त हुन्छ ।

४. जनवादी केन्द्रीयता अन्तर्गत व्यक्तिको स्वतन्त्रता आफ्नो निजी हुँदैन, सामाजिक स्वरूपमा मात्र हुन्छ । व्यक्तिको निजी स्वतन्त्रताले मानव समाजमा अराजकता फैलिन्छ, अरूको स्वतन्त्रतामाथि हस्तक्षेप हुन्छ र यो मानव समाजको न्यायभित्र पर्दैन । यसले मानव समाजलाई विकसित बनाउने होइन कि ध्वस्त बनाउँछ र मानव समाज नै समाप्त हुन पुग्दछ । यसको ठिक विपरीत निजी स्वतन्त्रता पुाजीवादको मूल दर्शन हो । यसले व्यक्तिलाई सर्वश्रेष्ठ ठान्दछ र व्यक्तिवाद मार्फत् सामाजिक व्यवस्था सञ्चालन गर्दछ । यसले अरूको स्वतन्त्रतालाई ख्याल गर्दैन । सबै सम्बन्धहरू व्यक्तिको अधिनस्त रहनु पर्ने सिद्धान्त आगाल्छन् । यसले वर्ग निम्त्याउँछ, सुविधासम्पन्न वर्ग अर्को सुविधाबाट बञ्चित वर्ग यसले मावन समानलाई अराजकतातिर धकेल्छ र मानव समाज नै ध्वस्त बनाउँछ । यसरी प्रष्ट रूपमा जनवादी केन्द्रीयता सर्वहारा वर्गको यस्तो हतियार हो, जसले मावन समाजलाई व्यवस्थित र उन्नतशील रूपमा अगाडि बढाउँछ । पुँजीवादमाथि सर्वहाराको विजय नहुँदासम्म यो प्रक्रिया चली नै रहनेछ ।

५. फेरि पनि माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा अन्तर्गतको जनवादी केन्द्रीयताको सिद्धान्तबारे पुन: स्मरण गर्न जरुरी छ । सर्वहारा वर्गको लक्ष्य साम्यवाद हो । साम्यवाद वर्गविहीन समाज हो । उत्पादन साधन र उत्पादन सम्बन्धको निजी स्वरूप समाप्त भई यसले सामाजिक स्वरूप ग्रहण गर्दछ । यसमा निजी स्वामित्वको अन्त हुन्छ र सामाजिक स्वामित्व कायम हुन्छ । यसरी मानव समाज अत्यन्त विकसित, सामाजिक नैतिक धरातलको उच्चस्तरमा स्थापित हुन्छ । श्रमको बिक्री समाप्त हुन्छ । श्रमको सामाजिक धरातल स्थापित हुन्छ । म भन्ने भावनाको अन्त हुन्छ, हामी भन्ने भावना स्थापित हुन्छ । यो प्राप्त गर्न पुँजीपतिहरूलाई क्रमश: परास्त गर्न र उत्पादन साधन र उत्पादन सम्बन्धलाई सामाजिक स्वरूपमा परिवर्तन गर्न सर्वहारा वर्गले विभिन्न खुड्किलो तय गरेको हुन्छ । नेपालको सन्दर्भमा पुँजीको विकास भइसकेको अवस्थामा सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी व्यवस्थाको स्थापना, पुँजीको विकास भइसकेका देशमा समाजवादी व्यवस्थाको स्थापना यी खुडकिला सर्वहाराको वर्गको साम्यवादमा पुग्ने कार्यनीतिहरू हुन् । यो सर्वमान्य सिद्धान्त हो कि पुँजीपतिले पुँजीवादी व्यवस्था कायम गर्न पुँजीवादी तानाशाही व्यवस्था लागु गर्दछन् । सर्वहारा वर्गका सबै अधिकार वञ्चित गर्दछन् । सर्वहारा वर्गलाई त्यति मात्र अधिकार दिन्छन्, जबसम्म उनीहरूको तानाशाही व्यवस्थामाथि असर नहोस् । त्यस्तै सर्वहारा वर्गले पनि सर्वहारा वर्गको तानाशाही शासन लागु गर्नु पर्दछ र पुँजीपतिमाथिको मजदुरलाई शोषण गर्ने व्यवस्थामाथि प्रतिबन्ध लगाउनु पर्छ । जनवादी केन्द्रीयता अन्तर्गत यसरी नै पुँजीवादको विरुद्ध क्रान्ति गरेर पार्टी राज्य र समाज सञ्चालन गरेर मात्र मानव समाज उन्नतस्तरमा पुग्दछ अर्थात् साम्यवाद स्थापित हुन्छ ।

६. कम्युनिस्ट पार्टीभित्र पार्टी सदस्यहरू कमिटीभित्र मात्र स्वतन्त्र हुन्छन् । उसको निजी स्वतन्त्रता कमिटीभित्र मात्र हुन्छ । कमिटी बाहिर उसको निजी स्वतन्त्रता हुँदैन । कमिटी बाहिर पार्टी समाजले कमिटीको भाषा बोल्नु पर्दछ, कमिटीकै व्यवहार लागु गर्नु पर्दछ । कमिटीको निर्माण र सञ्चालन प्रक्रिया सम्पूर्ण सदस्यहरू जम्मा भएर एउटा सर्वमान्य विधि तयार गर्दछन् । त्यही विधि मार्फत् कमिटीहरू सञ्चालन हुन्छन् । सदस्यहरू जम्मा भएर विधि निर्धारण गर्ने भनेको सदस्यहरूले भेला, सम्मेलन वा महाधिवेशन गरेर अर्थात् त्यसमा व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर विधान नीति, कार्यक्रम तय गर्दछन् । आफैले बनाएको विधि अनुसार कमिटी विधान अन्तर्गत कमिटीभित्र आफ्नो व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्दछन् । मानव समाजको व्यवस्थामा र विकास गर्ने यो नै वैज्ञानिक, उत्कृष्ट र एक मात्र सिद्धान्त हो । यस सिद्धान्त विपरीत जाने वा यसलाई स्वीकार नगर्नुको अर्थ मानव समाजलाई ध्वस्त पार्ने सिद्धान्त अङ्गीकार गर्नु हो । त्यति मात्र होइन, जनवादी केन्द्रीयता नमान्नुको अर्थ, पार्टीलाई अराजकतातिर धकेल्नु हो, उग्रवामपन्थी, मध्यपन्थी, दक्षिणपन्थी संशोधनवादको बाटोतिर लैजानु हो । सर्वहारा वर्गको दुष्मन, पुाजीवादतिर अग्रसर हुनु हो । वर्गीय इतिहासले यो सबै सत्य सावित गरिदिएको छ । जनवादी केन्द्रीयता विपरीत गएको हुनाले रुस, चीन र युरोपियन समाजवाद समाप्त भएर पुाजीवाद स्थापना भएको छ । जनवादी केन्द्रीयतालाई संशोधन गर्ने विश्व कम्युनिस्ट पार्टीहरू पुँजीवादका एजेन्ट बन्न पुगेका छन् । नेपालमा पनि त्यो कुरा सत्य सावित भएको छ । डा. बाबुराम भट्टराई जनवादी केन्द्रीयतामाथि धावा बोलेर कम्युनिस्ट सिद्धान्त परित्याग गरेका छन् । पहिलेका एमाले, माओवादीहरू अहिलेका नेकपा पुँजीवादको कट्टर एजेन्ट बन्न पुगेका छन् । त्यस बाहेकमा क्रान्तिकारी पार्टीभित्र पनि जनवादी केन्द्रीयतामाथि हमला भइरहेको छ । पार्टीका सम्मेलन वा महाधिवेशनले बनाएका विधि, निर्णय र नीतिको विपरीत पार्टी सदस्यहरूले पार्टी बाहिर पार्टीको विरुद्ध हमला गरिरहेका छन् । पुँजीवादले जस्तो कम्युनिस्ट पार्टीको नेतृत्वलाई नै तानाशाही भनी हमला गरिरहेका छन्, ती पार्टी सदस्यहरूले पार्टीको अधिनस्थ पार्टी सदस्यहरू भन्ने सर्वहारा वर्गको वैज्ञानिक सिद्धान्त विपरीत पुँजीवादी सिद्धान्त अपनाएर आफ्ना व्यक्तिगत विचारहरू बाहिर पोखिरहेका छन् र पार्टीमाथि नै हमला गरिरहेका छन् । नेपालमा यस प्रकारको अभियान नेपाल कम्युनिस्ट पार्टी (मसाल) मात्र होइन, क्रान्तिकारी दिशा आगाल्ने सबै पार्टी र समाजमा समेत यस प्रकारको पुँजीवादी सिद्धान्त (जनवादी केन्द्रीयतालाई हमला गर्ने) ले व्यापक रूप लिएको छ । यसको असर नेपाली समाज, सरकार र सरकार सञ्चालन गर्ने पार्टीहरूमा आक्रमक रूपमा देखा परेको छ । जनवादी केन्द्रीयतामाथि धावा बोल्ने पुँजीवाद र साम्राज्यवादले यसका आडमा क्रान्तिकारी फाँटमा फुट ल्याइरहेको छ र आफ्ना बलियो भरपर्दो एजेन्ट विस्तार गर्न सफल भइरहेको छ ।

७. जनवादी केन्द्रीयताको सवालमा नेपालको कम्युनिस्ट पार्टीभित्र २०४६ सालको जनआन्दोलनपछि यसका विरुद्ध तीव्र रूपमा धावा बोल्ने काम सुरु भएको मानिन्छ । सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त जडसूत्र भयो, पार्टीभित्र स्वतन्त्रताको हनन् भयो, पार्टीभित्र गुटको मान्यता दिनु पर्दछ भन्ने बहस तीव्र भयो । यसबाट दुई प्रकारका परिणाम देखा परे : एउटा, उग्रवामपन्थी धार, जो माओवादीले अख्तियार गर्‍यो । अर्को, दक्षिणपन्थी संशोधन धार तत्कालीन मालेले अख्तियार गर्‍यो । सर्वहाराको अधिनायकत्वको अख्तियार गर्दै माओवादी पार्टी प्रचण्डको प्राधिकार पार्टी, एक व्यक्तिको तानाशाही पार्टीमा बदलियो । दोस्रो माले, एमाले हुँदै सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई परित्याग गरी पुँजीवादको अधिनस्त बन्न पुगेको छ । यी दुवैले जनवादी केन्द्रीयताको सिद्धान्तमाथि हमला बोलेका थिए । अहिले आएर दुवै पार्टी एकाकार भई पुँजीवादको सच्चा मित्र बन्न पुगेका छन् । पुँजीवादलाई यो खतरा छ, सर्वहाराहरू पुन: सङ्गठित हुन्छन् र पुँजीवादका विरुद्ध सङ्घर्ष सञ्चालन गर्दछन् र पुन सर्वहारा वर्गको सत्ता प्राप्त गर्दछन् । पुँजीवाद विरुद्ध आन्दोलन गरिरहेका, पुनर्गठित भइरहेका सर्वहारा वर्गमाथि चिनियाँहरूको एक नाटकमामा उल्लेख भए जस्तै “बच्चालाई कोक्रोभित्रै घााटी रेटेर समाप्त पार्नु पर्छ” नजन्मँदै समाप्त पार्ने असफल प्रयास पुँजीवादीहरूले अपनाइरहेका छन् ।

८. पार्टीभित्र अलग मतहरू हुन्छन्, अलग मत बहुसङ्ख्यक मतलाई स्वीकार गर्ने सिद्धान्त नै जनवादी केन्द्रीयता हो । यदि बहुसङ्ख्यक मतहरू सर्वहारा सिद्धान्त विपरीत हुन्छन् भने त्यस प्रकारको बहुसङ्ख्यक मतको विरुद्ध विद्रोह पनि गर्नु पर्दछ । त्यस्ता विद्रोह गर्ने घटनाहरू विश्व कम्युनिस्ट आन्दोलन थुप्रै उदाहरण छन् । तर सर्वहारा वर्गकै सिद्धान्त विरुद्ध जाने अलग मतलाई जनवादी केन्द्रीयताका आधारमा नियन्त्रण नगर्ने हो भने पुँजीवादको अर्को प्रकारको षडयन्त्रको शिकार कम्युनिस्ट पार्टी बन्न पुग्दछ । नेपालको कम्युनिस्ट आन्दोलनमा अलग मतका नाममा जनवादी केन्द्रीयतामाथि हमला बोल्नेहरूको बाहुल्यता रहादै आएको छ । त्यसबाट सर्वहारा वर्ग सचेत हुनु पर्दछ ।

९. नेपालमा अर्को प्रवृत्ति पनि हावी भइरहेको छ, त्यो हो– बाह्य रूपमा सर्वहाराकरण, चिन्तनमा पुँजीवाद । सम्पत्तिमा सर्वहाराकरण भनेको के हो ? क्रान्तिका दौरानमा क्रान्तिको बाटोमा लाग्ने कि निजी सम्पत्तिको बृद्धिमा लाग्ने ? सम्पत्ति कति छ भन्ने कुराले सर्वहाराकरणको मापदण्ड पुरा हुँदैन । क्रान्तिकारी आन्दोलनलाई प्राथमिकता नदिएर सम्पत्ति आर्जनको बाटोमा कति लागेको छ ? त्यसका आधारमा सर्वहाराकरण निर्धारण गर्दछ । त्यति मात्र होइन, सम्पत्ति आर्जनमा नलाग्ने पुँजीवादी चिन्तन धारण गर्ने दृष्टिकोण सर्वहारा दृष्टिकोण होइन । सर्वहाराकरणको निर्धारण सर्वहारा दृष्टिकोणबाट नै हुन्छ । एङ्गेल्स पुँजीपति थिए, पुर्खाको विरासत लिएर तर सम्पत्ति बृद्धिको बाटोमा नलागेर सर्वहारा क्रान्तिको बाटोमा लागे । सम्पत्ति आर्जनतिर पनि नलाग्ने, पार्टी बाहिर स्वतन्त्रताको खोजी गर्ने विद्वान ‘दार्शनिक’ हरू आफूलाई सर्वहारावादी भनेर हिँड्ने कम्युनिस्ट आन्दोलनमा रहेका हुन्छन् । उनीहरूले सर्वहारा वर्गीय आन्दोलनमा व्यक्तिगत भूमिका र पार्टीबाट व्यक्तिगत परिणाम खोज्दै हिँड्छन् । यो गैरसर्वहारावादी दृष्टिकोण हो । उनीहरू मात्र एकैसाथ दुईवटा प्रवृत्तिको जन्म लिन्छ : अराजकतावाद र नैराश्यवाद । यी पुँजीवादी दर्शनभित्र पर्ने चिन्तनहरू हुन् । यसको परिणाम पुँजीवाद नै हुन्छ । यस प्रकारका पुँजीवादी, निम्न पुँजीवादी, सामन्तवादी सोचहरूको विरुद्ध सङ्घर्ष गरेर सर्वहारा विश्व दृष्टिकोणको विकास गर्ने थलो जनवादी केन्द्रीयता हो । जब यसमाथि हमला हुन्छ, पुँजीवाद सफल हुन्छ भनेर जाने हुन्छ ।

१०. एउटा सर्वहारावादी पार्टीभित्र ‘गुट’ को अस्तित्त्व हुँदैन । जहाँ गुटको सिर्जना हुन्छ, त्यो जनवादी केन्द्रीयताको विरुद्ध हुन्छ र पुँजीवादी पार्टीमा पतन हुन्छ । जनवादी केन्द्रीयताको सारतत्त्व भनेको छलफलमा स्वतन्त्रता, कार्यमा एकरूपता । यसको ठिक विपरीत छलफलको स्वतन्त्रतामा आफ्नो विचार पारित भएन भनेर गर्ने सदस्यबिचका आफ्ना मतका सदस्यलाई अनौपचारिक सङ्गठन निर्माण गर्ने प्रश्न ‘गुट’ को सिर्जना हो । जहाँ छलफल चल्छ, त्यहाँ मतमतान्तर हुन्छ, एउटा निष्कर्ष निस्कन्छ, त्यसको कार्यान्वयन हुन्छ । कार्यान्वयनमा जाँदा त्यो असफल हुन्छ भने त्यहाँ पुन: छलफल हुन्छ । त्यहाँ मत मिल्नेहरूको सङ्गठित प्रयास, जनवादी केन्द्रीयताको सिद्धान्तभित्र पर्दैन । काङ्ग्रेस, एमाले, माओवादी लगायतका पार्टीभित्र गुटबिचको पार्टी सञ्चालन गर्ने प्रक्रिया पुँजीवादी सिद्धान्तभित्र मात्र हुन्छ । यो जनवादी केन्द्रीयताभित्र पर्दैन । यस प्रकारको अभ्यास गर्ने पार्टी सदस्य कम्युनिस्ट नै हुन सक्दैनन् ।

११. जनवादी केन्द्रीयताको सिद्धान्त आगाल्ने कम्युनिस्ट सदस्यहरू उच्च नैतिक धरातलमा विकास गर्ने दिशामा अग्रसर हुनु पर्दछ । लामो समयसम्म नेतृत्वमा बस्ने, नेतृत्वमा बसे बापत् निजी परिणाम (सुविधा, अवसर) खोज्ने, प्राधिकारको अधिकार खोज्ने, जनवादी केन्द्रीयताको नियममा बस्न चाहने, यस प्रकारको नेताहरू कम्युनिस्ट हुन सक्दैनन् । जनवादी केन्द्रीयताको मूलसार भनेको पार्टी निर्णयको बिना शर्त पालना हो, निर्णयमा चित्त बुझेन भने कमिटीभित्र छलफल गर्ने हो, पार्टी बाहिर होइन । एउटा कम्युनिस्ट पार्टीको सदस्य सच्चा कम्युनिस्ट बन्न सक्छ कि सक्दैन, यही आधारमा नै निर्धारण हुन्छ ।

आज सबै कम्युनिष्ट सदस्यको मूल दायित्व भनेको पार्टी र पार्टी सदस्य जनवादी केन्द्रीयताको विधि अनुसार कार्यान्वयनमा लाग्छ कि लाग्दैन भन्ने हो । त्यसका आधारमा नै कम्युनिस्ट पार्टीको क्रान्तिकारी चरित्रको निर्माण र विकास हुन्छ । त्यस्तो पार्टीले नै पुँजीवादमाथि विजय प्राप्त गर्न सकिन्छ । यो आधारमा हामी कति कम्युनिस्ट भएछौा भन्ने आत्मसमीक्षा लगातार गरिरहनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार