बलात्कार कहिल्यै सामान्य हुँदैन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

3132 जनाले पढ्नु भयो ।

ओलु टिमेहिन अबेग्वेए

मे महिनामा विश्वका लाखौँ मानिस नाइजेरियन युवती उवा ओमोजुवाको हँसिलो अनुहारसँग परिचित भए । चर्चमा पढिरहेकी उवा माइक्रो–बायोलोजीको डिग्री लिने सोचमा थिइन् । तर, उनी हिंस्रक बलात्कारबाट पीडित बनिन् । बलात्कारका क्रममा लागेको गहिरो चोटले केही दिनपछि उनको ज्यान गयो । जब उवाको मृत्युको खबर बाहिरियो, नाइजेरियालीहरू आक्रोशित भए । सामाजिक सञ्जालमा उवाको न्यायको माग गर्दै ह्यासट्याग ट्रेन्ड भयो । उनको पक्षमा टिभी कार्यक्रम बने । समाचारपत्र र ब्लगमा धेरै लेखिए । उवाको बलात्कार भएको चर्चका अधिकारीले दिएको हल्काखालको प्रतिक्रियाको आम रूपमा आलोचना भयो । यो घटना असामान्य थियो । किनकि नाइजेरियामा चर्चसँग जोडिएको विषयमा सामान्यतया आलोचना हुँदैन । 

उवाको घटनापछि नाइजेरियन महिलाहरू असुरक्षित रहेको र यसविरुद्ध कुनै न कुनै कदम उठाउनुपर्ने आवाज उठ्न थाल्यो । भविष्यमा नाइजेरियाली महिलाविरुद्ध यौनहिंसा अस्वीकार्य हुने आस पलाएको थियो । तर, अर्को घटनाले यो आशामा पानी हालिदियो । उवाको बलात्कार घटना सेलाउन नपाउँदै केही हप्ताभित्र अर्को बलात्कारको घटना बाहिरियो । नाइजेरियाली सांगीतिक उद्योगका एक चर्चित नाम तथा धेरै मन पराइएका गायक डी’वान्जलाई एक युवतीले बलात्कारको आरोप लगाइन् । आरोप लगाउने सेयितान बाबतयोले गायकले आफू बसिरहेको होटलको कोठामा पसेर बलात्कार गरेको बताएकी थिइन् । पीडितले ट्विटरबाट यस्तो आरोप लगाएकी थिइन् । उनले ट्विटरमा आफूमाथि कसरी आक्रमण भएको थियो भन्नेबारे विस्तारमा वर्णन गर्दै घटनास्थलको फोटोसमेत सार्वजनिक गरिन् । उनका अनुसार गायकले एक सहयोगीमार्फत यौन प्रस्ताव ल्याएका थिए, तर उनले प्रस्ताव अस्वीकार गरिन् । त्यसपछि डी’वान्जले कुनै तरिकाले होटलका व्यवस्थापकसँग सेयितानको कोठाको साँचो हात पारे र राति बलात्कार गरे ।

उवाको जस्तो सेयितानको हत्या नभएकाले उनी आफ्नो समस्या बताउन सक्षम भइन् । तर, यसपटक आमधारणा अलग रह्यो । धेरै मानिसले सेयितानलाई विश्वास गरेनन्, जसमा एक चर्चित मानव–अधिकारकर्मीसमेत छन् । घटना बाहिरिएपछि उल्टो सेयितानको आनीबानीमाथि निगरानी सुरु भयो । जस्तो– उनी होटलमा के गरिरहेकी थिइन् ? उनले आरोप लगाउनु पछाडिका नियत के के हुन सक्छन् भन्नेमा बहस छेडियो । नाइजेरियनले उनको कुरालाई गम्भीरतापूर्वक लिएनन् । सायद आममानिस बलात्कार पीडितको लास देखेपछि मात्र आक्रोशित हुने रहेछन् ।

यथार्थमा नाइजेरियाजस्तो देशमा महिलाको पीडा तथा समस्यालाई ध्यान दिन आवश्यक नै ठानिँदैन, यसैकारण यौनहिंसा बेवास्तामा पर्ने गरेको छ ।

नाइजेरिया अत्यन्त पितृसत्तात्मक संस्कृति भएको समाज हो । यहाँ यौनलाई लिएर अत्यन्त नैतिकतावादी धारणा बलियो छ । पुरुषलाई महिलाहरू तिनकै सेवाका लागि अस्तित्वमा हुन्छन् र महिलाहरू पुरुषले चाहँदा तिनको सेवामा तयार हुनुपर्छ भनेर हुर्काइन्छ । महिलामाथि हक जमाउन सके मात्र असली मर्द भइन्छ भन्ने आमधारणा पुरुषहरूमा गढेर बसेको छ ।

नाइजेरियामा यही वर्षको जनवरी र मे महिनाबीचमा ७  सयभन्दा बढी बलात्कारका घटना बाहिरिए । बलात्कारविरुद्ध बलियो कानुनी व्यवस्था हुदाँहुँदै पनि बलात्कारका घटना थोरै मात्र बाहिर आउँछन् । समाजमा बलात्कारलाई ‘पारिवारिक विषय’ भन्दै बाहिर ल्याउन निरुत्साहित गरिन्छ । त्यसकारण बाहिर आएकाभन्दा धेरै संख्यामा बलात्कारका घटना हुन्छन् भन्ने निश्चित छ । देशको भ्रष्ट प्रहरी संयन्त्रले यस परिस्थितिलाई झनै खराब बनाइदिएको छ । विगत पाँच वर्षमा सयौँ महिलाले (यस स्तम्भकारसमेत) सामाजिक सञ्जालमार्फत आफूमाथि भएका यौनहिंसाका घटनाबारे बलियो दाबी प्रस्तुत गरे । इन्टरनेटमा कम्तीमा आफ्ना कुरा खुलस्त राख्न सकिने भएकाले हामीले यो माध्यम रोज्यौँ । यिनमा नाम आएकाहरूमा कलाकार, सामाजिक सञ्जाल सेलिब्रिटी, प्रध्यापक, सहकर्मी, राजनीतिज्ञ, संगीतकर्मी र पास्टर छन् । तर, आरोप लगाउनेमध्ये अधिकांशविरुद्ध कानुनी प्रक्रिया चलेन । यसमा नाइजेरियाको सामाजिक धारणाले बलियो प्रभाव पारेको छ ।

यथार्थमा नाइजेरियामा महिला तथा केटीहरूको पीडा तथा समस्यालाई ध्यान दिन आवश्यक नै ठानिँदैन । यसैकारण यौनहिंसा पनि बेवास्तामा परिरहेको छ । महिलाहरूको समस्यालाई सामान्यीकरण गर्नु हाम्रो सामाजिक व्यवस्थाको मूल चरित्र हो । यस्तो समाजमा महिलाले जति दुर्व्यवहार सह्यो, उसलाई उति नै राम्रो मानिन्छ । र, दुव्र्यवहारबारे बोल्ने महिलाको थप अपमान गरिन्छ । सन् २०१९ मा एक फोटोग्राफर बुसोला डकोलोले एक निकै चर्चित चर्चका पास्टर यिबोडुन फटोयिन्बोमाथि बलात्कारको आरोप लगाइन् । पास्टरले उनलाई नाबालिक रहेको समयमा बीस वर्षअघि दुईपटक बलात्कार गरेको डकोलोको आरोप थियो । अझ ती पास्टरमाथि बलात्कारको आरोप लगाउने डकोलो पहिली महिला थिइनन् । आरोपपछि पास्टर केही समय सेवाबाट बाहिरिए पनि एक महिनापछि त्यहीँ फर्किए । चर्चको जस्तै चरित्र राज्यको पनि छ । सन् २०१६ मा एक पुरुष सिनेटर डिनो मेलाएले महिला सिनेटर रेमी टिनुबुलाई बलात्कारको धम्की दिए । धम्की दिँदा डिनाले बलात्कार गर्दा पनि आफूलाई कसैले छुन नसक्ने बताए । धम्कीका लागि कारबाही हुनु त परको कुरा मेलाएको समर्थनमा एक र्‍याली निस्कियो ।

डिनो मेलाएले भनेजस्तै नाइजेरियामा जब एक महिला बलात्कारमा पर्छिन्, ठूला बलात्कारीलाई कसैले छुँदैन । सेयितानलाई पनि सम्भवतः यो कुरा थाहा थियो । उनले गायक डी’वान्जलाई आरोप लगाएपछि अनौठा घटनाका शृंखला घटे । उनको सुरुको ट्विट पोस्ट डिलिट भयो । डी’वान्जको गीतका प्रोमोसन भिडियो सोही ट्विट एकाउन्टबाट सार्वजनिक भयो । केही समयपछि प्रहरीले सेयितानलाई पक्राउ गर्‍यो र उनले दुई दिन जेलमा बस्नुपर्‍यो । लामो विवादपछि सेयितानले एउटा वक्तव्य जारी गरिन्, जसमा आफू र डी’वान्जबीच दुवै पक्ष सहमत हुने मिलापत्र भएको र त्यसमा पैसाको लेनदेन नभएको उल्लेख थियो । ‘मलाई शान्तसँग बस्न देऊ, बस’ उनको वक्तव्यमा भनिएको छ । नाइजेरियाको नारीद्वेशी संस्कारको भारले एक पीडितको आवाज दबियो । डी’वान्जविरुद्ध बलात्कारको आरोप लाग्दा धेरैले प्रश्न गरिरहेका थिए, ‘त्यस्तो उचाइ हासिल गरेको पुरुषले किन कसैलाई बलात्कार गर्छ ?’ तर, नाइजेरियाजस्तो देशमा हामीले सोधिनुपर्ने सही प्रश्न हो, ‘त्यस्तो मानिसले किन बलात्कार गर्दैन ?’

“via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
ओलु टिमेहिन अबेग्वेए ‘द करेस्पोन्डेन्ट’की लेखक तथा स्तम्भकार हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *