बहराइन नेपाली एकता समाज अन्तरगत महिला बिभागबाट हार्दिक शुभकामना

तीज सामाजिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण पर्व हो । पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माइतीबीचको अगाध मायाको प्रस्तुति त गर्छ । साथसाथै पतिपत्नीबीचको प्रेम, त्याग र समर्पणको प्रतिविम्बन पनि गरेको हुन्छ । केही सम्पन्न वर्ग र शहरी क्षेत्रलाई छाड्ने हो भने हाम्रो बाँकी भौगोलिक, सामाजिक र आर्थिक परिवेशका महिला अझै पनि मिठो खान र राम्रो लाउन अनि आराम र मनोरञ्जनका लागि चाडपर्व नै कुर्नुपर्ने बाध्यताबाट मुक्त हुन सकेको देखिँदैन ।

तीजमा आफ्नो गच्छेअनुसार सिँगारिएर माइत जानु, दिदीबहिनी–साथीसंगीहरूसँग बसेर दुःखसुखका कुरा गर्नु, केही दिन भए पनि घरको बुहार्तनबाट मुक्त भएर स्वतन्त्रताको अनुभूति गर्नु, माइतीले पकाएर दिएको दर खाएर रमाइलो गरी रात बिताएपछि मनोविकारबाट मुक्त हुँदै व्रत बस्नु, देवालयको परिक्रमा अनि आफ्नो परिवारको कल्याणको कामनाका साथ भगवान् शिवको पूजा–अर्चना गर्नु हामी महिलाहरुका अनिबार्य जस्तै भएको छ ।

महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने प्रवृति आज पनि हट्न सकेको छैन । विगतमा त झन् महिला कुवाको भ्यागुतो समान थिए । तीज पर्वकै बेला मात्र माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने प्रचलन प्राचीन समाजमा व्याप्त थियो । वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँदाको खुशीमा उन्मुक्त भएर नाच्न पाउँदा उनीहरू आफ्ना पीर, व्यथा सबै चटक्कै भुल्दथे ।

आज समयसँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दैछन् । महिला हक र अधिकारका कुराहरू दिनदिनै उठिरहेका पनि छन् । पुरुषसरह हरक्षेत्रमा महिलाहरूले आफूलाई क्रियाशील बनाउँदै लगिरहेका छन् । आज महिलाको जीवनशैली र सामाजिक गतिविधिमा केही परिवर्तन आएता पनि तीज पर्वको साँस्कृतिक महत्व र गरिमा भने दिन प्रतिदिन आज पनि व्यापक बन्दै गएको छ । महिलाहरु माथी हुने तमाम किसिमका उत्पीडिन भेदभाव महिला हिंसाको विरुद्ध तिजि पर्बलाई आन्दोलनको रुपमा अगाडि बडाउन र पर्व मनाउन हामी देश बिदेशमा रहेका समस्त दिदि बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं । समस्त हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिज–२०७३ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना पनि गर्दछौं ।
बिस्नु ठकुरी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार