बाजुरामा भासियो बस्ती, ९९ परिवार विस्थापित

मार्तडी । बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएको अवस्था छ । बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएको हो ।

जमिन भाँसिदा ९९ परिवाले गाउँ छाडेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर शाहीले बताएका छन् । ‘पहिरो गएको गाउँ उसै पनि कमजोर भू बनोट थियो’ उनले भने– ‘त्यसैमा यस वर्ष गाउँमुनिबाट सडक खन्न डोजर लगाइयो, जसका कारण हामीले ठोलो क्षति ब्यहोरेका छौँ ।’

उनका अनुसार बस्तीका करिब छ सय जना नजिकको डेढ किमिनजिकै जङ्गलमा गएर बसेका छन् ।

सडक खन्दा गाउँपालिकासँग समन्वय नभएको अध्यक्ष शाहीले बताए । ‘प्रदेश सरकारले सो क्षेत्रमा सडक निर्माण गर्न एक करोड छुट्याएको रहेछ‘ अध्यक्ष शाहीले भने– ‘त्यो बजेट कसरी कार्यान्वयन भयो, कसले ठेक्का पायो हामीलाई जानकारी भएन । हामीलाई सोधेको भए सो स्थानमा बाटो नै बनाउन दिने थिएनौँ ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पीडित परिवारलाई तत्कालीन राहतको व्यवस्था गर्न खाद्यान्न पठाइएको जानकारी दिए । ‘गाउँपालिकाको समन्वयमा हामीले तत्काल ३० क्विन्टल खाद्यान्न र केही त्रिपाल पठाएका छौँ’ अधिकारीले भने– ‘यसबाहेक जस्ताको माग समेत गाउँपालिकाबाट भएको छ । हामीले गृह मन्त्रालयमा जानकारी गराएका छौँ ।’

४ नम्बरका ३५ परिवार विस्थापित

लगातारको वर्षापछि बाजुराको हिमाली गाउँपालिका–४ को फैती गाउँस्थित दलित बस्तीमा पहिरो जाँदा करिब ३५ घरपरिवार विस्थापित भएका छन् । वर्षापछि गाउँमाथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका वडा अध्यक्ष रमेश विकले बताए । तर सो स्थानमा सडकका कारण पहिरो भने नगएको उनले बताए ।

‘गाउँ माथिबाट पहिरो जाँदा ३५ परिवार विस्थापित भएका छन्’ उनले भने– ‘उनीहरूका लागि वैकल्पिक व्यवस्था गर्नु आवश्यक देखिएको छ । पहिरो गएको स्थान बस्न योग्य देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार