बुटवलमा निषेधाज्ञा जारी

74 जनाले पढ्नु भयो ।

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव गरेपछि बुटवलमा चर्किएको आन्दोलन मत्थर पार्न निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानलाई चारदिनका लागि निषेधित क्षेत्र तोकेको हो ।

प्रशासनले शनिबार सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । निषेधाज्ञा अवधिभर ५ जना भन्दा बढी जम्मा हुन नपाईने सूचनामा उल्लेख छ । निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाइएको छ ।

प्रशासनले प्रदेशसभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचनामार्फत जनाएको छ ।

शुक्रबार नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको निर्देशनपछि प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई प्रस्तावित गरेको थियो । त्यस लगत्तै प्रतिपक्षी नेपाली कांग्रेसले सुरु गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । कांग्रेस कार्यकर्ताहरुले कयौं सरकारी गाडीमा तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *