बेवारिसे भेडो

  •   
  •  
  •  
  •  
  •  
  •  

253 जनाले पढ्नु भयो ।

डा. गोविन्दप्रसाद आचार्य ##

कहाँबाट कहाँ जान बेवारिसे भेँडो आयो ।
भेँडो आयो गाँस खायो मनदिमागको टेडो आयो ।
यौटा हैन आउँदा–आउँदै बेवारिसे बथान आयो ।
कहाँ जान आयो होला धपाउँदा जाँदैन यो ।

दया गरी पालौँ भने घास पानी अति खान्छ ।
आज यहाँ भोलि कहाँ बेवारिसे भेँडो जान्छ ।
पाठापाठी सँगै ल्याउन मन छ ल्याउँछ कुनै दिन ।
बेवारिसे भेँडो आए शङ्का लाग्छ किन किन ।

आउँदा–आउँदै बथानले जमिन सबै ढाकिसके ।
खुला चउर जमिनमा बेवारिसे भेँडा बसे ।
बारै महिना बारै काल भेँडा बथान आए यहाँ ।
दाना पानी खान पाए पल्किएर बसे यहाँ ।

बेवारिसे भेँडा पाल्दा अब दिक्क लागिसक्यो ।
बेवारिसे भेँँडा पाल्दा दुख्नुसम्म दिमाग दुख्यो ।
बथानमा आए भेँडा जता पनि भ्या भ्या गर्छन् ।
गोठ खर्क पसिकन दानापानी घाँस खान्छन् ।

दिनरातै कराएर दिनु टन्टा दिएका छन् ।
बेवारिसे भेँडाहरू यता बस्न आएका छन् ।
उतै बस्नुपर्ने भेँडा बथानसहित आएका छन् ।
खानुपर्ने उता थियो यता आई खाएका छन् ।

बेवारिसे भेँडा बथान यता आई वारिस मागे ।
भ्या भ्या गर्दै दिनरातै वारिस माग्न जुलुस जागे ।
यिनकै टन्टा हैरानीले हाम्रो दिमाग चाटेको छ ।
न दुखेको कपालमा नाम्लो लाई दुखेको छ ।

एक स्वरमा भ्या भ्या गर्दै रातको निद्रा खाएका छन् ।
बेवारिसे भेँडाहरू वारिस मागिरहेका छन् ।
भेँडा पाल्दा देश ध्वस्त पार्ने बाटो भइसक्छ ।
बेवारिसे भेडा बथान चारैतिर आइसक्छ ।

पलाउँदैन देश भन्थे भेँडा च¥या वनमा ।
दिमागमा देश छैन चलाउनेका मनमा ।
बारम्बार बल्झिएको ती भेँडाको गनगन ।
दिनरातै बेवारिसे भेँडा आएका छन् ।

यो देशको हरियाली सबै खाएका छन् ।
देशका नायक भन्नेहरू हेरिबसेका छन् ।
नायकहरू भेडा खेद्दै आएजस्तो लाग्यो ।
नायकले भेडाहरू पालेजस्तो लाग्यो ।

गोठालाले कहाँ बसी हेरेका छन् होला ।
यस्तै भेडा पाल्दै गए देश कस्तो होला ।
यी नायकले हामी बस्न ठाउँ दिने छैनन् ।
समयले भनिसक्यो नायक हाम्रा हैनन् ।

अभिनय गरेका हुन् देशका नायक हैनन् ।
गीत गाउनेजति सबै राम्रा गायक हैनन् ।
कथित नायक भेडाबाट गनगन गर्न सिके ।
नायक त भन्नु मात्रै उतैतिर बिके ।

बेवारिसे भेडाबाट प्रताडित भयो ।
नायकको मन चिन्तन उतैतिर गायो ।
भूमिपुत्र अलपत्र यी नायकले पार्छन् ।
जनताको कमाइको फल सकुन्जेल झार्छन् ।

यी नायक बस्या कुर्सी दाउरा बाल्नुपर्छ ।
विचारको नयाँ नायक अब आउनुपर्छ ।
बिन्ती जनता चुनावमा यी नायकलाई फाल ।
यी नायकले मौका पाए यस्तै हुन्छ चाल ।

यी नायकले हुलेका छन् जति आए पनि ।
दानापानी दिएका छन् जति खाए पनि ।
बिडम्बना भयो आज यो देशको चित्र ।
नायकले खेदेका हुन् देशका भूमिपुत्र ।

बेवारिसे भेडालाई दिए बस्ने ठाउँ ।
यो देशका भूमिपुत्र हामी कहाँ जाउँ ।
हाम्रा बस्ती उठिबास हाम्रै नायकले ।
बेवारिसे भेडालाई अनुमति दिए ।

हाम्रा साना घरका झुपडा भत्काएर बसे ।
तराई पहाड हिमालमा बेवारिसे पसे ।
हामी भूमिपुत्र बस्ने गाउँसहर खोसे ।
नायकको निर्देशनमा हाम्रा झुपडा झोसे ।

रस बस उतैतिर यो भूमिलाई भुले ।
बेवारिसे भेडाहरू तानातानमा परे ।
भेडा तान्ने नायकहरू देश खाने परे ।
भोकानाङ्गा गरिबलाई शोषणमा पारे ।

वन खाए मन खाए देशको दिमाग खाए ।
शङ्का गर्नुपर्छ नायक उतैबाट आए ।
हाम्रा होलान् भनेको त मुलुक मारा आए ।
हाम्रा होलान् भनेको त पराइका आए ।

विद्रोहले खोजेको छ बाटा बनाउन ।
भूमिपुत्र उठ्नुपर्छ भेडा धपाउन ।
देशघाती कथित नायक उतै पठाउन ।
अहोरात्र द्वन्द्व गर्छन् सत्ता समाउन ।

बेवारिसे भेडा हुनन् देश राम्रो होला ।
बिहानीको घामसँगै उन्नतिमा जाला ।
भूमिसन्तान सुखी होलान् भेडा आउने छैनन् ।
भूमिसन्तान काम खोज्दै पर जाने छैनन् ।

भेडाहरू समस्याका जड बन्ने छैनन् ।
भेडाबाट रातको निद्रा बिथोलिने छैनन् ।
पीडा भयो समयले भन्छ हामीलाई ।
ढिला भयो अघि जान भन्छ हामीलाई ।

निरासाले आत्मबल निखारेर हुन्न ।
गाउँसहर हिमाल तराई नतातेर हुन्न ।
जनक्रान्तिबाट आउँछ जनताको नायक ।
कथितबाट बन्दैन देश हैन हाम्रो नायक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *