बैठक नभेटिएको तीस घण्टे यात्रा

  •   
  •  
  •  
  •  
  •  
  •  

821 जनाले पढ्नु भयो ।

गिरीप्रसाद बुढा

सुविधा सम्पन्न ठाउँमा रहेर काम गर्नु र दुर दराजको कुनामा रहेर काम गर्नुमा कति अन्तर हुँदोरहेछ भन्ने कुराको एउटा जिवन्त उदाहरण बन्यो यसपालीको मेरो यात्रा । काठमाडांैमा रहेर क्रियाशील साथिहरूको जीवन जति सहज छ त्यो भन्दा हजार गुणा कठिन छ मोफसलमा रहेर क्रियाशील हुन चाहने साथिहरूको जीवन । यसमा पनि महिनामा बीस तीस हजार पेन्सन भएका अथवा यस्तै कुनै खाले आम्दानीको स्रोत भएका विभिन्न सेवा सुबिधाले सम्पन्न साथिहरू र हामी जस्ता स्रोत बिहीन बाँचिरहेकाहरू एउटै समितिमा रहेर समान कार्यमा अगाडि बढ्नलाई कसरी सम्भव हुन सक्छ ? भन्ने पीडाबोध पनि दोहोरियो मेरो मानसपटलमा ।

२०७६ सालको भाद्र ५ गते प्रगतिशील लेखक संघको सचिवालयको बैठक छ, बैठक महत्वपूर्ण भएकाले तपाइँ जसरी भएपनि आउनु होला । प्रलेसका महासचिव समिर सिंह र सचिव प्रकास थापाले पालै पालो फोन मार्फत जानकारी गराउनु भएको थियो । बैठक हुनेबारे जानकारी प्राप्त गरिसकेपछि म बैठकमा सहभागी हुने आफ्नो कर्तव्य ठाने । तर बैठकमा सहभागी हुन नदिनको लागि त्यो दाम भन्ने चिज सम्झने बित्तिकै मेरा नौँनारी गलेर आयो । बैठकको सूचना पाएदेखि करिब हप्ता दिनसम्म त काठमाडौं जाउँकी नजाउको दोधारमै रहेँ ।
यसैबीचमा प्रगतिशील लेखक संघ जिल्ला शाखा रुकुमको बैठक बस्यो । बैठकमा केही शिक्षक बुद्धिजिवि साथिहरूको पनि उपस्थिति थियो । बैठकले म काठमाडौं जाने आउने विषयमा केही उपाय सुझाउछ कि भन्ने आसले भाद्र ५ गते केन्द्रीय सचिवालयको बैठक रहेको र म उक्त बैठकमा जान थालेको कुरा जिल्ला बैठकमा जानकारी गराएँ । तर बैठकका सहभागी साथिहरूले शुभयात्रासम्म त भन्नु भयो तर दामको छेउ टुप्पो भने कसैले निकाल्नु भएन । अब केही बहाना वनाएर बैठकमा नजाउकी जस्तो लागिरहेको थियो । तर यो मनले मानिरहेको थिएन । बैठकको मिति झनझन नजिकिदै थियो । यत्तिकैमा एकदिन मनलाल सरको के सोच आयो कुन्नि एक हजार लिएर “लौनुस यो दाम राख्नुस प्रदिप्त दियालो पत्रिका छाप्दा दुःख गर्नु भएको छ भन्नु भयो । उहाँले यति भनेपछि मैले नाइँ भन्न सकिन । मैले त्यो एकहजार रुपैया खुरुक्क राखे । अर्काे दिन फेरी उहाँले मेरो लागि अर्काे अनौठो काम गर्नु भयो । त्यो के भने आफ्नो विद्यालयका १० जना शिक्षकको सम्पती विवरण राखिएको दशवटा पत्र लिएर, “यो किताब खानामा दर्ता गराईदिनुहोला । दुःख नमान्नुहोला । ई…. यो राख्नसुु सरहरूले उठाएर दिनु भएको । तपाईलाई गाडिमा यताउति गर्दा चाहिन सक्छ ।” भन्दै एकहजार रुपैया दिनुभयो । मैले उक्त एकहजार रुपैया पनि खुरुक्क राखे । बैठकमा जानको लागि मलाई आर्थिक समस्या भएको कुरा राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीमा पनि राखे । जिल्ला पार्टीबाट पन्ध्रसय प्राप्त भयो । यसरी मसँग तिनहजार छसय जम्मा हुन आयो । यसपछि डर मानि–मानि घरमा परिवारसँग दुइहजार मागेँ । यसरी पाँचहजार पैशा जम्मा गर्न मलाई ठूलै कसरत गर्नुप¥यो । मैले सोचे, “एउटा चारलाइनको निर्णय गर्नलाई मेरो परिवारको लागि एकमहिना खान पुग्ने पैसा सकिने भयो ।

वास्तवमा आजको समाज पैसाले बढी चलिरहेको छ तर विचारले कम चलिरहेको छ । पैसावालहरूलाई दुइचार थान पुस्तक छपाउन, दुइचार जना मान्छे अघि पछि लगाउन, बैठक गोष्ठि र सभा सम्मेलनरूमा भाग लिन, ठूला कुरा गर्न, ठूला मान्छे बन्न, ठूला नेता बन्न, चुनाव जित्न कुनै गाह्रो छैन । तर पैसा विनाको मान्छेलाई भुँइमा एकपाइला राख्न पनि ठूलो कठिनाइ छ । पैसाको कारणले अगाडि बढ्ने मार्ग बन्द हुन पुग्दा, अरुहरूभन्दा पछाडि पर्नु पर्दा, आफुलाई इच्छा लागेको काम गर्न नपाउदा, आफुले थालनी गरेको यात्रा अधुरा हुन पुग्दा, दविनु पर्दा, थिचिनु पर्दा, मिचिनु पर्दा, आफ्ना प्रतिभाहरू प्रस्फुतित गर्ने अवसरबाट बञ्चीत हुनु पर्दा छिट्टै पैशाविना नै चल्ने नयाँ समाज निर्माण भैदिए हुन्थ्यो भन्ने लाग्छ ।

जे होस कथिनाइको बाबजुध पनि यसपाली मलाई रुकुमबाट काठमाडौँ बैठकमा जानलाई ढोका पूर्ण रुपले खुल्यो । पैशा जुटाउन जति पसिना काढ्नु परेता पनि बैठकमा सहभागी हुन पाउने कुराले ममा राम्रै खुशी छायो ।

यसरी ५ गतेको बैठकका लागि म ४ गतेको नाइट गाडिमा टिकट लिएर तयारी अवस्थामा रहँे । चार गते बाह्र बजे हिडेपछि ढिलोमा पनि ५ गतेको १२ बजेसम्म त काठमाडांै पुग्न सक्ने भएकाले मैले सोही बमोजिम बैठक भेट्न सक्ने गरी बसको टिकट लिएको थिएँ । अब म ठिक पौने बाह्र बजे घरबाट निस्केर घरदेखि काठमाडौंको यात्रा शुरु गरेँ । नजिकै बस आउने बाटोमा बसलाई कुरेर बसें। टिकटमा गाडि ठिक बाह्र बजे छुट्ने लेखिएको भएता पनि लामो अट्यास लाग्दो प्रतिक्षापछि बल्ल बल्ल एक बजे मात्र गाडि आइपुग्यो । गाडिमा चढेर म आफ्नो सिटमा बसें । बाटोमा परीक्षा दिएर घर फर्कन लागेका विद्यार्थीहरूको हुल भेटियो । बसमा ठेलमठेल गर्दै ति विद्यार्थीहरूको हुल गाडि भित्र पस्यो । भित्र मलाई उकुस मुकुस भयो । म पसिनै पसिना भएँ । मेरो स्वास्थ्य अलि अस्वस्थ पनि थियो । त्यसैले मलाई वान्ता आउला–आउला जस्तो पनि भयो । उता ति विद्यार्थीको हुल भने गाडिमा अनेकथरी शब्द ओकेल्दै, गीत गाउँदै बाटै भरी हल्ला गरी रह्यो । गाडि करिब तीन घण्टा गुडेपछि विस्तारै ती विद्यार्थीको भिड र हल्ला सकियो । तर बीच बाटोमा त्यो गाडिले थुप्रै अदुवाको बोरा भेटायो । यसपछि मान्छे र अदुवाको गह्रौ भारी बोकेर म चढेको गाडि सल्यान जिल्लाको भूूमिमा गुडिरहेको थियो । सल्यानको पटारे भन्ने स्थानमा पुग्दै गर्दा गाडिको पट्टा भन्ने चिज भाँच्चियो र गाडि बिग्रीयो । यतिबेला साँझको ठिक छ बजिसकेको थियो ।

अब बिग्रेको गाडि नबनुन्जेल त्यो गाडिका यात्रुहरूलाई त्यै पटारे भन्ने स्थानमा समय विताउनुको अर्काे विकल्प थिएन । गाडि स्टापहरूले फोन गरेर गाडि मर्मतको लागि मिस्त्री बोलाए । करिब एक घण्टापछि सल्यानको श्रीनगरबाट गाडि चढेर मिस्त्री त्यहाँ आईपुग्यो । गाडिका भाँच्चिएका सबै पटा लगेर उ पुनः श्रीनगर गयो । म चढेको गाडि त्यस ठाउँमा रोक्किएको पनि तीन घण्टा भै सकेको थियो । मैले प्रलेसका महासचिव समिरसिहलाई फोन मार्फत आफू आउँदै गरेको तर बीचबाटोमा गाडि बिग्रीएको कुरा जानकारी गराएँ । यात्रुहरू निर्धारीत समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्ने कुराले चिन्तित थिए । ममा पनि अब भोलीको मिटिङ भेटिदैन कि क्या हो ? भन्ने आशंका पैदा हुँदै थियो । त्यो ठाउँमा यात्रुहरुले समय विताएको पनि चार घण्टा भै सकेको थियो । “हामीलाई अर्काे गाडिमा पठाइदिए पनि हुन्थ्यो ।” भन्दै केही यात्रुहरू गाडिवालासँग गुनासो गर्दै थिए । “पैसाको लोभले क्षमता भन्दा बढि लोड हाल्ने अनि हामी यात्रुहरुलाई दुःख दिने ?” भन्दै कोही रिसाउँदै थिए । “त्यै त त्यत्रो ठेलाठेल मान्छे त्यसमा फेरी यति धेरै अदुवाको बोरा हालेपछि पट्टाले कहाँ धान्छ त ? आखीरी यत्रो सामानबाट आएको भाराभरी गाडि मर्मत मै गयो । के अर्थ भयो त यसरी पैसा कमाएको ?” कोही हाँसो ठट्टा गर्दै थिए । गाडिवालाहरूले पनि आफ्नै दुखेसो पोख्दै थिए । “गाडि चलाएर बाँच्नु जस्तो दुःख संसारमा अरु केही छैन ।” यो गाडिवालाहरूको भनाई थियो ।

म भने आफ्नै सुरमा थिए । अँध्यारोमा सडकको छेउको एउटा चेप्टो ढुङ्गामा बसेर तलतिर शारदाको खोला कलकल गर्दै बगिरहेको सुन्दै थिए । यो गाडि ठिक छ बजे विग्रेको थियो । ठिक छ बजे यहाँबाट कलकल गर्दै बगेको पानी यतिबेला कहाँ पुग्यो होला ? मैले एक्लै बसेर कल्पना गर्न थालेँ । यसो अनुमान गरेर सोचें । सायद यतिबेला त यहाँको पानि राप्तीको बबैमा मिस्सिई सक्यो होला । यस्तै सोचिरहेको थिएँ । आकासबाट हल्का बर्षाको पानी झ¥यो । म गाडिमा चढेर आफ्नो सिटमा बसें । गाडिभित्र यात्रुहरू आ–आफ्नै तरीकाले समय विताइरहेका थिए । कोही झुङिरहेका थिए । कोही मोवाइल खेलिरहेका थिए । गाडिभित्र अँध्यारो थियो । यसो मेरो ध्यायन गाडिको क्याविन भित्र खिच्चियो । त्यहाँ दुइवटी केटी केही केटाहरूको साथमा थिए । गाडि ड्राइभर पनि त्यही थियो । त्यहाँ उनीहरू एक आपसमा तरुनी तन्नेरी भएर जिस्कीरहेका थिए । सार्वजनिक स्थानहरूमा यस्तो गर्ने उनिहरूलाई लाज लाग्नु पर्ने तर लाज शरम केही नभएका चेतनाहिन मान्छेहरूसँग कसको के लाग्छ र ?

बसभित्रका मान्छेहरूका अनेक चर्तिकला हेर्दै म चुपचापसँग आफ्नो सिटमा बसिरहे । यसरी आफ्नो सिटमा बसेको म कुनबेला भुसुक्क निदाएछु । “ठ्याङ ठ्याङ” बजेको घनको आवाजले मेरो निद्रा खुल्यो । श्रीनगरबाट मिस्त्री आएर गाडि मर्मत गर्न थालेको रहेछ । मैले मोवाइलको घडी हेरे बाह्र बजिसकेको थियो । केही बेरमै मिस्त्रीले गाडि ठिक पा¥यो । यसरी करिब छ घण्टाको लामो प्रतिक्षापछि गाडि अगाडि बढ्यो । अझै पनि ममा मिटिङ भेट्न सक्ने आस मरेको थिएन । तर दाङको लमहिमा पुग्ने बेला पुर्णरुपले उल्यालो भै हाल्यो । अब म चढेको नाइट बसले दिवा बसको रुप धारण गर्न पुग्यो । उसले लोकल प्यासेन्जरहरूको पनि सेवा गर्न थाल्यो । गर्दा–गर्दा म चढेको बसले आँपूm नाइट बस भएको कुरा समेत बिर्सियो । यसरी म चढेको बसले नाइट बसको आफ्नो वास्तविक भूमिका नै बिर्सेपछि मैले बैठक भेट्न नसक्ने कुराको सहजै अनुमान गरेँ । म “न एता न उता दोसाँधमा खुट्टा” भने झै भएँ । अब म फर्कन पनि सक्दैनथे र काठमाडांै पुगेर पनि मेरो उद्देश्य पूरा नहुने भैसकेको थियो । तै पनि म मा बैठकको अन्तिम सास त भेटाईहाल्छु कि ? भन्ने आस भने बाँकी नै थियो । किनकी बैठक १२ बजे शुरु हुने भनिएकाले उक्त बैठक ४ बजे सम्म त कसो नचल्ला र ? म चढेको गाडि दुई तिन बजेसम्म काठ्माडौँ पुग्यो भने त मैले बैठकको अन्तिम उपस्थिति त भेटी हाल्छु नि भन्ने लागिरह्यो । बीच बाटोमा बसले उसको सम्पर्कको होटेलमा लगेर खाना खुवायो । मैले प्रलेसका अध्यक्ष जिवेन्द्र देव गिरीलाई फोन गरेर आउँदै गरेको कुरा जानकारी गराउन खोजेँ । तर मैले उहाँको नाममा राखेको फोन नम्वर फरक परेको रहेछ । फोन अर्कै ठाउमा गएपछि मैले पुनः महासचिवलाई नै फोन गरे र म आउँदै गरेको भनि जानकारी गराएँ । यसपछि बस आफ्नै तरिकाले अगाडि बढिरह्यो । गाडि मुग्लीन बजारमा पुग्दा मैले घडि हेरे एक बजिसकेको थियो । कुनै कुनै बसमा यात्रा गर्दा मुग्लीनबाट तिन घण्टाको काठमाडौं पुगेको स्मरण ममा थियो । यसरी तिन घण्टामा काठमाडौ पुग्यो भने त बैठक भेटिन्छ कि ? भन्ने झिनो आस म मा पलायो । गाडी नागढुङ्गाको फेदमा पुग्दा २ बजेको थियो ।

नागढुङ्गाबाट काठमाडौं त नजिकै भएकाले अब बैठक भेट्ने भइयो भनेर ढुक्क भएँ । तर यात्रा न हो नाप तौल झै ठ्याक्कै कहाँ हुन्छ र ? बस जाममा परिहाल्यो । यसो बाहिर निस्केर नागढुङ्गाको उकालोतर्फ नजर घुमाएँ । ओहो ! गाडिको लाम त माथि टुप्पैसम्म थियो । यति धेरै जाम अब कति समयसम्म रहने हो कुनै पत्तो थिएन । साँझको साडे पाँच बजे बल्ल बल्ल म चढेको गाडि थानकोट उक्लियो । काठमाडौंको कलंकी भन्ने ठाउँमा बस पुगेपछि म ओर्लिए । घडि हेर्दा ६ बजि सकेको थियो । मैले साथि प्रकासलाई फोन गरेर बैठकको बारेमा सोधँे । प्रकाशजीबाट बैठक सिद्धिएको जानकारी पाए । यसपाली म काठमाडौं नआएको भए नि हुने थियो । बेकार पाँचहजार रुपैया पनि खरानी हुने भो । बसमा जिउले पनि अनावश्यक सास्ती भोग्यो । मनमा पछुतो पैदा भए जस्तो भयो । रुकुमबाट काठमाडौंसम्मको यो बस यात्रा कति घन्टा भएछ भनि हिसाव गरेको त पुरै ३० घण्टा लागेछ । मेरो यो ३० घण्टाको बस यात्रा यसपाली निरर्थक जस्तै भयो । म लुरु–लुरु काठमाडौं पढ्दै गरेकी छोरी समष्टिको कोठातिर गएर बास बसेँ ।

प्रलेसको सचिवालयको बैठकमा उपस्थित हुन नसके पनि पछिल्लो दिन म अन्य कामले दिनभरी नै काठमाडौँको गञ्जागोल शहरभित्र व्यस्त भएँ । साहित्यीक यात्राका सहयात्री सिर्जना शर्मासँग भेटघाट गरेँ । किताव खानामा गएर मनलाल सरले दिनुभएको पत्रहरू दर्ता गरिदिए । तिलगंगा आँखा अस्पतालमा पुगेर छोरी समष्टि र मेरो आँखा जाँच गर्ने कार्य भयो । प्रलेस केन्द्रीय कार्यलयमा पुगेर प्रगतिशील लेखक संघ नेपालका उपमहासचिव आरसी न्यौपानेजीसँग भेटघाट भयो । छोटो समयमा भएपनि उहाँसँग मिठो भलाकुसारी भयो । उहाँले मासिक सतरी असि हजारको जागिर छाडेर माओवादी आन्दोलनमा लागेको तर हाल आफूजस्ता कार्यकर्ताहरूको सपनामाथि नेताहरूले कुठाराघात गरी अकुत स्वार्थ पूर्तितर्फ लागेको भनाई व्यक्त गरेको कुराले मेरो मन छोएको थियो । आजैको दिन मैल ने.क.पा. (मसाल) का पार्टी प्रवक्ता रामप्रकास पुरीसँग पनि भेटघाट गरेँ । उहाँले रुकुम पश्चिम र रुकुम पुर्वका लागि आवश्यक ने.क.पा(मसाल)का प्रकासन सामाग्रीहरू उपलब्ध गराउनु भयो । तिनै सामाग्रीहरू बोकेर पुनः झन्झटिलो बस यात्राका साथ म आफ्नो गृहजिल्ला रुकुम (पश्चि) फर्किएँ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *