भनभन भाइ हो :- के भन्ने ! ओलिलाइ राजीनामा दे.भन्ने !!

  •   
  •  
  •  
  •  
  •  
  •  

60 जनाले पढ्नु भयो ।

काठमाण्डाै । सरकारले यस वर्ष नागरिकलाई देउसीभैलो नखेल्नु भनेको छ । तर सरकारका मान्छे र नेताहरु चाहिँ तिहार सुरु हुनु छ महिना अघिदेखि नै देउसीभैलो खेल्दैछन् ।

नेकपामा प्रचण्डसहितका ठूला पाँच भाइ धेरैजसो खुमलटारमा देउसी भट्याउने गीत बनाउँछन्, र खुमलटारमा बनाएको गीत बालुवाटार पुगेर देउसी र भैलीको भाकामा भट्याउँछन् ।

ब्यङग्य

आहै केराको थम्मा – देउसिरे
पाँचभाइ जम्मा – देउसिरे
आहै भनभन भाइ हो – के भन्ने ?
ओलीलाई राजीनामा – दे भन्ने
हामीलाई कुर्सी – ले भन्ने
बातचित र बैठक – खै भन्ने
अरुभन्दा जान्ने – मै भन्ने

आहै हामी यसै आएनौं – बालुवाटारको याद आयो ।
पद र पावर नहुँदा – बाडुली लाग्यो बालुवाटारको
कुर्सी र गाडी कम हुँदा – रजगजको दिन याद आयो
कति बस्छौ ओली – बालुवाटार
हामीलाई छाड्देउ – बालुवाटार
मागमाग भाइ हो – राजीनामा
गन्ती गर दिनको  – राजीनामा
आ है घोडा बान्ने तबेला – देउसिरे
राजीनामा किन अबेला – देउसिरे !

बेला न कुबेला राजीनामा किन अबेला भन्दै देउसी खेल्ने पाँच भाइलाई बाल दिनुको सट्टा ओली आफ्नै जुँगा र बाल ऐनामा हेरेर मख्ख पर्छन् । पाँच भाइ देउसी भट्याउँदैछन्, उनी जुँगा कालो भयो भनेर दंग पर्दैछन् । देउसी खेल्न ओली पनि के कम ? देउसी खेल्ने दौंतरीले साथ छोड्दै गएपछि उनी भाषण र उद्घाटनमा पुगेर देउसी खेल्छन् ।
आहै म त्यसै आइन – बालुवाटार
राजा खेद्ने जनताले पठाए – बालुवाटार
मैले किन छाड्ने – बालुवाटार
छोड्दै छोड्दिनँ – बालुवाटार
आहै दिंदै दिन्न – राजीनामा
सुन्दै सुन्दिनँ – राजीनामा
ए छानामाथि घिरौंला – देउसिरे
कसरी हटाउँछन् हेरौँला – देउसिरे
कुर्सी हल्ले नि – बाल छैन
पाँच भाइले खेदे नि – बाल छैन
नागरिकले दुःख पाउन् – बाल छैन
समृद्धिले हावा खाओस् – बाल छैन
आहै घोडा बान्ने तबेला – देउसिरे
राजीनामा दिने होइन बेला – देउसिरे !

सत्ताको डाडु पन्यौ लिएर बसेका नेकपाका एकथरीलाई बालुवाटार छिर्न नपाएर अबेला भएको छ । अर्कोथरीलाई बालुवाटार छोड्ने बेला भएको छैन । बेला भएन र अबेला भयो भनेर उनीहरु देउसिरे खेल्दैछन् । नागरिक चाहिँ कोरोनाको डर र महंगीको मारले आफ्नो देउसी कस्का अगाडि भट्याउने भनेर जिल्लाराम छन् ।
आहै यतै फर्के – कोरोना
उतै फर्के – कोरोना
उठीबास भइयो – कोरोना
बिल्लीबाठ भइयो – कोरोना
करभन्दा चर्को – कोरोना
डर छैन अर्को – कोरोना
सोझासिधा रुवाउने – कोरोना
टाठाबाठा हँसाउने – कोरोना
ढाँट्ने छल्ने निहुँ भो -कोरोना
भ्रष्टाचारको बीउ भो – कोरोना
बिदा चाहियो – कोरोना
सिदा चाहियो – कोरोना
काम खोस्ने बहाना –  कोरोना
माम खोस्ने मेसो  – कोरोना
खाम भर्ने पनि – कोरोना
हाम पार्ने पनि – कोरोना
ठूलालाई चैन हो – कोरोना
सानालाई ऐन हो – कोरोना
कहिले जाला भागी – कोरोना !

टाठाबाठाले कोरोनाको कारण मौकामा चौका हान्न पाइयोस् भन्दै देउसिरे भट्याइरहे पनि सोधासिधा नागरिक चाहिँ कोरोना भागीजाओस् भनेर देउसीभैलोमै कामना गर्दैछन् । सत्ता चलाउने नेता र सताइरहने कोरोनाबाट आजित उनीहरुले देउसीमा आशीष पनि मिसाएका छन् :
जेटको जस्तो – हाल नहोस्
पाइलटको जस्तो – चाल नहोस्
जनकपुरमा – रेल चलोस्
टनकपुरमा – झेल नहोस्
कोरोना सोरोना – हटी जा
लकडाउन र कर्फ्यु – मेटी जा
महँगीले आकाश – नछोओस्
जागिर र नोकरी – नगुमोस्
सरकारको आङमा – घाम लागोस्
घामपार्टीको नाकमा – डाम नलागोस्
नागरिकले सुन्ने – भाषण होओस्
भाषणभन्दा धेरै – रासन होओस्
चुच्चे नक्सा – बुच्चे नहोस्
भारतको अघिल्तिर – फुच्चे नहोस् ।उज्यालो बाट!

Leave a Reply

Your email address will not be published. Required fields are marked *