भागबण्डामा नअल्झिन पाँच दललाई राजमोको सुझाव

  •   
  •  
  •  
  •  
  •  
  •  

626 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपक्षी दलहरुको गठबन्धनलाई भागबण्डामा नअल्झिन सुझाव दिएको छ । हिजो (आइतबार) भएको बैठकमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गण्डकी प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबण्डा नमिलेको विषयलाई लक्षित गर्दै असन्तुष्टिका विषयलाई केन्द्रबाट नै समाधान गर्नुपर्ने बताउनुभएको हो ।

गण्डकी प्रदेश सभामा दुई सिट भएको जनता समाजवादी पार्टी (जसपा) ले दुई मन्त्रालय त्यो पनि रोजेको अर्थ मन्त्रालय) नभए प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । सो प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत लिए पनि मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएको छैन ।

शीर्ष नेताहरुको बैठकमा गण्डकी र लुम्बिनी प्रदेशका गतिविधिबारे छलफल भएको थियो । लुम्बिनी प्रदेश सभामा विपक्षीहरुले प्रदेश सरकार असंवैधानिक भएको भन्दै बैठक बष्किार गरेका थिए ।

शीर्ष नेताहरुको बैठकमा राजमो नेत्री पौडेलले भन्नुभयो, ‘गण्डकी प्रदेशमा सरकार गठन हुनासाथ तपाईँहरु भागबण्डामा अल्झिनुभएको छ । यसले जनतामा राम्रो सन्देश गएको छैन । अहिले लोकतन्त्र र राष्ट्रियता नै खतरामा परेको अवस्थामा भागबण्डमा अल्झिएर बस्नु राम्रो होइन ।’
पौडेलले सरकारमा सहभागी दलहरुलाई न्यायोचित ढंगले सहकार्य गर्न सुझावसमेत दिनुभयो । उहाँले केन्द्रीयस्तरबाटै एउटा सहमति बनाएर जानुपर्ने र लोकतन्त्र रक्षाका लागि तलैसम्म एकढिक्का हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजमो उपाध्यक्ष पौडेलको सुझावलाई सकारात्मक भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ‘राष्ट्रिय जनमोर्चाले गुण र दोषका आधारमा सरकारलाई समर्थन गर्ने भनेर सुझबुझपूर्ण नीति लिएको’ बताउनुभयो । उहाँले पनि शीर्ष तहबाटै प्रदेशस्तरका असमझदारी हटाउनुपर्ने बताउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको गठबन्धनको बैठकमा देशका विभिन्न स्थानमा बाढी पहिरोले पारेको क्षतिको उद्धार र राहत दिनको लागि संयुक्त विज्ञप्ति निकाल्ने र आआफ्ना टोलि परिचालन गर्ने निर्णय पनि भएको थियो ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेका माधव नेपाल र भीम रावल र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।

बैठकमा एमाले नेता माधवकुमार नेपालले अहिलेसम्म केपी शर्मा ओलीसँग मिल्ने कुनै सम्भावना नदेखिएको बताउनुभयो । उहाँले ओलीले बाहिर अनेक तिकडम गर्ने गरेको र नचाहिँदा हल्ला फिँवजाउने गरेको बताउनुभयो । नेताहरुले प्रधानमन्त्री ओली विदेशी चलखेलमा नराम्रोसँग फसिसकेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *