भारतमा नेपालीहरुको दशैंं

खिमराज चालिसे, चंडिगढ

देशको सामाजिक, राजनीतिक तथा आर्थिक संरचना र शासक वर्गहरुको नेपाली नागरिकप्रतिको उदासिनताको कारणले मुग्लान पस्न वाध्य हामी लाखौंलाख नेपालीहरुलाई दशैंं–तिहार जस्ता महान पर्वहरुमा पनि विभिन्न कारणले विदेशी भुमीमा वस्न वाध्यताका पिडाले झनझन आफु जन्मेको गाउँठाउँ, खेल्ने गरेको वनपाखा, पधेरो, सराय र राम–रमिता हेर्ने गरेका स्थानहरु, संगिसाथीहरु सँगसंगै पढेको स्कुल, संगै चिच्चाउँदै र गित गाउँदै घास दाउरा गरेको जंगल, संगै हिडेका मेलोपातोका संगीहरु र काल्ना खोला खाल्साहरु चाहार्दै गरिने दिनचर्याहरुको याद कति आउछ कति…… ।

उता आमा बुबाका हातका अक्षता र आशिर्वाद, दिदी–बहिनीहरुको सप्तरंगी टिका र माला अनि चाडवाडहरुमा बन्ने अनेकौं प्रकारका पकवानहरु रोटी, सेल, फिनी, झिलंगा त्यो पनि काक्रा र गिठाको अचारको साथ पारिवारका सबै सदस्यहरुसँगै बसेर सामुहिक रुपमा खाएको अनेकौं मिठा सम्झनाहरु मुटुमा साँचेर “कहिले आउला दुखिको पालो………..” भन्दै देशभित्रको त्यो रमझम याद गर्दै प्रवासमा बस्नेहरुको पिडा त शब्दमा कोर्न सकिदैन तर पनि यो वर्षको दशैंं विषेशमा मैले भारतमा रहेका नेपालीहरुको दशैंं पर्वको अनुभवलाई संक्षेपमा कोर्ने प्रयास गरेको छु ।

भारतमा यसवर्षको दशैंं (दशमी) आइतबार ९ गते अर्थात २५ अक्टुबरलाई घोषणा गरेको कारण भारतमा आइतबार नै दशैं मनाइएको छ । उनीहरुको सरकारी विदा पनि भएको कारणले स्वभाविक हर्षका साथ दशैंं मनाएको हो । हालांकी कोरोनाको असर भारतमा मनाइएको दशैंं पर्वमा पनि देखिएको छ ।

विभिन्न मन्दिरहरुमा हुने रौनक, बजारको चहलपहल, रावणको पुत्ला दहन परम्परा यसवर्ष लगभग सुन्य नै थियो । नेपालीहरुले पनि भारतीय संस्कृतिको प्रायस देखासिकी अनुसार कतिपयले आइतबार नै दशैंं मनाए । तर अधिकांश नेपालीहरुले भने नेपाली पात्रोलाई आधार मानेर २६ अक्टूबर अर्थात कार्तिक १० गते सोमवार नै दशैं मनाएका छन् । तै पनि उनीहरुलाई यो वर्षको दशैं मनाउन त्यही सजिलो भएन । रोजीरोटीको खोजीमा प्रदेश आएका भारतस्थित नेपालीहरु फ्याक्ट्रि, कोठी, विभिन्न कार्यालय लगाएत आदि स्थानहरुमा जागिर गर्ने कारणले गर्दा त्यती सजिलैसँग दशैं विदा माग्दा विदा दिनसक्ने स्थिति पनि थिएन । किनकी उनीहरुले आइतवार नै दशैं मनाइसकेको हुँदा दुइदिन दशैं नहुने तर्क पनि भारतमा दिइएको छ । यसरी छुट्टी लिएर दशैं मनाउन चाहानेहरुलाई यसवर्ष समस्या परेको छ ।

हुन त कोरोनाको कारण प्रत्येक वर्षको दशैं–तिहार भन्दा बढी वेग्लै यसवर्षको सबै चाडपर्व हुनेकुरा सबैको लागि न त नयाँ हो न त अनौठो नै । निश्चित रूपमा विश्वव्यापी कोरोना महामारीको कारण अन्य वर्षहरुमा भन्दा यो वर्षका सबै कार्यक्रम गतिविधि तथा चाडपर्वहरु पनि भिन्न रहने कुरामा सबैको पुर्वनुमान अवश्य थियो । अब आउने पर्वहरुमा पनि त्यसको असर रहने कुरामा हामीलाई कुनै शंका छैन । तर पनि दशैंको यो रूप भारत तथा नेपालको परम्परा संस्कृति एकै किसीमको हुँदाहुँदै पनि दशैंमा भिन्नता पहिलो पटक देखियो ।

हामीहरु वेग्लै देशको फरक परिस्थितिमा चाडपर्व मनाइनुलाई असामान्य भन्दैनौं तर एउटै पर्वलाई फरक दिनमा, त्यो पनि भारत–नेपाल जस्तो धर्म, संस्कृति, रितीरिवाज, प्ररम्परा र विभिन्न पर्वहरु विचको समानता पाइने देशमा पनि दशैं जस्तो ठुलो पर्वलाई छुट्टाछुट्टै दिन मनाउन पर्ने वाध्यता भने पहिलो पटक नै देख्न, सुन्न र भोग्न पाएका छौं ।

समग्रमा यसवर्ष गतवर्षहरुमा जस्तै दशैंको शुभकामना आदान प्रदानका कार्यक्रम आयोजना गर्ने गरेका नेपाली संघसंस्थाहरुले पनि यसपटक त्यस्ता कार्यक्रमहरु आयोजना नगरेको पाइयो । यसवर्ष सामुहिक दशैं मनाउने भन्दा पारिवारिक दशैं मनाउनेहरु धेरै थिए । फेरी पनि दशैंको दिनलाई नै आफ्नो समुदायहरुमा अत्यन्तै संक्षिप्तमा र सुरक्षित रुपमा आज कार्तीक १० अर्थात २६ अक्टुवरको नेपाली तिथी मिती र समय मै टिका लगाउने र खुसी मनाउनेहरु धेरै नै छन् । यद्यपि कतिपयले भने वर्षदिनको दशैंमा पनि छुट्टी नमिलेको गुनासो सुनाउनेहरु पनि मिलेका छन् ।

यसरी दशैंको दिन कार्यस्थलमा कामगर्नु परेकोमा उनीहरु नमआँखा बनाउँदै गरेको पिडादायक तस्विर पनि देखियो । खाना बनाउने कुकमा कार्यरत प्रेम गुरुङ, अफिसमा काम गर्ने दिनेश खड्का, बिनु नेपाली, तेज बहादुर रोका, वालाराम न्यौंपाने, लिला विक र थानेश्वर पाण्डे लगाएतका साथीहरु दशैंको दिन कार्यस्थलमा काम गर्ने प्रतिनिधि पात्र मात्र हुन् । वहाँहरु जस्तै हजारौं नेपालीहरु मुटुभरि प्रदेशीहरुको पिडा राखेर दशैंको दिन कार्यस्थलमा काम गर्न वाध्य थिए । भने कतिपयले एकलै प्रदेशमा दशैं मनाउनु परेको पिडा पनि पोखेका छन् । जबकी थोरैले भने २–४ परिवारहरुसँग दशैं मनाएका पनि छन् । तर प्रदेश प्रदेश नै हो ।

मनभरिको पिडा र वेदनाहरु लुकाएर कतिले हासीहासी परिस्तिथिलाई स्वीकार गरे पनि कतिले भने पिडालाई आफ्नो चेहरामा पनि देखाएका छन् । तर जे होस् भारतस्थित नेपालीहरुको यस वर्षको दशैं गत वर्षहरु जस्तो हर्ष उल्लासपुर्ण थिएन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार