भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकामा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो ।

निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताउनुभयो ।

हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।

उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ ।

सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार