भारत प्रवासमा रहेका नेपालीहरुको व्यवस्थापनका लागि दुबै देशका सरकारहरु समक्ष मूल प्रवाहद्वारा ६ बुंदे माग

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

2123 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा लकडाउनको अवस्थापछि हजारौं नेपाली मजदुर संकटमा परेको भन्दै दुवै देशका सरकारसँग ६ बुँदे मागसमेत प्रस्तुत गरेको छ । साथै नेपाल–भारत सीमानामा अलपत्र परेका नेपालीहरुको चिन्ता जाहेर गरेको छ । ठुलो संख्यामा नेपाली नागरिकहरु समस्यामा परिरहँदा समेत नेपाल र भारत सरकारले वेवास्ता गरेको भन्दै मूल प्रवाहले दुवै देशका सरकारप्रति निन्दा गरेको छ ।

अध्यक्ष दुर्गाबहादुर केसीले आइतबार एक विज्ञप्ति प्रकासित गरी देशको सीमासम्म पुगेर पनि नेपालीहरु घर जान नपाएका र भारतीय पक्षले उचित व्यवस्थापन नगरेको भन्दै उनीहरुको तत्काल उचित व्यवस्थापन गर्न समेत माग गर्नुभएको छ ।

भारतका विभिन्न स्थानमा रहेका तथा सीमानामा अलपत्र परेका नेपालीहरुको उचित खानपान, बस्ने व्यवस्था र उपचारका लागि मूल प्रवाहले दुवै देशका सरकारसँग ६ बुँदे माग समेत प्रस्तुत गरेको छ ।

समाजद्वारा जारी विज्ञप्ती तल जस्ताको त्यस्तै तल प्रस्तुत छ :

“यति वेला महामारीको रुपमा फैलिएको कोराना भाइरसको समस्याले विश्वका सम्पूर्ण मानव जातिलाई अत्यन्तै त्रशित र भयभित बनाएको अवस्था छ । यो परिवेशमा रोजगारका लागि भारतका विभिन्न शहरहरुमा छरिएर रहेका नेपाली श्रमजिवीहरु आफ्नो देशमा फर्कन चाहिरहेका छन् । कैयौंले लामो यात्रा तय गरेर भए पनि आफ्नो प्यारो मातृभूमिको सीमाहरूसम्म पुगेका छन् । यसरी सीमासम्म पुगेका नेपालीहरूको संख्या अत्यन्त ठूलो छ, तर सीमासम्म पुगेका उनीहरुको स्थिति अत्यन्त दयनीय छ । सीमानासम्म पुगेर पनि अलपत्र परेका ती नेपालीहरूको अवस्थालाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गम्भीर रूपमा लिएको छ र त्यसबारे चिन्ता प्रकट गर्दछ । हामीले पहिलेदेखि नै उक्त समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता प्रति जोड दिंदै आएका छौं । तर अहिलेसम्म नेपाल तथा भारत सरकारले त्यस तर्फ समुचित ध्यान दिन नसक्नु घोर निन्दनीय कुरा हो ।

आफ्नो देशबाट टाढा प्रवासी जीवन विताउन वाध्य नेपालीहरूको स्थिति झन् भयावह छ । प्रायः नेपालीहरू ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्तै असंगठित क्षेत्रमा कार्यरत भएको हुँदा लकडाउनको अवधीमा ति बन्द भएकोले गासरबासको समस्यामा परेका साधन श्रोत विहीन नेपाली श्रमजीवीहरुको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहेको छ । यसले गर्दा श्रमजिवीहरु कार्यस्थलबाट आफ्नो गाँउ तर्फ पलायन गरिरहेका छन् । स–साना बालबच्चा सहित पैदल यात्रा गरि आ–आफ्ना गाउँ तिर जाने होड नै मचिएको छ । यस्तो समस्याहरुबाट केही असामाजिक तत्वहरुले व्यक्तिगत फाइदा उठाउने कोशिस पनि गरिहेका छन् । केही दिन पहिला उत्तर प्रदेश सरकारले पैदल यात्रा गरिरहेका मजदुरहरुलाई आंशिक व्यवस्था गर्ने अवसरको फाइदा उठाई कतिपय व्यक्तिहरुले ठूलो संख्यामा नेपालीहरुलाई दिल्लीबाट सीमानासम्म पुर्याएको हुँदा विचल्ली हुनेहरुको संख्यामा थप वृद्धि भएको छ । त्यस प्रकारका अमानवीय गतिविधिमा संलग्न व्यक्ति अथवा ट्रावल्सहरुलाई आवश्यक कारवाही गर्नु पर्ने आवश्यकता समेत हुन्छ । १० गजामा आएर यसी अलपत्र परेकाहरूका लागि आवश्यकता अनुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न हामी दुबै देशका सरकारहरु समक्ष माग गर्दछौं । उनीहरूलाई देशभित्र भित्र्याई आवश्यकता अनुसार क्बारेन्टाइनमा राख्ने र उचित हेरचाहको व्यवस्था गर्नका लागि समेत हामी नेपाल सरकारसित माग गर्दछौं ।

अहिले पनि भारतका विभिन्न स्थानहरुमा ठूलो संख्यामा नेपालीहरू आएर अलपत्र परेका समाचारहरु विभिन्न माध्यमहरुबाट बाहिर आइरहेका छन् । नेपाल र भारतका सरकारहरू वा विभिन्न स्तरका पदाधिकारीहरूका बीचमा दुवै देशहरूका एक–अर्काका देशहरूमा बसेका नागरिकहरूलाई जो जहाँ छन् त्यहीं आवश्यक व्यवस्था गर्ने पनि समझदारी भएको छ । त्यो समझदारी विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नै छ । तर यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षित भएको छ कि भारतीय पक्षबाट त्यो प्रोटकल वा समझदारीलाई इमान्दारितापूर्वक पालन भइरहेको छैन । त्यसले भारतमा बसोबास गरेका नेपालीहरूको जो जहाँ छन् त्यहीं नै उनीहरूलाई आवश्यक व्यवस्था गर्नेभन्दा उनीहरूलाई कसरी हुन्छ नेपालको सीमामा पठाउने काम नै बढी गर्ने गरेको छ । अहिले नेपालका सीमामा देखिएको समस्या भारत सरकारको गैरजिम्मेवार नीतिको पनि परिणाम नै हो । भारतभरमा रहेका नेपालीहरूलाई समूचित व्यवस्था गर्न नेपाल सरकारले भारत सरकारसँग गम्भीर भएर उच्च कुटनीतिक वार्ता गरि भारतमा रहेका नेपालीहरुका समस्या समाधान गर्नु पर्दछ ।

वैश्विक महामारी कोरोना भाइरसले संसार भरी नै मानव जीवनलाई नै संकटमा पुर्याएको यो परिवेशमा पनि कतिपय व्यक्ति तथा समाचार माध्यमहरुले सामाजिक संजाल मार्फत नकरात्मक प्रचार समेत गरेको देखिएको छ । संकटको यो घडीमा व्यक्तिगत, क्यारेरिष्ट तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न सम्पूर्ण जनसमुदाय, मिडियाकर्मी एवं विभिन्न संघ संस्थाहरुलाई अनुरोध गर्दछौं ।

यो महामारीको दौरानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा भारतका विभिन्न स्थानहरुमा संगठनले आफ्नै पहलकदमीमा र कैयौं स्थानहरुम स्थानीय स्वयंसेवी संस्था एवं स्थानीय प्रशासनसँग सहकार्य तथा समन्वयन गरि राहत कार्य गरिरहेको समेत जानकारी गराउँद छौं । राहत कार्यमा संलग्न सम्पूर्ण स्वयंसेवी साथी एवं संस्थाहरुलाई धन्यवाद दिँदै मानवीय भावनात्मक सम्बन्ध राख्दै निरन्तरता दिनको लागि अनुरोध गर्दछौं ।

अन्तमा सङ्कटको यो घडीमा भारत भरि छरिएका नेपालीहरूको समस्याप्रति ध्यान दिन नेपाल तथा भारत दुबै सरकारहरुको दायित्व हुन्छ र त्यो दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न गराउन हामीले नेपाल सरकारसित जोडदार माग गर्दछौं ।

हाम्रा मागहरु :

१. भारत लगायत विश्व भरि प्रवासी जीवन विताइरहेका नेपालीहरुलाई सम्बोधन हुने गरि सकारात्मक सन्देश प्रवाह गर्न नेपाल सरकारसँग माग गर्दछौं ।

२. नेपाल–भारत सीमानामा आएर अलपत्र परेकाहरूका लागि आवश्यकतानुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न हामी दुबै देशका सरकारहरु समक्ष माग गर्दछौं ।

३. विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नेपाल र भारतका सरकारहरू वा विभिन्न स्तरका पदाधिकारीहरूका बीचमा भएको समmदारीलाई कडाई र इमान्दारीपूर्वक दुवै देशहरूद्वारा कार्यान्वयन गर्न माग गर्दछौं ।

४. भारतका विभिन्न स्थानबाट सीमासम्म पुगी समस्या भोगिरहेका नेपालीहरुलाई आवश्यक स्वास्थ्य परिक्षण गरि स्वदेश मैं आवश्यकता अनुसारको व्यवस्थापन गरियोस् ।

५. भारतका अधिकांस स्थानहरुमा ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्ता असंगठित क्षेत्र एवं दैनिक ज्यालादारी नेपाली मजदुरहरुलाई खान, बस्नको व्यवस्था गरियोस् ।

६. भारतका विभिन्न स्थानमा असंगठित क्षेत्र एवं यो महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको समस्याले दैनिक ज्यालादारीमा कार्यरत नेपाली श्रमिकहरु आफ्नो स्वास्थ्य समस्यालाई लिए अत्यन्तै भयभित छन्, तत्काल उनीहरुलाई भयमुक्त हुने बाताबरण तयार गरियोस् ।

७. यो लकडाउनको परिवेशमा नेपाली श्रमजिवीहरु धमाधम आफ्नो मातृभूमि फर्किन चाहिरहेका छन्, विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार उनीहरुलाई जहाँ छन् त्यहीँ आवश्यक व्यवस्था गरियोस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *