मद्धत गर्नुपर्ने श्रमजीवीलाई रोजगारीबाटै हटाइनु घोर अन्याय : केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

345 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले श्रमजीवी पत्रकारहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्नुभएको छ । पत्रकारहरु धर्ना बसेको स्थल नयाँ बानेश्वर पुगेर केसीले सोमार ऐक्यवद्धता प्रकट गर्नुभएको हो ।

त्यसक्रममा अध्यक्ष केसीले कोरोना संकटका बेला अग्रपंक्तिमा खटेर काम गरेका पत्रकारलाई राज्यले प्रोत्साहन दिनुपर्ने ठाउँमा कयौंलाई रोजगारीबाटै हटाएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सञ्चार गृह सञ्चालन गर्ने मालिकहरुले जनताको श्रमको शोषण गरेर वर्षौंवर्षसम्म कुम्ल्याउने र उनीहरुको नाफामा थोरै असर पर्नेवित्तिकै श्रमजीवी पत्रकारलाई नोकरीबाटै बेदखल गर्नु अन्यायपूर्ण भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले सरकारको नालायकीपनका कारण गरीखाने जनता कहिँपनी सुरक्षित नभएको बताउनुभयो । कोरोना कहरबीच विदेशबाट फर्केका नेपालीहरु देशमा सुरक्षा र संरक्षण नभएपछि उतै फर्कनुपर्ने बाध्यता रहेको केसीले उल्लेख गर्नुभयो ।

उहाँले श्रमजीवीहरुलाई केवल सञ्चारगृहका मालिकले मात्रै ठगी गरेको नभइ उनीहरुलाई राजनीतिक संरक्षण रहेको स्पष्ट पार्नुभयो । राजनीतिक संरक्षणकै कारण उनीहरुले जति शोषण गरेपनि र जति अन्याय गरेपनि कारबाही नहुने केसीले बताउनुभयो ।

विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेका हुन् । पीडित पत्रकार तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति गठन गरी असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने बानेश्वरमा रिले अनसन बसेका थिए ।

अब असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजनमा एक–एक घण्टा घेराउलगायतका कार्यक्रम तय गरिएको आन्दोलनरत पत्रकारहरुले जनाएका छन् । यस्तै, असोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिनुभयो ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *