मसालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले त्रिशुलीमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य प्रकाशित गरी दुर्घटनामा घाइते अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाको स्वास्थ्य लाभको कामना गर्नुका साथै बेपत्ताको तुरुन्त खोजी कार्य गर्न आग्रह गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ,

हाम्रो पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष कामरेड मुकुन्द रोका र उहाँकी श्रीमती विरामी छोरीको उपचारको लागि प्यूठानबाट काठमाडौतर्फ गइरहेको अवस्थामा लु. १ च. ९७३१ नम्बरको जीप मुग्लिन–कुरिनटार खण्डमा दुर्घटनाग्रस्त भई उहाँका श्रीमती, छोरी र जीप चालक अहिलेसम्म बेपत्ता अवस्थामा रहेको र का. रोकाको भने जीवित उद्धार भएर चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको समाचार प्राप्त भएको छ । हामीले उक्त सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सो दुर्घटनाबाट घाइते हुनुभएका का. रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । सो दुर्घटनामा परी अहिलेसम्म बेपत्ता अवस्थामा रहनुभएका उहाँका श्रीमती, छोरी र चालकको तुरुन्त खोजी कार्य गर्न र घाइतेको उपयुक्त उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौँ ।’

महामन्त्री सिंहद्वारा प्रेसित वक्तव्यको समाचार बनाउँदै गर्दा त्रिशुलीमा जिप भेटिएको र उपाध्यक्ष रोकाकी श्रीमती जमुना तथा चालकको शव निकालिएको छ ।बेपत्ता छोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट युवक संघ स्तब्ध

यस्तै, अखिल नेपाल युवक संघले पनि बिहीबार विज्ञप्ति निकालेर दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएको छ । संघका अध्यक्ष अनिलकिशोर घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताका खोजी कार्य र तत्काल उद्दारमा जुट्न सम्बन्धित निकायसँगै युवक संघका स्वयम्सेवकहरुसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,

अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष क. मुकुन्दराज रोका २०७७ मंसिर १० गते राति छोरीको उपचारका लागि प्यूठानदेखि काठमाडौं आउने क्रममा चितवनको मुग्लिन–कुरिनटार खण्डमा आफू सवार लु १ च ९७३१ नम्बरको जीप दुर्घटना भई गम्भीर घाइते हुनु भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । भरखर उहाँको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

क. रोका गाडीसँगै नदीमा खसेको भए पनि पौडिएर बाहिर निस्कनु भएको र उहाँको उद्दार गरी उपचारमा लगिएको थियो । उहाँसँगै गाडीमा सवार उहाँकी श्रीमति जमुना, उहाँको छोरी जेनिसा र गाडी चालक सूर्य केसी गाडी दुर्घटना भई सडकबाट त्रिशुली नदीमा खसेकाले अहिले उहाँहरु बेपत्ता अवस्था रहनु भएको छ । उहाँहरुको खोजी कार्य र तत्काल उद्दारमा जुट्न सम्बन्धित निकाय र युवक संघका स्वयम्सेवक कामरेडहरुमा अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार