मसाल भन्छ : घुसपैठियाको सञ्जाल तोड्न पार्टी सदस्यहरु एकजुट बनौं

  •   
  •  
  •  
  •  
  •  
  •  

5513 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीबाट निष्कासित व्यक्तिहरूले पार्टीलाई फुटाउन योजनावद्ध रुपमा लागिरहेको भन्दै उनीहरुको भ्रम चिर्न आम कार्यकर्ता पंक्तिलाई एकजुट हुन आह्वान गरेको छ। घुसपैठिया एवं दुश्मनका एजेन्टहरुले पार्टीभित्रै सञ्जाल बनाएर योजनाबद्ध आक्रमण गरिरहेको भन्दै त्यसलाई निष्तेज पार्न पार्टी सदस्यहरु एकजुट हुनपर्नेमा मसालले जोड दिएको छ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी गतकालमा दुश्मन र पार्टी विरोधीहरूका कैयौँ कडा र निर्मम षड्यन्त्र वा आक्रमणहरूको सामना गर्दै आएका स्मरण गर्दै अहिलेको यो स्थितिमाथि पनि नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

पार्टीबाट निष्कासित तत्वहरुले त्यो बेला (महाधिवेशनका बेला) पार्टीमा भएको बहुमत र अल्पमतको कुरालाई अहिले पनि उठाइरहन्छन् र त्यसको आधारमा पार्टीमा भ्रम फैलाउने, उत्तेजना र फुटको बातावरण तयार पार्ने प्रयत्न गरिरहेका छन्। पार्टीभित्रका सबै इमान्दार साथीहरूसित पार्टी बाहिरका, पार्टी विरोधी वा दुश्मनका एजेन्ट र सीआईडीहरुका त्यस प्रकारका भ्रममा नपर्न तथा पार्टीको अनुशासन र एकतालाई सुदृढ पार्न विशेष रूपले सतर्क हुन महामन्त्री सिंहले वक्तव्यमा अनुरोध गर्नु भएको छ ।

मसालले पार्टीको आन्तरिक जीवनसँगै समसामयिक विषयमा विहीबार १४ बुँदे वक्तव्य प्रकाशित गरी स्पष्ट पारेको छ।

यस्तो छ वक्तव्य :

‘आज २०७७ साल भदौ ११ गते ने.क.पा. (मसाल(को सहयोगीहरु समेतको केन्द्रीय कार्यालयको बैठकले पार्टीको वर्तमान संगठनात्मक अवस्था र अनुशासनबारे गरिएको मुल्यांकन र समझ्दारीका आधारमा तल लेखिए अनुसारको वक्तव्य जारी गरिएको छ ।

१. हाम्रो पार्टीमाथि पार्टी बाहिरबाट आठौँ महाधिवेशनभन्दा पहिलेदेखि नै लगातार हमला गर्ने काम भइरहेको छ । आठौँ महाधिवेशनले एकातिर देशीय सामन्तवाद र अर्कातिर भारतीय साम्राज्यवादसितको अन्तरविरोध मुख्य अन्तरविरोध भएको ठेगान गरेको छ । उनीहरूका विरूद्धको संघर्षमा मुख्य जोड दिने निर्णय गरेको छ । आठौँ महाधिवेशनले यो पनि स्पष्ट गरेको छ कि, अहिले देशमा कायम भएको गणतन्त्र र संविधानको प्रकृति पुँजीवादी प्रकारको छ र तिनीहरूद्वारा जनताका आधारभूत समस्याको समाधान हुदैन । त्यसका लागि नयाँ जनवादी क्रान्ति नै आवश्यक छ । तर तात्कालिक रुपमा विद्यमान गणतन्त्र र संविधानको प्रगतिशील महत्व छ र हामीले तिनीहरुको रक्षाको लागि संघर्ष गर्नुपर्दछ ।

२. संविधानमा व्यवस्था गरिएको संघीयताका विरूद्ध पनि हामीले लगातार संघर्ष गरिरहेका छौँ । तर त्यसका साथै विद्यमान गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुर्नस्थापना गर्ने वा धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउने प्रतिगामी प्रयत्नहरूका विरूद्ध पनि हामीले लगातार संघर्ष गर्दै आएका छौँ ।

३. भारतीय साम्राज्यवादले नेपालको राष्ट्रियताका विरूद्ध गरिरहेको अतिक्रमणका विरूद्ध पनि हामीले लगातार र दृढतापुर्वक संघर्ष गर्दै आएका छौँ । पृथकतावादी तत्वहरूका राष्ट्रिय विखण्डनका गतिविधिहरुको पनि हामीले लगातार विरोध गर्दै आएका छौँ । अमेरिकी साम्राज्यवादद्वारा नेपालमा लाद्न खोजिएको एमसीसी तथा नेपाललाई चीनविरोधी अमेरिकी क्याम्पमा लैजाने प्रयत्नहरूका विरूद्ध पनि हामीले लगातार संघर्ष गर्दै आएका छौँ । उक्त सबै विषयमा आठौँ महाधिवेशनले स्पष्ट र ठोस निर्देशन दिएको छ र त्यस अनुसार नै हामीले दृढतापूर्वक आफ्ना नीति र कार्यक्रमहरूलाई अगाडि बढाउने प्रयत्न गर्दै आएका छौँ ।

४. यो स्वभाविक हो कि हाम्रा त्यस प्रकारका दृढ र सम्झौताहीन प्रकारका नीति र कार्यक्रमहरूका कारणले सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरू हामीसित क्रुद्ध छन् र उनीहरूले विभिन्न प्रकारले हाम्रो पार्टी वा आठौँ महाधिवेशनमाथि आक्रमण गर्दै आएका छन् । त्यसका पछाडिको उनीहरुको उद्देश्य हाम्रो पार्टीलाई ध्वस्त गर्ने नै भएको कुरा बुझ्न गाह्रो पर्दैन । विभिन्न पत्रपत्रिका वा छद्म नामधारीहरूले हाम्रा विरूद्ध लगातार र योजनावद्ध प्रकारले गरेका आक्रमणहरूलाई माथिको पृष्ठभूमिमा नै हेर्नु र बुझ्नु पर्दछ । आठौँ महाधिवेशन भन्दा पहिलेदेखि नै यो कुरा पनि प्रस्ट हुँदै गएको छ कि त्यस प्रकारका तत्वहरुले हाम्रो पार्टीभित्र पनि घुसपैठियाहरूको एउटा सञ्जाल नै तयार पारेका छन् । हाम्रो पार्टीका सर्कुलर र निर्णय लगातार बाहिर गइरहेको वास्तविकताबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।

पार्टीभित्रका संगठनात्मक गोप्यताहरूलाई सार्वजनिक गर्ने काम पार्टीभित्र मतभेद भएका, विभिन्न कारबाहीमा परेका, पार्टीबाट निस्कासित भएका वा फुटेर गएका व्यक्तिहरूले पनि गर्ने गर्दैनन् । उनीहरूको पार्टीमा मतभिन्नता हुन सक्दछ र त्यस सिलसिलामा कैयौँ संघर्षहरु चल्न सक्दछन् । तैपनि उनीहरुले अहिलेका छद्म नामधारीहरुले जस्तै पार्टीका संगठनात्मक गोप्यताहरु समेतलाई सार्वजनिक गरेर त्यस प्रकारका अनैतिक वा दुश्मनको सेवा गर्ने काम गर्न सक्दैनन् । र पहिले पनि पार्टीभित्र मतभेद भएका कारबाहीमा परेका, पार्टीबाट निस्कासित भएका वा फुटेर गएका मानिसहरूले पनि त्यसो गरेको इतिहास छैन ।

त्यस प्रकारका कार्यहरू खाली दुश्मनका एजेन्ट र सीआइडीहरूले मात्र गर्न सक्दछन् । अहिलेका उनीहरूका सबै ध्वंसात्मक कार्यविधिमाथि विचार गर्दा हाम्रो पार्टील प्रतिगमन, सामन्तवाद, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादका विरूद्ध अपनाएका सम्झौताहीन संघर्ष वा नीतिहरूका कारणले दुश्मनका एजेन्ट वा सीआईडिहरूले चौतर्फी प्रकारले हामीमाथि आक्रमण गरेको कुरामा कुनै शङ्का रहन्न । तर हामीले दृढ शब्दमा के घोषणा गर्न चाहान्छौँ भने गतकालमा हामीले दुश्मन र पार्टी विरोधिहरूका कैयौँ कडा र निर्मम षड्यन्त्र वा आक्रमणहरूको सामना गर्दै आएका छौँ । त्यसकारण अहिलेको यो स्थितिमाथि पनि नियन्त्रण गर्न सफल हुनेछौँ भन्ने कुरामा हामीलाई पुरा विश्वास छ ।

५. हाम्रो पार्टीमाथि एउटा अर्काे कोणबाट भइरहेको आक्रमणको पनि हामीले चर्चा गर्न चाहान्छौँ । हामीले वर्तमान सरकारका सबै ढुलमुल, अवसरवादी वा सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्ग, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद समेत प्रतिका सम्झौतापरस्त नीतिहरु, सबै गलत नीति वा कार्यशैलीहरुको सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र त्यसका साथै वर्तमान सरकारलाई हामीले देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरुको सरकार मानेका छौँ र, त्यसकारण त्यसलाई आफ्नो समर्थन पनि दिएका छौँ ।

तर वर्तमान सरकारले गणतन्त्र र धर्मनिरिपेक्षताप्रति दृढ अडान लिएको तथा कतिपय राष्ट्रिय प्रश्नहरुमा स्पष्ट नीति अपनाएको हुनाले राजतन्त्रको पुनस्र्थापना गर्न चाहने, नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहने वा विभिन्न साम्राज्यवादी शक्तिहरुको दलाली गर्ने शक्तिहरुले वर्तमान सरकारलाई अपदस्त गर्ने जुन नीति अपनाएका छन्, त्यसबाट हामीले आफूलाई अलग राखेको हुनाले त्यस प्रकारका तत्वहरुले पनि हाम्रा विरुद्ध लगातार आक्रमण गर्ने गरेका छन् । वर्तमान सरकारसित हाम्रा गम्भिर प्रकारका मतभेद वा विरोध भएपनि त्यसलाई हामीेले प्रतिक्रियावादी वा दुश्मनशक्ति मान्दैनौँ । त्यो कारणले पनि कैयौँ पक्षहरुले हाम्रो विरोध गरिरहेका छन् ।

६. आठौँ महाधिवेशनले यो स्पष्ट गरेको छ कि पार्टीभित्रको अनुशासनको प्रश्नलाई गम्भिर रुपमा लिनुपर्छ । हामीले एकातिर माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणाली वा जनवादी केन्द्रीयताका आधारमा पार्टीलाई एकतावद्ध, अनुशासित र सुदृढ पार्ने प्रयत्न गरिरहेका छौँ भने अर्कातिर पार्टीमा अराजकता र अनुशासनविहीनताका प्रवृत्तिहरू पनि लगातार देखापर्ने गरेका छन् ।

आठौँ महाधिवेशनले त्यस प्रकारका समस्याहरूमाथि नियन्त्रण गरेर जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा पार्टीलाई सुदृढ गर्नुपर्ने कुरामा जोड दिएको छ । वास्तवमा यो समस्या अहिलेको मात्र समस्या होइन । हामी दशकौँदेखि त्यस प्रकारको समस्यासित जुध्दै आएका छौँ । अझ वास्तविकता त यो हो कि लेनिन र स्टालिनका समयदेखि नै संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले त्यस प्रकारका समस्याहरूको सामना गर्दै आउनु परेको छ ।

जब पार्टीमा त्यस प्रकारको संघर्ष शिथिल हुन्छ, तब पार्टीमा अराजकतावादी र अनुशासनविहीन तत्वहरू हावी हुन्छन् र त्यो अवस्थामा पार्टी एउटा कम्युनिस्ट पार्टी रहँदैन । त्यसरी जनवादी केन्द्रीयताका आधारमा पार्टीको संगठनलाई सुदृढ राख्ने प्रश्न एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीका लागि सँधै जीवनमरणको प्रश्न हुन्छ । जहाँजहाँ पनि कम्युनिस्टहरू त्यस प्रकारको संघर्षमा असफल हुन्छन्, त्यो अवस्थामा एउटा कम्युनिस्ट पार्टी कुन अवस्थामा पुग्दछ ? संसारभरि र नेपालमा त्यस प्रकारका उदाहरणहरूको कमी छैन ।

७. आठौँ महाधिवेशनमा पारित संगठनात्मक प्रस्तावमा भनिएको छ : “पार्टीमा अनुशासनको प्रश्न खालि संगठनात्मक प्रश्न मात्र होइन, त्यो गम्भीर प्रकारको सैद्धान्तिक र राजनीतिक प्रश्न पनि हो । अनुशासन कमजोर भयो भने पार्टीमा एकता खण्डित हुन्छ । त्यसपछि पार्टीले सशक्त प्रकारले भूमिका पनि खेल्न सक्दैन । त्यसरी पार्टी अनुशासनको प्रश्न खालि संगठनात्मक प्रश्न नभएर सैद्धान्तिक, राजनीतिक प्रश्न पनि बन्न जान्छ । त्यसैले लेनिनले पार्टी अनुशासनमा धेरै जोड दिएका थिए । विश्वभरमा माक्र्सवादी–लेनिनवादीहरुले त्यसका लागि कडा संघर्ष गर्दै आएका छन् ।” त्यस अनुसार हामीले पनि सँधै र अहिले पनि त्यस प्रकारको संघर्षमा जोड दिदै आएका छौँ ।

८. आजको हाम्रो दायित्व क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, लेनिनवादी संगठन प्रणाली तथा आठौँ महाधिवेशनले दिएको राजनीतिक लाइनका आधारमा कम्युनिस्ट पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनु तथा क्रान्तिकारी आन्दोलनलाई शक्तिशाली बनाउनु हो । तर दुश्मन शक्तिहरूले सँधै पार्टीलाई फुटाउन प्रयत्न गर्दै आएका छन् । अहिले पार्टीमा घुसपैठियाहरूको सञ्जाल भएको कुरा पार्टीका सर्कुलर वा निर्णयहरू लगातार बाहिर गइरहेको कुराबाट छर्लङ्ग छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारका तत्वहरूले लगातार पार्टीमा नयाँनयाँ प्रकारले भ्रम फैलाउने र पार्टीलाई फुटाउने पनि प्रयत्न गर्नेछन् । त्यस प्रकारका प्रयत्नहरुका विरुद्ध पनि हामीले कडा संघर्ष गर्नु परेको छ ।

९. अधिकतर अवस्थामा पार्टीमा देखा परेको अनुशासन सम्बन्धी कमजोरीमाथि व्यक्तिगत रुपमा नै कारवाही गरिन्छ तर कुनै खास बेलामा त्यस प्रकारका कमजोरीहरु व्यापक रुपमा देखा पर्दछन । त्यो अवस्थामा पार्टीको विधान अनुसार शुद्धीकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता हुन्छ । तर हाम्रो पार्टीको आठौँ महाधिवेशन तथा हाम्रो पार्टीको गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले पनि त्यसबारे ठोस कार्यक्रम बनाएको छ । त्यो कार्यक्रमको उद्देश्य पार्टीभित्र व्यापक रुपले अनुशासनको अवस्थालाई व्यवस्थित पार्नु नै हुन्छ र हुनेछ ।

१०.पार्टीमा सधै मतभेदहरू भइरहन्छन् । त्यो एउटा जीवन्त र जनवादी पार्टीको लक्षण हो । त्यसकारण पार्टीभित्रका मतभेद वा अन्तरविरोधहरूलाई हामीले कहिल्यै पनि गलत मान्दैनौँ । पार्टीको विधान र अनुशासनमा रहेर त्यस्ता मतभेदहरूलाई पुरा स्वतन्त्रता दिने हाम्रो नीति रहँदै आएको छ र अहिले पनि छ । तर पार्टी विरोधीहरूले पार्टी विधान र अनुशासनको सिमाभन्दा बाहिर गएर अराजकतावादी प्रकारले मतभेद प्रकट गर्ने वा अन्तरसंघर्ष चलाउने कुरामा जोड दिन्छन् र गतकालमा कैयौँ जनाले त्यसो गर्ने पनि गरेका छन् । त्यसो गर्नु पार्टी विधान र अनुशासनका विरूद्ध भएकाले हामीले उनीहरूलाई विभिन्न प्रकारका कारवाही गर्ने वा गम्भिर प्रकारका गल्तीहरू गर्नेलाई पार्टीबाट निस्कासित गर्ने पनि गरेका छौँ ।

पार्टीको विधान र अनुशासनभन्दा बाहिर गरिएका त्यस प्रकारका कारवाहीका विरूद्ध हामीेले पार्टीको विधानमा गरेको व्यवस्था अनुसार कारवाही गरेको हुनाले पार्टीबाट निस्कासित व्यक्तिहरूले वा पार्टी बाहिरका कतिपय पत्रपत्रिकाहरूले पनि हाम्रो पार्टीमा जनवाद नभएको, भिन्नमत राख्नेहरूलाई सफाइ गरेको वा पार्टीमा तानाशाही कायम गरेको भनेर आक्षेप लगाउने गरेका छन् । पार्टीभित्र धेरैजसो कारवाहीहरु आन्तरिक रुपमा नै हुन्छन् र त्यस प्रकारका कारवाहीहरुको उद्देश्य पार्टीका कार्यकर्तालाई पुनः अनुशासित र सक्रिय पार्नु नै हुन्छ । केही खास अवस्थामा गम्भिर प्रकारका अनुशासनविहीन गल्ती गर्नेहरुलाई मात्र हामीले पार्टीबाट अनिश्चित कालको लागि निस्कासित गरेका हुन्छौँ ।

११. पार्टीबाट निस्कासित व्यक्तिहरूले पार्टीभित्रका सामान्य मतभेद वा सामान्य प्रकारले कारवाही गरेका व्यक्तिहरूलाई पनि पार्टीबाट फुटाउनका लागि योजनावद्ध प्रकारले उपयोग गर्न प्रयत्न गरेको पाइन्छ । पार्टीमा आठौँ महाधिवेशनको बेलामा बहुमत र अल्पमत भएको थियो तर त्यसबारे महाधिवेशनले निर्णय दिइसकेको छ । अब पार्टीमा कुनै बहुमत वा अल्पमत छैन ।

यद्यपि कैयौँ विषयहरुमा पार्टीमा बेग्लाबेग्लै प्रकारका मतभेदहरु देखा परिरहन सक्दछन् । तर पार्टीबाट निस्कासित तत्वहरुले त्यो बेला पार्टीमा भएको बहुमत र अल्पमतको कुरालाई अहिले पनि उठाइरहन्छन् र त्यसको आधारमा पार्टीमा भ्रम फैलाउने, उत्तेजना र फुटको बातावरण तयार पार्ने प्रयत्न गरिरहेका छन् । हामीले पार्टीभित्रका सबै इमान्दार साथीहरूसित पार्टीबाहिरका, पार्टीविरोधी वा दुश्मनका एजेन्ट र सीआईडीहरुका त्यस प्रकारका भ्रममा नपर्न तथा पार्टीको अनुशासन र एकतालाई सुदृढ पार्न विशेष रूपले सतर्क हुन अनुरोध गर्दछौँ ।

१२. हामीले के कुरा स्पष्ट गर्न चाहान्छौँ भने गतकालमा राजावादी, विभिन्न प्रकारका दक्षिणपन्थी, उग्र“वामपन्थी”तत्वहरू वा हाम्रो पार्टीबाट फुटेर जाने कतिपय तत्वहरूले आफ्ना साथमा कैयौँ इमान्दार साथीहरूलाई पनि लगेर जाने गरेका छन् । अन्तिममा ती साथीहरूको प्रतिक्रियावादी वा दक्षिणपन्थी रूपमा पतन हुने गरेको छ वा अलपत्र हुने गरेका छन् । हाम्रो पार्टीबाट फुटेर गएका व्यक्तिहरूले कैयौँ पल्ट बेग्लै संगठन बनाएर पनि भ्रम दिने प्रयत्न गरेका छन् । तर त्यस प्रकारका संगठनहरू मध्ये कोही पनि लामो समयसम्म टिक्ने गरेका छैनन् र उनीहरूको एउटा वा अर्काे संगठनमा विलय हुने, उनीहरूको अस्तित्व समाप्त हुने वा उनीहरूले पलायनको बाटो समात्ने गरेका छन् । त्यसप्रकारका उदाहरणहरूको कमी छैन । त्यसप्रकारका उदाहरणहरुबाट सबै इमान्दार साथीहरुले शिक्षा लिनु पर्दछ र सतर्क हुनुपर्दछ । त्यसका लागि हामीले पार्टीका सबै इमान्दार साथीहरूको गम्भिर ध्यान आकर्षित गर्न चाहान्छौँ ।

१३. हाम्रो विरुद्ध पार्टीबाट निस्कासित भएका वा फुटेर गएका व्यक्तिहरु क्षणिक बदला, उत्तेजना वा प्रतिशोधका भावनाहरुका कारणले केहीबेर तात्छन्, अरुलाई उत्तेजित पार्ने प्रयत्न गर्छन्, एक वा अर्काे प्रकारले हाम्रा विरुद्ध चरित्रहत्या गर्ने वा निराधार आरोपहरु लगाउने अभियान चलाउँछन् वा चौतर्फि प्रकारले पार्टीका विरुद्ध हमला गर्दछन् । उनीहरुको प्रधान जोड एकतर्फी रुपमा हाम्रा विरुद्धको हमलामा नै हुन्छ ।

१४. तर समयले बारम्बार यो सावित गर्दै आएको छ कि, बदला वा उत्तेजनामाथि आधारित विरोधको आयु अत्यन्त क्षणिक वा छोटो हुन्छ । त्यो धेरैबेर टिक्दैन । त्यो जति छिटो उर्लेर आउँछ, त्यति नै छिटो त्यो सेलाएर पनि जान्छ । त्यस प्रकारका सिद्धान्तहीन र अराजनीतिक प्रचार वा व्यक्तिगत गालीगलौजका आधारमा इमान्दार साथीहरुलाई लामो समयसम्म भ्रममा अलमलाएर राख्नु सम्भव हुँदैन। साथीहरुले यो कोणबाट पनि विचार गर्न वा प्रश्न उठाउन थाल्दछन् : त्यस प्रकारको विरोध गर्ने व्यक्तिहरुको स्वयम् उनीहरुकै सकारात्मक र राजनैतिक प्रकारको भूभिका के र कस्तो छ ? दीर्घकालिन रुपमा मुख्य र निर्णयात्मक महत्वको कुरा सिद्धान्त र राजनीतिमाथि आधारित सकारात्मक वा क्रान्तिकारी भूमिकाको नै हुन्छ ।

त्यसका लागि कठिन परिस्थितिमा लामो समयसम्म निरन्तर सकारात्मक र क्रान्तिकारी भूमिका खेल्नुपर्दछ । त्यसैले कसैले हाम्रो जुन विरोध गर्दछ, अन्त्यमा त्यो कति टिकाउ र स्थिर हुन्छ, त्यो अहिलेको गालीगलौज, व्यक्तिगत चरित्रहत्या वा झुट्टा आरोपहरुका आधारमा होइन, उसको लामो समयसम्मको, कमसेकम १०–२०–३० बर्षको भूमिकाका आधारमा नै तय हुने कुरा हो । त्यसरी कसैले सही सिद्धान्त र राजनीतिका आधारमा सकारात्मक भूमिका खेल्दै गएमा उनीहरुको हामीसितको अहिलेको व्यक्तिगत विरोध हराएर जानेछ र उनीहरुसँग पुनः नयाँ धरातलमा सम्बन्ध स्थापित हुँदै जानेछ । त्यो सम्बन्ध एउटै पार्टीमा एकिकरणको रुपमा पनि हुन सक्दछ वा विभिन्न प्रकारका समझ्दारीका आधारमा कार्यगत एकता वा सहकार्यका रुपमा पनि हुन सक्दछ । गतकालमा एक पल्ट विरोधमा उत्रेका वा फुटेर गएका कैयौँ व्यक्ति वा पक्षहरुसित त्यसरी नयाँ प्रकारले सम्बन्ध बनेका कैयौँ उदाहरणहरु छन् ।

तर जो गलत तत्व हुन्छन् वा जसले पलायनको बाटो समात्छन्, उनीहरुसित पार्टीगत रुपमा हाम्रो सधैका लागि सम्बन्ध टुटेर जान्छ । त्यसैले जुन साथीहरुले अहिले हाम्रा विरुद्ध व्यक्तिगत प्रकारका आक्षेपहरु लाउने, चरित्रहत्या गर्ने वा हाम्रा विरुद्धको आक्रमणमा विशेष जोड दिने कार्यहरु गरिरहेका छन्, त्यस प्रकारका कार्यहरुलाई हामीले खाली तात्कालीक घटनाक्रमको सन्दर्भमा मात्र होइन, माथि उल्लेखित दिर्घकालिन परिप्रेक्षमा नै हेर्नु र बुझ्नु पर्दछ ।

अहिले हाम्रो विरोधमा धेरै नै उत्रेका, तातेका वा यहाँसम्म कि एक वा अर्काे प्रकारले पार्टीसित सम्बन्ध विच्छेद भएका साथीहरुलाई पनि हामीले के याद दिलाउन चाहान्छौँ भने, उनीहरुले अहिले गरिरहेका विरोधहरुको आयु अत्यन्त छोटो छ र ती छिट्टै हराएर जानेछन् । लामो समयमा उनीहरुका त्यस प्रकारका विरोधहरु सही सिद्धान्त, राजनीतिका आधारमा सही र सकारात्मक रुपमा अगाडि बढ्छन् वा गलत र पलायनका रुपमा उनीहरुको पतन भएर जानेछ, १०–२०–३० बर्षमा नै त्यो कुरा प्रस्ट हुनेछ ।

त्यसैले तात्कालिक रुपमा उनीहरुका हाम्रा विरुद्धका गालीगलौज, चरित्रहत्या वा व्यक्तिगत आक्षेपहरुले कुनै अर्थ राख्दैनन् । हामीले सम्बन्धित सबै साथीहरुसित पनि विषयमाथि त्यसरी नै विचार गर्नका लागि मैत्रीपूर्ण प्रकारले सल्लाह र सुझाव दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *