मसाल भन्छ : ‘प्राकृतिक प्रकोपबाट वर्षैपिच्छे हुने क्षतिप्रति गम्भीर बन’

  •   
  •  
  •  
  •  
  •  
  •  

2908 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विगत वर्ष जस्तै यो वर्ष पनि बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको भन्दै दुःख प्रकट गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले बिहीबार साँझ प्रेशित गर्नुभएको वक्तव्यमा मानवीय गल्ती कमजोरी वा सरकारका गलत नीतिहरूका कारणले पनि त्यसप्रकारका दुर्घटनाहरू हुने गरेको भन्दै बाढी, पहिरो वा डुवानबारे नियन्त्रण गर्न सक्ने वैज्ञानिक विधि अपनाउन नसक्दा ठुलो क्षति हुने गरेको बताउनुभएको छ ।

वक्तव्यमा देशमा मौलाउँदै गएको भ्रष्टाचार, भारतीय साम्राज्यवादले गरेको हस्तक्षेप, राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट उत्पन्न तरंग लगायतका विषयमा मसालको धारणा स्पष्ट पारिएको छ ।

यस्तो छ वक्तव्यः

‘बाढी पहिरो र डुवान सबै प्राकृतिक घटनाहरू मानिन्छन । मुख्य रूपले ती प्राकृतिक घटना हुन् पनि । तर त्यसको अर्काे पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । मानवीय गल्ती कमजोरी वा विभिन्न सरकारका गलत नीतिहरूका कारणले पनि त्यसप्रकारका कैँयौँ दुर्घटनाहरू हुने गर्दछन् । खासमा बाढी, पहिरो वा डुवानमाथि नियन्त्रण गर्नको लागि वा तिनीहरूको पूर्व जानकारीको लागि कैँयौँ वैज्ञानिक विधिहरू पत्ता लागेका छन् । तिनीहरूलाई उपयोग गरेमा वा गर्न सकेमा त्यसप्रकारका कैँयौँ प्रकृतिका विपदलाई रोक्न पनि सकिन्छ । तर सरकार त्यसप्रकारका विधिहरू अपनाउन असफल भएका कारणले पनि कैँयौँ त्यसप्रकारका प्राकृतिक विपद पनि हुने गर्दछन् । त्यसप्रकारका सबै पक्षप्रति ने.क.पा. (मसाल)ले सरकार वा जनताको विशेष ध्यान आकर्षित गर्न चाहन्छ ।

प्रायशः पहाडमा बाढी–पहिरो तथा तराईमा बाढी र डुबानका प्राकृतिक प्रकोपहरू बढी हुने गर्दछन् । नेपालमा कतिपय निकायहरूले पहिरोको बढी जोखिम भएका स्थानहरू पत्ता लगाएका छन् र त्यसबारे देशव्यापी रूपमा अध्ययन गरेमा देशका त्यसप्रकारको जोखिम भएका सबै क्षेत्रको ज्ञान हुन सक्दछ । जहाँ स्थायी रूपमा नै त्यसप्रकारको जोखिमको सम्भावना छ, त्यहाँका जनता नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने आवश्यकतामा पनि विज्ञहरूले सुझाव दिने गरेका छन् । पहिरोबाट जुन प्रकारका अत्यन्त दुःखद र मार्मिक घटना हुने गर्दछन्, त्यहाँ बस्ती उठाएर सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यकता छ ।

तर सरकारले न सबै जोखिमयूक्त स्थानहरू पत्ता लगाउने कार्यप्रति गम्भिरतापूर्वक ध्यान दिएको छ, न त्यस्ता स्थानहरूबाट जनतालाई अन्यत्र स्थान्तरित गर्ने कार्यमा । त्यसले गर्दा नै बर्षैपिच्छे निर्दाेष जनताको ठुलो सङ्ख्यामा ज्यान जाने गरेको छ । देशमा ठुला सामन्तको स्वामित्वमा रहेको कैँयौँ जग्गाहरू छन् । त्यसप्रकारका जग्गाहरूमा जनताको बसोबास गराउनेतर्फ सरकारले ध्यान दिएको छैन् ।

भ्रष्टाचार गरेर वा अन्य विभिन्न प्रकारले अरबौँ रूपैया दुरूपयोग हुने गरेको छ । त्यसमाथि नियन्त्रण गर्न सकेमा पनि जोखिमयुक्त क्षेत्रहरूका जनताको स्थान्तरण वा विकास कार्यहरूमा समेत पैसाको कुनै कमी हुने थिएन । हामीले त्यसरी जिम्मेवारी पुरा गर्नको लागि सरकारको गम्भिर ध्यान आकर्षित गर्दछाँै । प्रश्न सरकारको मात्र होइन त्यसप्रति सरकारमाथि दवाव दिन व्यापक रूपले आवाज उठाउन हामीले जनतासँग पनि अपिल गर्दछौँ ।

प्रत्येक दिन अरबौँ रूपैयाको भ्रष्टाचार, हिनामिना, अनियमितता वा वेरुजु भएका समाचारहरू आइरहन्छन् । सरकारका विभिन्न अङ्ग वा निकायहरू, सार्वजनिक सङ्घ संस्था स्थानीय निकायहरू व्यवसायी र सेवामुलकमा समेत त्यसप्रकारका भ्रष्टाचार वा अनियमितताहरू व्यापक रूपले भएको पाइन्छ । सरकारले त्यसप्रकारका कार्यहरूमाथि निष्पक्ष र कडाइपूर्वक काम गर्नुको सट्टा तिनीहरूको संरक्षण गर्नेतर्फ नै लागेको देखिन्छ । यो गम्भिर स्थिति हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लेखा समितिको हिसाबमा ठूलो मात्रामा अनियमितता वा बेरुजु भएको प्रतिवेदन दिएको छ । तिनीहरूबारे सरकारले कहिल्यै कार्बाही गर्ने गर्दैन र यस पल्ट पनि यसको सम्भावना कमै छ । त्यसले देशको गम्भिर चिन्ताजनक अवस्थालाई बताउँछ । त्यसप्रकारको स्थितिले देशलाई अगाडि लैजानुभन्दा झन् पछाडि लैजाने नै बढी सम्भावना रहन्छ । त्यसप्रकारको स्थितिमा सुधार वा नियन्त्रण गर्न सरकार पुरै असफल भएको देखिन्छ । वर्तमानका लागि मात्र होइन, भविष्यका लागि समेत यो गम्भिर चिन्ताको विषय हो ।

भारतीय साम्राज्यवादले नेपालको भूमिमाथि कब्जा र सिमा अतिक्रमण ता गरिरहेको नै छ । खाली कालापानी,  लिम्यियाधुरामा मात्र होइन, भारतसित सिमा जोडिएका सबै क्षेत्रहरूमा त्यसरी सिमा अतिक्रमण गर्नुका साथै कैँयौँ स्थानमा त्यसले सिमा स्तम्भहरू उखेल्नेसम्म काम गरिरहेको छ । अब त्यसले भारतस्थित नेपालीहरूलाई पनि विभिन्न प्रकारले सताउने काम गर्न थालेको छ । बनारसमा त्यो कार्य उनीहरूले कुन तल्लो स्तरसम्म उत्रेर गरिरहेका छन् । बनारसमा एकजना नेपालीलाई (पछि यो समाचार पनि आयो कि त्यो व्यक्ति वास्तविक नेपाली थिएन र एक जना भारतीयलाई नै रु. एक हजार दिएर) मुन्डन गराएर उसलाई के.पी. ओली मुर्दावाद भन्न लगाइएको थियो । भारतव्यापी रूपमा नै नेपालीहरूलाई सताउने काम भइरहेका छन् । नेपाली भूमिमा भारतीय कब्जा समेतबारे ठोस कुटनैतिक पहलकदमी, अन्तराष्र्टियकरण वा भारतका त्यसप्रकारका व्यवहारका विरुद्ध सरकारले अन्तर्राष्ट्रिय स्तरमा पहलकदमी गरेको देखिन्न ।

अयोध्याबारे ओलीले प्रकट गरेको विचारलाई हामीले पूरै नै तर्कहीन वा आधारहिनता त भन्न सक्दैनौँ तर प्रधानमन्त्री स्तरमा त्यसप्रकारको विचार प्रकट गर्नुलाई हामीले गलत मान्दछौँँ । कतिपय ऐतिहासिक वा पौराणिक प्रकारले विवाद भएका स्थानमा विभिन्न कोणबाट अध्ययन, अनुसन्धान वा छलफल हुनु गलत होइन र हुने पनि गरेका छन् । अयोध्या भारतमा कहाँ पर्दछ ? त्यसबारे भारतमा बेग्ला–बेग्लै मतहरू देखा पर्ने गर्दछन् । भारतको सर्वाेच्च अदालतले पनि अयोध्या नै रामको जन्मभूमि ठहर्याउन प्रमाण नपुग भएको फैसला दिएको छ ।

अहिलेसम्म कुनै ऐतिहासिक वा पुरातात्विक आधारमा राम वा उनको जन्मभूमि भएको ठाउँ कतै पत्ता लागेको छैन् । स्वयम् रामको नै ऐतिहासिक व्यक्ति भएको कुरा प्रमाणित भएको छैन् । त्यसैले राम वा अयोध्या वास्तविकताभन्दा बढी आस्था र विश्वासका प्रतिक नै हुन । त्यसमाथिको विश्वास वास्तविकताभन्दा बढी आस्थामाथि नै आधारित छ । लङ्का अहिलेको श्रीलङ्कामा पर्दछ वा भारतको कुनै स्थानमा ? त्यसबारे पनि बेग्ला–बेग्लै मतहरू छन् ।

कतिपय मानिसहरूले ठोस प्रमाणद्वारा प्रमाणित भइसकेका विषयहरूलाई पनि राष्ट्रिय पुर्वाग्रहका कारणले झुठ्ठा ठहर्याउने प्रयत्न गरेको पनि पाईन्छ । अशोक स्तम्भ र त्यसमा लेखिएको अभिलेखद्धारा लुम्बिनी रूपन्देहीमा नै भएको कुरा अन्तर्राष्ट्रिय रूपले नै प्रमाणित भइसकेको छ । तर भारत सरकारले नवगढमा नक्कली लुम्बिनी गराएर अन्तर्राष्ट्रिय रूपमा भ्रम दिने प्रयत्न गरिरहेको छ ।

मोदीले जापानमा गएको बेला बुद्धको जन्म भारतमा नै भएको बताएका थिए । एक जना भारतीय सोधकर्ता भुवनेश्वरकोे कपिलेश्वरमा नै बुद्धको जन्म भएको थियो भन्ने एउटा थेसिस नै लेखेका थिए । नेपालका कतिपय विद्वानहरूले उनको त्यो दाबीको कुनै पनि नेपालीले खण्डन नगरेको मत प्रकट गरेका छन् । तर त्यो विचारबारे मोहनविक्रम सिंहले २०३४ सालमा प्रकाशित एउटा लेखमा आलोचना गरेका थिए । त्यो बेलामा उनले यो विचार प्रकट गरेको थिए कि यस्ता ऐतिहासिक प्रश्नहरूमा कुनै राष्ट्रिय पुर्वाग्रह नराखिकन निष्पक्षप्रकारले विचार गरिनुपर्दछ र निष्कर्ष निकाल्नुपर्दछ । त्यस सन्दर्भमा एउटा नेपाली लेखकले मोहनविक्रमले बुद्धको जन्मभूमि भारतमा भएको भनी विचार प्रकट गरेको भनेर उनको आलोचना पनि गरेका थिए ।पछि उनलाई तपाइँले मोहनविक्रमको त्यसप्रकारले आलोचना गर्नुको पछाडि के श्रोत वा आधार छ भनेर सोध्दा उनीसित त्यसप्रकारको श्रोत नभएको बताएका थिए ।

ओलीले अयोध्याबारे जुन विचार प्रकट गरेका छन् त्यो अनुसन्धान र अध्ययनको विषय हुन सक्दछ । नेपालका कैयौँ विद्धानहरूले ठोरीमा नै अयोध्या भएको दाबी गरेर त्यहाँ रामको जन्मभूमि भएको प्रमाणित गर्ने प्रयत्न पनि गरिरहेका छन् । तर राम नै तेत्रा युगमा जन्मेका थिए र त्यही कालमा नै रामायण लेखिएको थियो भन्ने विषयमा अहिले स्वयम् भारतमा पनि विवाद छ । कतिपय विद्वानहरूले बुद्धभन्दापछि इसाको दोस्रो शताब्दीमा रामायण लेखिएको भन्ने कुरा पनि प्रमाणित गर्न प्रयत्न गरिरहेका छन् ।

त्यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि, कुनै प्राचिन कथालाई आधार बनाएर त्यो रामायण लेखिएको पनि हुन सक्छ । जे होस, रामायणमा उल्लेखित पात्रहरूको ऐतिहासिकताबारे जे भएपनि रामायणमा उल्लेखित अयोध्या कहाँ पर्दछ ? त्यसबारे भारतका कैयौँ विद्यार्थीहरूले बेग्ला–बेग्लै मत प्रकट गरे जस्तै नेपालमा पनि त्यसबारे बेग्ला–बेग्लै मत प्रकट हुनु वा त्यसबारे अध्ययन, अनुुसन्धान गर्ने प्रयत्न गर्नुलाई गलत भन्न सकिन्न । तैपनि त्यो अहिलेसम्म कुनै प्रमाणित विषय होइन ।

त्यसकारण त्यसबारे ओलीले देशको प्रधानमन्त्रीको हैसियतले जुन मत प्रकट गरेका छन् त्यसलाई सही भन्न सकिन्न । तैपनि उनको अभिव्यक्तिले त्यो दिशामा छलफल र अनुसन्धानको लागि वातावरणलाई तताएको छ । त्यसलाई सकारात्मक नै भन्नुपर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *