मसाल महामन्त्री सिंह कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । करिब एक महिना अघि कोरोना संक्रमित भइ उपचाररत सिंहको हिजो (आइतबार) गरिएको पछिल्लो परीक्षणपछि उहाँ संक्रमणमुक्त हुनुभएको हो ।

गएको वैशाख २७ गते उहाँलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सिंहलाई काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा करिब एक हप्ता उपचार गराएर उहाँ हाल घरमै स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

चिकित्सकले उहाँलाई एन्टिबायोटिक औषधि दिएर घरमै आराम गर्न र हप्ताको एक पटक फ्लोअपमा अस्पताल आउन सुझाव दिएका थिए । सोही अनुसार गरिएको नियमित परीक्षणका क्रममा कोरोना संक्रमण रिपोर्ट निगेटिभ आउनुका साथै अन्य स्वास्थ्य समस्यासमेत सामान्य अवस्थामा आएको देखिएको छ ।

८७ वर्षीय सिंह सुगर र थाइराइडबाट समेत पीडित हुनुहुन्छ । एक महिना भन्दा लामो समयदेखि बिरामी भए पनि हाल आफूलाई स्वस्थ महसुस भएको सिंहले बताउनुभयो ।

‘अहिले स्वास्थ्यमा धेरै नै सुधार आएको छ । ८७ वर्षको दीर्घरोगीले कोरोना संक्रमणलाई जितेको छु’ सिंहले युगदर्शनसँग  भन्नुभयो, ‘सामान्य खोकी र अक्सिजनको लेभलमा सामान्य तलमाथि हुनु बाहेक अहिले म पुर्ण रुपमा ठिक भएको छु ।’

पार्टी कामको सिलसिलामा पश्चिम नेपालमा रहेकै अवस्थामा महामन्त्री सिंह बिरामी पर्नुभएको थियो । काठमाडौं आएर चेकजाँच गर्दा उहाँलाई संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार