महामन्त्री सिंहद्वारा सम्मानीत भई मूल प्रवाहका केन्द्रीय नेताहरुको स्वदेश विदाई

खिमराज चालिसे,

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्ना दुई जना केन्द्रीय नेताहरुलाई स्वदेश विदाई गरेको छ । आइतबार केन्द्रीय सदस्य लालचन्द पन्त र सल्लाहकार देविप्रसाद पौड्याललाई सम्मानसहित विदाई गरिएको हो ।

मूल प्रवाहको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा प्रमुख अतिथि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पौड्याल र पन्तलाई टिका र माला लगाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सम्मान समारोहलाई सम्वोधन गर्दै महामन्त्री सिंहले सबैखाले अवसरवादका विरुद्ध संघर्ष गर्दै संगठनको गरिमामय इतिहास निर्माणमा मूल प्रवाहका कार्यकर्ताले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । महामन्त्री सिंहले देशको जनतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीहरुबाट थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस्तै विषेश अतिथिको आसनबाट बोल्दै पूर्व–सभासद तथा राजमोका पूर्वमहासचिव हरि आचार्यले स्वदेशको जनतान्त्रिक आन्दोलनमा मूल प्रवाहले अति महत्वपूर्ण भूमिका निभाई रहेको उल्लेख गर्नुभयो । उहाँले स्वदेशको विभिन्न आन्दोलनहरुमा समेत मूल प्रवाहले प्रत्यक्ष सहयोग गरिरहेको बताउनुभयो ।

शुभकामना दिने अन्य वक्ताहरु मूल प्रवाहका महासचिव ठाकुर खनाल, नेपाली समाचारका सहसम्पादक धनवीर पुन र केन्द्रीय महिला संयोजक फुलविना पौडेल लगायतले उहाँहरुले दिएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

विदाइ समारोहमा सहभागी मूल प्रवाहका केन्द्रीय सदस्य एव पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष लालचद पन्त १९८३देखि हरियाणा राज्यको जिन्द नरवानाबाट मूल प्रवाहको सदस्य बनि सांगठनिक यात्रालाई निरन्तर अगाडि बढाउनु भएको थियो । उहाँ भिवानी पव्लिक हेल्थ विभागबाट सेवानिवृत हुनुभएको हो ।

उहाँ गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नम्वर ३ हर्दिनेटा धर्मपानी छापका स्थायी बासिन्दा हुनुहुन्छ । बुवा हरिहर पन्त र आमा धनिस्वरा पन्तको कोखबाट जन्मिएका पन्त केही वर्षपहिला रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नम्वर १ नयाँमिल बसाइ गर्नुभएको छ ।

त्यस्तै अर्का केन्द्रीय सल्लाहकार देवीप्रसाद पौड्याल हरियाणा राज्यको हिसारबाट १९८० देखि सांगठनिक यात्रालाई निरन्तरता दिनुभएको थियो । उहाँ हिसार नगर समितिको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।

बुवा स्व. डासुराम उपाध्याय तथा आमा इन्द्रकला उपाध्यायको कोखबाट जन्मनु भएका देविप्रसाद पौड्याल हिसारको चौधरी चरणसिंह हरियाणा कृषि विश्वविद्यालय हिसारबाट सेवानिवृत हुनुभएको हो ।

यस्तै, केन्द्रीय सदस्य रामप्रसाद आचार्य र वैकल्पिक सदस्य चित्रबहादुर पुनलाई पनि अहिलेसम्म समितिमा दिएको योगदानको सम्मान गर्दै विदा गरेको छ ।

उपस्थित केन्द्रीय नेता कार्यकर्ताहरु समेत उहाँहरुलाई टीका लगाएर सम्मान गर्नुभएको थियो । सो कार्यक्रममा आफूहरुले सबै प्रकारका परिस्थितीहरुसँग संघर्ष गर्दै संगठनले दिएको जिम्वेवारीमा सधैँ निर्भिकतापूर्वक लागिरहने प्रतिवद्धता गर्नुभएको थियो ।

केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षता तथा सचिव प्रेम पौडेलको संचालनमा सम्पन्न कार्यकममा अर्का सचिव जनकराज पौडेलले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार