महामन्त्री सिंहलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ । केही दिनयता बिरामी पर्नुभएका सिंहको हिजो (सोमबार) कोरोना पोजिटिभ देखिएको हो ।

हाल उहाँको अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बस्नुभएको र उपचार गराइरहनुभएको उहाँकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार महामन्त्री सिंहलाई चार्र दिन अघिदेखि ज्वरो र खोकीले सताएको थियो भने अक्सिजनको लेभल पनि घटेको थियो । तर, आज धेरै नै सुधार भएको छ ।

महामन्त्री सिंहसँगै उहाँका छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको छ । विश्वको अवस्था पनि सामान्य छ । सिंह केही दिन अघि पार्टी कामको सिलसिलामा पश्चिम नेपालका विभिन्न जिल्लामा जानुभएको थियो । उहाँहरुलाई त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) पार्टी पंक्तिले महामन्त्री सिंहको स्वास्थ्य लाभको कामना गरेको छ । केन्द्रीय कार्यालयका तर्फबाट प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उहाँको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,

‘नेपाल कम्युनिस्ट पार्टी(मसाल)का महामन्त्री कामरेड मोहनविक्रम सिंह कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । होम आइसोलेसनमा नै उहाँको उपचार भइरहेको छ । का. दुर्गा पौडेल सहित परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उहाँको उपचार गरिँदैछ । उहाँमाथि कोरोना भाइरसको सङ्क्रमितको अवस्था प्रारम्भिक अवस्थामा छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था रहेको छ । उहाँकोे स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने कुरामा हामीलाई विश्वास छ । सम्पूर्ण पार्टी पङ्क्ति महामन्त्री कामरेड मोहनविक्रम सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

२०७८ बैशाख २८ गते ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार