महिला मुक्ति आन्दोलन

  •   
  •  
  •  
  •  
  •  
  •  

824 जनाले पढ्नु भयो ।

 दुर्गानाथ खरेल

सामन्तवादको गर्भमा पुँजीवादको भ्रुण विकसित भइसकेको बेलादेखि अथवा इ.सं. १६४० भन्दा पहिलेदेखि सामाजिक उत्पादनमा महिलाले भाग लिने काम सुरु भएर बढ्न थाल्यो । यो भौतिक आधारले नै पहिलो पटक महिलामा सामाजिक अधिकारको चेतना जगायो । महिलाका आधारभूत मागमध्ये मतदानको अधिकार विश्वका सबै देशमा र नेपालमा पनि मान्य भइसकेको छ ।

महिलाको पराधीनताको मूल कारण आर्थिक पराधीनता हो । जुन वर्ग आर्थिक दृष्टिले पराधीन हुन्छ, ऊ राजनीतिक र सामाजिक रूपबाट पनि पराधीन भएको पाइन्छ । त्यसकारण हामीले पनि महिलाको पराधीनताको मूल कारण उनीहरूको आर्थिक अवस्थातिर नै बढी ध्यान दिनुपर्छ ।

सामन्ती व्यवस्थाका विरुद्ध पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको लहरले महिलामा समेत आर्थिक, राजनीतिक, दार्शनिक, वैचारिक वा सांस्कृतिक रूपमा जागरण सुरु गरायो । त्यसबाट अधिकार प्राप्तिका लागि सङ्गठित हुने चेतनासमेत प्राप्त भयो । सन् १७७५ देखि १७८३ सम्मको अमेरिकी क्रान्तिको कालमा त्यहाँको संविधान निर्माणको सिलसिलामा महिलाको स्वतन्त्रताको मागलाई संविधानमा समावेश गर्नुपर्छ भन्ने आवाज उठेको थियो । १७८९ को फ्रेन्च क्रान्तिको समयमा पनि महिलाले “क्रान्तिकारी महिला क्लब” गठन गरेका थिए । त्यो नै विश्वका महिलाको पहिलो सङ्गठन थियो । महिलाले पाउनुपर्ने मतदानको अधिकारबाहेक मजदुर महिलाको कामको घण्टा कम गर्ने, ज्यालाबृद्धि गर्ने, समान कामको समान ज्याला लागु गर्ने, कामको अवस्थामा सुधार गर्ने, विवाह र सम्बन्धविच्छेको स्वतन्त्रता र गर्भपतनको स्वतन्त्रता महिलालाई दिने, सम्पत्तिमा समान अधिकार दिनुका साथै जुन जुन अवस्थामा पुरुषको सम्पत्तिमा अधिकार प्राप्त हुन्छ, ती सबै अवस्थामा महिलालाई पनि अधिकार हुनेगरी व्यवस्था गर्ने आदिको लागि अझै सङ्घर्ष पूरा भएको छैन । अहिलेसम्म महिलालाई प्राप्त अधिकार कि त भौतिक र प्राविधिक रूपमा भएका विकासका कारण हुन कि भने विभिन्न समयमा महिलाले विभिन्न माग राखेर गरेका सङ्घर्षको परिणाम नै हुन् । त्यसका अतिरिक्त क्रान्तिकारी सिद्धान्त र समाजमा हुने क्रान्तिकारी आन्दोलनले पनि महिला मुक्ति आन्दोलनमा थप सहयोग पुर्याएका छन् । त्यसैगरी युरोपको पुनर्जागरण, औद्योगिक क्रान्ति तथा विभिन्न देशमा भएका पुँजीवादी, समाजवादी र अन्य क्रान्तिकारी आन्दोलनले पनि महिला मुक्ति आन्दोलनलाई सहयोग पु¥याएका छन् । ती सबै सहयोगी अङ्गमध्ये माक्र्सवादी–लेनिनवादी सिद्धान्त र समाजवादी आन्दोलनले पु¥याएको सहयोग सबैभन्दा उच्चस्तरको छ । त्यसकारण सम्पूर्ण शोषित–उत्पीडित वर्गको मुक्ति आन्दोलनको सिलसिलामा नै महिला मुक्ति आन्दोलन अगाडि बढ्दै गएर शोषित–उत्पीडित जनताको मुक्तिसँगै महिला मुक्ति पनि सम्भव हुने छ ।

फ्रेन्च क्रान्ति १७८९ बाट नै महिला मुक्ति आन्दोलनको सुरुवात मानिएकाले महिला मुक्ति आन्दोलनको इतिहास करिब २०० वर्षभन्दा पहिलेदेखि अगाडि बढिरहेको छ भन्न सकिन्छ । महिलाले पुरुषसरह मताधिकार पाउनका लागि जापानमा २० वर्ष, इटलीमा २६ वर्ष, अमेरिकामा ५० वर्ष जर्मनीमा ५१ वर्ष फ्रान्समा ९६ वर्ष र स्विटजरल्यान्डमा १२३ वर्ष सङ्घर्ष गरेपछि मात्र प्राप्त भएको थियो । अहिले संसारका सबै देशका महिलालाई मताधिकार प्राप्त भएको छ । त्यसो भए पनि महिलाको सचेतना र सङ्गठित रूपको शक्ति कमजोर भएका कारण व्यावहारिक रूपमा धेरै महिलाले पुरुषको निर्देशनमा मतदान गर्नुपरेको अवस्था छ । त्यस्तो अवस्थाको विचार गर्दा पुरुषको महिलामाथिको प्रभुत्व अझै व्यापक छ ।

चाल्र्स फुरिये फ्रान्सका काल्पनिक समाजवादी हुन् । उनले पुँजीवादी व्यवस्थाको विरोध गर्दथे । तर उनी तत्कालीन समाजका लागि समानताका अभियन्ता नै थिए । उनले १८०८ मा समाजमा समानताका लागि महिला स्वतन्त्रतालाई कसीको रूपमा प्रयोग गर्दै भनेका थिए कि समाजमा स्वतन्त्रताको नाप स्वास्नीमान्छे कति हदसम्म स्वतन्त्र छन् भन्ने हो । त्यो भनाइले समाजमा महिला मुुक्तिको कुरालाई उच्च प्राथमिकता दिने गरियो । त्यो भनाइ महत्वको हिसाबले पहिलो महत्वपूर्ण भनाइ थियो ।

८ मार्च १८४७ मा अमेरिकाको न्यूयोर्क शहरमा गार्मेन्ट महिला आफ्ना माग पूरा गराउन सङ्गठित प्रदर्शनको आन्दोलनमा उत्रिएका थिए । उनीहरूका माग कामको घण्टा कम गर्नुपर्ने, तलब बढाउनुपर्ने र फ्याक्ट्रीभित्र हुने कामको अमानवीय अवस्थामा सुधार गर्नुपर्नेलगायतका थिए । सङ्घर्षमा उत्रिएका महिलामाथि प्रहरीले लाठीचार्ज गरेर आन्दोलनलाई तितरबितर पारेको थियो । त्यो आन्दोलनको महत्वलाई ध्यान दिएर १९१० मा डेनमार्कको राजधानी कोपनहेगेनमा सम्पन्न महिलाको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेट्किनको प्रस्तावमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । त्यो प्रस्ताव पारित भएसँगै अहिलेसम्म पनि उक्त दिनलाई श्रमिक महिला दिवसको रूपमा संसारभर मनाउने गरिन्छ । त्यही आन्दोलनको कारणले ८ मार्च महिला मुक्ति आन्दोलनको ऐतिहासिक र अन्तर्राष्ट्रिय दिवस बन्न पुगेको थियो । संयुक्त राष्ट्र सङ्घले समेत ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मान्यता दिइसकेको छ । यसबाट वर्गीय आन्दोलनको अत्यन्त उच्च महत्व हुन्छ भन्ने प्रमाणित भएको छ । अमेरिकी राज्यसत्ताले न्यूयोर्कको महिला आन्दोलन दबाउने बेलामा त्यति ठुलो महत्वको आन्दोलनमाथि लाठीचार्ज गर्दैछौँ भन्ने अतिकति पनि विचार गरेको भए त्यस्तो हुने थिएन । नेपालको संसदमा समेत महिलालाई छोरासरह छोरीलाई अधिकार दिने विषयमा छलफल हुँदा पहिले अंश दिने तर बिहे गर्दा बुवालाई अंश बुझाएर लोग्नेको अंश खान जानुपर्ने मात्रै पास भएको थियो । पछि कालान्तरमा विवाहपछि पनि अंश घर लैजान पाउने भयो । महिला आन्दोलनका यस्ता धेरै उदाहरण छन्, जुन माग राख्दा सम्बोधन नभई अस्वीकृत भएका थिए । समय बित्दै जादा यी माग सही र जायज भई स्वीकृत हुने भएका छन् ।

पुँजीवादी शोषणको व्यवस्थालाई समाप्त पार्ने पहिलो कदम महिलाको वर्गचेतनालाई उन्नत पार्नु, राजनीतिक जीवनमा सहभागिता बढाउँदै लैजानु र मजदुर वर्गको क्रान्तिकारी आन्दोलनमा सामेल गराउनुपर्छ भनेर माक्र्स, एङ्गेल्सले बताए भने लेनिनले स्वास्नीमान्छेका निम्ति पूर्ण स्वतन्त्रता प्राप्न नगरिकन सर्वहारा वर्गले आफ्नो पूर्ण स्वतन्त्रता प्राप्त गर्न सक्दैन भने । यसका साथै १९०६ को डिसेम्बर १० का दिन प्रेहन्यामा दशहजारको सङ्ख्यामा भएका र कज्जाकसँग मेलमिलाप गरेका जनसमुदायको भिडमा रातो झण्डा हातमा लिएर गइरहेको दुईजना मजदुर केटीले कज्जाकको सामना गर्दै निर्भिकतापूर्वक हामीलाई मार तर हामी जिउँदो रहुन्जेल झण्डा छोड्दैनौँ भन्दै हाँक दिएर अगाडि झम्टन पुग्दा कज्जाक तिलमिलाएर गएको साहस र वीरताको उदाहरण सर्वहारा वर्गको मनमा सधैँका लागि अङ्कित हुनुपर्छ भन्ने लेनिनको भनाइलाई महिलाले उच्च मूल्याङ्कन गर्नुपर्छ । लेनिनले फेरि पनि भनेका छन्– महिलालाई राजनीतिमा नतानिकन जनतालाई राजनीतिमा तान्न सकिन्न । किनभने मानव जातिको आधा भाग महिला पुँजीवादको कारण दुईगुणा उत्पीडित छन् । मजदुर एवं किसान महिला पुँजीद्वारा उत्पीडित हुन्छन् । त्यसको अतिरिक्त सबभन्दा जनवादी पुँजीवादी जनतन्त्रमा पनि उनीहरू बढी उत्पीडनमा परेकै हुन्छन् । एक त उनीहरूलाई निम्न दर्जाको स्थिति प्राप्त भएको हुन्छ । किनभने कानुनले उनीहरूलाई पुरुषबराबरको समानता दिँदैन र अर्को, सबैभन्दा मुख्य कुरो उनीहरू घरेलु दासी छन् । भान्साकोठाका सबभन्दा तुच्छ, सबभन्दा रुचिहीन, सबभन्दा कठोर तथा सबभन्दा दिक्कलाग्दा काममा एवं घरेलु पारिवारिक खर्चपर्चमा अल्झिएर उनीहरू पिसिएका हुन्छन् ।

जुन देशमा साम्राज्यवाद, सामन्तवाद विरुद्ध सङ्घर्षको नेतृत्व सर्वहारा वर्गले गर्यो र केही दशकसम्म सर्वहारा सत्ता कायम रहन सक्यो । ती देशमा आजसम्म पनि महिलाका सबै उपलब्धि गुमेका छैनन् । लेनिनले एउटा महान सुरुवात भन्दै १९१९ को २८ जुनमा भनेको भनाइ यस्तो छ– “दुनियाँको एउटै पनि जनवादी पार्टीले सबभन्दा उन्नत जनतन्त्रमा पनि दशकौँ लगाएर त्यसको चौथाइ भाग पनि गरेको छैन, जति हामीले हाम्रो सत्ताको बिलकुल पहिलो सालमै गरेका थियौँ । जुन घृणित कानुनले महिलालाई अथवा, जसले अवैध सन्तानलाई मान्यता दिँदैनथे एवं छोडपत्रमाथि प्रतिबन्ध लगाइराखेका थिए, एवं त्यसलाई डरलाग्दो औपचारिकताद्वारा घेरेर राखेका थिए, अथवा उसको बुबा खोजी गर्ने बाध्यता लागु गर्दथे, आदि आदि, ती कानुन, जसका अवशेष, भनौँ पुँजीपति वर्ग एवं पुँजीवादको अस्तित्वका लागि सबै सभ्य देशमा पाउन सकिन्छ । ती कानुनलाई हामीले रत्तिभर बाँकी रहन दिएनौँ । यस क्षेत्रमा हामीले जति गरेका छौँ, त्यसमा हजारौँपटक गर्व गर्ने हक हामीलाई छ । तर हामीले जति बढी पूर्णताका साथ पुराना पुँजीवादी कानुन तथा संस्थाको भग्नावशेष रहेको जमिनलाई सफा ग¥यौँ, त्यति नै यो कुरा स्पष्ट भएको छ कि हामीले निर्माणका लागि मात्र जमिन सफा गरेका छौँ, तर निर्माण अझै गरेका छैनौँ ।”

यसरी महिला मुक्तिको काम सर्वहारा वर्गको राज्यसत्ता कब्जा भएपछि सुरु भई द्रूत गतिमा अघि बढ्ने हुनाले महिलाहरू राजनीतिक पार्टीमा सङ्गठित भई अनुशासित तवरले जिम्मा पूरा गर्न अति आवश्यक छ । सामाजवादी सङ्क्रमणको अवधिमा पनि एउटा लामो समयसम्मको सङ्घर्षपछि महिलाको मुक्ति सम्भव छ । यो समाजवादको विजय–पराजयसँग गाँसिएको प्रश्न हो । समाजवाद महिलाको समस्या समाधानको सुरुवात मात्र हो, समाधान होइन । समाधानका लागि लामो समयसम्म सङ्घर्ष गरेर सङ्क्रमण काल पार गर्नुपर्छ । सङ्घर्षमा कहिले जित, कहिले हार र फेरि जित हुँदै अन्तिममा मुक्ति प्राप्त गर्न सकिन्छ । त्यो भनेको साम्यवादको आगमन हो ।

आर्थिक प्रश्नको अतिरिक्त सामाजिक, सांस्कृतिक र राजनीतिक धरातलमा पनि महिलाले सङ्गठित भएर सङ्घर्ष गर्न जरुरी छ । महिला मुक्तिको सङ्घर्षलाई क्रान्तिकारी दिशा दिन जनताका सबै वर्गका क्रान्तिकारी सङ्घर्षसँग गाँसिदिनुपर्छ । महिलाले छाडेर न कुनै सर्वहारा क्रान्ति सफल हुन सक्छ, न सर्वहारा क्रान्ति बिना महिलाको वास्तविक मुक्तिको सुरुवात हुन सक्छ । सर्वहारा वर्गको पार्टीले सोभियत रुसमा सत्ता कब्जा गरेको पाँच वर्षपछि १९२३ मा महिलालाई सम्बोधन गर्दै स्टालिनले भन्नुभएको थियो– “पाँच वर्षअगाडिको महिलाको पहिलो काङ्ग्रेसमा पार्टीले कार्यभार लिएको थियो कि नयाँ सोभियत जीवनको निर्माणको साझा ध्येयमा सयौँ–हजारौँ मिहिनेतकश महिलालाई आकर्षण गर्न सकियोस् । औद्योगिक क्षेत्रका मजदुर महिला त्यस कार्यभारको अग्रिम मोर्चामा थिए । किनभने मिहिनेतकश महिलाको बिचमा उनीहरू सबभन्दा जीवन्त तथा सचेत तत्व थिए । यो भन्न सकिन्छ कि विगतको पाँच वर्षमा यस मामिलामा राम्रो प्रगति भएको छ । तर पनि अझै गर्न बाँकी छ । आज पार्टीको वर्तमान कार्यभार हाम्रो सोभियत जीवनलाई सङ्गठित गर्ने साझा ध्येयमा दशौँलाख किसान महिलालाई आकर्षित गर्ने हो । पाँच वर्षको कामले नेतृत्वदायी जमातको ठुलो सङ्ख्या पैदा गरेको छ । तिनीहरू सबै किसानको बिचबाट विकसित भएका हुन् । हामी आशा गर्छौँ कि नेतृत्वदायी किसान महिलाको बढी सङ्ख्यामा सहभागिता हुने छ । हामीलाई आशा छ– पार्टीले त्यो समस्या पनि हल गर्ने छ ।” यसरी राजनीतिमा महिला सहभागिता बढ्दै गएको अवस्थालाई हामीले पनि हाम्रो पार्टीमा महिलाको सहभागिता नबढाइकन र राजनैतिक चेतनास्तर उच्च नबनाइकन राज्यसत्ता कब्जा गर्ने काम महिला मुक्ति आन्दोलनलाई गति दिने काम र शोषित उत्पीडित वर्गलाई राज्यसत्तामा पु¥याएर समाजवाद निर्माण गर्नेसमेतका उद्देश्य पूरा हुने छैनन् ।

१८८८ मा अमेरिकन नारीवादीको पहलमा पहिलो अन्तर्राष्ट्रिय नारी परिषद् नामको अन्तर्राष्ट्रिय महिला सङ्गठन स्थापना भएको थियो । महिलाको हजारौँ वर्षको मानसिक दासतालाई नाश गर्नका निम्ति पार्टी पङ्क्तिमा महिलालाई भर्ना गर्ने प्रक्रियालाई तेज पार्ने, सबै जनसङ्गठनमा महिलाको सक्रिय सहभागिता बढाउने र पुरुष स्वामित्ववादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष नगरेसम्म महिला मुक्ति आन्दोलनले गति लिन सक्दैन । बुर्जुवा व्यवस्थाको घेराभित्र सुधार रत्तिभर पनि सम्भव छैन । राज्यसत्ता र किसिम किसिमका फासिष्ट प्रवृत्तिका विरुद्ध जुझारु लडाइँ लड्नुपर्छ । महिला राजनीतिमा सक्रिय हुनुपर्छ भन्नुको अर्थ घरपरिवार, समाज सबै त्याग गर्नुपर्छ भनेको होइन । आफ्ना आवश्यकता पूरा गर्न श्रम गर्ने र समय बचाएर श्रमजीवी वर्गको पक्षमा र अझै सबैभन्दा बढी उत्पीडनमा परेका सर्वहारा वर्गलाई सचेत, सङ्गठित र अनुशासित बनाउनमा आफ्नो योगदान थप्नुपर्छ भन्ने मात्रै हो । आधाभन्दा बढी जनसङ्ख्या महिलाको भएको र तिनीहरूमध्ये पनि धेरै सङ्ख्यामा उत्पीडनमा परिरहेको हुनाले महिला मुक्तिको काममा बढी योगदान पु¥याउँदा सर्वहारा वर्गको मुक्ति आन्दोलनमा बढी योगदान पुग्छ भन्ने मात्रै हो ।

सन्दर्भ ग्रन्थ
(१) महिला मुक्तिको बारेमा (माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ), अनुवादक रमेश सुनुवार, प्रकाशक प्रगति पुस्तक सदन, बागबजार, काठमाडौँ ।

(२) मोहनविक्रम सिंह, महिला अधिकार पत्र र अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनको अन्तरसम्बन्ध (कार्यपत्र), २०५८ चैत्र १० गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *