महिला हिंसाका विरुद्ध राजधानीमा महिला संगठनहरूको प्रदर्शन र विरोधसभा

काठमाडौँ । महिलाहरूमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका हिंसा, बलात्कार र हत्याका विरुद्धमा २०७७ फागुन ८ गते राजधानीमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ ।

नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो ।

राजधानीको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुस असन, ईन्द्रचोक हुँदै बसन्तपुर डबलीमा पुगेर विरोधसभामा परिणत भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालनमा विरोध सभा अघि बढेको थियो ।

विरोधसभालाई सम्बोधन गर्ने महिला नेतृहरूमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, बैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी सचिव आसा महर्जन र अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदी रहेका थिए ।

सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे । सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे ।

विरोधसभामा कवयित्री तथा लेखिका सरिता तिवारी र इन्दिरा अधिकारीले महिला हिंसाका विरुद्धमा सशक्त कविता वाचन गरेका थिए ।

भागरथी भट्टलगायत देशभरि भएका महिला हिंसा, बलात्कार र हत्याका विरुद्धमा आयोजित सो प्रदर्शनमा सहभागीहरूले “हत्यारा बलात्कारीलाई कारबाही गर”, “महिला हिंसा बन्द गर”, “बलात्कारीलाई सार्वजनिक गर”, “फासिवादी सरकार मुर्दावाद”, “भ्रष्टाचारीलाइ कारबाही गर”, “वैदेशिक हस्तक्षेप बन्द गर”, “हिंसा होइन, सुरक्षा दे”, “दमन होइन, अधिकार दे” र “संयुक्त महिला आन्दोलन जिन्दावाद” लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार