माेहनविक्रमकाे उपन्यास अंश ‘कामरेड जलजला’ : बाबु जेल बस्दाका साथी भेट्न पुग्दा…

210 जनाले पढ्नु भयो ।

माेहन विक्रम सिंह

खाना खाएर दुवै जना लाजिम्पाटतिर लागे । त्यहाँ शिवध्वजको ठेगाना पत्ता लगाउन केही गाह्रो परेन । तर उनी घरमा थिएनन् । उनकी पत्नीबाट थाहा भयो, उनी एउटा पत्रकार सम्मेलनमा गएका थिए । ४ बजे आइपुग्ने कुरा छ । सुनन्दाले घडी हेरिन् । भर्खर १२ बजेको थियो । बस्नेत आउने अझै ४ घन्टा बाँकी थियो, कहाँ जाने ?

‘तपाईंको कतै जाने काम छैन भने यहीँ बस्नोस् । आराम गर्नुहोस्,’ बस्नेतकी पत्नीले भनिन् ।

 ‘हामी यहाँ बस्दा तपाईंलाई केही अप्ठ्यारो ता हुँदैन ?’

‘हुँदैन, केटाकेटीहरू स्कुल गएका छन् । म एक्लै छु । कुरा गरौँला । बसौँला । ४ घण्टा बित्न केही बेरै लाग्दैन ।’

शिवध्वज बस्नेतले आफ्ना पतिको अध्ययन कक्षमा लगेर सुनन्दा र विद्यालाई बसालिन् र ‘बस्नुहोस्, म आउँछु’ भनेर भित्रतिर लागिन् । सुनन्दाले कोठामा हेरिन् । त्यहाँ आलमारीमा केही पुस्तकहरू थिए, अनि एउटा आलमारीमा विभिन्न पत्रिकाहरूका फाइलहरू राखिएका थिए ।

शिवध्वजकी पत्नी ट्रेमा चिया र बिस्कुट लिएर आइन् ।

‘मैले यहाँका पत्रिकाहरूका फाइलहरू पढ्न सक्छु ?’

‘त्यो कुरा पनि सोध्नुपर्दछ ? पुस्तक, पत्रपत्रिका जे पढ्न मन लाग्छ, पढ्नुहोस् । पछि पनि जहिले आएर बसेर पढ्नुभए हुन्छ । मैले ता घरको काम, केटाकेटी, पढ्न नै भ्याउन्न । तर पहिले चिया खानुहोस् ।’

शिवध्वजकी पत्नीले पहिले सुनन्दा र विद्याको परिचय सोधिन् र आफ्नो परिचय दिइन् । उनको नाम शोभा थियो । उनी २४ वर्षकी थिइन् । उनका दुईवटा छोरी र एउटा छोरा थिए । उनका पति पहिले कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए । तर २०१७ सालमा राजाले संसदीय प्रणालीलाई समाप्त गरेर सत्ता आफ्नो हातमा लिएपछि उनलाई गिरफ्तार गरिएको थियो र चार वर्ष जेलमा परेका थिए । जेलबाट नै उनले आईएको जाँच दिएका थिए ।

जेलबाट छुटेपछि उनले बीए उत्तीर्ण गरेका थिए र पछि पत्रकार भएका थिए । पत्रकार भए पनि उनको सहानुभूति कम्युनिस्ट पार्टीप्रति नै थियो ।

शोभा गाउँकी साधारण केटी थिइन् । उनका बाउ पनि कम्युनिस्ट थिए । उनका पति कम्युनिस्ट थिए ।

उनीहरू दुवै जना सेन्ट्रल जेलमा दुई वर्षसम्म सँगै बसेका थिए । दुवै जना सँगै जेलबाट छुटेका थिए ।

आफ्ना बाउलाई भेट्न जाँदा शोभाले शिवध्वजलाई पनि देख्ने गर्दथिन् ।

उनका बाउ र शिवध्वज जेलबाट छुटेको एक वर्षपछि दुवै जनाको विवाह भएको थियो । विवाह गर्ने बेलामा उनले म्याट्रिक पास गरेकी थिइन् । पछि आईए पास गरेकी थिइन् । अहिले बीएको परीक्षाको तयारी गर्दै थिइन्…

आलमारीमा मार्क्सको पुँजी, लेनिनका सङ्कलित रचनाहरू, राहुलको दर्शन दिग्दर्शन, गोर्कीको आमा र अन्य पुस्तकहरू राखिएका थिए । तर उनले पुस्तकहरू छाडेर पत्रिकाहरूका फाइलहरू उठाएर हेर्न थालिन् । त्यहाँ कैयौँ साप्ताहिक र केही दैनिक पत्रिकाहरूका फाइलहरू राखिएका थिए । कतिपय पत्रिकाहरूमा कलमले चिन्ह लगाइएको थियो ।

त्यहाँ २०३८ साल वैशाखदेखिका पत्रिकाहरूको फाइल थियो । पत्रपत्रिकाहरूमा मुख्य समाचारहरू निर्वाचनसित सम्बन्धित थिए । सरकारले वैशाखमा राष्ट्रिय निर्वाचनको चुनाव गराउने घोषणा गरेको थियो । सरकारले तेस्रो संशोधन गरेर राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा गराउने घोषणा गरेको थियो । तर कम्युनिस्ट र काङ्ग्रेस पक्षले सम्पूर्ण निर्दलीय व्यवस्थाको अन्त्यको माग गर्ने त्यो चुनावको बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यस सिलसिलामा देशभरिमा सभा, जुलुस, मसाल जुलुसका कार्यक्रमहरू भइरहेका थिए ।

एउटा पत्रिकामा १९ वैशाखदेखि संयुक्त बहिष्कार सप्ताह मनाउने घोषणा गरेको समाचार दिइएको थियो । देशका कतिपय भागहरूमा प्रहरीहरूद्वारा गोली चलाएर मानिसहरू मारिएका समाचारहरू पनि पत्रपत्रिकाहरूमा प्रकाशित भएका थिए । ठाउँठाउँमा गिरफ्तारी भएका, गिरफ्तार गरेकाहरूलाई यातना दिएका समाचारहरूले पत्रपत्रिकाहरू भरिएका थिए । सरकारको दमनको विरोधमा नेपाल बन्दको कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यही प्रकारको परिस्थितिमा अन्त्यमा चुनाव सम्पन्न भयो ।

चुनावका दिन बहिष्कार आन्दोलनलाई दबाउन कैयौँ ठाउँहरूमा गोली चल्यो । कैयौँ बुथहरू पूरै खाली भएका थिए । रोल्पाको थवाङमा पूरै बहिष्कार भएको समाचार प्रकाशित भएको थियो । थवाङको त्यो समाचारले सुनन्दालाई बढी आकर्षित गर्‍यो र उनले विद्यालाई त्यो समाचार पढेर सुनाउन चाहिन् । तर उनले शोभासित बसेर कुरा गरिरहेकी थिइन् । त्यस कारण उनीहरूको त्यो वार्तामा बाधा हाल्नु उनले उचित ठानिनन् ।

कतिपय पत्रपत्रिकाहरूले प्राध्यापक, शिक्षकहरूका हडतालका समाचार प्रकाशित गरेका थिए । १२ जेष्ठमा काठमाडौँमा शिक्षकहरूको एउटा विशाल जुलुस निस्केको थियो । त्यसको मुख्य नारा थियो- कालो शिक्षक ऐन खारेज गर…

उनले सरसरी पत्रपत्रिकाहरूका शीर्षकहरू पढ्न थालिन्– राजधानी र झापामा जुलुसमाथि लाठीचार्ज, छात्राहरू घाइते । राष्ट्रिय वाणिज्य बैंक हडतालतिर । बीपीको खस्कँदो स्वास्थ्य । का. पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली । २० वटा बम फेला परे । रत्नपार्कमा लास, चौतारा र अर्घाखाँचीमा गोली चल्यो, तीन खुत्रुक्कै भए । अब कति बहिष्कार गर्ने रोहित, पञ्चायत ढल्छ ? यातायात मजदुर चुप लागेर नबस्ने ।, नयाँ मन्त्रिमण्डल, सूर्यबहादुर थापा प्रधानमन्त्री । नेपाल विदेशी जासुसहरूको अखडा । राजधानीमा एकै दिन तीनतिर छड्के जुलुस । प्रहरीद्वारा रिक्साचालक पिटियो । साझा संस्थानमा घोटाला । सिद्धार्थनगरमा बलात्कार । मानव सखाप पार्न न्युट्रन बम । प्रधानमन्त्री पदका लागि दौडधूप । चुनावमा जातीयता । पैसा र असुरक्षाको मुख्य भूमिका । महिला मजदुरहरूप्रति दुर्व्यवहारपछि गोली प्रहार । रूपन्देहीमा आगजनी र सशस्त्र प्रहरीद्वारा हत्या । गुण्डागर्दी आदिका लागि सरकार जिम्मेवार ।

उनको आँखा एउटा साप्ताहिकमा गयो । उनले जेलमा छँदा नै पोखराको नमिता–सुमिता काण्डबारे सुनेकी थिइन् । त्यो कुरा अहिलेसम्म सेलाएको थिएन र अहिले पनि त्यसबारे समाचार टिप्पणी वा प्रतिक्रियाहरू प्रकाशित भइरहेका थिए । एउटा साप्ताहिक जनमार्गले त्यससम्बन्धी विवरण केही विस्तृत रूपले प्रकाशित गरेको थियो । उनले त्यसलाई पढ्न थालिन् ।

नमिता र सुमिता श्री ५ महाराजाधिराजका सहसचिव राजभण्डारीका छोरीहरू थिए । उनीहरू एसएलसीको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए र अमृत साइन्स क्याम्पसमा पढ्थे । उनीहरू आफ्नी एउटी साथी पराजुलीका साथ पोखरा घुम्न गएका थिए । १९ जेठमा उनीहरूको अपहरण भएको थियो । उनीहरूलाई बलात्कार गरी हत्या गरेर सेती नदीमा फालिएको थियो । नमिता र सुमिताका लासहरू सेतीमा फेला परेका थिए तर नीरा पराजुलीबारे केही पत्ता लागेको थिएन ।

कति वीभत्स काण्ड थियो त्यो ?

उनले त्यो घटनाबारे प्रकाशित सबै समाचारहरू पढ्न थालिन् । २० साउनमा प्रकाशित ‘मातृभूमि साप्ताहिक’ मा वरिष्ठ कम्युनिस्ट नेता मनमोहन अधिकारीको लामो वक्तव्य प्रकाशित भएको थियो । त्यसमा भनिएको थियो, ‘पोखरा मात्र किन, आज सम्पूर्ण देशभरि हत्या, बलात्कार, गुन्डागर्दी यस व्यवस्थाको चरित्र भइरहेको छ ।’

‘मात्रृभूमि’ को त्यही अङ्कमा प्रजा परिषद्‌का नेता र भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पनि वक्तव्य थियो । त्यसमा भनिएकाे थियो, ‘पोखरा हत्याबारे भनौँ, यतिन्जेल पुलिसले हत्यारा को हाे, पत्ता लगाएकाे छैन । अपराधी दण्डित भएन भने अपराध बढ्दै जान्छ र शान्ति सुरक्षाका निमित्त भयावह भएर जानेछ ।’

‘मात्रृभूमि’ को त्यही अङ्कमा ‘पोखराको स्थितिमाथि गृहमन्त्रीद्वारा ढाकछोप’ शीर्षकमा प्रकाशित समाचार टिप्पणीमा गृहमन्त्रीले हालै पोखरा गएर होटल व्यवसायी, व्यापारी, वर्गीय सङ्गठनहरूका मानिसहरूसमेत जम्मा गरी पोखराको नाम बदनाम हुन आँट्यो, पर्यटन व्यवसाय खत्तम हुन्छ, तसर्थ पोखरामा शान्ति र जनजीवन पूर्णतया सामान्य छ’ भन्ने प्रस्ताव पारित गराउन खोजेको, तर उपस्थित अधिकांशले त्यसको विरोध गरेकाले त्यो प्रस्ताव पारित हुन नसकेको कुरा उल्लेख गरिएको थियो ।

अन्य कतिपय साप्ताहिकमा देशभरि त्यो अपराधको छानबिन गर्न माग गरेको, तर अपराधीहरू पत्ता लाग्न नसकेका समाचारहरू प्रकाशित भएका थिए । त्यस सिलसिलामा ५०/६० जना मानिसलाई गिरफ्तार गरेर यातना पनि दिइएको थियो । तर मानिसहरूको भनाइ थियो, ती सबै निर्दोष जनता थिए । अञ्चलाधीशसहित सबै मुख्य अधिकारीहरूलाई काठमाडौँ झिकाइएको थियो । तर त्यो घटनाको वास्तविकता पत्ता लाग्न सकेको थिएन ।

८ साउनमा प्रकाशित ‘राष्ट्र पुकार’ ले त्यसबारे टिप्पणी गर्दै लेखेको थियो, ‘नमिता सुमिता हत्याकाण्डका नाइकेहरूसँग केही ठूला घरानाका नाइकेहरूको साँठगाँठ छ रे, र उनीहरूलाई पक्राउ गर्न सकिन्न रे, हत्या र बलात्कार उनीहरूको पेसा हो रे, यो एक प्रकारको भावी विरोधी राजनीतिक शक्तिलाई दबाउन गरिएको नियमित पूर्वाभ्यास हो रे । इत्यादि चर्चा परिचर्चा हिजो आज हरेक गल्ली र गाउँघरमा व्याप्त छ ।’

सुनन्दाले मनमनै प्रश्न गरिन्, ‘त्यस प्रकारका बलात्कार र हत्यामा संलग्न भएका ठूला घराना को हुन् ?’

यो समाचारले उनलाई स्तब्ध बनायो । ‘यो एक प्रकारले भावी विरोधी राजनीतिक शक्तिलाई दबाउन गरिएको पूर्वाभ्यास हो रे !,’ उनले सोचिन्, ‘के त्यस्तो पनि हुन सक्छ ? के त्यस प्रकारको बलात्कार र हत्याका पछाडि राजनीतिक उद्देश्यले पनि काम गरेको हुन सक्छ ?’

अन्य कैयौँ पत्रपत्रिकाहरू पनि बलात्कार, वा हत्याका समाचारहरूले भरिएका थिए । सूर्यविनायकको जङ्गलमा मुख थुनेर युवतीलाई बलात्कार गर्ने प्रयास गरिएको थियो । फर्पिङकाे जङ्गलमा स्कुलबाट फर्किएकी छात्रालाई बलात्कार गर्ने प्रयत्न गरिएको थियो । भैरहवामा सामूहिक बलात्कारका घटनाहरू हुने गर्दछन् । काठमाडौँकाे झोंछेँमा एउटा घरानियाँ युवकले ११ वर्षकी आफ्नी नोकर्नीलाई बलात्कार गर्छन् ।

जनकपुर अस्पतालमा १६ असारमा तीन दिनकी सुत्केरीलाई बलात्कार गर्ने प्रयत्न हुन्छ, तर डाक्टर आएपछि अपराधी भाग्छ ।

एउटा साप्ताहिकले लेखेको थियो, ‘सिद्धार्थनगरको अञ्चलापुरमा नेसनल ट्रेडिङका ड्राइभरको घरमा बास बसेकी ३१ वर्षीया शिक्षित महिलालाई २४ असारका दिन राति ९ बजे पाँच/सात जना मण्डलेहरूले छुरी–कट्टा देखाई ढोका बन्द गरी घाँटी लछारपछार गर्दै उत्तरपट्टिको खेतमा लगी सामूहिक बलात्कार गरेका थिए ।

उनका आँखा भैरहवाबाट प्रकाशित हुने ‘दैनिक निर्णय’ को एउटा फाइलमा पर्‍यो । तिनीहरूमा बलात्कारसम्बन्धी कैयौँ समाचारहरू प्रकाशित भएका थिए । साउनको ‘दैनिक निर्णय’ मा ‘हवल्दारलगायत तीन जना प्रहरीद्वारा सामूहिक बलात्कार’ शीर्षकमा मुख्य समाचार प्रकाशित भएको थियो । त्यसमा २३ साउनमा वडा नं ५ मालरोडमा डेरा गरेर बसेका दम्पतीमाथि हवल्दारसहित तीन जना प्रहरीले पति–पत्नी सुतेको बेलामा आक्रमण गरी पतिलाई पिटेर महिलालाई बजारमण्डीको एक झुपडीमा लगेर दुई जनाले समात्ने र एक जनाले बलात्कार गर्ने गरी पालैपालो सामूहिक बलात्कार गरेको समाचार छापिएको थियो ।

त्यही अङ्कमा नेपालगञ्जमा तीन जना मजदुर महिलामाथि सामूहिक बलात्कार गरेको समाचार पनि उल्लेख गरिएको थियो । १७ भदाैकाे ‘दैनिक निर्णय’ मा पर्वतमा लोग्नेकै सामु स्वास्नीको बलात्कार’ शीर्षकमा अर्को समाचार प्रकाशित भएको थियो । त्यसमा लेखिएअनुसार, केही समयअघि दुई जना पतिपत्नी पर्वतको आफ्नो गाउँ फुर्गा सिरकाउबाट बागलुङे आफ्नो नातेदारका घरमा जाँदै थिए । त्यही बेला एउटा गुन्डाले ‘पुल बिग्रेको छ, अहिले नजानुस्’ भनी बास बस्न लगायो । राति लोग्नेलाई मार्ने धम्की दिई लोग्नेकै अगाडि पत्नीमाथि बलात्कार गर्‍यो ।

त्योभन्दा केही समयअघि पर्वतको होस्याङ्दी गाउँ पञ्चायतको अर्घाउँदी गाउँमा आठ जना गुन्डाले मलायाको लाहुरेलाई लाठीले पिटी हातखुट्टा बाँधेर लोग्नेकै अगाडि  पत्नीलाई बलात्कार गरेका थिए । उनीहरूकाे २५ हजार रुपैयाँबराबरको धनमाल पनि लुटेर लगेका थिए… ।

सुनन्दाको आँखाका अगाडि कैयौँ बेरसम्म नमिता–सुमितादेखि ती सबै घटनाका दृश्यहरू घुमिरहे । पहिले उनले नेपाललाई विश्वको एक मात्र हिन्दू राज्य, बुद्धको भूमि र शान्ति क्षेत्र मान्दथिन् । उनलाई के लाग्थ्याे भने भारतमा भन्दा नेपालमा शान्ति, सुव्यवस्था र न्याय छ । ती पत्रिकाहरू पढेर उनका ती सबै धारणा एकपछि अर्को गर्दै टुट्दै गए । उनले बलात्कार र हत्याका ती समाचारहरू, स्वयम् पतिका अगाडि नै बलात्कार वा सामूहिक बलात्कारका घटनाहरू– उनको दिमाग घुम्न थाल्यो ।

विरोधी पार्टीहरूले भन्ने गरेका थिए, नेपालमा निरङ्कुश राजतन्त्र छ । तानाशाही व्यवस्था छ । देशमा भइरहेका गुन्डागर्दी, बलात्कार र हत्याकाण्डहरू त्यसैका उपज थिए । तानाशाही व्यवस्थाका ती अभिन्न अङ्गहरू थिए ।

पहिले उनले के सोच्थिन् भने सायद ती उनीहरूका राजनीतिक प्रोपोगाण्डा मात्र थिए । तर अब उनलाई लाग्न थाल्यो, ती आरोपहरू राजनीतिक प्रोपागण्डा मात्र थिएनन् । तिनीहरूमा सत्य र तथ्य थियो ।

घडीमा भर्खर ३ बजेको थियो । शिवध्वज बस्नेत आउन अझै १ घण्टा बाँकी थियो । विद्याले पुनः समाचारपत्रका फाइलहरू पढ्न थालिन् । एउटा साप्ताहिकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री परशुनारायण चौधरीले नेपाली कांग्रेसलाई छाडेर पञ्चायती व्यवस्थामा सामेल भएको समाचार छापेको थियो । पत्रपत्रिकाहरूमा त्यसबारे निकै टिकाटिप्पणी भइरहेको थियो ।

उनले अन्य समाचारहरू सरसरी पढ्न थालिन् । झापामा सामन्तहरूले सुकुम्बासीका जग्गामाथि कब्जा जमाएर उनीहरूलाई (सुकुम्बासीहरूलाई) त्यहाँबाट निकालेका थिए । नेपाली काङ्ग्रेसको ‘राष्ट्रिय मेलमिलाप’ बारे पनि पत्रपत्रिकाहरूमा निकै चर्चा–परिचर्चा भइरहेको थियो ।

८ असोजमा सबै क्याम्पसहरूमा विद्यार्थी युनियनको चुनाव हुने समाचारहरू छापिएका थिए र त्यसबारे निकै सरगर्मी थियो ।

रूपन्देहीका बिस्कुट फ्याक्ट्रीमा हडताल भएको थियो । पत्रपत्रिकाहरूमा कैयौँ भ्रष्टाचार काण्डहरूसम्बन्धी समाचारहरू पनि प्रकाशित भएका थिए– डाल्डा काण्ड, गलैँचा काण्ड, चरेस काण्ड आदि ।

रूसी दूतावासले गोप्य रूपले ८४ वटा बाकस भित्र्याकोबारे पनि कैयौँ पत्रिकाहरूले टिप्पणी गरेका थिए । ती बाकसमा के थियो ? यो सबैतिर उत्सुकताको विषय बनेको थियो ।

शाही नेपाल वायु सेवा निगमको बोइङ काण्डबारे पनि कैयौँ समाचारहरू प्रकाशित भएका थिए । त्यससम्बन्धी भ्रष्टाचारको छानबिन गर्न सरकारले कमिसनको पनि गठन गरेको थियो । तर कसैमाथि केही कारबाही गरिएन ।

खाद्य संस्थानले खाने तेलमा खेसिल आयल मिलाएर बेच्यो । अख्तियार दुरुपयोग नियन्त्रण आयोगले त्यसबारे मुद्दा चलायो । तर त्यसको केही परिणाम पनि आएन ।

राष्ट्रिय व्यापार निगमले फलामे छडमा केही व्यापारीसँग मिलेर लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको थियो । तर त्यसबारे पनि कतैबाट कुनै कारबाही गरिएन । वनस्पति घ्यू र विपर आयात गर्न र चामल तिब्बत पठाउन स्वीकृति दिँदा प्रधानमन्त्रीले करोडौँ रुपैयाँ चन्दा लिएको कुरा उठ्यो । तर त्यो कुरा पनि हावामा हरायो ।

सिमेन्ट आयात गर्न प्रतिटन ९० अमेरिकी डलरभन्दा बढी लिएर इजाजत दिएको भन्ने कुरा पनि उठ्यो । तर त्यसबारे पनि कुनै छानबिन वा कारबाही गरिएन ।

पहिले भारतमा छँदा उनले के सोच्थिन् भने नेपालमा राजाको शासन छ । त्यहाँ प्रजातन्त्र नभएपनि भ्रष्टाचार छैन । संसदीय प्रजातन्त्रमा हजारौँ मानिसहरूको शासन हुन्छ । शासनमा परिवर्तन भइरहन्छ । त्यस कारण उनीहरूले भ्रष्टाचार गरेर छिट्टै धन कमाउने र धनी हुने होड चल्दछ । तर राजासित सम्पत्तिको कमी हुन्न र भ्रष्टाचार गर्नुपर्ने आवश्यकता हुन्न । राजाको डर र निष्पक्ष न्यायले गर्दा अरूले पनि भ्रष्टाचार गर्न पाउँदैनन् ।

तर अब सुनन्दालाई लाग्न थाल्यो- राजाको शासनमा पनि सबैतिर भ्रष्टाचार व्याप्त थियो । उनले त यहाँसम्म सुनेकी थिइन्, राजघराना नै कैयौँ प्रकारले तस्करी वा भ्रष्टाचारमा संलग्न थियो । राजपरिवार कानुनभन्दा माथि थियो । उनीहरूका विरुद्ध कुनै मुद्दा चल्न सक्दैनथ्यो । त्यसैले उनीहरूले निर्भय भएर आफ्ना आपराधिक कारबाहीहरू गर्न सक्दथे ।

उनले त यो पनि सुनेकी थिइन्, राजपरिवारका सदस्यहरूको विदेशका बैङ्कहरूमा अर्बाैं रूपैयाँ जम्मा थियो । राजपरिवारको आडमा पनि निर्धक्क भएर अपराधहरू गर्न सक्दथे ।

सबै पार्टी र मौलिक अधिकारहरूमाथि नियन्त्रण थियो । कसैले राजा, पञ्चायती व्यवस्था वा सामान्य पञ्चहरूको पनि कुनै विरोध गरे उनीहरूलाई राजा र व्यवस्था विरोधी भनेर मुद्दा चलाइन्थ्यो वा गिरफ्तार गरिन्थ्यो…।

सुनन्दालाई जेलमा बस्दा नै यहाँका विभिन्न राजनीतिक पार्टी वा समूहबारे पनि धेरै जानकारी भइसकेको थियो । नेपाली कांग्रेस एउटै थियो । तर कम्युनिस्टहरू कैयौँ समूहमा बाँडिएका थिए । एउटा साप्ताहिकले वामपन्थी शक्तिहरूका बीचमा एकताको आवश्यकतामा जोड दिएको थियो । त्यस सिलसिलामा कैयौँ समूहहरूका नामहरूको उल्लेख गरिएको थियो– माले समूह, मोहन विक्रम समूह, मनमोहन समूह, पुष्पलाल समूह आदि ।

तर तिनीहरूका बीचको अन्तर के हो ? उनले त्यो छुट्याउन सकेकी थिइनन् । कसैलाई राजापरस्त भन्ने गरिन्थ्यो, कसैलाई काङ्ग्रेसपरस्त, कसैलाई दक्षिणपन्थी, कसैलाई उग्रवामपन्थी आदि ।

जेलमा बस्दा उनले मार्क्सवादी दर्शन, समाजवाद वा राजनीतिक अर्थशास्त्र, समाजको विकास आदिबारे केही अध्ययन गर्ने मौका पाएकी थिइनन् । तर कम्युनिस्ट आन्दोलनसित सम्बन्धित विभिन्न पार्टी, समूह वा गुट र उपगुटहरूका बीचको अन्तर के थियो ? उनले त्यो बुझ्न सकेकी थिइनन् ।

आज पत्रपत्रिकाहरू पढ्दा पनि उनले त्यससम्बन्धी सामग्री खोजेर पढ्ने कोसिस गरिन् । तर उनले पत्रपत्रिकाहरूका सबै फाइलहरू पल्टाउँदा पनि त्यस प्रकारको कुनै सामग्री पाइनन्…।

विद्या उनलाई बोलाउन आइन् ।

‘शिवध्वज आइपुग्नुभयो । तपाईंलाई आउन भन्नुभएको छ,’ विद्याले भनिन् ।

सुनन्दाले हत्तपत्त आफूले झिकेका फाइल मिलाएर आलमारीमा राखिन् र विद्याका साथै शिवध्वजको कोठातिर लागिन् ।

(प्रस्तुत सामग्री ‘कामरेड जलजला’ उपन्यासको खण्ड १, भाग २, परिच्छेद १७ को एउटा अंश हो । त्यो उपन्यासकी एउटा प्रमुख पात्र सुनन्दा हुन् । उनी भारतको पिथौरागढको धार्चुलाको दारमापट्टिकी एक जना सौका जातिकी युवती हुन् । उनी दिल्लीको जवाहरलाल युनिभर्सिटीकी शोधकर्ता हुन् । आफ्नो शोधकार्यको सिलसिलामा उनी नेपाल आएकी थिइन् । उपन्यासको प्रस्तुत अंशमा उनले २०३८ सालमा प्रकाशित विभिन्न पत्रपत्रिकाहरूको अध्ययन गर्दै छिन् । उनका साथ आएकी अर्की युवती रोल्पा थवाङकी हुन् । उनी लखनउमा पढ्दै थिइन् । -लेखक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *