मुख्यमन्त्री शंकर पोखरेल प्रतिगमनको मतियार बने : तारा जिसी

बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले मुख्यमन्त्री शंकर पोखरेल प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । सत्ताका लागि जे पनि गर्न तयार प्रधानमन्त्री केपी ओलीका गलत कदमलाई मुख्यमन्त्री पोखरेलले आँखा चिम्लेर समर्थन गरिरहेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

प्रतिनिधि सभामा लामो समयदेखि विचाराधिन नागरिकता विधेयक अध्यादेशबाट ल्याएकोमा उहाँले केन्द्र सरकारको भ्रर्सना गर्नुभयो । हाल सर्वोच्च अदालतले कार्यान्वयन गर्न रोक लगाएको राष्ट्रघाती अध्यादेशलाई मुख्यमन्त्री पोखरेलले समर्थन गरेर अभिव्यक्ति दिइरहेको भन्दै कडा आलोचना गर्नुभयो ।

सांसद जिसीले आफ्नो दुई तिहाईको सरकार छँदा मौन रहने निर्वाचित संस्थाको घाँटी निमोठी चोर बाटोबाट ल्याउन मिल्छ ? भनी प्रश्न उठाउनुभयो । देशको अति महत्वपूर्ण राष्ट्रिय सरोकारको विषय सत्ता टिकाउनैका लागि अध्यादेशबाट ल्याएर प्रधानमन्त्री लेण्डुपपथमा अग्रसर भएको बताउनुभयो ।

नागरिकता अध्यादेश बारे सर्वोच्चको फैसला सही रहेको भन्दै उक्त फैसलालाई मुख्यमन्त्रीले चुनौती दिन खोजेको मिडियामा सार्वजनिक भएको समाचार प्रति आपत्ती प्रकट गर्दै उहाँले पोखरेललाई ‘जस्ता गुरु उस्तै चेला’ को संज्ञा दिनुभयो ।

सांसद जिसीले लुम्बिनी प्रदेश सरकार अल्पमतमा परिसकेको सन्दर्भमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि अवैध भएको दाबी गर्नुभयो ।

‘सरकारको नैतिकताको प्रश्न उठेकोछ, यदी सरकार बहुमतमा छ भने पटक पटक अविश्वासको प्रस्तावबाट किन भागिरहेको छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले सदनमा बहुमत छ भने सिद्द गरेर देखाउनुपर्छ ।’

आर्थिक वर्ष २०७८–८९को लागी प्रदेश सरकार बाट प्रस्तुत नीति तथा कार्यक्रमा छलफलको दोस्रो दिन शनिबार राष्ट्रिय जनमोर्चाको धारणा राख्दै नेतृ जिसीले प्रस्तुत नीति कार्यक्रम परम्परावादी, केही समावेश गरेर हुवहु नक्कल गरेको औँल्याउनुभयो । प्रचारमूखी अव्यावहारिक कृतिम नारा र घोषणामा सिमित बनावटी नीति कार्यक्रम भएको बताउनुभयो ।

सरकारले प्रस्तुत गर्न सक्ने नीति कार्यक्रम कस्तो हुन पर्दथ्यो ? भन्ने सुझाव राष्ट्रिय जनमोर्चाको तर्फबाट मिडियामा समेत सार्वजनिक गरेको बताउँदै नेतृ जिसीले समाजवाद उन्मुख कृषि नीति, शिक्षा, स्वास्थ्य, उद्योग नीति महिला, दलित, जाती जनजाती, अपांग, अल्पसंख्यक, सिमान्तकृत आदीलाई उनका न्यूनतम आवश्यकतालाई पनि यो नीति कार्यक्रमले समेट्न नसकेको बताउनुभयो ।

कोभिडका कारण जनता अहिले पनि तड्पिएर मनुपर्ने अवस्था रहेको भन्दै त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने बताउनुभयो ।महामारीको तेस्रो लहरको जोखिमको चर्चा चलिरहे पनि सरकार पर्याप्त तैयारी तर्फ नलागेको, फ्रन्टलाइनमा रहने शिक्षाकर्मी लगायतले अझैसम्म खोप समेत नपाएकोले आन्दोलन गरी रहेको बताउँदै सरकारको यो मौनताको मूल्य आम जनताले गम्भिररुपमा चुकाउन पर्ने उहाँले चेतावनी दिनुभयो ।

लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको आज मुख्यमन्त्री पोखरेलले जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार