मूल प्रवाहको ओतलागेर आफ्नो छवि चम्काउन चाहनेहरु मूल प्रवाहको सदस्य हुन सक्दैनन्

  •   
  •  
  •  
  •  
  •  
  •  

1165 जनाले पढ्नु भयो ।

० सातौं अखिल भारत सम्मेलन पछिको भर्खरै सम्पन्न प्रथम अखिल भारत भेलाले हजुरलाई पुनः अध्यक्ष चयन गरेको छ, यसलाई कसरी लिनुभएको छ ?

–छैठौं अखिल भारत सम्मेलनद्वारा निर्वाचित समितिको प्रथम बैठकले मलाई अध्यक्ष चयन गरेको थियो । त्यतिवेला साथीहरुबाट संगठनलाई अगाडि बढाउन अतुलनीय सहयोग रह्यो ।

सातौं अखिल भारत सम्मेलनबाट निर्वाचित समितिको प्रथम बैठकबाट अध्यक्ष चयन हुनुभएका मित्रलाल शर्माको निधन पछि समितिको चौथो बैठकले पनि मलाई पुनः अध्यक्षको जिम्मा सुम्पेको थियो । संगठनले दिएको जिम्मेवारीलाई मैले आफ्नो व्यक्तिगत महत्वका लागि उपयोग गरेन । यो अवधिमा सम्पुर्ण स्तरका नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तक सबैको सहयोग, समर्थन र साथ रह्यो ।

अहिले पुनः मलाई संगठनले अध्यक्षको जिम्मा सुम्पेको छ । यो बदलिंदो परिस्थितिमा संगठन परिचालन गर्न अत्यान्तै चुनौतिपूर्ण छ । मलाई विश्वास छ, हाम्रा सम्पूर्ण कार्यकर्ताहरुको एकमना एकताले संगठनको गतिलाई लगातार अगाडि बढाउने छौं । संगठनको गरिमालाई कामयम राख्न सम्पूर्ण स्तरका नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तक सबैको सहयोग र समर्थन हुनेमा पूर्ण विश्वस्त छु । साथै विगतका दिनहरुमा जस्तै संगठन भित्र देखापर्ने सबै खाले महत्वाकांक्षा, अवसरवाद र अराजकतालाई परास्त गर्दै संगठन अगाडि बढने छ ।

मूल प्रवाहको सम्पन्न भेलाको आवश्यकता र औचित्यता बारे बताई दिनुहोस् न ?

–सातौं अखिल भारत सम्मेलनबाट निर्वाचित समितिले भारत प्रवासका श्रमजिवी नेपालीहरुका पक्षमा धेरै आन्दोलनका कार्यक्रमहरु सम्पन्न गर्यो। यस अवधिमा हामीले सातौं अखिल भारत सम्मेलनबाट निर्वाचित चारजना सदस्यहरुको असमायीक निधन भयो भने कैयौं साथीहरु स्थायीरुपमा स्वदेश फर्किनु भएकोले वहाँहरुलाई समितिबाट विदाई गरियो । केही समय यता कतिपय सदस्यहरुले संगठनको नीति, विधान, पद्धती भन्दा बाहिर गएर आफ्नो मनमानी गर्न खोजेको हुँदा वहाँहरुलाई कारवाहीमा गर्नु पर्यो ।

कोरोना महामारीको कारण आठौं अखिल भारत सम्मेलनको लागि परिस्थिति अनुकुल नभएको हुँदा भेलाद्वारा समितिलाई नविनिकरण गर्नुपर्ने आवश्यकता थियो । त्यसै आवश्यकलाई पुरा गर्दै जुम प्रविधिलाई उपयोग गरेर भए पनि सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेला ४ जुलाई २०२१ मा लोकतान्त्रिक ढङ्गबाट ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ ।

० भर्चुअल माध्यमबाट गरिएको यो भेलालाई वैधानिक मान्न नसकिने भन्छन, यस बारे के भन्नु हुन्छ ?

– यो पुरानो जमाना होइन, यो नयाँ र टेक्नोलोजीको जमाना हो । अर्को कुरा हामी माक्र्सवादलाई विश्वास गर्दछौं । माक्र्सवादले संधैभरि परिवर्तनमा विश्वास राख्दछ । जसले आफूलाई क्रान्तिमा विश्वास भएको बताउँछन् तर परिवर्तनशिल समय अनुकुल आफूलाई परिवर्तन गर्न चाहँदैनन् भने त्यस्ता व्यक्तिहरुलाई कसरी क्रान्तिकारी भन्न र मान्न सकिन्छ ? जब कि वर्तमान परिस्थितिमा अन्तर्राष्ट्रिय स्तरका कुटनीतिक बैठक, मन्त्रालयको बैठक, अदालती काम कारवाही, अन्य सरकारी कार्यालयका बैठकहरु समेत भर्चुअल विधिबाट सम्पन्न भइरहका छन् र ति सबै वैधानिक भइरहेका छन् ।

कसैले भ्रम पार्न खोज्दैमा र आफ्नो निहित स्वार्थ अनुकुल निर्णय भएन भन्दैमा अवैधानिक हुँदैन । अर्को कुरा सम्मेलनबाट निर्वाचित समितिबाट मृत्यु भएका, स्वदेश फर्किएका र कारवाहीमा परेका बाहेकका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको भेलालाई अवैधानिक भन्नेहरु कुन दुनियाँका हुन् ? त्यो मूल प्रवाहका सबै सदस्यहरुले चिन्दछन् ।

जसले यो भेलालाई अवैधानिक भन्ने हल्ला गरेर आफ्नो स्वार्थ पूर्ति गर्न खोजिरहेका छन्, उनीहरुलाई त गत २०–२१ मार्च २०२१ मा सम्पन्न केन्द्रीय समितिको नबौं बैठकले नै साधारण सदस्य समेत नरहने गरि निश्काशित गरेको थियो ।

अब कारवाहीमा परि निश्काशित व्यक्तिहरुले वैधानिक र अवैधानिक हल्ला गर्दैमा केही हुनेवाला छैन । यो संगठन अनुशासित र प्रतिवद्धता कै कारणले यहाँसम्म पुगेको हो, अराजक गतिविधिका कारणले होइन । यसले आफ्नो स्थापना कालदेखि नै निकै धेरै उपलब्धिहरु प्राप्त गरेको छ । यसमा सबै भन्दा महत्वपूर्ण पक्ष अनुशासन नै हो ।

० केही व्यक्तिहरुले आफूहरुले कम्जोरी देखाइ दिएकोले नै हतारमा भेला गरेको भन्ने हल्ला चलाएका छन् नि ?

– कसले के भन्छ भन्ने हल्लाको पछाडि हामी जाँदैनौं । मैले माथि नै बताई सकेको छु, चार जना साथीहरुको निधन र केही साथीहरु स्वदेश विदाई भए कै कारणले मात्र सम्मेलनबाट निर्वाचित समितिमा संख्याबल घटेको भन्ने हल्ला निराधार छ । जब ३ जुलाई २०२१ दिनसम्म त सम्मेलनबाट निर्वाचित समिति नै पूर्ण थियो । सोही दिन बसेको केन्द्रीय समितिको बैठकले इन्द्र भेटाललाई कारवाही गरेपछि मात्रै समितिको संख्याबल घटेको थियो । त्यसको लगत्तै हामीले ४ जुलाई २०२१ दिन भेला सम्पन्न पारेका थियौं । जब हात्ती हिंड्न थाले पछि अरु सबैका पाहिला मेटिन्छन् । वहाँहरुको धर्म मूल प्रवाहलाई तहसनहस पार्ने हो । त्यो मूल प्रवाहका कार्यकर्ताहरुले कत्तै पुरा हुन दिनेछैनन् ।

० तपाईहरुलाई त ‘टिके’ भन्छन् त !

– हो वहाँहरुले हामीलाई ‘टिके’ भन्नु हुन्छ । वहाँहरुले लामो समयसम्म यो संगठनमा रहेर काम गर्नु भएको थियो, यसको मतलब वहाँहरु पनि विगतमा ‘टिके’ हुनुहुन्थ्यो ।

आफ्नो निहित स्वार्थ अनुकुल निर्णय भएन भन्दैमा संगठनको अनुशासन, नीति, सिद्धान्त, पद्धती, विधान, नियमावली सबैका विरुद्ध गतिविधि गर्दै वहाँहरुले हिंड्नु भएको छ । अब बताउनुस वहाँहरुलाई के उपमा दिने त ?

संगठनको अनुशासन, नीति, सिद्धान्त, पद्धती, विधान, नियमावलीलाई पालना गरेर जिम्मेवारी निर्वाह गर्नुलाई कसैले हामीलाई ‘टिके’ भन्छ भने हामी त्यस प्रकारको ‘टिके’ बन्न र भनाउन मात्रै हैन कहलाउन सदा तयार छौं । तर वहाँहरु के हो ?  त्यस बारे भने वहाँहरुले आफुलाई सुहाउने उपमा पनि आफैले भिरेमा उपयुक्त हुनेछ ।

० संगठनको सम्पूर्ण समितिहरु आफूहरुसँग भएको र आफूले बैधानिक रुपमा भेला गर्ने बताउँदैछन् नि, केही व्यक्तिहरु ?

–यो भनाईले वहाँहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फूट पार्न चाहने फूटपरस्त रहेको र फूटपरस्त गतिविधिमा समलग्न भएको पुष्टि हुन्छ ।

विगतमा पनि यस्तै अनुशासन विहिन प्रकारले भेला गर्नेमा विजय शर्मा देखि बाबुराम भट्टराई, रामसिंह श्रीस, गिरधारीलाल–डिलारामसम्मको लामो सुचि छ । त्यस प्रकारका गतिविधिहरुको के हविगत भएको छ, सबैलाई थाहा भएको कुरा हो । त्यही कडिलाई बढाउने प्रयत्न अहिलेका कथित ‘क्रान्तिकारी’हरुले कोशिस गरिरहेका छन् । विगतमा जसरी मूल प्रवाहका कार्यकर्ताहरुले नांगेझार पारेर संगठनको छविलाई बचाएका थिए, वर्तमानमा देखिएका कथित ‘क्रान्तिकारी’हरुको हविगत पनि तय गर्नेछन् ।

साथै म यो पनि स्पष्ट गर्न चाहन्छु, कसैले मूल प्रवाहको ओत लागेर आफ्नो व्यक्तिगत छवि चम्काउन चाहन्छ भने, त्यस्ता व्यक्तिहरु मूल प्रवाहको सदस्य हुन सक्दैनन् । विगतमा पनि संगठनको छहारीमा बसेर डाला कट्ने कोशिस गर्ने व्यक्तिहरुलाई संगठनबाट निश्काशित गरेर नै आज भारत प्रवासमा छरिएर रहेका नेपालीहरुका बीचमा मूल प्रवाहले आफ्नो छुट्टै प्रकारको पहिचान बनाउन सकेको हो ।

० नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन नयाँ कार्यनीति के कस्ता बनाउनु भएको छ ?

–यो संगठन शोषित उत्पीडितहरुको हो । भारतमा कार्यरत श्रमजिवी नेपालीहरु सम्पूर्णलाई संगठित गर्ने नै हाम्रौ मूल उदेश्य हुन्छ । त्यसै अन्तर्गत सामाजिक कार्यमा अग्रसर गराउने, कार्यक्रर्ताहरुलाई सैद्धान्तिक, राजनैतिक शिक्षा प्रदान गर्ने, स्वदेशको राजनीतिक परिवेश बारे अध्ययन गराउने र ति आन्दोलनहरुमा आर्थिक, नैतिक एवं भौतिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिने हाम्रो आगामि कार्यक्रममा हुनेछन् । त्यसका अतिरिक्त संगठन अन्तर्गत सभा, सम्मेलन, प्रवासी नेपालीहरुका समस्या बारे सरकारको ध्यानाकर्षण लगायत विभिन्न जनपक्षीय कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।

० भारतमा नेपालीहरु माथिको भेदभाव कायम छ, त्यस बारे संगठनले कस्तो भूमिका खेल्दै आएको छ ?

–भारतस्थित नेपालीहरुको समस्या समाधानका लागि १९५० को नेपाल–भारत मैत्री सन्धीले प्रदान गरेको अधिकार अन्तर्गत भारतमा आएका नेपालीहरुको सुरक्षाको प्रत्याभूति दिने काम यहाँको सरकारको हुन्छ । त्यसका लागि हामीले भारत सरकारका विभिन्न निकायहरुमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, धर्ना, जुलुश गर्दै आइरहको छौं । त्यसबाट कैयौं लाभान्वित समेत भएका छन् । तर पूर्ण रुपमा समानता आएको छैन, सन्धीले दिएका प्रावधान अन्तर्गत नेपाली नागरिकता प्रमात्र पत्रद्वारा नै भारतमा रहने श्रमिजीवी नेपालीहरुलाई राशनकार्ड, आधारकार्ड जस्ता बहुउदेश्यी प्रमाणपत्र एवं सन्धीमा उल्लेख भए अनुसार भारतीय नागरिक सरह समान सुविधाहरु मुहैया गराउनको लागि पनि संघर्ष गर्दै आएका छौं । त्यो निरन्तर जारि छ ।

० विदेशस्थित नेपालीहरुको मताधिकार र प्रतिनिधित्वका लागि आन्दोलन गर्नुभएको थियो । सर्बाेच्च न्यायलयको आदेश अनुसार प्रवासी नेपालीहरुलाई मताधिकार दिनु पर्नेमा जोड दिएको छ । यस बारे तपाईहरुको धारणा के छ ?

–प्रवासी नेपालीहरुलाई मताधिकार एवं प्रतिनित्वको माग गर्ने पहिलो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो । जसले भारतमा रहेका नेपालीहरुबाट हस्ताक्षर संकलन गरि नेपाल सरकारलाई बुझाउने एवं भारतस्थित अन्य नेपाली संघ संस्थाहरुलाई समेत सामेल गरेर नेपाल सरकारलाई दबाब दिने काम भएको थियो ।

सर्बोच्च न्यायलयद्वारा प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नु भनि दिएको परमादेश स्वागत योग्य छ । तर प्रतिनिधित्वको सवालमा न्यायलय मौन छ । साथै प्रवासी नेपालीहरुको व्याख्या–बुझाईको सवालमा पनि समस्या छ । अझैसम्म पनि यो प्रष्ट छैन, दक्षिण एशियामा रहेका नेपाली नागरिकहरु प्रवासीको दायरामा पर्छन् कि पर्दैनन् ।

हामी प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको सवालमा स्पष्ट नीति अवलम्बन गर्दै आफू रहेकै स्थानबाट मतदिन पाउने अधिकार र संसदमा उनीहरुको समानुपातिक प्रतिनिधित्वको मागलाई लगातार उठाउँदै आइरहेका छौं । त्यसलाई निरन्तरता दिंदै थप कार्यक्रम तय गर्नेछौं ।

० तपाईहरुले भारत प्रवासमा संगठन निर्माण गरेर के फाइदा हुन्छ ?

– हामी देशको आर्थिक, राजनीतिक कारणले उत्पन्न वेरोजगारीको समस्याले गर्दा प्रवासीन बाध्य भएका हौं । नेपालको सामाजिक विकृतीका कारणले कैयौं नेपालीहरु अनेकन कुलतमा परेकाहरुलाई सामाजिक उत्थान गर्नुका साथै स्वावलंभी, अनुशासित बनाउँदै सचेत र संगठित गर्दै आएका छौं ।

नेपालको आर्थिक राजनीतिक कारणले नै उद्योग धन्दा, कलकारखानाको विकास नभएकोले वेरोगार भई भारत आउनु परेको हुँदा नेपालमा हुने प्रत्येक राजनीतिक गतिविधिबाट अछुतो रहन सक्दैनौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापनादेखि नै नेपालमा हुने जनजिवीका, जनतन्त्र, राष्ट्रियताको लागि चल्ने आन्दोलनहरुलाई आर्थिक, नैतिक, भौतिक रुपले सहयोग गर्दै आएको छ ।

तानाशाही पञ्चायती व्यवस्था विरुद्ध विभिन्न आन्दोलन, २०४५–४६ सालको जनआन्दोलन, २०६२–६३ महान आन्दोलन लगायत कैयौं आन्दोलनहरुमा भारतको राजधानी दिल्ली तथा विभिन्न शहरहरुमा आन्दोलनहरु भएका थिए । नेपालको राजनैतिक आन्दोलनहरुमा भारतस्थित नेपालीहरुको महत्वपूर्ण भूमिका छ । तर दुःखको कुरा आन्दोलन पश्चात ठूला भनाउँदा राजनीतिक दलहरुले प्रवासी नेपालीहरुको योगदानलाई विर्सीए र भारतस्थित नेपालीहरुका समस्या बारे मौन छन् ।

० अन्त्यमा थप भन्नु पर्ने केहि छ की ?

– देशमा गास, बासको समस्याले भारत प्रवासमा आउन वाध्य भएका सम्पूर्ण श्रमजिवी नेपालीहरु एक हुनुपर्ने आवश्यक छ । त्यसैले भारतस्थित नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *