मूल प्रवाहको सिरफूल लगाएर, कथित जागरणको गीत गाउनेहरुसँग होशियार

  • त्रिभुवन भट्टराई

भारतस्थित शोषित पीडित नेपालीहरुको हकहितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नै प्रवाह अखिल भारत नेपाली एकता समाजको क्रियाशील सदस्य हुन पाउँदा आफूलाई गर्वले छाती थररर थर्कन्छ । आफूले आफैलाई गर्व महशुस हुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सारगर्भित इतिहास बोकेर विशाल रुपमा आज हाम्रो अगाडि विद्यमान छ ।

यो आज त्यसै सानोतिनो मिहिनेत र लगनले विशाल भएको हैन । यसमा सयौं नेताहरुको निस्वार्थ बलिदान, कैयन सहिदहरुको कुर्वानी, रेलवे स्टेशनमा कोठीभित्रबाट पन्निमा (पानी कागजमा) ल्याईदिएको दाल भात खाएर भोक मेटाउँदै, बसअड्डाहरुमा दर्जनौं रातहरुमा मच्छरलाई कटाउँदै तथा भोकै प्यासै प्रशिक्षण दिएर सम्झाउँदै बुझाउँदै अथक मिहिनेत र लगनले बनाएको संगठन हो यो ।

भारतमा आएका श्रमजीवी नेपालीहरुलाई सचेत समर्पित र संगठित गर्दै संगठन निर्माण गर्ने कार्य कम्ति चुनौतीपूर्ण थिएन । तर पार्टी कार्यकर्ताहरुको दृढ निश्चय र इच्छाशक्तिले झनझन मजबुत भैरहेको यो संगठनमा पटक–पटक विभिन्न खाले अवसरवादीहरुद्वारा तोड्न तथा विभिन्न प्रकारका भ्रम फैलाउन स्थापना कालदेखि नै बारम्बार कोशिस भइरहे । अवसरवादीहरु संगठनलाई विशाल उर्जात्मक र शक्तिशाली बन्न नदिन लगातार आन्तरिक तथा वाह्य रुपमा लागि रहे पनि सचेत कार्यकर्ता, प्रशिक्षित नेताहरु र दृढ समर्पित समर्थकहरुको न्यानो मायासामु उनीहरुका हतकण्डाहरु बारम्बार भताभुङ्ग भइरहे ।

अहिले पनि भारतमा मूल प्रवाह सचेत कार्यकर्ताहरु सही नीति निर्देशन र सैद्धान्तिक धरातलबाट प्रशिक्षित नेताहरु एवम् दुरदर्शी नेतृत्वको सामुहिक प्रयास र मेहनतले मात्र सबै प्रकारका अनुशासनविहीन अराजक तथा फुटपरस्त तत्वहरुका विरुद्ध सशक्त प्रतिवाद गर्दै संगठनलाई बचाएर यहाँसम्म ल्याउन सफल भएका छौं । हामी आशावादी छौं कि मूल प्रवाहमा प्रवेश हुनुभएका नयाँ पिंडीका साथीहरुले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय यात्रालाई सुझबुझ र विधि विधान अन्तर्गत रहेर अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हुनेछ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आफ्नै कारणले कहिल्यै समस्यामा परेन । खास गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा बारम्बार आउने उतार चढाव, टुटफुटको असर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि परिरह्यो । बिगतका पुराना कुराहरु नगरौं, अहिलेकै ताजा घटना क्रमहरुलाई नजिकबाट हेर्यौं भने बुझ्न कहीं जान पर्दैन । नेकपा (मसाल) मा भएको दुई लाइनको संघर्ष र हाँक प्रकरणमा गम्भीर प्रकारका अनुशासन उल्लंघन गर्ने कामहरु भए ।

कथित अवसरवादी केही नेताहरुले हाँक प्रकरणलाई तिलको ताहाड बनाई हौवा खडा गर्ने काम गरे । पार्टीको निर्णय के हो ? हाम्रो दायित्व के हो ? हाम्रो पृष्ठभूमी के हो ? आदी विषयलाई बेवास्ता गर्दै केही नेताहरु अवसरवादी तथा महत्वकांक्षी तत्वहरुको लहैलहमा बुरुक, बुरुक गरे र गरिरहेका छन्् । पाटीले हाँक प्रकरणलाई लिएर केही अवसरवादी तथा महत्वकांक्षी व्यक्तिहरुलाई अनुशासनको कारबाही गरेपछी उनीहरुले चरम प्रकारको गुटबन्दी, नेतृत्वमाथि चरित्र हत्या जस्ता कामहरु तीब्र बनाए ।

पछि बिभिन्न विषयमा कारबाहीमा परेका नेताहरु र हाँक प्रकरणमा कारबाहीमा परेका नेताहरु जोडिएर सन्त बहादुर नेपाली को नेतृत्वमा कथित जागरण अभियान गठन गरे । आज तिनै कथित जारणका नेताहरुको भनाईमा लागेर एकाध साथीहरुले खास गरेर दक्षिण भारतमा मूल प्रवाहको नाममा मूल प्रवाहको जरो काट्ने काम गरिरहेका छन्् । मूल प्रवाहको नेता हुँ भन्ने जागरणको गीत गाउने काम सुरु भएपछि संगठन विरोधी गतिबिधिमा नलाग्न बारम्बार सुझाब, आलोचना, स्पस्टीकरण मूल प्रवाह केन्द्रीय समितिले लिएको थियो । तर आफ्नो कम्जोरी स्वीकार नगर्ने उल्टै संगठनको नीति, विधि र विधान विपरित लिर्पले जस्तै विष बर्साउन थाले पछि देव बहादुर लामिछाने, महेन्द्र बस्याल लगायत केहीलाई केन्द्रीय समितिले मूल प्रवाहको साधारण सदस्य समेत नरहने संगठनबाट निष्कासित गर्यो ।

निस्काशन भएपछि पनि ती वहाँहरुले मूल प्रवाह मै रहने इच्छा हो भने कारबाही अबधी भरि चुपचाप बस्ने र संगठनले जुनस्तरको जिम्मा दिन्छ सोही काम गर्दै जाने हुनुपर्ने हो । त्यो भन्दा दोस्रो विकल्प थिएन तर उहाँहरुले कथित जनजारणको निर्देशनमा त्यहाँ मूल प्रवाह कै नाममा मूल प्रवाहको विरुद्धमा समानान्तर संगठन पनि खोल्ने र मूल प्रवाहको नाममा भर्चुअल मिटिङ, प्रशिक्षण पनि शुरु गर्ने गरेका छन्् । ति भर्चुअल मिटिङ र बैठकमा नेपालबाट जारणका घोषित नेताहरु र जागरणमा जान खुट्टा उचालेका र कतिपय नगई सकेकाहरुलाई भूपूपदबाट कार्यक्रममा कथित अतिथिसम्म बनाई कार्यक्रमहरु गरे ।

यी कृयाकलापहरु हेर्दा सबै स्पष्ट हुन्छ की उनीहरु जागरण पार्टीमा बस्ने र मूल प्रवाहको नामको माला जप्ने र निश्चित आफ्नो स्वार्थ सिद्धिको लागि प्रयास गरिरहेका छन्् । तर दुवै काम साथ साथ चल्न सक्दैनन् । स्पष्ट कुरा के हो भने, अरु कुनै पार्टीको निर्देशनमा परिचालित भई मूल प्रवाह हुँ भन्ने अधिकार कसैलाई पनि हुँदैन र छैन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ने.क.पा. (मसाल) को जनवर्गीय संगठन हो । जब मसालको नीति, निर्देशन नै पालन नगर्ने हो भने मूल प्रवाहको नाममा आफूलाई चिनाउने काम एकछिन्को आत्मा संतुष्टि मात्र हो । हामी मूल प्रवाहका सिपाहीहरुले यस प्रकारका सम्पूर्ण खाले अवसरवादी तत्वहरुको भण्डाफोड गर्दै र उनीहरुले फैलाएका भ्रमहरुलाई बढार्दै मूल प्रवाहको विशाल शक्तिशाली र सशक्त संगठन निर्माणमा जुटेका छौं । सबै खाले अवसरवाद विरुद्ध निर्ममतापूर्वक संघर्ष गरौं । यही नै नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुको ताल्कालिन जिम्वेवारी हो ।

(लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार