‘म मरेकै हुँ, जिउँदै पनि छु ! यो द्वन्द्ववाद हो !’

  •   
  •  
  •  
  •  
  •  
  •  

855 जनाले पढ्नु भयो ।

समीर सिंह

के मार्क्स जीवित छन् ? यो प्रश्नलाई द्वन्द्ववादी तरिकाले विश्लेषण गर्ने हो भने जवाफ यही हुनेछ – छन् पनि, छैनन् पनि ।

मार्क्स जीवित यसकारण छैनन्, किनकि उनको भौतिक शरीरको बर्षौं पहिले अन्त भैसकेको छ । तर, अर्को पक्ष, हामीले मार्क्सलाई बुझ्ने भनेको उनका विचारहरुका आधारमा हो । उनका विचारहरु झन पछि सशक्त हुँदै गैरहेका छन् । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हरेक दृष्टिकोणले मार्क्सका विचारहरु सत्य हुँदै गैरहेका छन् ।

मार्क्सको ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार नै समाज परिवर्तन हुँदै आइरहेको छ । यी सबै आधारमा पनि त्यसकारण मार्क्सवाद फेल भएको छैन, मार्क्स जिवित छन् भन्ने प्रमाणित हुन्छ ।

भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन गरियो । मार्क्स फर्किए भन्नुको अर्थ मार्क्सको भौतिक शरीर नै नेपाल आयो भन्न खोजेको होइन । मार्क्सवादका विविध पाटाहरुको विश्लेषण गर्दै मार्क्सवाद अझ सशक्त हुँदै गैरहेको मात्र प्रष्ट्याउन खोजिएको हो । ‘मार्क्सवाद फेल भयो’, ‘पुँजीवाद नै अन्तिम सत्य हो’, ‘रसिया लगायतका देशहरुबाट समाजवाद असफल भैसकेपछि अब समाजवादको भविश्य छैन’ लगायतका तर्कहरु गर्ने गरिन्छ । तर, मार्क्स फर्किए नाटकमा पनि वर्तमान आर्थिक अवस्थालाई पुँजी, अतिरिक्त मूल्यको सिद्धान्त, ड्युहरिंग मत खण्डन, कम्युनिष्ट घोषणपत्र आदि पुस्तकहरुका आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

कार्ल मार्क्स लण्डन निर्वासित भएका बेला पुँजी पुस्तकको रचना गरेका थिए । एकदमै प्रतिकुल आर्थिक अवस्थाबाट उनी र उनको परिवार गुज्रिरहेको थियो । जेनीले माइतबाट ल्याएका सबै सामान बन्धकी राख्नुपर्ने, लण्डनको जाडो अवस्थामा पनि आफूले लगाएको कोट र जुत्ता पनि धरौटीमा राख्नुपर्ने, औषधोपचार गर्न नसकेर उनका केही छोरीहरु मृत्युको शिकार हुनुपर्ने अवस्थाका बावजुद मार्क्स बिहानदेखि बेलुकासम्म ब्रिटिस लाइब्रेरी धाउँदै पुँजीलाई पूरा गर्ने लक्ष्यमा लागिरहे ।

तर, के अब पुँजीवादीहरुले भनेजस्तै ‘पुँजी’को औचित्य नभएको हो त ? मार्क्स फर्किए नाटकमा पनि वर्तमान अखबारका पानाहरु पल्टाउँदै मार्क्स भन्छन्, ‘अमेरिकाको राष्ट्रिय उत्पादन ४ हजार बिलियन डलर’ ‘पेरिसमा ५०० पुँजीपतिहरुको सम्पति २ हजार बिलियन डलर’ । आज मुठ्ठीभर मानिसहरुको दिनचर्या ठूला–ठूला महल, महंगा गाडि, ऐश आरामका साथ अगाडि बढिरहेको छ । तर, अर्कोतिर थुप्रै मानिसहरु एक पेट खान एक आङ ढाक्न छट्पटाइरहेका छन् । जाडोमा कठ्यांग्रिइरहेका छन् । सडकमा भिख माग्दै हिँडिरहेका छन् । मार्क्स प्रश्न गर्छन्, के यही हो पुँजीवादको सफलता ? अनि यो भन्दा गुणात्मकरुपमा भिन्न समानतामा आधारित समाजको आर्थिक आधार प्र्रस्तुत गर्ने पुँजी तथा सिंगो मार्क्सवादलाई असफल भयो भन्नु कति जायज होला ? यसप्रकारका अन्तरविरोधपूर्ण प्रश्नहरुलाई नाटकमा एकदमै कलात्मकरुपमा प्रस्तुत गरिएको छ ।

अतिरिक्त मूल्यलाई प्रष्ट्याउँदै नाटकमा भनिएको छ, ‘सबै मूल्य आर्जनको श्रोत श्रमिक हो । श्रमिकको श्रमबाट नै मूल्य उत्पादन हुन्छ । तर, ज्यालाका रुपमा उसले नगन्य ज्याला हात पार्छ । उत्पादित तर मजदूरको हातमा नपर्ने मूल्य नै अतिरिक्त मूल्य हो । यो नै सबै पुँजीपतिहरुको हातमा जान्छ ।’

यसरी नाटकमा वर्तमान समाजको अन्तरविरोधलाई उजागर गर्ने प्रयास गरिएको छ । एकचोटि मार्क्सले जेनीसित प्रश्न गर्छन्, तिमीलाई सबैभन्दा चिन्ता केको छ ? जेनीको जवाफ हुन्छ, मजदुर क्रान्तिको । मार्क्स भन्छन,् मजदुर क्रान्ति त एकदिन भएरै छाड्छ, तर चिन्ता पेइपर जस्ता पात्रको हो ।

पेइपर पनि निर्वासित भएर लण्डन आएका व्यक्ति थिए । केहिदिन मार्क्सको निजी सचिव भएर उनले मार्क्सवादी अध्ययन समाज पनि गठन गरेका थिए । मार्क्सका पुँजीका वाक्यांशहरु रटेर उनले आफूलाई सबैभन्दा मार्क्सवादी भएको दाबी गर्दथे । कसैले आलोचनात्मक तरिकाले प्रश्न गर्‍याे भने आफूलाई एकदम कट्टररुपमा प्रस्तुत गर्थे । तर, अवसर र व्यक्तिगत स्वार्थ हुने देखेपछि कम्युनिष्टविरोधी खेमा तथा सत्तामा पुगेर गुण्डागर्दी मच्चाउँथे । यसप्रकारका चाप्लुस तथा अवसरवादी पात्रहरुले मजदुर आन्दोलन अझ सय बर्ष पछाडि धकेलिने मार्क्सको चिन्ता थियो ।

मार्क्सले भनेजस्तै पेइपर केही बर्षपछि सामाजवाद विरोधी बन्न पुग्छन् । मार्क्स फर्किए नाटकमा पेइपरजस्ता पात्रहरुको नकारात्मक पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।

नाटकमा मार्क्सलाई क्रिसमस मनाउँदै गरेको पनि देखाइएको छ । एकातिर धर्मलाई अफिम भन्ने, अर्कोतिर क्रिसमस मनाउने, अन्तरविरोधपूर्ण भएन र ? तर, नाटकमा मार्क्सले यो भनाइलाई एकपक्षीय रुपमा मात्र नबुझ्न भनेका छन् ।

धर्म अफिम भन्ने धारणालाई प्रष्टाउँदै उनी भन्छन्, धर्म, मनुश्यको दुःख, पीडा र प्रतिशोधको अभिव्यक्ति हो । निर्दयी विश्वको हृदय हो । निष्प्राण परिस्थितिको प्राण हो । अनि उनी भन्छन्, निश्तिरुपमा अफिम कुनै समाधान होइन, तर त्यसले केही राहत त दिन्छ । मलाई त कमसेकम मेरो पीलोको पीडा भन्दा केही बढी नै राहत पुगेको छ नै । के हाम्रो संसार, पीलोको शिकार छैन ? धर्मलाई पनि एकहोरो प्रकारले होइन कि समग्रतामा बुझ्न आग्रह गरिएको छ ।
सन् १८६४ मा सेन मार्टिनको हलमा प्रथम अन्तराष्ट्रियमा मार्क्सको सम्बोधनलाई नाटकमा प्रस्तुत गरिएको छ । दुई हजारभन्दा बढी मानिसहरुले भरिएको सो हल, जहाँ जेनीको सहभागितासमेत रहेको हुन्छ, मार्क्सले, मजदुरमाथि पक्षपातपूर्ण व्यवहार गर्ने सम्पूर्ण विदेश नीतिको विरोध गर्न आह्वान गर्छन् । सोही हलमा उनले संसारभरिका मजदूरहरुलाई एक हुन आह्वान गर्छन् ।

मार्क्सको समयमा श्रमजीवी जनताले एउटा महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि प्राप्त गरे, त्यो हो पेरिस कम्युन । श्रमजीवी जनताको सशक्त एकताले नै त्यो उपलब्धि प्राप्त भएको थियो । दुई महिनासम्म चलेको त्यो कम्युनले श्रमजीवी जनताका पक्षमा धेरै नै कामहरु गर्‍याे । स–साना गाऊँहरुमा कम्युनहरु बनिसकेका थिए । जनताका सबै फैसलाहरु ती कम्युनले नै गर्थे । इतिहासमा पहिलोचोटि मजदुरहरुको पक्षमा कानुनहरु बन्न थाले । उनीहरु साहुको ठूलो ऋणबाट मुक्त भए, कामको घण्टा घटाइयो, ज्याला बढाइयो । अमेरिका र इंग्ल्याण्डमा पनि महिलाले शिक्षाको अधिकार पाएका थिएनन्, तर पेरिसमा पहिलोचोटि महिलाले शिक्षाको अधिकार पाए । बालबालिकाहरुलाई पुँजीवादी समाजको कारिन्दा बनाउनका लागि होइन, सत्य र न्यायका बारेमा शिक्षा दिन शुरु गरियो ।

श्रमजीवी वर्गको त्यो सत्ताले नेपोलियन बोनापार्टको मूर्तिलाई तोड्दै स्वतन्त्रताको झण्डा फहरायो । त्यो झण्डा कुनै एउटा व्यक्ति वा कुनै एक देशको झण्डा थिएन, संसारभरिका श्रमजीवी जनताको पहिलो जितको झण्डा थियो । त्यो ऐतिहासिक परिवर्तनको दिन थियो ।

तर, अन्त्यमा गणतान्त्रिक सेनाले कम्युनका नेताहरुमाथि दमन शुरु गर्‍याे । लगभग ३० हजार मानिसहरुको निर्मम प्रकारले हत्या गरियो । यसरी पहिलो समाजवादी सत्ताको अन्त्य भयो ।

पेरिस कम्युनको विषयवस्तुलाई मार्क्स फर्किए नाटकमा केही हदसम्म भए पनि कलात्मक प्रकारले प्रस्तुत परिएको छ । वास्तवमा पेरिस कम्युन असफल हुनुको कारण सर्वहारा वर्गको अधिनायकत्वलाई बुझ्न नसक्दा नै हो । नाटकमा यो तथ्यलाई अझ स्पष्ट पारिनु पर्दथ्यो ।

मार्क्स र बाकुनिनबीचको सैद्धान्तिक अन्तरविरोधलाई निकै कलात्मक प्रकारले प्रस्तुत गरिएको छ । नाटकमा बाकुनिनको अभियन पक्ष निकै सशक्त छ । रुसी मूलका मिखाइल बाकुनिनले मार्क्स र एंगेल्सलाई बुर्जुवा ठान्दथे । मार्क्सले सत्ता परिवर्तनपछि पुरानो सत्ताको गर्भबाट नै नयाँ सत्ताको विकास गर्नुपर्ने ठान्दथे । तर, बाकुनिनलाई त्यो विचार स्वीकार्य थिएन । उनी नयाँ सत्तालाई एकदमै नयाँ ढंगले विकास गर्नुपर्ने अति क्रान्तिकारी धारणा राख्थे ।

बाकुनिन पटक–पटक जेल परे । उनलाई साइबेरिया पठाइयो । तर, त्यहाँबाट पनि भाग्न सफल भए । पेरिस कम्युनताका बाकुनिनबारे एउटा प्रख्यात भनाइ थियो– क्रान्तिको पहिलो दिन बाकुनिन एउटा सम्पति हो । तर, दोस्रो दिन उसलाई गोली ठोक्नुपर्छ ।

बाकुनिनका सैद्धान्तिक रुपमा केही कमी कमजोरी होलान् । तर, उनलाई नाटकमा मादक पदार्थ खाएर मार्क्ससित बहस गरेको देखाउनु उनीप्रति अन्याय हो जस्तो लाग्छ । नाटकमा मार्क्स र बाकुनिन मादक पदार्थ खाएर बहस गर्दै भकुरा–भकुर गरिरहेको दृश्य छ, त्यो दृश्य सुहाएको छैन ।

नाटकमा सर्वहारा वर्गको अधिनाकत्वको कुरा उठाइएको छ । यो कुनै पार्टीको, व्यक्तिको अधिनायकत्व होइन । यसप्रकारको अधिनायकत्व जसले नयाँ समाज निर्माणको दिशामा आधार तयार पार्दछ । तर, बाकुनिन यो विचारप्रति सहमत थिएनन् । क्रान्ति विरोधीहरुलाई ठोकिहाल्ने, सिध्याइहाल्ने अति क्रान्तिकारी विचार राख्थे उनी ।

मार्क्सको कष्टप्रद व्यक्तिगत जीवनलाई नाटकमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । जर्मनमा राइन जाइटुङ पत्रिकामा सम्पादक थिए मार्क्स । आम मानिसका यथार्थपरक जिविकालाई उनले समाचारको विषय बनाउँथे । तर, जर्मन सरकारलाई त्यो सैह्य भएन । सरकारी अत्याचारसित सम्झौता नगर्दा उनी विद्रोही बन्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि उनी पेरिस गए । उनका विचार सहन नसक्ने सरकारले उनलाई पेरिस र पछि बेल्जियमबाट पनि निर्वासित हुन बाध्य पारियो ।

नाटकमा मार्क्स भन्छन्, अन्तराष्ट्रियतावादी चेतना मजदूर भन्दा पुलिसमा आइसकेको थियो । अन्तमा मार्क्स लण्डनको सोहो बस्तीमा पुग्दछन् । जेनी र दुई छोरीहरुका साथ त्यहाँ पुगेका मार्क्सका पछि चार सन्तान जन्मिए । तर, गरीबी र अभावका कारण एकपछि अन्य सन्तानहरुको अकालमा मृत्यु हुँदै गयो । मार्क्सको जीवनका यी कष्टप्रद अवस्थालाई नाटकमा समेट्ने प्रयास गरिएको छ ।

धनी परिवारकी छोरी भए पनि जेनीले मार्क्सलाई जीवनको अन्तिम घडीसम्म साथ दिइरहिन् । मार्क्स लेखिरहन्थे । उनका अक्षर राम्रा थिएन्न, उनको लेखाइलाई फेरि सार्ने कार्य जेनीले गर्दथिन् ।

कतिपय अवस्थामा मार्क्स र जेनिका बीचमा खटपट पनि हुने गर्दथ्यो । एकपटक जेनीले मार्क्सको मनपर्ने पुस्तक रिकार्डोलाई नै बन्धकी राखिदिइन् । त्यो घटनाले मार्क्सलाई तनाव भयो र जेनीसित झगडा भयो ।

मार्क्सको लेखन बढी सैद्धान्तिक भयो, यसलाई आम श्रमजीवी जनताले बुझ्ने गरी लेख्नुपर्ने जेनीको सुझाव हुन्थ्यो । पुँजी तथा अतिरिक्त मूल्यको सिद्धान्त आदिलाई सहज भाषामा जनताका बीचमा लैजानुपर्ने जेनीको तर्क हुन्थ्यो ।

मार्क्स फर्किए नाटकमा मार्क्स र जेनीबीचको झगडालाई कतिपय नकारात्मक ढंगले पनि प्रस्तुत गरिएको छ । बच्चाको स्याहार सुसारका लागि बसेकी लेञ्चेनलाई मार्क्सले नराम्रो दृष्टिकोणले हेरे भनेर जेनीसित खटपट भएको पनि देखाइएको छ । यो दृश्य नाटकमा प्रस्तुत गरिनु आवश्यक थिएन ।

हामीले मार्क्सलाई भगवानका रुपमा बुझ्ने होइन । किनभने, भगवानको अस्तित्वलाई स्वीकार गर्नेहरुले त्यहाँभित्र केही कमजोरी नै देख्दैनन् । त्यहाँभित्र प्रश्न पनि गर्न पाइँदैन । तर, मानिस कमी कमजोरीसहितको हुन्छ । मार्क्स पनि ती विभिन्न मानवमध्येका एक हुन् । उनको व्यक्तिगत जीवनमा केही कमी कमजोरी थिए होलान् । तर, हामीले बुझ्ने भनेको मार्क्स र एंगेल्सको मार्क्सवादलाई हो । हामीले बुझ्ने भनेको मार्क्सवादभित्रको दर्शन, इतिहास, अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रलाई हो ।

इतिहासको हरेक कालखण्डमा मार्क्सवादले आपूmलाई खरो रुपमा उभ्याउन सफल भएकाले यसलाई हामीले विज्ञानका रुपमा बुझ्ने हो ।

समाजवादको रक्षाको सन्दर्भमा स्टालीनको महत्वपूर्ण भूमिका थियो । तर, त्यसलाई सांकेतिकरुपमा नाटकमा नकारात्मक ढंगले प्रस्तुत गरिएको छ । जस्तो कि– नाटकका मार्क्सले एकचोटि प्रश्न गर्दछन्, आफ्ना साथीहरुलाई हत्या गर्नु के यही हो साम्यवाद ?

मेरो बुझाइअनुसार यो प्रश्न स्टालिनलाई गरिएको होला । तर, वास्तवमा विश्व कम्युनिष्ट आन्दोलनमा स्टालिनको महत्वपूर्ण योगदान छ । उनका बारेमा नकारात्मक हल्ला बढी फैलाएर चरित्र हत्या गर्न खोजेको पाइन्छ । जर्मन फासीवादलाई परास्त गर्न संयुक्त मोर्चाको नीतिका साथ स्टालिनको भूमिकालाई हामीले विशेष महत्व दिनुपर्ने हुन्छ ।

नाटकमा एंगेल्सको केही बढी भूमिका हुनुपर्दथ्यो । मार्क्सवादलाई उचाइमा पुर्‍याउन एंगेल्सको पनि समान भूमिका छ । उनी मार्क्सलाई आर्थिक सहयोग गर्ने पात्र मात्र होइनन् । यद्यपि मार्क्सको मृत्युपछि एंगेल्सको सम्बोधन नाटकमा देखाइएको छ । तर, हामीले एंगेल्सलाई बुझेको भनेको सिंगो मार्क्सवादको दार्शनिक, सैद्धान्तिक, सामाजिक, आर्थिक विश्लेषणमा उनको मार्क्सजतिकै समान भूमिका छ ।

एंगेल्स, म्यानचेष्टरमा बस्ने, तर नाटकका दृश्यहरु सोहो बस्तीको भएकाले उनको सो बस्तीमा गतिविधि कम भएको हो कि भनेर पनि अनुमान गर्न सकिन्छ ।

सोभियत सत्ताको विघटन पछि पुँजीवादीहरुले खुशीयाली मनाइरहेको सन्दर्भमा इतिहासकार तथा अर्थशास्त्री हावर्ड जीनले ‘मार्क्स इन सोहो’ भनेर नाटक लेखे । नाटकको कथाअनुसार मार्क्स, लण्डनको सोहो बस्तीमा फर्किन चाहन्थे । तर, भाषिक अज्ञानताले उनी नेपालको एक नाटक मञ्चन भैरहेको हलमा पुग्दछन् ।

नाटकका निर्देशक प्रवीण खतिवडाको प्रश्न हुन्छ– ‘तपाई मार्क्स मरिसक्नुभएको होइन र ?’ निर्देशकको प्रश्नमा मार्क्स बनेका सुनील पोख्रेलको जवाफ हुन्छ, ‘अँ म मरेकै हँु, तर म जिउँदै पनि छु । यो तपाईहरुका लागि द्वन्द्ववाद हो ।’

कार्ल मार्क्स द्विशतबार्षिकीले मार्क्सवादसम्बन्धी विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । अबको उसको लक्ष्य भनेको १० हजार युवालाई मार्क्सवाद पढाउने हो । पढाउनका लागि चाहिने पाठ्यपुस्तक प्रकाशन तयारीको अवस्थामा छ । आर्थिक संकलन हुने, साथै मार्क्सका विविध पाटाहरुलाई बुझ्न सहयोग पनि हुने उद्देश्यका साथ तीन–तीनसम्म मार्क्स फर्किए नाटक देखाइयो ।

नाटकमा जस्तो देखाइयो, मार्क्सलाई त्यसरी नै बुझ्नुपर्दछ भन्ने छैन । तर, मार्क्सबारे थप अध्ययन र अनुसन्धान गर्न यो नाटकले थुप्रै प्रश्नहरु निर्माण गरेको त छ नै, हावर्ड जीनको बुझाइअनुसार मार्क्स इन सोहो लेखियो, नेपालमा कोमल भट्टराईले त्यसलाई नेपालीमा अनुवाद गर्नुभयो । गुरुकुलका कलाकारहरुले केही थपघट गर्दै नाटक मञ्चन गरियो होला ।

तर, पनि नेपालको नाट्य क्षेत्रमा थुप्रै बुर्जुवा नाटकहरुको हालीमुहाली भैरहेको अवस्थामा यसले महत्वपूर्ण एवं सकारात्मक सन्देश त दिएको छ । मार्क्स फर्किए नाटकलाई हामीले यसरी नै बुझ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *