युगदर्शनको अन्तरवार्ताबारे स्पष्टिकरण

101 जनाले पढ्नु भयो ।

मोहन विक्रम सिंह

१) युगदर्शनमा प्रकाशित मेरो अन्तरवार्ताबारे का. रामसिंह श्रीसले लेखेको लेख मैले पढेँ । त्यो लेखमा उहाँले मैले बिर्सेका वा मलाई भ्रम भएका कतिपय विषयहरु स्पष्ट गर्नु भएको छ । त्यसको लागि मैले उहाँलाई धन्यवाद दिन्छु ।

२) इतिहाससित सम्बन्धित तथ्यहरुलाई हामीले यथार्थ रुपमा नै प्रस्तुत गर्ने प्रयत्न गर्नुपर्छ र त्यसलाई कुनैपनि प्रकारले तोडमोड गर्नु सही हुँदैन । छलफलको दौरानमा अस्पष्ट भएका या भ्रममा परेका कतिपय तथ्यहरु सही रुपमा अगाडि आउँछन् भने त्यसलाई हामीले स्वागत गर्नुपर्दछ । इतिहाससित सम्बन्धित कुनै पनि विषयलाई हामीले व्यक्तिगत प्रतिष्ठाको विषय बनाउनु हुँदैन । व्यक्तिगत प्रतिष्ठाको कारणले कुनै तथ्यलाई लुकाउने वा तोडमोड गर्ने प्रयत्न गरेमा इतिहासले क्षमा दिने छैन ।

३) श्रीसले उठाएका प्रश्नहरुमा मैले कयौँ पुराना सम्बन्धित साथीहरुसँग पनि सोधपुछ गरेर तथ्यलाई पत्ता लगाउने प्रयत्न गरेको छु र त्यस अनुसार तल स्पष्ट पार्ने प्रयत्न गरेको छु । तैपनि अँझै कुनै तथ्य स्पष्ट हुन नसकेको भएमा प्राप्त जानकारीका आधारमा अरु प्रकाश हाल्ने मेरो प्रयत्न हुनेछ ।

निर्मल लामासँगको फुटले पार्टीलाई गम्भीर क्षति पुर्‍यायोः सिंह (अन्तर्वार्ता)

४) का.जयगोविन्द शाह र का. प्रचण्डबारे मैले लेखेको कुरा फरक परेको छ । मलाई पुरानो कुरा राम्ररी याद नहुँदा त्यस प्रकारको कमजोरी हुन गएको छ । गोरखपुरमा २०४० सालमा भएको सम्मेलनमा शाहलाई केन्द्रीय संगठन समितिमा नराखिएको कुरा सत्य हो । प्रचण्ड पाँचौ महाधिवेशनमा नै प्रथम पल्ट केन्द्रीय समितिमा आएको कुरा सत्य हो तर गोरखपुरको सम्मेलनमा, श्रीसले भने जस्तो केन्द्रीय समितिको गठन गरिएको थिएन र का. चित्र बहादुर केसीको नेतृत्वमा केन्द्रीय संगठन समितिको गठन गरिएको थियो । त्यसमा प्रचण्ड सामेल हुनु भएको थियो।

५) मध्यपन्थी कमजोरीबारे भएको छलफलबारे श्रीसले लेख्नु भएको छ : “मेरो मत निर्णायक भएको कुरा केन्द्रीय समितिमा हो कि महाधिवेशन हलमा हो त्यो प्रष्ट छैन ।” उहाँले महाधिवेशनमा भएको मतको तथ्याङ्क उल्लेख गर्नु भएको छ तर मैले प्रस्तुत गर्न खोजेको विषय महाधिवेशनसित सम्बन्धित नभएर केन्द्रीय समितिसित नै सम्बन्धित छ । केन्द्रीय समितिमा मध्यपन्थी कमजोरी भएको छ भन्ने बारे बहुमत थियो । का. भक्त बहादुर आएपछि मत बराबर भयो । त्यो बेलासम्म श्रीस मध्यपन्थी कमजोरी भएको छ भन्ने पक्षमा नै हुनुहुन्थ्यो । तर पछि उहाँले मत परिवर्तन गरेपछि हामी अल्पमतमा प¥यौँ । केन्द्रीय समितिमा मध्यपन्थी कमजोरी छैन भन्ने पक्षमा बहुमत भएपछि महाधिवेशनमा त्यसको असर प¥यो । तर त्यो पछिको कुरा हो । मुख्य निर्णयात्मक महत्वको कुरा केन्द्रीय समितिको मतदान नै थियो र श्रीसको मत परिवर्तनले नै हाम्रो पक्ष अल्पमतमा परेको थियो ।

६) श्रीसले स्वयम् स्वीकार गर्नु भएको छ : “छलफलको क्रममा पार्टीमा मध्यपन्थी प्रवृत्ति छैन भन्ने पक्षमा मैले आफ्ना धारणाहरु राखें ।” उहाँले आफ्नो त्यसप्रकारको धारणा पहिले होइन, पछि मत परिवर्तन गरेर राख्नुभएको थियो । उहाँको त्यस प्रकारको मत परिवर्तनले नै केन्द्रीय समितिमा भएको त्यो बहुमतको असर महाधिवेशनमा पनि परेको थियो ।

७) श्रीसले अन्तरवार्ताको मेरो भनाइलाई उदृत गर्दै लेख्नुभएको छ : “त्यो फुट लामाजी र म दुबै जना केन्द्रीय समितिमा नभएको बेलामा भएको” भन्नु भएको छ । मेरो यो भनाइलाई उहाँले खण्डन गर्नु भएको छ । तर मेरो त्यो भनाइमा सत्यता छ । उहाँले पछि सम्मेलनमा भएको का. लामा समेतमाथिको अनुशासनको कारबाही उल्लेख गर्नु भएको छ । तर त्यो पछि विकसित भएको घटनाक्रम थियो । त्यो विवादको प्रारम्भ केन्द्रीय समितिमा नै भएको थियो । केन्द्रीय समितिका केही साथीहरुले राजीनामा दिएर केन्द्रीय समितिलाई विघटन गराउने प्रयत्न गरेको कारणले नै त्यो बेलाको अप्रिय स्थिति उत्पन्न भएको थियो । त्यो बेलाको केन्द्रीय समितिका सदस्यहरुको राजीनामा सार्वजनिक गरिएको थियो र त्यो पुस्तिकाको रुपमा पनि प्रकाशित भएको थियो । त्यसले गर्दा नै सम्मेलन गर्नु आवश्यक भएको थियो । त्यो बेलाको केन्द्रीय समितिमा का. निर्मल लामा र म दुबै जना नभएको कुरा श्रीसले स्वयम् स्वीकार गर्नु भएको छ ।

८) उहाँको लेखमा भनिएको छ : “आफ्ना फरक विचार तल लैजाने क्रममा क. निर्मल लामाले पार्टीको गोपनीयता भंग गरेको आरोपमा उहाँलाई केन्द्रीय समितिबाट हटाएर सेल कमिटीमा राखियो ।……….. मोहन विक्रम सिंहलाई अर्काे सांस्कृतिक केशमा कारबाही गरियो र उहाँलाई पनि केन्द्रीय समितिबाट हटाएर सेल कमिटीमा राखियो ।” त्यसरी त्यो बेला हामी दुवै जना केन्द्रीय समितिमा नभएको कुरा उहाँले स्वयम् स्वीकार गर्नु भएको छ । त्यही बेला नै चौथो महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिलाई विघटन गर्नको लागि के.स.का केही साथीहरुद्वारा राजीनामा दिने काम गरियो र त्यसले नै फुटका लागि पृष्ठभूमि तयार पा¥यो । केन्द्रीय समितिको त्यो राजीनामा प्रकरणमा, जो फुटको मुख्य कारण बन्यो, लामाजी र म दुवै जना सामेल थिएनौँ । त्यो राजीनामा प्रकरणको लागि को जिम्मेवार थियो ? कुन कारणले त्यस प्रकारको स्थितिको सिर्जना भएको थियो ? म त्यो घटनाक्रमसित सम्बन्धित नभएको हुनाले त्यसबारे केही भन्न सक्ने स्थितिमा छैन । संभवतः पछि त्यस सम्बन्धी तथ्यहरु बाहिर आउनेछन् र आउनु पनि पर्दछ ।

९) उपरोक्त प्रकारको पृष्ठभूमिमा नै गोरखपुर सम्मेलन भएको थियो । केन्द्रीय समितिका सदस्यहरुले राजीनामा दिएर त्यसलाई सार्वजनिक गर्नु एउटा भूमिगत पार्टीका लागि गम्भीर प्रकारको अनुशासनको उल्लंघन थियो र त्यसकारण त्यो सम्मेलनको मुख्य विषय त्यस प्रकारका गल्तीका लागि अनुशासनको कारबाही गर्नु नै थियो । मैले आफ्नो अन्तरवार्तामा यो कुरा स्पष्ट गरेको छु कि लामाजीले पनि त्यस प्रकारको अनुशासनको उल्लंघन गर्ने साथीहरुको पक्ष लिएको हुनाले नै उहाँमाथि कारवाही गरिएको थियो । तैपनि त्यो एउटा सैद्धान्तिक र राजनीतिक विषय थिएन । त्यो एउटा टेक्निकल विषय थियो । जुन प्रकारको स्थितिको सिर्जना भएर हामीले लामाजी समेतका विरुद्ध कारबाही गर्नु प¥यो, त्यसबाट पार्टीलाई धेरै नोक्सान पुगेको कुरा सत्य हो तर त्यसका लागि को कति जिम्मेवार छ ? केही साथीहरुले राजीनामा दिएर केन्द्रीय समितिलाई भंग गराउने प्रयत्न गर्नु र त्यो राजीनामालाई सार्वजनिक गर्नुले नै त्यो फुटको स्थिति उत्पन्न भएको थियो वा त्यस प्रकारको गल्तीका लागि कारवाही गरेकोले त्यो स्थिति उत्पन्न भएको थियो – दुवै मध्ये कुन पक्ष फुटका लागि प्रधान रुपले जिम्मेवार थियो ? त्यो इतिहासको मुल्यांकनको विषय हुन सक्दछ ।

१०) श्रीसले स्वयम् लेख्नु भएको छ : “आफ्नो फरक विचार तल लैजाने क्रममा लामाजीले पार्टीको गोप्यता भंग गरेको हुनाले उहाँलाई केन्द्रीय समितिबाट हटाएर सेलमा राखिएको थियो । लामाजी जस्तो शिर्षस्थ नेतालाई पनि पार्टीको गोप्यता भङ्ग गरेको हुनाले केन्द्रीय समितिबाट हटाएर सेलमा राखिएको कुराबाट एउटा माक्र्सवादी–लेनिनवादी पार्टीमा अनुशासन कति कडा हुन्छ, त्यो कुरा प्रष्ट हुन्छ । श्रीसले न्युक्लसको समयमा मनमोहन अधिकारीले पार्टीको गोप्यतालाई सार्वजनिक गरेकाले उहाँलाई पार्टीबाट निस्कासित गरेको कुराको पनि उल्लेख गर्नु भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा चौथो केन्द्रीय समितिबाट सामूहिक राजीनामा दिएर त्यो राजीनामालाई सार्वजनिक गर्ने केन्द्रीय सदस्यहरुका विरुद्ध कारबाहीको विरोध गरेकाले लामाजीमाथि गरिएको कारबाही पनि पार्टीको परम्परा र अभ्यास अन्तर्गत नै थियो । त्यस प्रकारको घटनाक्रम, जसले पार्टीलाई फुटको अवस्थामा पु-यायो, को पछाडिको मूल कारण चौथो केन्द्रीय समितिलाई भङ्ग गर्ने प्रयत्न नै थियो । त्यो कार्य किन गरिएको थियो र त्यसका लागि को जिम्मेवार थियो ? त्यो प्रश्न अनुत्तरित नै छ ।

११) श्रीसले लेख्नु भएको छ : “त्यही अन्तरवार्तामा उहाँले मनमोहनको बारेमा भन्नु भएको छ, ‘तर मनमोहन पछिसम्म सहमतिमा आउनु भएन । उहाँ नेपाली काँग्रेस सम्बन्धी पुरानै अडानमा कायम रहनु भयो । तैपनि चौथो महाधिवेशनमा गएर त्यो समझ्दारीबारे टुङ्गो लगाउने समझदारी भयो ।” नेपाली काँग्रेस सम्बन्धी पुरानै अडानमा कायम रहनुभएको, उहाँकै भनाइ अनुसार नेकालाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र त्यसकारण जनतान्त्रिक शक्ति तथा मित्र शक्ति मान्ने गरेको ।’ उहाँकै भनाइबाट नै के प्रष्ट देखिन्छ भने, “नेपाली काँग्रेसप्रति एउटै दृष्टिकोण अपनाउने का. पुष्पलाललाई गद्दार भन्नु भयो भने का. मनमोहनजीलाई केन्द्रीय न्यूक्लसमा राख्नुभयो । का. मनमोहन अधिकारीलाई त्यही दृष्टिकोणका कारणले न्यूक्लसबाट हटाइएको होइन, गोपनीयता भंग गरेको कारणले हटाइएको भनिन्छ । उहाँहरुको यो व्यवहारले कामरेड पुष्पलालमाथि अन्याय गरेको प्रष्टै देखिन्छ ।”

१२) कामरेड श्रीसले जस्तो लेख्नु भयो, कुरा त्यस्तो होइन । मेरो अन्तरवार्तामा यो कुरा स्पष्ट लेखिएको छ कि का. पुष्पलालसित पनि पार्टी एकताको लागि पहल गरिएको थियो । त्यसका लागि पुष्पलाललाई सहमत गराउन न्यूक्लसका तर्फबाट शम्भुराम बिहारको फरमेसगञ्ज र मनमोहन बनारस जानु भएको थियो । उहाँ सहमत नभएको हुनाले नै उहाँसित पार्टी एकता हुन सकेको थिएन । त्यसकारण मनमोहनलाई न्यूक्लसमा राख्ने र पुष्पलाललाई अलग्याउने जस्तो कुनै नीति अपनाइएको थिएन र पुष्पलाल आफ्नै असहमतिका कारणले हामीबाट बेग्लै हुनुभएको थियो ।

१३) पुष्पलाललाई गद्दार भन्ने आरोपलाई फिर्ता लिएको कुन बेलाको बैठक, भेला वा सम्मेलनले हो ? अहिले मलाई त्यो मितिको सम्झना छैन । त्यसका लागि पुराना कागजपत्र वा दस्तावेजहरु हेर्नुपर्ने छ तर मुख्य छलफलको विषय त्यो होइन । श्रीसले उठाएको विषय यो होः आफ्नो अन्तवार्तामा उहाँले (एमबीले) यो पनि भन्नु भएको छ, ‘त्यो बेला हाम्रो नीति वाममोर्चामा पनि सामेल हुने थियो तर वाममोर्चाकी अध्यक्ष साहना प्रधानले हामीले पहिले पुष्पलालालाई गद्दार भनेको हुनाले हामीलाई त्यसमा मिलाउन तयार नभएपछि हामी वाममोर्चामा सामेल हुन सकेनौँ ।’ उहाँले मेरो जुन भनाइ उधृत गर्नुभएको छ । त्यसमा सत्यता छ । त्यो बेला नेकासित पनि सहकार्य गर्ने हाम्रो नीति थियो भने, वाममोर्चामा सामेल नहुने नीति अपनाउने भन्ने प्रश्न नै उठ्दैनथ्यो । तर साहना प्रधानको कारणले नै त्यसमा हामी सामेल हुन सकेका थिएनौँ । तैपनि त्यो बेला हामीले वाममोर्चा र नेकासित सहकार्य गर्ने नीति अपनाएका थियौँ ।

१४) त्यो बेला भारतको सीपीएमले सोभियत संशोधनवादको विरोध गरेको थियो र नयाँ जनवादी क्रान्तिलाई पनि समर्थन गरेको थियो । तर त्यसो गर्दागर्दै पनि त्यसले रुस र चीनका पार्टीहरुका बिचमा चलेको तिव्र सङ्घर्षमा अंशतः मध्यमार्गी र नरम नीति अपनाएको थियो । त्यसको असर पीएलमा पनि परेको थियो ।

१५) श्रीसले यो पनि भन्नु भएको छ, पुष्पलाललाई गद्दार ठान्ने सोचाइलाई फिर्ता गर्ने प्रस्ताव आउँदा एमवी रिजर्भ बस्नुभएको थियो । उहाँको त्यो भनाइ साँचो हो । का. चित्रबहादुर केसीले पुष्पलाललाई गद्दार मान्ने सोचाइलाई फिर्ता गर्ने प्रस्ताव ल्याउनु भएको थियो र त्यसमा मेरो रिजर्भेसन थियो । तर पाटीले त्यसबारे जुन निर्णय गरेको थियो, त्यसलाई मैले समर्थन गरेको थिएँ ।

१६) एकताकेन्द्रलाई पार्टीको कुन बैठकले के व्याख्या ग-यो र कुन बैठकले त्योसित पार्टी एकता गर्ने निर्णय ग-यो, ती तपशिलका कुरा हुन् । मुख्य कुरा के हो भने हाम्रो पार्टीले त्यसलाई माक्र्सवादी–लेनिनवादी बताएर त्योसित पार्टी एकता गर्ने निर्णय गरेको थियो र पार्टी एकता पनि भएको थियो । वास्तविकता त्यो हो । तर हाम्रो एकताको त्यो प्रयत्न सफल भएन । सफल नभएको मात्र होइन, त्यो एकताको क्रममा हाम्रो पार्टीको एउटा पक्ष श्रीसको नेतृत्वमा हामीबाट अलग भएर गयो । एकताकेन्द्रसितको एकताबाट हामीलाई पुगेको सबैभन्दा ठुलो क्षति त्यही थियो । समग्र रुपमा भन्नुपर्दा एकताकेन्द्रसितको एकताको क्रममा हाम्रो पार्टीको करिब ८-९ वर्षको समय खेर गयो । पहिलेको करिब ४ वर्ष एकता वार्तामा बित्यो र पछि पार्टी एकता भएपछिको करिब ४ वर्ष अन्तरसंघर्षमा नै बित्यो ।

१७) जस्तो कि मैले शुरुमा नै स्पष्ट गरेको छु, गएको समयका कतिपय घटनाहरुबारे सही तथ्य पत्ता लगाउन मैले सम्बन्धित पुराना साथीहरुसँग कुराकानी गरेको थिएँ । त्यसबाट सम्बन्धित कैयौँ तथ्यहरुको वास्तविकताबारे मलाई थाहा हुन गएको छ र यहाँ मैले ती फरक परेका विषयहरुलाई सच्याउने प्रयत्न गर्ने छु ।

१८) केन्द्रीय कमिटीमा महामन्त्रीबाट सरकारमा जाने प्रस्तावका विरुद्ध र सह–महामन्त्रीबाट अन्तरिम सरकारमा सामेल हुने प्रस्ताव सहित दुईवटा प्रस्ताव आएका थिए । का. नवराज सुवेदीसमेतबाट पनि सह–महामन्त्रीको प्रस्तावलाई समर्थन गर्ने प्रकारको प्रस्ताव आएको थियो । त्यो प्रस्तावलाई सह–महामन्त्रीले समर्थन गरेपछि त्यसको पक्षमा बहुमत भएको कुरा सत्य हो । त्यो बेला श्रीस समेतले त्यो प्रस्तावका विरुद्ध मत दिएको कुरा पनि सत्य हो । तर त्योसँग जोडिएको अर्काे वास्तविकतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । स्वयम् श्रीसले स्वीकार गर्नुभएको छ, एकातिर मसाल पक्ष र अर्कातिर एकताकेन्द्र पक्षका बिचमा तिव्र संघर्ष चलेको बेलामा श्रीसको नेतृत्वमा एउटा तेश्रो धारको निर्माण भयो । जसले पार्टीभित्र त्यो बेला चलेको दुई लाइनको संघर्षमा मसालको पक्षलाई कमजोर पार्ने काम गरेको थियो ।

१९) यो कुरा पछि आम रुपमा थाहा भएको कुरा हो कि प्रकाश पक्षको हामीसँग पार्टी एकताको प्रयत्नको पछाडि मसाललाई माओवादीमा लैजाने उद्देश्यले नै काम गरेको थियो । त्यो कुरा थाहा भएपछि हामीले एकताकेन्द्रसितको सम्बन्ध तोडेर मसालको पुनस्र्थापना गर्ने विचार गर्न थालेका थियौँ । तर हाम्रो त्यो प्रयत्नलाई श्रीसहरुले पार्टीमा फुट पार्ने प्रयत्न भनेर विरोध गर्नु भएको थियो । त्यसको अर्थ यो हो, उहाँको जोड एकताकेन्द्रसितको एकता कायम गर्नुपर्छ भन्ने कुरामा थियो । केन्द्रीय समितिमा दुबै पक्षका बराबर सदस्यहरु भएको अवस्थामा मसाल पक्षका नै श्रीसको नेतृत्वमा बनेको कथित तेश्रो धारले मसाललाई कति धेरै क्षति पुगेको थियो । त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।

२०) श्रीसले लेख्नु भएको छ : “नेकपा (एकताकेन्द्र) सँग पार्टी एकता गरेर नेकपा (एकता केन्द्र–मसाल) बनाएपछि क. मोहनजी र क. चित्रबहादुर केसीले प्रकाशहरु सँगसँगै जान सकिन्न, हामीले पुर्व मसाललाई पुनर्गठन गरौँ भन्नुभयो । म लगायत थुपै्र सीसीएम साथीहरु उहाँहरुको त्यो कुरामा सहमत भएनौँ । त्यसपछि काठमाडौँमा पूर्व मसाल पक्षको गोप्य भेला भयो । त्यो भेलामा म लगायत पूर्व मसाल पक्षका प्रायः सबै सीसीएमहरु उपस्थित थियौँ । तर भेलामा उहाँहरुले सोचे जस्तो भएन । क. चित्रबहादुर के.सी र हाउसबाट ३ जना जति प्रतिनिधि बाहेक सबैले अहिले पार्टी फुटाउन हुन्न भन्ने मत प्रकट गर्नु भयो । तर उहाँहरुको पार्टी फुटाउने योजना चलि नै रह्यो । त्यसपछि फेरि पार्टीलाई क्रान्तिकारी दिशामा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल चलाउनका लागि पूर्व मसाल पक्षको साथीहरुको अन्तरक्रियात्मक भेला गर्ने सहमति भयो । त्यो भेला गोरखपुरमा गर्ने निधो भयो । पूर्व निर्धारित समयमा गोरखपुरमा भेला भयो । त्यहाँ क. मोहनजीले पहिले अन्तरक्रियात्मक भेला गर्ने सहमति भएपनि अब परिस्थिति बेग्लै भएकोले राष्ट्रिय भेला नै गरौँ भन्ने प्रस्ताव हामी सीसीएमहरु बिच राख्नुभयो । म लगायत पूर्व मसालका ७ जना सीसीएमहरुले उहाँको त्यो प्रस्तावमा सहमति जनाएनौँ । त्यसपछि उहाँले हलमा जाऔँ, हलले जे भन्छ त्यही गरौँ भन्नु भयो । हामीले त्यो कुरालाई पनि मानेनौँ । हामीले पूर्व मसालको त्यो भेलामा सहभागी नहुने कुरा गर्यौं । तैपनि यी–यी कारणहरुले गर्दा हामीले यो भेला बहिस्कार गर्यौं भन्ने जानकारी दिन हाउसमा जाने सल्लाह गर्यौं । हलमा हामीले आफ्ना कुराहरु राखेर भेला बहिस्कार गर्न त्यहाँ उपस्थित प्रतिनिधिहरुलाई आव्हन गर्यौं । हामी ७ जना सीसीएमहरु सहित ५५ जना साथीहरुले त्यो भेला बहिस्कार गर्यौं । …………. हामी……….काठमाण्डौँ फर्कियौँ । ………….. हाम्रो पक्षको राष्ट्रिय भेला गरी नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र–मसाल) महाधिवेशन आयोजक समिति गठन गर्यौं । त्यसको संयोजकमा म चुनिएँ अनि हामीले सिराहका वि.एल जीको समूहसित एकता गर्यौं । त्यसपछि हाम्रो पार्टी, का. ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा(माले) र का. सिताराम तामाङ्गले नेतृत्व गरेको नेकपा (मालेमा) को बिचमा एकता गरेर वि.सं. २०६३ साल फागुनमा नेपाल कम्युनिस्ट पार्टी(एकिकृत) निर्माण गर्यौं ।”

२१) श्रीसले माथि लेखेका सबै कुरा सत्य हुन् । त्यसबाट ३ वटा कुराहरु प्रष्ट हुन्छन् : प्रथम, नेकपा (मसाल) को पुनस्र्थापना गर्ने कुराको उहाँ विरोधमा हुनुहुन्थ्यो र एकताकेन्द्रसितको एकतालाई कायम राख्ने पक्षमा हुनुहुन्थ्यो । द्वितीय, हामीले मसाल लाई पुनस्र्थापना गर्ने विचार गरेपछि उहाँले मसाललाई नै फुटाउने नीति अपनाउनु भयो । तृतीय, मसाललाई फुटाएपछि उहाँले आफ्नो बेग्लै संगठनको निर्माण गर्नुभयो ।

२२) हाम्रो पार्टीको जुन सम्मेलनमा चुनावको बहिस्कार गर्ने निर्णय भयो, त्यसमा बाबुराम उपस्थित थिए वा थिएनन् । उनका पक्षका साथीहरुले बहिस्कारको पक्षमा भोट दिएका थिए वा उपयोगको पक्षमा ? त्यसबारे सम्बन्धित साथीहरुसँग बुझ्दा त्यो सम्मेलनमा बाबुराम नआएको भन्ने कुरा नै पुष्टि भयो । तर पछि उहाँसित मिलेर पार्टीबाट अलग भएर जाने साथीहरुले बहिस्कारको पक्षमा भोट दिएका थिए वा उपयोगको पक्षमा त्यसबारे हामीले साथीहरुलाई बुझ्दा बेग्लाबेग्लै मतहरु आएका छन् । त्यसबारे जे सत्य–तथ्य अगाडि आउनेछ, त्यसलाई हामीले स्वीकार गर्नेछौँ । तर त्यसबाट मुख्य राजनीतिक पक्षमा कुनै खास फरक आउँदैन ।

२३) श्रीसले कैयौँ गौण महत्वका तथ्यहरुमा बढी जोड दिनु भएको छ । ती प्रश्नहरुमा जस्तो कि मैले माथि स्पष्ट गरिसकेँ, मेरा कतिपय धारणाहरु गलत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । मैले माथि थाहा भएसम्मका कतिपय कमजोरीलाई सच्याउने पनि प्रयत्न गरेको छु । तर त्यसबाट मुख्य राजनीतिक पक्षमा कुनै फरक आउँदैन ।

२४) यो कुराको पहिले नै चर्चा भइसकेको छ कि पाँचौ महाधिवेशन भन्दा पहिले बसेको केन्द्रीय समितिमा पार्टीमा मध्यपन्थी अवसरवाद देखा प-यो कि परेन भन्ने विषयमा बराबर मत भएको बेलामा श्रीसले आफ्नो मतमा परिवर्तन गरेर मध्यपन्थी कमजोरी छैन भन्ने पक्षमा बहुमत बनाउन मदत गर्नु भएको थियो । त्यसबाट पाँचौ महाधिवेशन र त्यसपछिको राजनीतिमा पनि दीर्घकालिन असर पर्यो र त्यसका लागि उहाँ जिम्मेवार भएको कुरा प्रष्ट छ । एकताकेन्द्रसँग पार्टी एकता भएको बेलामा केन्द्रीय समितिमा दुबै पक्षको बराबर मत भएको बेलामा उहाँले पुनः मसालमा फुट पार्ने काम गर्नु भएको थियो । उहाँले आफुलाई पार्टीमा फुट पार्ने प्रयत्नका विरुद्ध भएको कुरा बताउनु भएको छ । तर त्यो कुरा स्वयम् उहाँको भनाइले बताउँछ, एकताकेन्द्रसित अलग हुने कुरासम्म मात्र सीमित थियो तर मसालमा फुट पार्ने विषयमा उहाँ पुरै कस्सिएर लाग्नु भएको थियो र अन्तमा आफ्नो बेग्लै संगठनको निर्माण गर्नुभएको थियो । त्यसरी उहाँले मसालको एउटा ठूलो पंक्तिलाई हामीबाट अलग गराउनु भएको थियो । त्यसरी एकताकेन्द्रसितको पार्टी एकताको क्रममा, पहिले पाँचौ महाधिवेशनको बेलामा जस्तै, उहाँको मध्यमार्गी भूमिकाबाट पार्टीलाई धेरै नै नोक्सान पुग्यो । यदि उहाँको नीति अनुसार हामीले नेकपा(मसाल)को पुनस्र्थापना गर्ने नीति नअपनाएको भए हाम्रो पार्टी पुरै नै माओवादीमा जाने सम्भावना थियो । त्यसको परिणामस्वरुप आज पुरै पार्टी जस्तो कि नेकपाको उदाहरणबाट प्रष्ट भएको छ, दक्षिणपन्थी दिशामा जाने सम्भावना हुन्थ्यो । श्रीसको भूमिकाका कारणले हाम्रो पार्टीलाई धेरै नोक्सान पुग्यो तर उहाँको मध्यमार्गी भूमिकाको विरोध गरेर प्रकाशको पुरै पार्टीलाई माओवादीमा सामेल गर्ने प्रकाशको षडयन्त्रबाट बच्न हामी सफल भयौँ । त्यो हाम्रो उपलव्धि थियो । यदि उहाँको एकताकेन्द्रसितको एकतालाई कायम राख्ने उहाँको नीति सफल हुन सकेको भए अहिले हाम्रो स्थिति के हुन्थ्यो होला ? त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *