“यो भैंसीले काल खोज्यो जान्छ भिरभिर”

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर के.सी.ले संचार क्षेत्रलाई नियन्त्रण गर्न खोजेर सरकारले आफ्नो काल आफैले निम्त्याइरहेको बताउनुभएको छ । “फ्रान्सको सम्राट नेपोलियनले एक चोटी भनेका थिए–मलाई चार हजार सशस्त्र सेनासँग डर लाग्दैन तर दुइृ जना पत्रकारसँग डर लाग्छ । त्यसो हुँदा मिडियासँग प्रायः शासकहरु डराउने गर्छन् ।”–अध्यक्ष के.सी.ले भन्नु भएको छ–“अहिले जुन विधेयक सरकारले संसदमा ल्याएको छ उही गाउँघरमा एउटा उखान भन्छन् नि –‘यो भैंसीले काल खोज्यो जान्छ भिरभिर’– त्यस्तै हो ।”

अध्यक्ष के.सी.ले उक्त कुरा प्रगतिशील पत्रकार संघ नेपाल सहित ५ पत्रकार संगठनहरु मिलेर बनेको संयुक्त पत्रकार संघर्ष समितिले २०७५ जेठ ४ गते राजधानीको भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको प्रश्न” विषयक उक्त अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले सरकारमा जानेहरुले ‘स्वर’ नपाएर प्रेसलाई नियन्त्रण गर्न खोजको बताउनु भयो । नेपालका हरेक परिवर्तनहरुमा नेपाली प्रेस जगतको उच्च योगदान रहेको चर्चा गर्दै अध्यक्ष के.सी.ले सत्तामा गएपछि पार्टीहरुले पत्रकारहरुको उक्त योगदानलाई बिर्सने गरेको बताउनुभयो । “नेपालको प्रजातान्त्रिक आन्दोलन, बामपन्थी आन्दोलन, सबै आन्दोलनहरुमा नेपालका मिडियाहरु, पत्रकार साथीहरुले हमेशा संघर्ष गर्दै आउनु भएको छ । नेपालका वामपन्थी आन्दोलन लोकतान्त्रिक आन्दोलनमा तपाईहरुलाई मैले सधै देखिराखेको छु ।” –अध्यक्ष के.सी.ले भन्नुभयो –“सत्ता अन्धो हुँदोरहेछ–यो विचित्रको कुरा हो । सत्ता बाहिर हुँदा मिडिया र जनता सबै चाहिने सत्तामा पुगेपछि केही नचाहिने प्रवृत्ति अहिले पनि विद्यमान देखियो । तर एउटा कुरा सत्य के हो भने मिडियालाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएर नेपालको लोकतान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनलाई उहाँहरुले रोक्न सक्नु हुन्न ।” मिडिया माथि आफ्नो पूर्ण नियन्त्रण जमाउने गरी सरकारले अहिले ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयकले पंचायतकालिन कालरात्रीको झल्को दिएको उहाँले बताउनुभयो । आफ्नो पार्टीले बैठक बसेरै उक्त विधेयक फिर्ता लिनु पर्ने निर्णय गरेको जानकारी गराउँदै अध्यक्ष के.सी.ले मिडिया काउन्सील सम्बन्धी उक्त विधेयक फिर्ताका लागि पत्रकारहरुले संचालन गरेको आन्दोलनलाई राष्ट्रिय जनमोर्चाको दृढ समर्थन रहेको स्पष्ट पार्नुभयो ।

अन्तक्र्रियालाई सम्बोधन गर्दै अर्का अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले वर्तमान सरकार फाँसिवाद तर्फ उद्धत रहेको बताउनुभयो । “हिटलरले पनि पहिले समाजवादकै नारा दिएको थियो । अहिलेको नेपालको सरकार पनि समाजवादको नारा दिएर फाँसिवाद तर्फ उन्मुख देखिन्छ ।” महासचिव किरणले भन्नुभयो –“राज्यको चौथो अंगको रुपमा मान्दै आएको पत्रकारलाई नियन्त्रित गर्ने ढंगले सरकार जसरी अघि बढेको छ त्यो अत्यन्त गलत छ । त्यसलाई सच्चाउन आन्दोलनका माध्यमबाट अघि बढ्नुको अर्को कुनै विकल्प देखिंदैन ।”

अन्तक्र्रियालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेस आचार्यले सरकारले संसदमा ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयकले आम जनतालाई संविधान प्रदत्त सूचनाको हकबाट बञ्चित गर्ने भएकाले उक्त विधेयक फिर्ता गराउन सबै तह र तप्काका जनता आन्दोलनमा जुट्नु पर्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले सरकारले प्रेस, न्यायलय, राष्ट्रिय मानवअधिकार आयोग सबैलाई आफ्नो नियन्त्रणमा राखेर देशमा फाँसिवादी शासनको अभ्यास गर्ने प्रयास गरिरहेको बताउनुभयो । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील सम्बन्धी विधेयक फिर्ता लिएर सरोकारवाला संघ/संगठनहरुसँगको छलफल पछि मात्र बल्ल विधेयक तयार गर्नुपर्ने बताउनुभयो । उक्त विधेयक फिर्ता नलिंदासम्म पत्रकारहरुको आन्दोलन जारी रहने पनि उहाँले स्पष्ट पार्नुभयो । अन्तक्र्रियालाई अधिवक्ता सुनिल रञ्जन सिंह र समाजवादी पार्टीकी केन्द्रीय सदस्य भगवती सुवेदीले समेत सम्बोधन गर्नु भएको थियो ।

प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्माको संचालन र क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको अध्यक्षतामा अघि बढेको उक्त अन्तक्र्रिया कार्यक्रममा जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले विषयवस्तुबारे प्रकास पार्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव अर्याल र धन्यवाद मन्तव्य मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार