“राजनीतिक जीवनयात्राका चार दशक” : इतिहासका विद्यार्थीका लागि सन्दर्भ सामग्री

113 जनाले पढ्नु भयो ।

मोहनविक्रम सिंह ।।

का. गिरधारीलाल न्यौपाने नेपालको कम्युनिस्ट आन्दोलनमा चार दशकदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ आफू नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय हुन थालेपछि आफूले प्राप्त गरेका ज्ञान, अनुभव, अनुभूतिका साथै सङ्गठनात्मक जिम्मेवारीको सिलसिलामा प्रस्तुत गरिएका राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, विभिन्न समयमा लेखिएका लेखरचना, अन्तर्वार्ता आदि विषय यो पुस्तकमा समेटिएका छन् । लेखक राजनीतिक कार्यकर्ता भएकाले उहाँले पुस्तक तयार गरिरहँदा आफ्नो राजनीतिक अभिभारा तथा नैतिक दायित्वलाई भरसक व्यवस्थित र सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभएको छ । हामीले लेखकको त्यो जिम्मेवारीपूर्ण व्यवहारलाई धन्यवाद दिन चाहन्छौँ ।

हामीले यस्तो किन भन्न चाहन्छौँ भने धेरैजसो व्यक्तिहरूले पार्टी परित्याग गरिसकेपछि पूर्वाग्रहका कारण आफ्नो पूर्व इतिहासलाई आफैले समाप्त पार्ने गरेका छन् । हामीले यो भन्दैनौँ कि उनीहरूले हाम्रो पार्टी छोडेका वा हामी एउटै सङ्गठनमा रहन नसकेको कारणले हाम्रो पार्टीमा रहँदा निर्वाह गरेको भूमिकाको इतिहासलाई उनीहरू स्वयम्ले पूर्वाग्रहका साथ मास्दै जानुपर्दछ । उनीहरू स्वयम्ले त्यसको रक्षा गरेर भविष्यको पुस्तालाई सुम्पिने प्रयत्न गर्नुपर्दछ, जसबाट नयाँ पुस्ताले इतिहासबाट केही सिक्ने अवसर प्राप्त गर्न सक्दछ । त्यसका साथै यो कुराप्रति पनि गम्भीर ध्यान आकर्षित हुनुपर्दछ, वास्तवमा इतिहास त्यस्तो हुनुपर्छ, जो सत्यतथ्य विवरणका साथ वर्तमानमा उपस्थित हुन सकोस् । केही अपवादलाई छाडेर का. गिरधारीलालले त्यो कार्य इमान्दारीतापूर्वक गर्ने प्रयत्न गर्नुभएको छ ।

लेखकको चारदशक लामो राजनीतिक जीवनको मुख्य समय अर्थात् करिब तीन दशक हाम्रो पार्टीमा व्यतित भएको थियो । उहाँ हाम्रो पार्टीमा रहँदा कैयौँ महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभयो र तिनीहरूलाई पूरा गर्ने प्रयत्न पनि गर्नुभयो । पछि उहाँ हाम्रो पार्टीबाट अलग हुनुभयो र बेग्लै सङ्गठनमा सामेल हुनुभयो । त्यो उहाँको राजनीतिक तथा साङ्गठनिक स्वतन्त्रता हो, जसबारे निर्णय गर्न उहाँ स्वयम्लाई अधिकार हुन्छ । त्यसबारे हामीलाई अरू थप केही भन्नु छैन ।

का. गिरधारीलालको राजनीतिक यात्रा प्रवासबाट सुरु भएको थियो । हामीले उहाँको त्यो राजनीतिक यात्रालाई नजिकबाट बुझ्दछौँ । आफ्नो पुस्तकमा उहाँले त्यो कुरा उल्लेख गर्नुभएको छ । उहाँले प्रवासी नेपालीहरूको बिचमा रहेर जुन काम गर्नुभयो, त्यसले एकातिर हाम्रो पार्टीको सङ्गठनात्मक कार्यलाई अगाडि बढाउन मद्दत पुग्न गयो भने, अर्कातिर उहाँ स्वयम्को राजनीतिक व्यक्तित्वको विकासका लागि त्यो राजनीतिक कार्य कोशेढुङ्गा सावित हुन गयो । यसबाट के प्रष्ट हुन्छ भने देश र जनताका लागि गरिने सही सिद्धान्त र राजनीति कुनै पनि अवस्थामा खेर जान सक्दैन । त्यसले वृत्ति विकासका साथै सामाजिक परिवर्तनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ र कुनै पनि व्यक्तिलाई आफ्नो जीवनको औचित्यता वा सार्थकताबाट बञ्चित हुनुपर्दैन । जस्तो कि का. गिरिधारीलाल गर्वपूर्वक आफ्नो विगतको उत्खनन गर्न सफल हुनुभएको छ । यो अधिकार सबैलाई छ, तर त्यसका लागि सही सिद्धान्त र राजनीतिप्रतिको सही समझदारीका साथै त्याग, तपस्या, साधना आदिको केही न केही इतिहास हुनु आवश्यकता पर्दछ । त्यस प्रकारको इतिहास छैन भने उदाउँदो समयका सामु झुटा बयान दिन सम्भव हुँदैन वा कसैले त्यस्तो गर्छ भने पनि त्यो नयाँ युगको वास्तविकताबाट अस्वीकृत हुन्छ । त्यसैले हाम्रो के सल्लाह रहन्छ भने कुनै व्यक्तिको राजनीतिक जीवनमा उथलपुथल वा हलचल आउन सक्दछन्, तर सही सिद्धान्त, विचार वा राजनीतिका सम्बन्धमा गौरव गर्नका लागि उसले त्यस प्रकारको इतिहास कतै न कतै निर्माण गर्नुपर्दछ ।

लेखकले प्रस्तुत गरेका केही थोरै विषयवस्तुसित हाम्रो कार्यशैली वा विचारको तादात्म्यता मिल्दैन । त्यो मिल्नुपर्छ भन्ने पनि छैन । तैपनि त्यसबारे हामीले केही स्पष्ट पार्नुपर्ने आवश्यकता देख्दछौँ । लेखकले नेकपा (मसाल) को विषयमा आफू मसालमा रहँदाको दृष्टिकोणबाट टाढिएर अहिले आफ्नो राजनीतिक आस्था जुन सङ्गठनमा छ, त्यही ठाउँबाट विचार गर्ने गरेका कारणले कतिपय ठाउँमा इतिहासप्रतिको दृष्टिकोण भ्रमित बन्न गएको छ । त्यसले गर्दा इतिहासको वास्तविकतामाथि पर्दा हालेर असङ्गतपूर्ण ढङ्गले विषयलाई प्रस्तुत गर्न पुगेको छनक पाइन्छ । त्यसले लेखकबाट इतिहासप्रति जुन ओजस्वीपूर्ण बयान दिन खोजिएको थियो, त्यसमा अवरुद्धता पैदा गराएको आभाष हुन्छ । यो कुरा हामीले आफूलाई सही सावित गर्ने धृष्टताले भनेका होइनौँ । सत्य के हो ? त्यसको अन्तर्यमा जानका लागि मात्र मार्गप्रशस्त गर्न खोजेका हौँ । बताइरहनुपर्ने आवश्यकता छैन कि कैयौँ व्यक्तिहरू हाम्रो पार्टीमा आउनेजाने क्रम चल्दै आएको छ र त्यो क्रम अगाडि पनि चल्दै जाने छ । त्यस सन्दर्भमा हामीलाई अहिलेसम्म जानकारीमा नआएको कुरा हो : हाम्रो पार्टीमा रहँदासम्म पार्टीको स्थिति साँघुरो र सङ्कीर्ण बन्दै गएको छ भन्ने मत प्रायः उठाउने गरेको पाइँदैन । यदि त्यो कुरा हो भने कुन खालको “सङ्कीर्णता” हो ? र त्यसबाट बच्ने उपाय के हो ? भनी खोजी पनि गरिन्थ्यो होला । तर “सङ्कीर्णता” लाई तोड्ने नाममा कुनै पनि माक्र्सवादी–लेनिनवादीले कम्युनिस्ट पार्टी निर्माणका आधारभूत मूल्यलाई तिलाञ्जली दिनुपर्दछ भन्ने हामीलाई लाग्दैन । कम्युनिस्ट मूल्यलाई तिलाञ्जली दिएका नामधारी कम्युनिस्ट पार्टी आज संसारमा जति पनि छन्, तर दुनियाँले यो आसा गर्दैन कि उनीहरूबाट क्रान्तिको कुरा त धेरै टाढा छ, कम्युनिस्ट मूल्यप्रति उनीहरूले कुनै सद्भाव राख्दछन् ।

हामीले क्रान्तिप्रतिको विश्वास गुमाएका छैनौँ, त्यसकारण कम्युनिस्ट मूल्यबाट समृद्ध भएको कम्युनिस्ट पार्टी निर्माणको दिशामा सदैव जोड दिँदै आएका छौँ । हामीले तिनै मूल्यहरू आत्मसात गर्दै आएकाले हामीमाथि सङ्कीर्णवादको आरोप लाग्दै आएको छ । हामीले यो कुरा राम्रोसँग बुझ्दै आएका छौँ । इतिहासमा क्रान्तिकारी पार्टीको विकास भई उनीहरू क्रान्ति सम्पन्न गर्नका लागि सफल हुनुमा धेरै पक्षको भूमिका रहेको छ । अक्टोबर क्रान्तिको इतिहासलाई नै साक्षी मानेर हामीले विचार गर्न सक्दछौँ । अक्टोबर क्रान्तिको युग प्रथम विश्वयुद्धको अवधिको थियो । एकातिर साम्राज्यवादी युद्ध चर्किएर गइरहेको अवस्था, अर्कोतिर त्यो युद्धका विरुद्धमा विभिन्न मुक्ति आन्दोलनको विश्वव्यापी विकास भएर गइरहेको अवस्थाले राष्ट्रिय क्रान्तिका लागि व्यापक आधार तयार पारेको थियो ।

जहाँसम्म परिवर्तनको कुरा छ, देशमा हुने त्यस प्रकारका परिवर्तनका लागि हाम्रो भूमिकाबाट हामी कहिल्यै पनि चुकेका छैनौँ । किनभने अहिलेसम्मका जति पनि परिवर्तन भएका छन्, ती सबै परिवर्तनमा तात्कालीन सत्तावर्गबाहेक अरू सबैले भूमिका खेल्दै आएका छन् । जस्तो कि हाम्रो नेपाली काङ्ग्रेसप्रतिको दृष्टिकोण एक प्रकारको रहेको छ, तर त्यो दृष्टिकोणका कारणले त्यसले अहिलेसम्म प्रजातान्त्रिक परिवर्तनका लागि खेलेको भूमिकालाई हामीले अस्वीकार गर्न सक्दैनौँ । त्यसरी मतभेद वा विरोधका कारणले कुनै सङ्गठनले परिवर्तनका लागि खेलेको भूमिकाको इतिहासलाई कसैले पनि अन्त्य गर्न वा लुकाउन सक्दैन । हाम्रोबारेमा पनि ठिक त्यस्तै कुरा हो ।

लेखकले उठाएका अर्को विषयबारे यहाँ स्पष्ट पार्दा यो पुस्तकका लागि पनि राम्रो हुन्छ भन्ने हामीले ठान्दछौँ । त्यो कुराबारे हामीले दुई प्रकारबाट विचार गर्दछौँ । पहिलो कुरा हो, “पार्टीभित्र भिन्नमत राख्नेबित्तिकै त्यस्ता कमरेडलाई कारबाहीसम्म गर्ने र अन्ततः पार्टीबाट निष्काशन गर्नेसम्म” (पृ. १४) । पार्टीभित्र भिन्नमत राखेका कारणले कुनै कामरेड कारबाही वा निष्काशनमा पर्दछ भने त्यो कुनै लेनिनवादी सङ्गठनात्मक मूल्यभित्रको कुरा होइन । तर भिन्नमतलाई सार्वजनिक नगर्ने नीति रहेको छ भने त्यो नीतिको उल्लङ्घन गरी भिन्नमतको सार्वजनिक गर्नु वा गुटबन्दीजन्य क्रियाकलाप गर्नु लेनिनवादी सङ्गठनात्मक सिद्धान्त विरोधी कुरा हो । त्योभन्दा खराब कुरा हो : भिन्नमतका नाममा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त विरोधी कार्यमा संलग्न हुनेलाई कुनै कारबाही नगर्नु ।

हामीले कुनै पनि खराबीबाट पार्टीको रक्षा गर्ने प्रयत्न गर्दै आएका छौँ । यस सिलसिलामा हामी यो विषयमा पनि स्पष्ट छौँ कि सबै विषयमा “एकमत” कहिल्यै पनि हुँदैन । तर कार्यमैदानमा कम्युनिस्ट पार्टी एकमतका साथ प्रस्तुत हुन्छ । यो कुरा संसारलाई थाहा छ । कार्यमैदानमा प्रस्तुत हुँदा बुर्जुवा पार्टीहरूले समेत अधिकतम एकता प्रदर्शन गर्दछन् भने कम्युनिस्ट पार्टीको कुरा त झन् बेग्लै हो । हामीले अपनाएको नीति लेनिनवादी सङ्गठनात्मक प्रणालीसम्मत छ वा छैन ? त्यो प्रश्नले कम्युनिस्ट पार्टीका लागि महत्त्व राख्दछ । हामीले अपनाउने गरेको लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई भिन्नमतको दमनको रूपमा अर्थ लगाउनेहरूले पार्टीमा अनुशासन र एकता कायम गर्ने साधनको रूपमा त्यसलाई अर्थ लगाउँदैनन् । जहाँ कम्युनिस्ट मूल्यअनुसारको कुनै पार्टी वा सङ्गठन निर्माण गर्नु छैन, त्यहाँ हामीले अपनाएको लेनिनवादी सङ्गठनात्मक प्रणाली भिन्नमतको दमन गर्ने औजारजस्तो देखिनु स्वाभाविक हुन्छ । यस सिलसिलामा हामीले यो कुरा पनि प्रष्ट गर्न चाहन्छौँ, एउटा कम्युनिस्ट पार्टी भिन्नमतको एकता–सङ्घर्ष–एकताको प्रक्रियाबाट अगाडि बढिरहेको हुन्छ । त्यसैले हामीले भिन्नमतलाई कहिल्यै पनि समाप्त गर्न सक्दैनौँ, किनभने त्यो हामीलाई सधैँ आवश्यक भइरहन्छ, तर हामीले एकता कायम राख्न अनुशासनमा सीमाबद्ध हुनैपर्दछ । त्यसैले हामीले अपनाउने लेनिनवादी सङ्गठनात्मक प्रणाली एउटा कम्युनिस्ट पार्टीलाई एकताबद्ध र सुदृढ बनाइरहने औजार हो भने विरोधीहरूका लागि दमनको साधन । हाम्रो पार्टीको इतिहासमा पाँचौँ महाधिवेशनपछिको पहिलो फुटमा बाहेक भिन्नमतका कारणले कुनै कामरेड कारबाही वा निष्काशनमा परेको कुनै घटना छैन । यदि त्यस्ता कुनै तथ्य छन् भने लेखक वा अनुसन्धानकर्ताहरूले हाम्राअगाडि राखिदिएमा धेरै राम्रो हुने थियो ।

दोश्रो कुरा हो, “एकता–सङ्घर्ष–फुट हैन, रूपान्तरणको बाटोबाट अलग–अलग रहेका कम्युनिस्ट शक्तिलाई एकजुट गर्दै अगाडि बढ्ने” (पृ. १४) । वास्तवमा लेखकले भनेजस्तो भएको भए र त्यसले साँच्चै कम्युनिस्ट शक्तिलाई एकजुट गर्दै अगाडि बढाएको भए नेपालमा क्रान्तिकारी कम्युनिस्टहरूको दबदबा हुन्थ्यो र हामी पनि त्यहाँभित्र हुने थियौँ । तर दुःखका साथ हामीले यो भन्नुपरेको छ कि उहाँले उल्लेख गरेको त्यो शक्ति पहिले पनि क्रान्तिकारी कम्युनिस्ट शक्ति थिएन, अहिले पनि रहेको छैन । तर पनि त्यो कैयौँ चिरामा विभाजित भएको थियो । लेखक आबद्ध रहेको जुन शक्ति निर्माण भएको छ, त्यसको क्रान्तिकारी महत्त्व नरहेको कुरा प्रष्ट छ । लेखकले भने झैँ हामीले एकता–सङ्घर्ष–फुट नभएर एकता–सङ्घर्ष–एकता नै चाहन्छौँ । तर त्यसका लागि हामीले कम्युनिस्ट मूल्यबाट कोही कतै विचलित हुनुहुँदैन भन्ने पनि विचार राख्दछौँ ।

यस सिलसिलामा हामीले यो कुरा स्पष्ट गर्न चाहन्छौँ ः पार्टीफुट इतिहासको बाध्यात्मक आवश्यकता बन्दै आएको छ । यो विश्व कम्युनिस्ट आन्दोलनले बेहोर्दै आएको परम्पराको निरन्तरता हो । हामीले चाहेर पनि इतिहासको त्यो बाध्यतालाई पन्छाउन सक्दैनौँ । त्यसको अर्थ हो– त्यो बाध्यताको हामीले सामना गर्नुपर्दछ र गर्न सक्दछौँ । त्यसैले हामीले कैयौँ पटक पार्टीफुटको सामना गर्नुप¥यो, लामो समयसम्म पार्टीमा काम गरेका नेता तथा कार्यकर्तासित सम्बन्ध–विच्छेद गर्नुप¥यो र फेरि नयाँ पुस्ता निर्माण गर्नुपर्ने काममा लाग्नुप¥यो । आखिर यो सबै केका लागि ? स्पष्ट जवाफ छ, कम्युनिस्ट मूल्य स्थापना गर्नका लागि विश्व कम्युनिस्ट आन्दोलनमा जस्तै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि लामो समयदेखि वर्गसङ्घर्ष चल्दै आएको छ । यो वर्गसङ्घर्षमा कैयौँ साथीले भाग लिनुभयो, कैयौँ साथीहरूले त्यसलाई निरन्तरता दिनुभयो र कैयौँ साथीले छाड्नुभयो । हामीले आन्दोलनको भविष्यलाई कम्युनिस्ट मूल्यबाट टाढा भागिरहेका वा एक भइरहेका कुनै शक्तिमा देख्दनौँ ।

हामीले कम्युनिस्ट मूल्यअनुसार कार्यरत वर्गको अन्तर्यमा मात्र त्यसको भविष्य अङ्कुरित भइरहेको छ भन्ने कुरा देख्दछौँ । यदि यो हाम्रो दृष्टिदोष हो भने यस विषयमा छुट्टै बहस र छलफल हुन सक्दछ । तर हाम्रो विश्वास कम्युनिस्ट मूल्यप्रति प्रतिबद्ध छ । यो प्रतिबद्धतालाई साकार पार्नका लागि भिन्नमतका बाबजुद पनि एकताबद्ध रहन सक्ने अवस्था भनेको सङ्गठनात्मक प्रणालीलाई कम्युनिस्ट पार्टीका सदस्यले मान्नु हो भन्ने हाम्रो विचार रहेको छ । यदि यो कुरालाई मान्न सकिँदैन र त्यसमा पनि प्रश्न उठाएर क्रियाकलाप गर्न सुरु गरिन्छ भने पार्टीफुट इतिहासको बाध्यात्मक आवश्यकता बन्न जान्छ । यसरी फुटका लागि एकपक्षीय ढङ्गले कुनै एकपक्षलाई जिम्मेवार ठहर्याउने दृष्टिकोणलाई हामीले सही मान्न सक्दैनौँ र मान्दैनौँ पनि ।

पुस्तकमा इतिहासका विवरण बयान बनेर अगाडि आउनु यो पुस्तकको सबैभन्दा सफल पक्ष हो । यसमा लेखक सन्तुलित भएर व्यक्त हुनु अझ स्वागतयोग्य पक्ष हो । त्यसबाट लेखकको इमान्दारिता पनि बुझ्न सकिन्छ । लेखकका केही मौलिक दृष्टिकोणबाहेक अन्य सबै विषयवस्तु तथ्यसङ्गत रहेका छन् । लेखकले विगतलाई सकेसम्म तथ्यपरक बनाउन कोसिस गरेका कारणले इतिहासका विद्यार्थीहरूले यसलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्ने छन् । हामीलाई खुसी लागेको छ कि का. गिरधारीलालले आफ्नो कार्यविधिको प्रारम्भदेखि अहिलेसम्मका विभिन्न राजनीतिक विषयलाई यो पुस्तकमा उल्लेख गरेर एउटा महत्त्वपूर्ण काम गर्नुभएको छ । हामीले आसा गर्दछौँ, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका कतिपय पक्षलाई बुझ्नका लागि भविष्यको पुस्ताले यो पुस्तकलाई पनि अध्ययन गर्नु आवश्यक हुने छ ।

अन्तमा, हामीले लेखकलाई यति महत्त्वपूर्ण कार्य गर्नु भएकोमा बधाइ तथा शुभकामना दिन चाहन्छौँ । आगामी दिनमा पनि उहाँले आफ्नो सृजनात्मक कार्यलाई अगाडि बढाउन अरू प्रयत्न गर्नुहुने छ । त्यसैगरी, उहाँको जस्तै अरू कैयौँ साथीहरूले पनि त्यस प्रकारले नेपाली कम्युनिस्ट आन्दोलनलाई समृद्ध बनाउनका लागि कलम चलाउन प्रयत्न गर्नुहुने छ भनेर हामीले आसा राख्दछौँ ।

(मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व सभापति गिरिधारीलाल न्यौपानेको ‘राजनीतिक जीवनयात्राका चार दशक’ नामक पुस्तकको भूमिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *