राजनीतिमा अवसरवाद

  •   
  •  
  •  
  •  
  •  
  •  

648 जनाले पढ्नु भयो ।

दुर्गानाथ खरेल

अवसरवाद भनेको व्यक्तिगत वा समूहगत रूपमा फाइदा उठाउने काम हो । अझै स्पष्ट भाषामा भन्दा सर्वसाधारण जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम हो । जनतालाई झुक्याउने, ठग्ने र आफू सुविधासम्पन्न हुने उद्देश्यसहित गर्ने काम हो । राजनीतिको क्षेत्रमा अवसरवादी काम प्रशस्तै भेटिन्छ । आफ्ना आधारभूत समस्या अरूबाट पूरा गराउने, अनि आफू नेता, समाजसेवी राजनीतिक व्यक्ति आदि अनेक किसिमका उपमाको बिल्ला भरेर राम्रो लगाउने, मिठो खाने, सुविधायुक्त घरमा बस्ने, धेरैजना गरिबलाई रोजगारी दिएर पनि समाजसेवा गरेको भन्ने अभिनय गर्दछन् । यो सबै अवसरवादी कामको परिणाम हो । अवसरको फाइदा उठाउने काम नगर्नको लागि, आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि आफूले जानेको काम गर्ने, सामाजिक व्यवस्थाले निश्चित गरेअनुसारको पारिश्रमिक लिएर समय बचाउने, बचेको समय आफूजस्ता हजारौँको सङ्ख्यामा रहेका श्रमजीवी वर्गको सामूहिक हितका लागि मजदुर वर्गको पार्टीमा सहभागी भई आफ्नो योगदान थप्ने गर्नुपर्छ । श्रमजीवी बन्न नसकेर शोषक बन्ने, अनि शोषण बढाउनकै लागि समाजसेवी, राजनीतिक नेता आदिको बिल्ला भिर्ने काम अवसरवादी काम हुन् । समाजका धेरै व्यक्तिले अवसरको फाइदा उठाउने उद्देश्यसहित काम गर्छन् ।

वर्तमान समाज अवसरवादीको बोलवाला भएको समाज हो । धेरै व्यक्तिहरूले आफूमाथि विश्वास गराउनेगरी नाटक गर्ने, केही समयपछि जब उसको आफूमाथि विश्वास हुन्छ, तब उसबाट आफूले आफ्नो अवसरवादी उद्देश्य पूरा गराउन जोरजुलुमको प्रयत्न गर्ने गर्दछन् । धेरै समयपछि जब उसले आफू शोषण र अन्यायमा परेको र विश्वास गरेर धोका पाएको महशुस गर्छ, तब अर्को नयाँ व्यक्तिमा आफ्नो अवसरवादी व्यवहार सुरु गर्ने गर्दछन् । त्यसो गर्दै जाँदा वर्तमान व्यवस्था नै अवसरवादीको खेलमैदान भएको सर्वसाधारण श्रमजीवी जनताले बुझ्छन्, तब मात्रै व्यवस्था विरुद्धका अभियान र अभियानमा लागेका आफूजस्तै श्रमजीवी व्यक्तिसँग परस्पर सहयोग र सम्बन्ध विस्तार गरेर आमूल परिवर्तनको बाटोतिर अगाडि बढ्न सुरु गर्दछन् । त्यस्तो परीक्षण गर्दा समय धेरै ढिला भइसकेको हुन्छ । उसले आफ्नो क्षमताले सही र क्रान्तिकारी व्यक्ति भेट्याउन, सचेत र सङ्गठित भई क्रान्तिकारी उद्देश्यमा आफ्नो योगदान थप्न नसक्ने हुन्छ ।

अवसरवादको दलदलबाट बच्न सर्वहाराकरण हुनुपर्छ । आफूले श्रम गरेर व्यक्तिगत खर्च गर्ने र समय बचाएर वर्गीय स्वार्थका लागि श्रमजीवी वर्गसँगै सङ्गठित भई आफ्नो योगदान थप्ने गर्नुपर्छ । किनभने हाम्रा आवश्यकताका वस्तु सामूहिक प्रकृतिका छन् । सामूहिक प्रयत्नबाट तयार भएका वस्तुलाई व्यक्तिगत सामित्वमा राख्ने वर्तमान व्यवस्था शोषणयुक्त व्यवस्था हो । अर्काको श्रमबाट आफू सुविधासम्पन्न हुने काम शोषणबाट मात्र सम्भव हुन्छ । त्यो शोषण त्यतिखेरसम्म मात्र सम्भव हुन्छ, जतिखेर श्रमजीवी वर्गले आफूहरू शोषण र अन्यायमा परेको महशुस गर्छन् । अन्याय र शोषणमा परेको महशुस गर्दासाथ वर्गीय मुक्तिको महाअभियानमा सहभागी भइहाल्छन् भन्ने पनि होइन । उनीहरू अलमलमा परेर रहने समयावधि पनि धेरै हुन सक्छ । निकास खोज्ने र दृढ निश्चयका साथ मुक्तिको बाटो पहिल्याउन पनि सजिलो हुन्न । धेरै हन्डरठक्कर, धोका आदिका सेवक भएर जीवन गुजार्नेको सङ्ख्या पनि कम हुन्न । त्यसकारण समयमा नै सचेत, सङ्गठित र वर्गीय मुक्तिका लागि अनुशासित बनाउने काम बढी महत्वपूर्ण काम हो ।

समाजमा सबै एकै किसिमको सोचाइ राख्ने मान्छे भएको भए शोषण भन्ने कुरो हुने नै थिएन । तर त्यस्तो हुन्न । एकथरिले अवसरको उपयोग गरेर ठग्छन् । अर्काथरि आफ्नो बुद्धिको प्रयोग गर्न नसकेर ठगिन्छन् । ठगिएको महशुस समयमै गर्नेहरू सचेत र सङ्गठित हुनतिर र अनुशासित हुनेतिर लाग्छन् । तर महशुस गर्न नसक्नेको जीवन त त्यसरी नै बित्छ र धेरै पुस्तासम्म ठगिएको ठगियै भइरहन्छन् ।

वर्गीय मुक्ति एउटाले गरेर हुने काम होइन । वर्ग नै सचेत, सङ्गठित, अनुशासित र आन्दोलित भएर गर्ने काम हो । आजसम्मको दशहजार वर्ष शोषणयुक्त व्यवस्थाको आधिपत्य भएको अवधि हो । त्यसबिचमा कति व्यक्ति, परिवार र समूह र वर्गसचेत भई मुक्तियुद्धमा होमिने गरेका पनि छन् । तर धेरैले अवसरको उपयोग गर्दै मुक्तियुद्धमा अवरोध खडा गर्ने काम गरेकै हुनाले अवस्था झन् जटिल बन्दै गएको हो । एकातिर, मुक्ति कसरी सम्भव छ भन्ने पत्ता लगाउनमै धेरै पुस्ता अलमलमा परे भने अर्कातिर, मुक्तिका लागि प्रयत्न गर्ने, व्यवहारमै लाग्न सकेनन् ।

अवसरवादीले विभिन्न किसिमबाट अवसरको उपयोग गर्दछन् । एकथरिले उग्रवामपन्थी तरिकाले आफ्नो अवसरवादी चरित्रको प्रदर्शन गर्दछन् । उनीहरूले ठुला ठुला क्रान्तिकारी कुरा गर्छन् । शोषकलाई तुरुन्तातुरुन्तै कारवाही गरेर शोषणको जालो समाप्त पार्नुपर्छ भन्नेतिर लाग्छन् । वर्गीय चेतना, वर्गीय सङ्गठन र वर्गीय अनुशासनको तरिका उनीहरूका लागि ढिलो हुने तरिका मान्दछन् । क्रान्ति र आमूल परिवर्तन, जटिल, कठिन र दीर्घकालीन प्रकृतिको काम हो भन्ने बुझ्न उनीहरूलाई निकै अप्ठ्यारो हुन्छ । उनीहरूलाई तुरुन्तातुरुन्तै क्रान्ति सम्पन्न भइहाल्नुपर्छ । तर परिस्थितिले उनीहरूलाई साथ दिन्न । जनता आन्दोलित हुनेभन्दा आतङ्कित हुन्छन् । क्रान्ति गर्ने वीरको काम हो । हामीजस्ता हेलाहोचो भएका व्यक्तिबाट क्रान्तिको त्यति ठुलो काम सम्पन्न हुन सक्दैन भन्ने उनीहरूको निष्कर्ष हुन्छ । त्यसपछि मुट्ठीभर क्रान्तिकारी एक्लो पर्दछन् । क्रान्तिको काम केटाकेटी खेल भएर त्यसै अलपत्र पर्दछ । केटाकेटीले खोइलाको नौतले दरबार बनाएजस्तै गर्लम्मै ढल्ने हुन्छ । उनीहरूलाई सङ्कट पर्छ । अनि, जोसुकै र जस्तासुकैसँग सम्झौताका काम गरेर उनीहरूले अवसरको उपयोग गर्न लागिपर्छन् । गाउँघरमा आरुबखडाको भर्खर दाना लागेको बेलामा पाका मान्छेले बलियो छेकबार नलगाएको अवस्थामा केटाकेटी गएर रुखमा चढेर हल्लाएर बतिला झार्ने, झटारो हानेर झार्ने र झार्ने मात्रै होइन, काँचै खाएर मासीक बिरामी परेजस्तै अवस्था उग्रवामपन्थीको हुन्छ । उनीहरूको संसार शून्य हुन्छ । कतैबाट निकासको उपाय भेट्याउन सक्दैनन् । त्यसपछि उनीहरूको यात्राले दक्षिणपन्थी मोड लिन्छ । राज्यसत्ताको सञ्चालकसँग सम्झौता गर्छन् । विदेशी साम्राज्यवादीसँग सम्झौता गर्छन् र कतिले त दलाल, सिआइडीसँग समेत सम्झौता गरेर दलाली गर्नसमेत पछि पर्दैनन् । त्यसकारण उग्रवामपन्थीको बाटो पक्रन बाध्य हुन्छन् । त्यो कामबाट आमूल परिवर्तन र क्रान्तिलाई नोक्सानबाहेक उपलब्धी केही हुन्न । क्रान्तिकारीलाई र श्रमजीवी जनतालाई ठुलो धोका हुन्छ । उनीहरूले अवसरको उपयोग त गर्छन् । तर क्रान्तिकारी काम अन्धकारमा धकेलिन्छ । त्यसकारण अवसरवादको बाटो नपक्रनका लागि जनताको क्रान्तिकारी चेतनास्तर उच्च बनाउने, आफू जनताकै बिचमा जनताकै स्तरमा रहेर निरन्तर क्रान्तिको पक्षमा काम गरिरहनुपर्छ ।

अर्कोथरिले घोषित रूपमा दक्षिणपन्थी अवसरवादको बाटो समाउँछ । उनीहरूले वर्गीय आन्दोलनले गुणात्मक फड्को मार्न सक्छ भन्ने विश्वास गर्दैनन् । सर्वहारा वर्गको अधिनायकत्व हुन सक्छ भन्ने विषयमा पनि विश्वास गर्दैनन् र समाजमा शान्तिपूर्ण तरिकाले समानता कायम गर्न सकिन्छ भनेर आन्दोलन सबै चिज हो, तर अन्तिम उद्देश्य केही पनि होइन भन्दै पुँजीपति वर्गको सत्ताको जरा बलियो बनाउने काम गर्दछन् । जनताको पिछडिएको चेतनाबाट सधैँभरि फाइदा उठाइरहन सकिन्छ भन्ने विश्वासमा राजनीति गर्दछन् । उनीहरूले सङ्घर्षलाई भन्दा सम्झौतालाई आफ्नो गन्तव्य बनाउँछन् । गुणात्मक फड्कोसम्बन्धी उनीहरूको विचार शून्य हुन्छ । सर्वहारा वर्ग बिना पनि पुँजीपति वर्ग हुन सक्छ र त्यसैबाट समानताको स्तरमा लैजान सकिन्छ भन्ने उनीहरूको विश्वास हो । यो सबैभन्दा बढी प्रचलनमा आएको अवसरवाद हो । जब समाजमा शोषक र शोषित वर्ग हुन्छ भने शोषकको शोषितमाथि अधिनायकत्व चलिरहेको अवस्थामा आमूल परिवर्तन भएर शोषितको सत्ता कायम हुने र शोषक शासित हुनुपर्ने अवस्था अवश्य आउँछ । यो वास्तविकता हो भन्ने कुरामा नै विश्वास नगरेर सधैँ शोषण गर्ने दिवासपना देख्दछन् । जहाँसम्म शान्तिपूर्ण निकासको कुरा हो, त्यो पनि उनीहरूको सोचाइ स्वाभाविक हुन्न । गर्भ रहेपछि बच्चा अवश्य जन्मन्छ र जन्माउने धाइको पनि आवश्यकता पर्दछ भन्नेमा उनीहरूको विश्वास हुन्न । पुँजीपतिको सत्ता भएको बेलामा सबैभन्दा शोषित वर्ग सर्वहारा वर्गको पार्टी गठन र निश्चित उद्देश्यसहित उसले आफ्ना गतिविधि सञ्चालन गर्दै जाँदा परिपक्व भएपछि सत्तासिन हुने कुरा त स्वाभाविकै हो । त्यसो हुन्न भने कसरी परिवर्तनको यात्रा अगाडि बढ्छ भन्ने विषय उनीहरूको तर्कको निकास छैन । गुणात्मक फड्को नमार्ने भए दास व्यवस्था समाप्त हुने थिएन । सामन्ती व्यवस्था समाप्त हुने थिएन मात्रै होइन, हाम्रो देशको राजतन्त्रसमेत समाप्त हुने थिएन । जब परस्पर विरोधी वर्गले उद्देश्यसहित आफ्ना गतिविधि सञ्चालन गर्दै जाँदा सत्तासिन वर्ग शासित वर्गमा र शासित वर्ग शासकमा रूपान्तरण हुने र हुनैपर्ने त स्वाभाविक नियम हो । त्यसकारण दक्षिणपन्थी अवसरवादीको आयु जनता र श्रमजीवी वर्ग सचेत र सङ्गठित नहुँदासम्म मात्र रहन सक्छ । उनीहरूको अवसरवादी चरित्र जनताले नबुझ्दासम्म मात्र लुकेर रहन सक्छ । जनता सचेत भएपछि उदाङ्गो भइजान्छ ।

राजनीतिमा तेस्रोथरि अवसरवाद मध्यपन्थी अवसरवाद हो । मध्यपन्थीले आधा क्रान्तिकारी र आधा दक्षिणपन्थी अवसरवाद भएको चरित्र प्रदर्शन गर्दछन् । उनीहरू क्रान्तिकारी चरित्र भएको पार्टीमा भए पनि पूरै क्रान्तिकारी चरित्र प्रदर्शन गर्दैनन् । दुईलाइनको सङ्घर्ष चर्केको बेलामा क्रान्तिकारीको बहुमत हुँदासम्म क्रान्तिकारीको पक्ष लिन्छन् । दक्षिणपन्थीको बहुमत पुग्ने भए उनीहरूलाई नै समर्थन गर्छन् । आफ्नो दृढ अडान लिने क्षमताको विकास गर्न ध्यान दिन्नन् । ढुलमूल गरेर आफूले अवसरको उपयोग गर्दछन् । त्यसैले यिनीहरू अर्धदक्षिणपन्थी हुन् ।

सङ्गठनात्मक हिसाबले तबसम्म एउटै समितिमा हुन्छन् । समयमै सङ्घर्ष र सचेत पार्न नसकेको अवस्थामा उनीहरू दक्षिणपन्थीकै क्याम्पमा सामेल हुने छन् । उनीहरूको तात्कालिक अवस्था विचारमा दक्षिणपन्थी र सङ्गठनमा क्रान्तिकारी भएको हुन्छ । समयमै चनाखो भएर क्रान्तिकारी चरित्रको विकास गराउन नसकेको अवस्थामा क्रान्तिकारी विश्व दृष्टिकोणको विकास गराउन उनीहरूको चिन्तनमा बाहिरबाट प्रशिक्षण दिएर क्रान्तिकारी विचार घुसाउनुपर्ने हुन्छ ।

पेशाले मजदुर, किसान वा सर्वहारा नै भए पनि सर्वहारा विश्व दृष्टिकोणको विकास भइहाल्ने होइन । फेरि बुद्धिजीवी, जसले प्रशिक्षण दिनेहुनु, उनीहरूसमेतको विश्व दृष्टिकोण सर्वहारा विश्व दृष्टिकोण नहुन सक्छ । बुद्धिजीवीलाई छनौट गरेर कम्युनिस्ट पार्टीमा ल्याई पार्टीबाट प्रशिक्षित गराउनुपर्छ र सर्वहारा विश्व दृष्टिकोणको विकास गराउनुपर्छ । कम्युनिस्ट पार्टी स्वयम् सर्वहारा विश्व दृष्टिकोण विकास गराउने विश्वविद्यालय हो । त्यहाँ सबै भौतिक रूपमा सर्वहारा मात्रै हुन्छन् भन्ने हुन्छ । तर नेतृत्व र अधिनायकत्व सर्वहारा वर्गकै हुनुपर्छ । सर्वहाराकरणको प्रक्रिया पनि तुरुन्तै हुने र पूरै सर्वहाराकरण हुने पनि होइन । सिद्धान्तको अध्ययन र व्यवहारमा त्यसको प्रक्रिया हो । कुनै पनि व्यक्ति शत्प्रतिशत सर्वहाराकरण हुन्छ भन्नु आदर्शवादी विचार हो । सामूहिकताको अभ्यास, सिद्धान्तको अध्ययनका सिलसिलामा लगातारको प्रयत्नले अगाडि बढ्दै जानुपर्ने हुन्छ । सर्वहाराकरणको मात्रा पनि बढ्दै जान्छ । यो पनि सामूहिकताको अभ्यासको परिणाम हो ।

अवसरवादको जरा समाजमा छन् । त्यहीँबाट पलाउँदै माथि आउने हुन् । अवसरवादले मानवता, मानव अधिकार, वर्गीय चेतना, वर्गीय मुक्ति सबैमा प्रतिकूल असर पार्दछ । यसले सामूकिहताको फोटो पार्ने काम पनि गर्दछ । समाजका सबै मान्छेले अध्ययन गर्ने र सामूहिकताको प्रतिबद्धतासहित काम गर्ने भएको भए यस्तो हुने थिएन । अवसरवादको प्रयोग कमजोर बौद्धिक क्षमता भएको व्यक्तिमाथि गर्ने हो । सबैको चेतनास्तर समान हुन्न । त्यसैकारण ठग्ने र ठगिने, झुक्याउने र झुक्किने, शोषण गर्ने र शोषित हुने काम स्वाभाविक रूपमा हुन्छ । त्यही अवसरवादको प्रयोग हो । अवसरवादको प्रयोगले सामूहिकतामा अवरोध खडा गर्दछ मात्रै होइन, सामूहिकतालाई ध्वस्त पनि पार्दछ ।

राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राज्यसत्तामा सामूहिकताभन्दा अधिकारको क्रमबद्धता माथिदेखि तलसम्म असमान हैसियतमा रहने गर्दछ । त्यसैका कारणले अवसरको सृजना गर्दछ । अधिकार बोकेका व्यक्ति स्वयम् अवसवरको उपयोग गर्दछन् । यो परम्परागत तरिका हो । यसमा आमूल परिवर्तन नगरी हुन्न । आमूल परिवर्तन गर्ने भनेको पनि सामूहिकताको अभ्यास गर्ने नै हो । सामूहिकताको अभ्यासका लागि व्यक्तिगत स्वामित्वका उत्पादनको साधनका कारणले अवरोध खडा हुन्छ । धनी मान्छेको सम्पन्नताको कारणले समस्या समाधानमा अवरोध गर्छ, नाफा कमाउने उद्देश्यले अवरोध खडा गर्छ, सेवासुविधामा असमानताले समस्या खडा गर्छ र यी सबैका कारणले अवसरवादलाई मलजल गर्दछन् । अवसरवादलाई हतोत्सायी गर्ने र समाधान गर्ने सामूहिकताको अभ्यासले नै हो । सामूहिकताका लागि व्यक्तिगत स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व बनाएर नै हो । सामूहिक स्वामित्वको अभ्यास गर्दा आइपर्ने समस्या समाधान सामूहिक चेतना र सामूहिक अनुशासनबाट हो ।

सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको अभ्यासबाट नै हो । त्यसका लागि पनि छलफलमा स्वतन्त्रता र कामको एकताको तरिका अपनाउनुपर्दछ । स्वतन्त्रता पनि नेतृत्वसहितको स्वतन्त्रता हो । आफ्नो नेतृत्व स्वीकार्य बनाउने काम पनि योग्यता र क्षमताले नै हो । योग्यता, क्षमताको कसी सम्पत्तिलाई होइन, अध्ययन, लगनशीलता, सामूहिकता र सर्वहाराकरणलाई नै बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *