राजनीति

  •   
  •  
  •  
  •  
  •  
  •  

809 जनाले पढ्नु भयो ।

दुर्गानाथ खरेल

राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्गठन एउटा र श्रमजीवी वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्गठन अर्को गरी परस्पर विरोधी विषयवस्तु अस्तित्वमा छन् । यी परस्पर विरोधी विषयवस्तु हुँदाहुँदै राजनीति गर्ने भनेर खोलिएका दर्जनौा राजनीतिक पार्टीहरू पनि प्रतिष्पर्धी हौा भनेर आ–आफ्नो अस्तित्व सहित समाजमा आफ्ना क्रियाकलाप गरिरहेका छन् । उनीहरूले गर्ने गतिविधि कुन वर्ग अन्तर्गतका क्रियाकलाप हुन् ? छुट्याउन सक्ने र वर्गीय रूपमा तिनीहरूलाई एउटा वा अर्को वर्गको सीमाभित्र रहेर गतिविधि सञ्चालन गर्न स्वीकृति दिने संस्था परम्परागत राज्यसत्ताको अङ्ग नै हो । त्यसले गर्दा धेरै राजनीतिक दल खोल्न र राजनीतिक गतिविधि सञ्चालन गर्न दिादा सम्पन्न वर्गीय हितको बचाउ हुन्छ । त्यसलाई प्रोत्साहन दिएर श्रमजीवी वर्गीय हितलाई दबाउन सजिलो हुने भएको हुनाले परम्परागत राज्यसत्ताका संरक्षकहरू आफ्नो राजनीतिक उद्देश्य पूरा गराउनका लागिरहन्छन् । यही कुरा श्रमजीवी वर्गले बुझ्न नसक्दा सङ्ख्यामा अत्यन्त धेरै भएर पनि आफ्नो वर्गको राजनीति गर्ने काममा असफल भएका छन् र विरोधीको शासन सहेर असुविधा बेहोरिरहेका छन् । त्यो असुविधा, दु:ख–कष्ट सहन पर्नुको दोष सम्पन्न वर्गलाई होइन, विपन्न वर्गलाई नै लगाइरहेका छन् । यो सबै हुनुको कारण विरोधी दर्शन, विरोधी सिद्धान्त, विरोधी राजनीतिक कार्यक्रम र विरोधी सङ्गठनको उद्देश्य पूरा गराउन तल्लीन हुनु नै हो । अर्को शब्दमा आफ्नो वर्गीय दर्शन, आफ्नो वर्गीय सिद्धान्त, आफ्नो वर्गीय राजनीतिक कार्यक्रम र आफ्नो वर्गीय सङ्गठन खोज्ने, भेट्याउने, पालन गर्ने र बढाउने प्रयत्न नगर्दा नै त्यस्तो भएको हो ।

समाज परम्परागत संस्कृतिको आधारमा मात्रात्मक तरिकाले सुधार गर्दै अगाडि बढ्छ । समाजमा आमूल परिवर्तन गर्नु पर्ने आवश्यकता छ । त्यो भनेको श्रमजीवी वर्गको दर्शन, सिद्धान्त, राजनीति र सङ्गठन सहितको सर्वहारा वर्गले नेतृत्व गरेको राजनैतिक पार्टी सत्तासिन भएपछि मात्र जनतामा प्रचलित दर्शन, सिद्धान्त, राजनीति र सङ्गठनमा आमूल परिवर्तन गराउने काम सुरु हुन्छ । त्यो भनेको राज्यसत्तामा गुणात्मक फड्को मारेर शासक वर्गलाई शासित वर्गमा र शासित वर्गलाई शासक वर्गमा रूपान्तरण गरेपछि मात्र सर्वसाधारण जनतालाई आफ्नो वर्गीय दर्शन, आफ्नो वर्गीय सिद्धान्त, आफ्नो वर्गीय राजनीतिक कार्यक्रम र आफ्नो वर्गीय सङ्गठनात्मक गतिविधि अगाडि बढाउने कामको सुरुवात हुन्छ । त्यसो गर्न सजिलो हुने भए पनि वर्तमान अवस्थाको प्रतिकूल स्थितिमा समेत श्रमजीवी वर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीले आफ्नो क्षमताले भ्याएसम्म श्रमजीवीहरूको दर्शन, सिद्धान्त, राजनीतिक कार्यक्रम र सङ्गठन सर्वसाधारण जनतामा स्थापित गराउन उच्च प्रयत्न गर्नु पर्दछ । किनभने जनता सचेत, सङ्गठित र अनुशासित भई विद्रोहमा नउत्रेसम्म वर्तमान परम्परागत तरिकाको प्रतिक्रियावादी राज्यसत्तामा आमूल परिवर्तन हुन सक्दैन । इतिहासका निर्माता जनता हुन् भनेर त्यसैकारणले भनिएको हो । इतिहास निर्माण गर्ने भनेको आफ्नो मुक्ति आफैले ल्याउने भनेको हो । जनताले आफ्नो मुक्ति आफै ल्याउन नसक्ने हुनाले र विभिन्न किसिमका प्रतिक्रियावादी र अवसरवादीको फन्दामा पटक पटक पर्न सक्ने सम्भावना भइरहने हुनाले अथवा आफै वर्गीय रूपमा सचेत, सङ्गठित र अनुशासित भई राज्यसत्ता कब्जा गर्ने अवस्थामा जान नसक्ने हुनाले जनतालाई आफ्नो नेतृत्वमा गोलबन्द गराएर सत्तासिन बनाउन जनताको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । कम्युनिस्ट पार्टीको नामले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने अवसरवादीलाई नाङ्गेझार पार्ने काम पनि जनताकै हो । त्यो काम आफू सचेत, सङ्गठित र अनुशासिन हुने काम गर्ने गर्दैगर्दा स्पष्ट हुँदै जाने काम हो । जनता आफैले छुट्याउन सक्नु पर्छ कि को इमान्दार जनताको मित्र हो र को अवसरवादीको भूमिका निभाउने शक्ति हो । अर्कातिर, कम्युनिस्ट पार्टी आफै पनि बनिबनाउ जनताको मित्रशक्ति हुने वा ऊ दुधले नुहाएर सफा भए जस्तै गरी सफा हुने पनि होइन, आन्दोलनकै क्रममा खारिने र जनताको पक्षमा काम गर्दै जाँदा जनताको पक्षमा काम गर्न अभ्यत हुने हो ।

कम्युनिस्ट पार्टीको इतिहास सन् १८४८ फेबु्रअरीको कम्युनिस्ट घोषणापत्र प्रकाशन भएपछि मात्रै सुरु भएको हो । त्यतिखेरदेखि सुरु भएको भए पनि सङ्गठनको क्षेत्रमा अरू प्रतिक्रियावादी शक्तिभन्दा भिन्नै किसिमको हुन सकेको थिएन । १८७१ को पेरिस कम्युनको हार भएपछि कम्युनिस्ट पार्टीले ठुलो नोक्सानी बेहार्नु परेको अनुभवलाई ध्यान दिएर लेनिनले आफ्नो पालामा दुई वटा कामको थालनी गरेर सङ्गठनको क्षेत्रमा आमूल परिवर्तन ल्याए । ती दुईवटा काममध्ये पहिलो काम थियो– राजनीतिक खुल्ला गर्ने र सङ्गठन भूमिगत बनाउने काम । १० हजार वर्षदेखि श्रमजीवी वर्गमाथि शासन गर्दै गरेका सम्पन्न वर्गका प्रतिनिधिले सजिलै छिन्नभिन्न पार्न सक्ने हुनाले सङ्गठन भूमिगत बनाएर मात्र जनताका बीचमा फैलाउन र स्थापित गराउनु पर्ने अनिवार्यता महशुस गरेर अनुसार सङ्गठन भूमिगत बनउँने कामको थालनी गरे । सङ्गठनलाई भूमिगत बनाए पनि राजनीति खुल्ला बनाउन लेनिनले आफ्नो पार्टीले खुल्ला पत्रिका प्रकाशन गरेर आफ्ना नीति र कार्यक्रम जनताका बिचमा स्थापित गराउने कामको थालनी पनि आफैले गरेका थिए । यो काम लेनिनले गरेको पहिलो क्रान्तिकारी काम थियो । त्यतिमा मात्रै लेनिन सीमित रहेनन् । अर्को क्रान्तिकारी कामको पनि थालनी गरेका थिए । त्यो काम थियो– सदस्यता दिनका लागि कम्युनिस्ट पार्टीले अनिवार्य बताएका शर्तहरू । लेनिनले त्यही कारणले पार्टी फुट सहेर भए पनि कम्युनिस्ट पार्टीको सदस्ता दिने समयमा पालना गर्नु पर्ने तीन शर्त । ती तीन शर्तमध्ये पहिलेका दुईवटा शर्त त्यतिखेरका लेनिनको नेतृत्वमा रहेका पार्टीका केन्द्रीय सदस्य सबैका लागि मान्य थिए । तर तेस्रो शर्त, जुन लेनिनले अनिवार्य बनाउनै पर्ने शर्त बनाएका थिए र समितिको एउटा पक्ष, जसलाई अल्पमत पक्ष वा रुसी भाषामा मेन्सेभिक भनेर पछि नामाकरण गरियो, उनीहरूलाई मान्य नभएर त्यही कारणले पार्टी फुट समेत भएको थियो । ती तीन शर्त पार्टी सदस्यताका लागि त्यो भन्दा पहिले लागु गरिएका थिएनन् र त्यो पनि सङ्गठनको क्षेत्रमा क्रान्तिकारी कदम नै थियो, जसका कारणले रुसमा १९१७ मा विद्रोह सफल भई मजदुर–किसानको प्रतिनिधि संस्था कम्युनिस्ट पार्टीले ४० वर्षसम्म राज्य सञ्चालन गर्न सफल भएको थियो । अहिलेसम्म पनि कम्युनिस्ट पार्टीले ती तीन शर्त लागु गर्न प्रयत्न गरिरहन्छन् र भविष्यमा पनि लागु गर्नै पर्नेछ । ती तीन शर्त हुन्– १. पार्टीको राजनीतिक कार्यक्रम स्वीकार गर्नै पर्ने, २. सहमति अनुसार तोकिएको निश्चित लेबीको रकम प्रत्येक महिनामा तिर्नैै पर्ने र तेस्रो शर्त थियो– कुनै न कुनै समितिमा बसेर समितिले दिएको जिम्मेवारी पुरा गर्नै पर्ने । सदस्यता सम्बन्धी शर्त कडाइपूर्वक लागु नगर्ने पार्टीले क्रान्ति सम्पन्न गर्न सक्ने छैन भन्ने लेनिनको मान्यता थियो ।

बलबहादुर नाम राखेर बलियो हुने र धनबहादुर नाम राखेर धनी हुने काम नभए जस्तै कम्युनिस्ट पार्टी नाम राखेर पनि पार्टीहरू कम्युनिस्ट पार्टी हुन सक्दैनन् । कम्युनिस्ट पार्टी नाम राख्ने तीन स्तरका हुन्छन् । उग्रवामपन्थी अवसरवादीले आफूलाई क्रान्तिकारी कम्युनिस्ट नामाकरण गर्दछन् । उनीहरूको राजनैतिक चेतनास्तर उच्च नभएको कारणले जनताको शक्तिलाई भन्दा सेनाको शक्तिलाई उच्च महफ्व दिन्छन् । सशस्त्र सङ्घर्ष तुरुन्तै सुरु गर्ने र क्रान्तिकारिता प्रदर्शन गर्ने कुरालाई मुख्य प्राथमिकता दिन्छन् । उनीहरूले लगन, सङ्गठन, अनुशासन र दृढताको प्रदर्शन गर्न सक्दैनन् । जनताको सहभागितामा हुने आन्दोलनको कम महफ्व सम्झन्छन् । दुई/चारवटा उग्र गतिविधि सञ्चालन गरिरहन्छन् । उनीहरूको आतङ्कवादी गतिविधिबाट जनता तर्सिन्छन् । उनीहरूका लागि संसार सून्य हुन्छ । त्यसपछि पतनको यात्रा सुरु हुन्छ । सम्झौता गर्दै जाने त सामान्य कुरा हुने नै भयो । कोही त दलाली गर्न पनि पछि पर्दैनन् । राजनीतिक यात्रा गर्ने नै हो भने पनि दक्षिणपन्थी अवसरवादी क्रियाकलापका साथ आफ्ना गतिविधि अगाडि बढाउँछन् । त्यसैले ठुलादाइको लाहुर भैरहवासम्म भने जस्तै उग्रवामपन्थीले राजनीतिक यात्रा दक्षिणपन्थी अवसरवादीसम्म पुगेर टुङ्गिन्छ । दोस्रोस्तरका आफूलाई कम्युनिस्ट पार्टी नाम राखेर राजनीति गर्नेहरू दक्षिणपन्थी संशोधनवादी नै हुन्छन् । माक्र्सवाद सुरु भएदेखि नै त्यसमा संशोधन गरेर पुँजीपति वर्गलाई मान्य हुनेगरी अथवा पुँजीवादी स्वार्थमा कुनै धक्का नदिने गरी आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्दछन् । उनीहरूले आन्दोलन उठाउँछन् । त्यसलाई सम्झौतामा लगेर टुङ्ग्याउँछन् । आन्दोलन सबैथोक हो, अन्तिम उद्देश्य केही पनि होइन भन्ने उनीहरूको मान्यता हो । शान्तिपूर्ण तरिकाको राजनीतिबाट पनि समाजवादमा पुग्न सकिन्छ भन्ने उनीहरूको बुझाइ हो । त्यही विचारले गर्दा उनीहरूले राजनीतिक दल खोल्छन् । कम्युनिस्ट पार्टी नाम राख्छन् । विधानमा पुँजीपतिलाई मान्य हुने प्रावधान मात्र राख्छन् । पुँजीपति वर्गको स्वार्थमा बाधा पर्दासाथ दलमाथि प्रतिबन्ध लगाइदिने हुनाले उनीहरूले पुँजीपति वर्गलाई मान्य हुने तरिकालका प्रावधान मात्रै राख्छन् र आफ्ना अवसरवादी गतिविधि सञ्चालन पनि त्यसै किसिमले गर्दै जान्छन् । जनताको पिछडिएको चेतास्तरबाट फाइदा उठाउनेसम्म मात्रै उनीहरू गतिविधि अगाडि बढाउँछन् । उनीहरूको सिद्धान्त वर्ग समन्वयको सिद्धान्त अथवा श्रमजीवी वर्गलाई शोषण गर्ने, उनीहरूलाई झुक्याउने र पुँजीपतिको स्वार्थमा कुनै बाधा नपुर्‍याउने अवसरवादी सिद्धान्त नै हो । संशोधनवादीले सर्वहारा वर्ग बिनाको पुँजीपति वर्ग हुने र बनाउने कल्पना गर्छन् र संविधान संशोधन गरेर समाजवाद ल्याउने जस्ता हलुका र सजिला कुरा गर्छन्, जबकि पुँजीपतिले आफ्नो स्वार्थ गुम्न नदिन कडा वर्गसङ्घर्ष चलाइरहेका हुन्छन् । शान्तिपूर्ण तरिकाबाट नै समाजवाद र साम्यवादसम्म पुग्न सकिन्छ भन्ने संशोधनवादीको सबैभन्दा ठुलो भ्रम हो । एउटा वर्गको राज्यसत्तामा त्यसको विरोधी वर्गले प्रजातान्त्रिक अधिकार उपयोग गर्न पाउन्न भन्ने मान्यतामा उनीहरूको विश्वास हुन्न । उनीहरूले प्रजातन्त्र वर्गीय हुन्छ भन्ने कुरा मान्दैनन् । त्यसकारण संशोधनवादीले आफूलाई कम्युनिस्ट र आफ्ना पार्टीलाई कम्युनिस्ट पार्टी भने पनि उनीहरू कम्युनिस्ट पनि होइनन् र उनीहरूको पार्टी कम्युनिस्ट पार्टी पनि होइन ।

माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्नेहरूले पनि आफूलाई कम्युनिस्ट र आफ्नो पार्टीलाई कम्युनिस्ट पार्टी भन्दछन् । उनीहरूले समाजवाद, साम्यवादको आफ्नो निश्चित उद्देश्य सहित आफ्ना राजनीतिक कार्यक्रमलाई रणनीतिक कार्यक्रम र कार्यनैतिक कार्यक्रम बनाएर कार्यनैतिक कार्यक्रमले रणनैतिक कार्यक्रमलाई सहयोग पुर्‍याउने गरी आफूले सचेत, सङ्गठित र अनुशासित तरिकाले लगन, सङ्गठन, अनुशासन र दृढताका साथ आफ्ना कामकारबाही अगाडि बढाउँछन् । समाजवाद र साम्यवादका लागि आफ्नो योगदान थप्ने गरी काम गरिरहन्छन् । ठोस अवस्थाको ठोस विश्लेषण सहित जनताबिच काम गर्ने र जनताको सचेत आन्दोलनका लागि राज्यसत्तामा आमूल परिवर्तन गर्न र जनतासँग एकाकार भई अघि बढ्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *